पहिलो नजरमै मनीषालाई एसाइन गरिसकेको थिएँ

- कृष्ण भट्टराई

जेष्ठ ३१, २०७५

 

कुनै बेला हिन्दी चलचित्र उद्योगमा ‘शो म्यान’ को उपनाम पाएका चलचित्रकर्मी सुभाष घई यो साता काठमाडौंमा झुल्किए । चलचित्र निर्माता छविराज ओझासहितको समूहले सञ्चालन गरिरहेको कान्तिपुर फिल्म एकेडेमीको निम्तोमा घई गत शनिबार काठमाडौं ओर्लिएका थिए । काठमाडौं आएको दिन मैतीदेवीस्थित एकेडेमी परिसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गरेका घईले आईतबार अन्नपूर्ण होटलमा आयोजित प्रशिक्षण तथा कार्यशालामा झन्डै दुई घण्टा बिताए । निर्देशक समाजका पूर्वअध्यक्ष तथा सञ्चारकर्मी दिनेश डिसीसहित आफैंसँग आएका दुई भारतीय चलचित्रकर्मीसँग ड्यासमा रहेर घईले प्रशिक्षणमा सहभागी करिब १ सय नेपाली चलचित्रकर्मीलाई आफ्नो झन्डै पाँच दशक लामो चलचित्र अभिनय, निर्देशन, निर्माण तथा पछिल्लो समय आफू आबद्ध अध्यापनका बारेमा अनुभव साटासाट गरे । काठमाडौं बसाइका क्रममा ७३ वर्षीय घई उद्योगपति विनोद चौधरी तथा अभिनेत्री मनीषा कोइरालाद्वारा आयोजित दुई भिन्न रात्रिभोजमा समेत सहभागी भए । यसबीच गत आइतबार अन्नपूर्ण होटलकै तेस्रो तल्लाको आफ्नो सुइटमा निर्देशक घईले साप्ताहिककर्मी कृष्ण भट्टराईसँग लामै कुराकानी गरे । 

 

काठमाडौंको भ्रमण कस्तो रह्यो ? 

कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा भएको मेरो तीनदिने भ्रमण असाध्यै फलदायी रह्यो । एकेडेमीले आयोजना गरेको युवा चलचित्रकर्मीहरूलाई हौसला प्रदान गर्ने कार्यक्रममा सहभागी भएर आफ्नो कुरा भन्न पाउँदा खुसी लाग्यो । यसका साथै मेरै चलचित्रबाट हिन्दी चलचित्रमा पाइला राख्ने मनीषा कोइरालाको आतिथ्यता तथा उद्योगपति विनोद चौधरीले दिनुभएको रात्रिभोजमा नेपाली चलचित्रसहित अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँगको भेटघाट पनि रोमाञ्चक रह्यो । 

 

कत्तिको व्यस्त हुनुहुन्छ ? 

पछिल्ला केही वर्षयता म चलचित्र निर्माण/निर्देशनमा सक्रिय छैन । सन् २०१२ मा मेरै नेतृत्वमा मुम्बईको फिल्मसिटीमा ‘विस्लिङ उड्स इन्टरनेसनल इन्स्टिच्युट’ स्थापना गरेर त्यसको सञ्चालन गरिरहेको छु । मनोरञ्जनका सबै विधा अध्यापन गराइने उक्त कलेज शैलीको एकेडेमीलाई आजको मितिसम्म आइपुग्दा विश्वकै उत्कृष्ट १० फिल्म कलेजमध्ये एक बनाउन तल्लीन छु । 

 

उक्त इन्स्टिच्युटमा के–कस्ता विषय अध्यापन गराइरहनुभएको छ ? 

