हाँसोको मुहान खोज्दै जाँदा

- मनोज गजुरेल

जेष्ठ २९, २०७५

पहिलो पटक विदेशी भूमिमा उत्रँदैछु । जहाजको ढोकाबाट बाहिर निस्कन्छु । ओहो, कस्तो गर्मी ! तातो हावाको मुस्लोले मुटुमै हान्छ । गाडीले १५ मिनेट घुमाएर एउटा ढोकामा पुर्‍याएर छोडिदिन्छ । इमिग्रेसन लेखिएको छ । लाइनमा संसारभरिका मान्छे छन् । काला, गोरा, आर्यन, मंगोल, द्रवीण, एसियन, अफ्रिकन, अमेरिकन थरीथरीका मानिसहरू । म पनि त्यहीं भीडमा मिसिएर उभिन्छु ।

मनमनै सोच्छु, यिनीहरू पनि हामीजस्तै हाँसोको मुहान खोज्दै आएका होलान् । यिनका पनि बाबु–आमा होलान्, श्रीमती र सन्तान होलान् । रहरले त पक्कै आएका होइनन् होला । यी बंगलादेशी, श्रीलंकन, भारतीय, अफ्रिकन, पाकिस्तानी हामीजस्तै काम खोज्न आएका होलान् । यिनलाई पनि 

आफ्नो मातृभूमिको मायालाग्दो हो । देशमै काम गर्ने वातावरण नहुँदा नेताहरूप्रति घृणा जाग्दो हो । यस्तै सोच्दासोच्दै मेरो पालो आउँछ ।

एउटा काउन्टरमा म छु । मसँगैको काउन्टरमा एउटा कुहिरे छ । इमिग्रेसन अफिसरले उसलाई गर्ने व्यवहार र मलाई गर्ने व्यवहारमा आकाश–जमिनको फरक छ । उसलाई मुसुक्क हाँसेर स्वागत गर्छ । मलाई ठुस्स परेर बोलाउँछ । मसँग ठूल्ठुलो स्वरले बोल्छ । ऊसँग चिप्लो भएर बात मार्छ । मैले फिंगर प्रिन्ट गर्न नजान्दा हप्काउँछ, उसले बिगार्दा पनि इट्स ओके भन्छ । मलाई हिन्दीमा जाओ, जाओ भन्छ, उसलाई गुड बाई भन्छ । सायद गरिब देशको नागरिक हुनुको यस्तो पीडा अरू देशका नागरिकले पनि भोग्दा हुन् ।

इमिग्रेसन नामको यमद्वार पार गरेपछि म अरूको पछि–पछि लाग्दैछु । सामान कहाँ लिने, अलमलिन्छु । स–साना रेलजस्ता बेल्टहरू घुमिरहेका छन् । मानिसहरू आफ्ना ब्याग, सुटकेसहरू निकाल्दैछन् । म पनि त्यहीं कुर्छु, आफ्नो सामान लिन, तर सबै जना हिँडिसक्दा पनि मेरो सामानको टुंगो थिएन । के गर्ने, कसो गर्ने, अलमलमा पर्छु । सोधौं, कसैले नेपाली बुझ्दैनन्, अरू भाषा आउँदैन । 

ढुंगो खोज्दा देउता मिल्छ । एक जना नेपाली दाइ सोध्छन्, तपाईंको केही समस्या छ कि ? उनी त्यहीं काम गर्ने कर्मचारी रहेछन् । मैले भनें, मेरो सामान आएन । यद्यपि मैले नै गलत ठाउँमा कुरेछु । ती दाइले अर्को बेल्टमा लगे । मेरो सामान त्यहाँ आएको रहेछ । उनैले त्यहाँबाट निस्कने बाटो देखाइदिए । म बाटो लागें, उनलाई धन्यवाद दिंदै । मनमनै मनन गरें, आखिर आफ्नो मान्छे आफ्नै हुँदो रहेछ, स्वदेशमा होस् वा विदेशमा ।

कस्टम क्लियरेन्स भन्दो रहेछ । त्यहाँबाट पर भएपछि बाहिर पुगिंदो रहेछ । सफा सडक, चिल्ला गाडी, ठूल्ठूला भवन । गाडीको स्पिड पनि कति धेरै हो ! प्लेन उडेको हो कि गाडी गुडेको हो, पत्तै नहुने । बाहिर एक घण्टा कुरेपछि कम्पनीको गाडी आइपुग्यो । मेरै कम्पनीमा काम गर्न जाने थुप्रै रहेछन्, विभिन्न देशका । हामी गाडी चढ्यौं । त्यहाँको एउटा राम्रो नियम के रहेछ भने सिटभन्दा धेरै एक जना पनि नराख्ने । कामदारले पाउने एउटा सम्मान यो पनि लाग्यो मलाई ।

एयरपोर्ट बाहिर गाडी जहाजको गतिमा दौडन थाल्यो । म झ्यालबाहिर हेर्दै टोलाइरहेको छु । मरुभूमिमा बनाइएका राम्रा घरहरू । सफा सडक र ठूल्ठूला बजारहरू, संसारभरिका मानिसको आकर्षण । यस्तो देख्दा लाग्छ, हाम्रो देशलाई सतिले नै सरापेको हो । होइन भने प्रकृतिक सम्पन्नताले भरिपूर्ण देश छोडेर हामी किन बिदेसिनुपथ्र्याे ? चाहँदा त हुँदो रहेछ त । यो बालुवाको भरुभूमिको तुलनामा हाम्रो देशमा के कमी छ र ? तर जनमुखी सरकार, दबाबकारी प्रतिपक्ष र खबरदारी गर्ने जनता नभएपछि हामीले यसरी नै परदेसिनुपरेको छ ।

गाडीको गति जति–जति बढ्छ मेरो दिमागमा प्रश्नैप्रश्नको बाढी दौडिन्छ । बा–आमा के गर्दै होलान् ? एक दिन मलाई नदेख्दा छोरी रुन्थी, अब के गर्दी होली ? गाईले मलाई मात्र दूध दिन्थ्यो, कसले दुहुने होला ? फेरि आफ्ना बारेमा सोच्न थाल्छु । यस्तो गर्मीमा कसरी काम गर्ने ? बिरामी भएँ भने पानी दिने को होला ? मलाई कथंकदाचित केही भैहाल्यो भने परिवारको अवस्था के होला ? आदि इत्यादि ।

धेरै प्रश्न आए दिमागमा । सबैभन्दा धेरै आएको प्रश्न हो, हाम्रो देश कहिले यस्तो बन्ला ? बाटाघाटा, पुलपुलेसा, नीति–नियम, सफा–सुन्दर, विकसित, समुन्नत । के बन्छ त हाम्रो देश ? पहिलो पटक विकसित देशमा पाइला टेक्ने हरेक नेपालीको मनमा उठ्ने पहिलो प्रश्न पनि यही होला । मनमनै सम्झन्छु, मेरा पालामा त त्यस्तै हो, छोरा–नातिका पालामा चाहिँ कुन्नि ? 

गाडी रोकिन्छ । सबै उत्रिन्छन् । म पनि उत्रिन्छु, नयाँ जीवन, नयाँ जगत र नयाँ दैनिकी सम्हाल्न । थाहा छैन, कस्तो कष्ट बेहोर्नुपर्ने हो ? क्रमश: 

प्रकाशित :जेष्ठ २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्