मेरो अतीत पतित छ

- किशोर नेपाल

जेष्ठ ३०, २०७५

यसपटक मेरो यात्राको सन्दर्भ जोडियो झम्सिखेल, ललितपुरको ‘मोक्ष’ सँग । कुमार नगरकोटीको नवीनतम कृति ‘ज्ञ’ लाई निर्वस्त्र उतारिँदै थियो मानिसहरूको निकै ठूलो भीडमा । जताततै मानिस नै मानिस । महिला र पुरुष बराबरीको संख्यामा । संख्यामा नभए पनि संविधान र कानुनका हिसाबले बराबर । हामी नेपालीहरू जनसंख्यामा समेटिएका ५१ प्रतिशत महिलामध्ये जम्मा ३३ प्रतिशत महिलालाई शासनमा समावेश वा प्रतिनिधित्व गराएर आधुनिक भएका छौं । देशभरिका गाउँ र नगरपालिकामा महिलाहरू उपमेयर बनेका छन् । कता कुनै कुनामा एक जना महिला मेयर भएको हल्ला चलेको थियो । त्यो समाचार कन्फर्म नै होला । निर्वाचन आयोगले यसलाई आफ्नो विशिष्ट बुलेटिनमा स्थान दियो कि दिएन ? कुरा त्यत्ति हो ।

‘ज्ञ’ मा कुमार नगरकोटीले यो कुरा लेखेका छैनन् । लेखेका भए पनि कलम घुमाइ–घुमाइ लेखेका होलान् । उनको ज्ञान अर्थात् ‘ज्ञ’ को विमोचन समारोह रमणीय र स्मरणीय दुवै थियो । एक हिसाबले कुमारले यो समारोहमार्फत नेपालको संस्कृतिलाई चुनौती दिएका थिए । उनको ‘ज्ञ’ को पर्दा खोल्ने समारोहमा पन्चकन्याको उपस्थिति भएन । त्यसको सट्टा पाँच जना मर्दलाई त्यहाँ उभ्याइयो, जसमा एक जना पनि कुमार थिएनन् । राजन गोदार कुमार हुन् वा पुरुष ? यस विषयमा स्तम्भकारलाई थाहा भएन । होइन भने राजकुमार बानियाँ, घिमिरे युवराज, विप्लव प्रतीक र पोखराका गनेस पौडेलका बारेमा नेपालका सबै सहर–बजारमा धेरथोर सबैले जानेका छन् ।

त्यो जमघटमा जबर्जस्त महिला चेतना भएका नारीहरूको पनि बाक्लै उपस्थिति थियो । पुस्तकको विमोचन सगुना शाहबाट सम्पन्न भएको थियो भनेपछि नारीहरूको कुरा गर्नै परेन ।

मंगलबार बिहान कुमार नगरकोटी र म कफी गफमा थियौं— ‘ज्ञ’ विमोचन समारोहको चर्चा गर्दै । पन्चकन्याको सट्टा पन्चपुरुषले परम्परा तोडन खोजेको तथ्यलाई उनले ठाडै इन्कार गरे । उनले भने— हामीले त ती पुरुषमा नाटकका महारथी अनुप बराल र मण्डला थिएटरका अधिपति राजन खतिवडा समेतलाई राखेर सप्तऋषि बनाउन खोजेका थियौं, तर अनुप पोखरातिरै अलमलिए, राजन विमोचनको दिन बिहानै काम पर्‍यो भनेर उछिट्टिए । कुमार मेरो कुरामा सहमत थिए कि यो अलिकति गिमिक पनि थियो । खर्पनमा ल्याइएको ‘ज्ञ’ का प्रतिहरूको विमोचन सगुनाबाट भएपनि माल्ट ह्विस्कीको विमोचन गर्ने सौभाग्य पन्च पुरुषले पाए अनि उनीहरूले त्यो एक लिटर माल बाँडीचुँडी खाए ।

कुमारकै मुखारविन्दबाट सुनेको हो मैले : विमोचनको स्टेजमा के हुन्छ भन्ने त मास्टर अफ सेरेमोनी भूपेन्द्र खड्कालाई पनि थाहा थिएन । त्यहाँ पूरै अराजकता थियो । त्यत्रो माल्ट ह्विस्की आयो । त्यसको नाम के थियो ? मलाई नै थाहा भएन । भूपेन्द्रले पनि थाहा पाएन होला । कहिलेकहीं रक्सी नखाएका बेला पनि रक्सी लाग्छ— यसलाई आफ्टर इफेक्ट भनौं । विमोचन गर्ने भनेको बडो फिजुलको काम हो ।

विमोचन गर्ने भैसकेपछि त्यसलाई राम्रोसँग, सानदार तरिकाले गर्नुपर्छ भन्ने तर्कमा भूपेन्द्रको पनि सहमति होला । जतिसुकै ठूलो समीक्षक भए पनि उसले किताब पढ्दै नपढी गरेको समीक्षाभन्दा त तमासा नै राम्रो होइन र ? शनिबार दिउँसो विमोचन छ । शुक्रबार राति आउँछ प्रेसबाट किताब ।

कफी गफका क्रममा मैले कुमारसँग सोधें, ‘हामी देहव्यापारमा लागेका नारीहरूलाई ‘नगर वधू’ भन्छौं । यसमा के भनाइ छ ? नगर वधू भएपछि ‘नगर वर’ पनि त हुनुपर्‍यो नि ?’

कुमारले भने, ‘हो, हुनुपर्छ । जसलाई हामी जिगोलो भन्छौं त्यही त हो नगर वर भनेको ।’ हामी सहमत भयौं— यो ‘नगर वर’ शब्द नेपाली भाषामा चल्नुपर्छ । यो शब्दको प्रचलन गजबकै हुन्छ । भाषाको ढोका थुनेर जो बसेका छन् तिनले स्वतन्त्रताको मूल्य बुझ्नुपर्छ । यी एनजीओवालाहरूले अहिले भाषाको खाल्डो खनेका छन् । भाषा पनि तिनले अराए–सिकाएजस्तो बोल्ने हो र ?

कफी गफ सकिने सकिने बेलामा कुमारले कुरा जमाए, ‘दाइ, मेरो अतीत पतित छ ।’ यस विषयमा विस्तृत खुलासा पछि होला । अहिले हामी दुवैलाई त्यसको हतार छैन । ‘लेख्नु भनेको आनन्द हो । त्यो आनन्द अरूलाई आए पनि नआए पनि लेखकलाई आउनुपर्छ । लेख्दालेख्दै कुनै लेखाइले सन्तुष्टि दिन सकेन भने त्यसलाई डम्प गरिदिनुपर्छ । आफैंलाई मज्जा आएन भने के लेख्ने र किन लेख्ने ? किताबको कभरमा कुमारको फोटो हुनैपर्छ । त्यो उनको अर्धांगिनीको इच्छा हो । त्यो पनि एक प्रकारको आनन्द हो । 

 

प्रकाशित :जेष्ठ ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्