विश्वविद्यालयकै रूपमा सञ्चालन भैरहेको हाम्रो संस्थाअन्तर्गत सातवटा क्याम्पस छन्, जहाँ अभिनय, प्रोडक्सन, निर्देशन, एनिमेसन, संगीत, छायांकन, फेसन आदि विषयमा अध्यापन गराइन्छ । हालसम्म हाम्रो एकेडेमीबाट झन्डै १५ सय जना ग्राजुएट भएर चलचित्र क्षेत्रमा स्थापित भैसकेका छन् । अहिले पनि त्यहाँ १ हजार विद्यार्थी अध्ययनरत छन्, ती मध्ये १० जना नेपाली छन् । युरोप, अमेरिका, अफ्रिका आदि मुलुकका विद्यार्थीहरूको संख्या पनि अत्यधिक छ । यस क्रममा मैले भन्नैपर्छ— म धेरैभन्दा धेरै नेपाली प्रतिभालाई हाम्रो कलेजमा स्वागत गर्न आतुर छु । 

 

नेपालमा त्यस्ता कलेजको सम्भावना कत्तिको देख्नुहुन्छ ? 

मेरो यसपटकको भ्रमणको मुख्य उदेश्य करिब–करिब त्यही सम्भावनाकै वरिपरि घुमेको छ । हुन त म कान्तिपुर फिल्म एकेडेमीको निम्तोमा मिसिनरीका रूपमा यहाँ आएको हुँ । मलाई लाग्छ, नेपालका काठमाडौं, पोखरा, विराटनगरजस्ता मुख्य–मुख्य सहरमा राम्रा–राम्रा फिल्म एकेडेमी स्थापना हुनुपर्छ, जहाँबाट मनोरञ्जन उद्योगले हजारौं दक्ष जनशक्ति प्राप्त गर्न सक्छ ।

 

तपाईं बलिउड भन्ने शब्दलाई मन पराउनुहुन्न रहेछ, खास कारण के हो ? 

हो, यदि तपाईं भारतीय चलचित्र उद्योगलाई बलिउड भन्नुहुन्छ भने त्यो सरासर हलिउडबाट नक्कल गरिएको हुनेछ । मलाई कुनै पनि कुरा नक्कल गरेको चित्त बुझ्दैन । बलिउडको साटो हरेकले भारतीय चलचित्र उद्योग भन्नुपर्छ । नेपालमा पनि तपाईंहरूले पनि कलिउड वा नलिउड नभन्नु होला, आजैका दिनदेखि विशुद्ध नेपाली चलचित्र उद्योग भनेर गर्व गर्न थाल्नु होस् । बलिउड, कलिउड आदि भन्नु भनेको हलिउडको ठाडो नक्कल हो । 

 

यद्यपि भारतीय सञ्चारमाध्यमहरूले नै बलिउड भनिरहेका हुन्छन् त ? 

भारतीय चलचित्र उद्योगलाई ‘बलिउड’ का रूपमा व्याख्या गर्नु विश्वकै एउटा ठूलो र आफ्नै खुट्टामा उभिएको उद्योगको अपमान हो । आज भारतीय चलचित्रले विश्वभर नाम कमाएको छ । भारतीय चलचित्रकै माध्यमबाट भारतका हरेक राज्यले आफू के हो, आफ्नो संस्कृति के हो भन्ने कुरा बताउन पाइरहेका छन् ।

 

तपाईंको विचारमा चलचित्र के हो ? 

चलचित्रको परिभाषा अथाह छ । सबैभन्दा पहिलो कुरा त यो आम सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम हो । कसैलाई कुनै कुरा मन र मुटुसम्मै पुर्‍याउनु छ भने तपाईंले चलचित्रभन्दा अर्को उपयुक्त माध्यम फेला पार्न सक्नुहुन्न । अर्को कुरा, चलचित्रले हरेक देशको कला–संस्कृतिको प्रतिनिधित्व गर्छ । पछिल्लो समय त चलचित्रको महत्व अझ बढ्दो छ । चलचित्रकै माध्यमबाट हामी विश्वलाई आफ्नो देश, जनता, समस्या, राजनीति, आर्थिक अवस्था आदि कुरा बताउन सकिरहेका हुन्छौं । हामीले आफ्नै देशको प्रतिनिधित्व गरिरहेका हुन्छौं ।

 

प्रविधिले चलचित्रको स्वरूपलाई परिवर्तन गरिरहेको कुरा मान्नुहुन्छ ? 

हो, आज चलचित्रको स्वरूप परिवर्तन भैरहेको छ । हामीले चलचित्र निर्देशन गर्न थालेका बेला चलचित्रको एउटा मात्र स्वरूप थियो । आज त्यो सात–आठवटा स्वरूपमा विकसित भएको छ । यो चलचित्र, टेलिचलचित्र, वृत्तचित्र, छोटा चलचित्र, वेब सिरिज आदि स्वरूपमा देखा परेको छ । युट्युबमा तीन मिनेटको छोटो चलचित्रले समेत करोडौं लाइक र लाखौं प्रतिक्रिया प्राप्त गर्ने समय आइसकेको छ । त्यसैले म पुन: एकपटक भन्छु, भारतमा मात्र होइन, नेपालमा पनि यो विधाको भविष्य उज्वल छ । युवापुस्तालाई म चलचित्र विधाको औपचारिक अध्ययन गरेर यसैमा करियर बनाउन आग्रह गर्छु । प्रविधिको विकासले चलचित्रको दायरा यति फराकिलो भैसकेको छ कि यो विधाको अध्ययन गर्ने कुनै पनि व्यक्तिले एक दिनका लागि पनि बेरोजगार बस्नु पर्दैन । 

 

यद्यपि चलचित्रलाई मनोरञ्जनका रूपमा मात्र लिने विश्वव्यापी चलन छ नि ? 

चलचित्र भनेको मनोरञ्जनको साधन मात्र हुँदै होइन । आजको दिनमा चलचित्र सम्मानित पेसा भैसकेको छ । विगतमा मानिसहरूले चलचित्रलाई मजाकका रूपमा समेत लिन्थे, तर चलचित्रलाई मजाकका रूपमा लिन मिल्दैन । यो अति नै संवेदनशील क्षेत्र हो, काम हो । 

 

प्रसंग बदलौं, नेपाली चेली मनीषा कोइरालालाई चलचित्र सौदागरका लागि कसरी छनौट गर्नुभयो ? 

नेपाली चेली होइन, अति नै सुन्दर नेपाली चेली भन्नुहोस् न । सबैभन्दा पहिलो कुरा त मनीषा कोइरालामार्फत म नेपालसँग जोडिन पाउँदा आफूलाई भाग्यमानी मान्छु । अब कुरा रह्यो, उनी सौदागरमा आबद्ध हुनुको प्रशंग । म त्यति बेला दिलीप कुमार तथा राज कुमारलाई लिएर निर्देशन गरिरहेको चलचित्र ‘सौदागर’ का लागि बिल्कुलै नयाँ अनुहार, जसको अनुहार इनोसेन्ट होस्, खोजिरहेको थिएँ । यद्यपि मसँग त्यतिबेला स्टार हिरोइनहरूको बिकल्प थियो, तर म एउटा नयाँ अनुहारको खोजीमा थिएँ । त्यही बेला एक जना महिला पत्रकारले मलाई नेपालबाट आएकी एउटी युवतीसँग भेट्न आग्रह गरिन् । आइतबारको त्यो साँझ मेरो घरमा पाहुना आउने भएकाले भोलिपल्ट सोमबार भेट्न पठाउन आग्रह गरें, तर उनी भोलिपल्टै दिल्ली फर्कने कुरा सुनेपछि मैले आइतबार साँझ नै आफ्नै घरमा भेट्न पठाइदिनु भनें । 

 

मनीषासँगको पहिलो भेट कस्तो रह्यो ? 

मलाई अझै पनि सम्झना छ, आइतबारको त्यो साँझ करिब ९ बजेतिर मेरो घरको घण्टी बज्यो । मैले ढोका खोलेपछि मनीषा र उनकी आमालाई देखें । मनीषालाई देख्न बित्तिकै मैले उनमा आफ्नो चलचित्रको अभिनेत्री पाएँ । पहिलो नजरमै मनीषामा मैले आफ्नी अभिनेत्रीको अनुहार देखेँ । यद्यपि पहिलो भेटमा मैले उनलाई तिमी मेरो चलचित्रमा छनौट भैसक्यौ भनेर सुनाइन । त्यसको केही दिनपछि म चलचित्र लेखकलाई भेट्न दिल्ली गएँ । दिल्लीमा पुन: एकपटक मनीषा र उनकी आमासँग भेट भयो । त्यस क्रममा मैले उनले बोलेको भिडियो खिचें । त्यो एक प्रकारको स्क्रिन टेस्टजस्तै थियो । त्यसमा पनि सन्तुष्ट भएपछि मैले उनैलाई सौदागरमा अभिनय गराएँ । तपाईं आज पनि त्यो चलचित्र हेर्न सक्नु हुन्छ, जहाँ मनीषाको सुन्दरता, सरलता तथा सादगी उनको अनुहारमा स्पष्ट देखिन्छ । 

 

अन्य अभिनेत्रीहरूसँग मनीषाको तुलना गर्नुपर्‍यो भने ? 

सुन्दरताका दृष्टिकोणले मनीषाको कसैसँग तुलना हुन सक्दैन । अरू अभिनेत्रीहरू मेकअप गर्दा सुन्दर देखिन्छन्, तपाईं आज पनि मनीषालाई भेट्नुहोस्, उनी पर्दामा मात्र होइन वास्तविक जीवनमा समेत उत्तिकै सुन्दर छिन् । 

 

मनीषाको प्रगतिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

आजको दिनमा उनी नेपाली चेली, भारतीय चलचित्रकी अभिनेत्रीका रूपमा मात्र होइन, पूरै विश्वमा कुशल अभिनेत्रीका रूपमा लोकप्रिय छिन् । योभन्दा ठूलो कुरा के हुनसक्छ । 

 

पुन: प्रसंग बदलौं, तपाईंले चलचित्र निर्देशनमा पुनरागमन गर्ने सम्भावना कत्तिको छ ? 

शतप्रतिशत छ । सन् २०१९ मा मुक्ता आर्ट्सले दुईवटा चलचित्र निर्माण गर्दैछ । त्यसमध्ये एउटा चलचित्रको निर्देशन मैले नै गर्नेछु । उक्त चलचित्र सम्पूर्ण दर्शकहरूका लागि सरप्राइज प्याकेज हुनेछ ।

 

तपाईंको चलचित्र यात्राका बारेमा थोरै भनिदिनुस् न ? 

मैले सन् १९६९ मा पहिलो पटक चलचित्र आराधनामा सह–अभिनेताका रूपमा अभिनय गरेको थिएँ । पहिलो पटक अभिनय गर्दै यो मेरो काम होइन रहेछ भन्ने लागेर म निर्देशनतर्फ मोडिएँ । सात जना निर्माताले निराश बनाए पनि मैले सन् १९७६ मा ‘कालीचरण’ मार्फत निर्देशनको यात्रा प्रारम्भ गरें । त्यसपछि क्रमश: विश्वनाथ, गौतम गोविन्दा, कर्ज, क्रोधी, विधाता, हिरो, मेरी जंग, कर्मा, राम लखन, सौदागर, खलनायक, परदेश, ताल जस्ता सफल चलचित्र निर्देशन गरें । सन् २०१४ मा बनेको ‘कान्छी : द अनब्रेकेबल’ पछि मैले अन्य चलचित्र निर्देशन गरेको छैन । निर्माताका रूपमा चाहिं सन् २०१५ को हिरो मेरो अन्तिम चलचित्र हो । 

 

मुक्ता आट्सको आरोह–अवरोहका बारेमा केही भन्नुस् न ? 

हिन्दी चलचित्र निर्माण गर्ने उद्देश्यले सन् १९७८ को अक्टोबर २४ का दिन मुक्ता आर्ट्स स्थापना भएको हो, जसले पहिलो पटक सन् १९८० मा चलचित्र कर्ज निर्माण गरेको थियो । सन् १९९० सम्म हामीले निर्माण/निर्देशक गरेका करिब ९० प्रतिशत चलचित्र सुपरहिट भए । सन् २००१ देखि २०११ सम्म निर्माण गरिएका चलचित्र यादें, कृष्णा, युवराज, चाइना टाउन, एतराज, एकबाल, अपना सपना मनी मनी आदिले पनि व्यवसायिक सफलता हासिल गरे । सन् २०१२ पछि भने हामी अध्यापनको क्षेत्रमा सक्रिय भयौं, जुन आजको मितिसम्म जारी छ । यद्यपि अब आउने वर्षदेखि चलचित्र निर्माणमा पुन: सक्रिय हुनेछौं । 

 

नेपालका प्रतिभाहरूलाई कत्तिको नियाल्नुभएको छ ? 

मुम्बईमा मैले धेरै नेपाली कलाकार तथा प्राविधिकहरूलाई नजिकबाट हेरेको छु । अहिलेको भ्रमणका बेला पनि मैले धेरै जनासँग प्रत्यक्ष अन्तक्र्रिया गर्ने मौका पाएँ । मलाई के लाग्छ भने नेपाल सरकारले कक्षा ५ देखि नै ललितकला विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ । सानै उमेरदेखि यस्तो शिक्षा दिन सकियो भने प्रतिभा भएको एउटा बालक ठूलो भएपछि कलाकारितामै करियर बनाउन सक्षम हुनेछ । त्यसका लागि नेपालका गाउँ–सहरमा ओपन थिएटर कल्चर, फिल्म कल्चर, स्टुडियो कल्चर विकास गर्नुपर्छ । यदि त्यस्तो गर्न सकियो भने दस वर्षपछि नेपालमै प्रतिभावान् कलाकारको ठूलो संख्या हुन सक्छ । उनीहरूले नेपालमा मात्र होइन, भारत तथा अन्य मुलुकका चलचित्रमा काम पाउन सक्छन् । यसैपटकको भ्रमणमा मैले चलचित्र विकास बोर्डकी अध्यक्ष (निकिता पौडेल) समक्ष यो कुरा राखेको छु । मेरो कुरा उनले नेपाल सरकारसम्म पुर्‍याउनेछिन् भन्ने कुरामा म ढुक्क छु । 

 

नेपाली चलचित्र उद्योगलाई के सुझाव दिनुहुन्छ ?

नेपाली चलचित्र उद्योगले केही कुरामा ध्यान दिनुपर्ने देखेको छु । पहिलो कुरा स्टुडियोको भौतिक संरचनालाई सुविधा सम्पन्न बनाउनुपर्छ, खासगरी स्तरीय प्रोडक्सनका लागि यो अनिवार्य छ । दोस्रो कुरा ट्यालेन्टलाई ग्रुमिङ गराउनुपर्छ । प्रतिभाहरू पहिचान गरेर उचित प्रशिक्षण दिएपछि मात्र मनोरञ्जनको कुनै पनि विधामा खटाउनुपर्छ । त्यसका लागि सहरमा फिल्म एकेडेमीहरू स्थापना हुनुपर्छ । फिल्मको औपचारिक शिक्षा नै प्रारम्भ गर्नुपर्छ । यति भयो भने नेपाली चलचित्र उद्योगले पनि आफ्नो उचाइ कायम गर्न सक्नेछ । नेपालमा मैले कम्तिमा १० वटा त्यस्ता एकेडेमीको आवश्यकता देखेको छु । 

 

अन्त्यमा, नेपाली चलचित्र निर्माता–निर्देशकहरूलाई के भन्न चाहनुहुन्छ ? 

नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक हो । यहाँ सहरभन्दा प्रकृतिले सिँगारिएका सुन्दर गाउँ धेरै छन् । तपाईं आफ्नै घर, टोल, गाउँ, सहरको कथामा चलचित्र निर्माण गर्नुहोस् । विश्वले थाहा पाओस् न, नेपालको यो संस्कृति अनुपम छ, यो परम्परा अचम्मलाग्दो छ । नेपाली संस्कृति तथा इतिहासका बारेमा चलचित्र बनाउनुहोस् । भारत अथवा हलिउडका चलचित्रको नक्कल किन गर्नुहुन्छ ? यदि तपाईंले आफ्नै देशका मौलिक विषयमा चलचित्र बनाउन थाल्नुभयो भने लेखेर राख्नुहोस्, त्यसले एक दिन ओस्कार एवार्डसमेत जित्नेछ । 

प्रकाशित :जेष्ठ ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्