विश्वकप लिग चरणका प्रमुख खेल

- हिमेश बज्राचार्य

जेष्ठ २७, २०७५

विश्वकप–२०१८ को प्रमुख विशेषता हो, यसमा कुनै त्यस्तो समूह छैन, जसलाई ‘ग्रुप अफ डेथ’ भन्न सकियोस । त्यसैले केही फुटबल पण्डितले भनेका छन्, यसपटक समूह चरणमा ठूलो अप्रत्याशित नतिजा आउने छैन अर्थात् प्रत्येक समूहबाट तिनै दुई टिम अन्तिम १६ मा पुग्ने छन्, जसलाई बलियो मानिएको छ । अझ भनौं, यसपटकको विश्वकपमा वास्तविक प्रतिस्पर्धाको सुरुआत अन्तिम १६ बाट मात्र हुनेछ, जति बेला नकआउट चरण सुरु हुनेछ । यो विश्लेषण केही हदसम्म ठीक पनि हो, तर सबै कुरा दाबीअनुसार पनि हुने छैन । कम्तीमा हामीले प्रत्येक समूहमा एउटा त्यस्तो खेल निकाल्न सक्छौं, जसले समूहको दिशा तय गर्नेछ । 

रूस–साउदी अरेबिया (समूह–ए)

प्रत्येक विश्वकपको उद्घाटन खेल विशेष हुन्छ, किनभने एक त यसमा आयोजक देश खेलिरहेको हुन्छ । अर्को अप्रत्याशित नजिता निस्कने सम्भावना पनि उत्तिकै हुन्छ । यसपटक रूस र साउदी अरेबियाबीचको खेलसँगै सुरु हुनेछ, विश्वकप–२०१८ । आयोजक रूस प्रतियोगिताकै सर्वाधिक तल्लो वरियताको टिम हो । रूस ६५ औं स्थानमा छ । साउदी भने ६३ औं स्थानमा । यसपटकको विश्वकपको यो सर्वाधिक तल्लो वरियताका दुई टिमको खेल पनि हो, तर यो नै यस्तो खेल हुनेछ, जसले समूहको भाग्य निश्चित गर्नेछ । 

पोर्चुगल–स्पेन (समूह–बी) 

लिग चरणको सर्वाधिक ठूलो खेल । यो तथ्यमा विवाद नगरे हुन्छ, किनभने दुवै यस्ता टिम हुन, जसले विश्वकप जित्ने दाबी गर्न सक्छन् । स्पेन २०१० को विश्वकप च्याम्पियन हो भने पोर्चुगल युरोपको डिफेन्डिङ च्याम्पियन । दुवै टिममा जति पनि खेलाडी छन्, सबैले एक–अर्कालाई राम्रोसँग चिनेका छन्, सँगै अथवा एक अर्काविरुद्ध खेलेका छन् । दुवै छिमेकी पनि हुन्, अनि ठूला प्रतिस्पर्धी पनि । यो विश्वकपको छुटाउनै नहुने खेल हो र यसले निर्धारण गर्नेछ, समूह जित्ने टिम कुन हुनेछ ?

पेरु–डेनमार्क (समूह–सी)समूह ‘सी’ जित्ने टिम त फ्रान्स नै हुनेछ, यो तथ्यलाई आधार मान्ने हो भने पेरु र डेनमार्कबीचको खेलले निर्धारण गर्नेछ, समूहमा कुन टिम दोस्रो हुनेछ । पेरु सन् १९८२ यता पहिलो पटक विश्वकप खेलिरहेको छ, तर यो त्यही टिम हो, जसले दक्षिण अमेरिकामा चिली र पाराग्वेलाई पन्छाएर विश्वकपसम्म पुगेको थियो । पछिल्लो कोपा अमेरिकामा पनि ब्राजिललाई पेरुले नै हराएको हो । डेनमार्क पनि लामै अन्तरालपछि विश्वकपमा फर्किएको छ । यो खेलको नजिता जे पनि हुन सक्छ, तर यसले समूहलाई भने राम्रैसँगै प्रभावित गर्न सक्नेछ ।

अर्जेन्टिना–आइसल्यान्ड (समूह–डी)

आइसल्यान्डले अहिले गज्जबको फुटबल खेलिरहेको छ, अन्यथा यो न त सन् २०१६ को सनसनीपूर्ण टिम हुन्थ्यो, न यसले युरो छनौटमा दसमध्ये सात खेल जित्थ्यो । आइसल्यान्डले विश्वकपमा डेब्यु गर्दैछ र यो जनसंख्याका आधारमा सबैभन्दा सानो देश पूरा विश्वमा धेरैका लागि प्रिय हुन सक्छ । यही आइसल्यान्डले सामना गर्नेछ, विश्वकै सर्वाधिक लोकप्रिय टिम अर्जेन्टिनाको । भनिरहनु पर्दैन, अर्जेन्टिनासँग लियोनल मेसी छन् । यस्तोमा यो निकै ठूलो टिमविरुद्ध निकै सानो टिमको खेल पनि हुनेछ, तर यसको प्रभाव पनि उत्तिकै रहनेछ ।

ब्राजिल–कोस्टारिका (समूह–ई)

साँच्चै, कोस्टारिका कति बलियो टिम हो ? कमजोर हुन्थ्यो त यसले चार वर्षअघि इंग्ल्यान्डलाई त्यो बेलाको विश्वकपमा स्तब्ध पार्ने थिएन । कोस्टारिकाले त्यति बेला इंग्ल्यान्ड, इटाली र उरुग्वे भएको समूहमा विजय प्राप्त गरेको थियो । त्यसैले कोस्टारिका ख्याल गर्न लायक टिम हो, भलै मैदानमा उसको विरुद्ध हुनेछ, विश्वकपको सदाबहार टिम ब्राजिल । ब्राजिल यो समूहबाट सजिलै अर्को चरण पुग्नेछ, तर जुन समूहमा कोस्टारिका छ, त्यो समूहबाट पहिले नै जितको दाबी गर्नु ठीक हुँदैन ।

बेल्जियम–इंग्ल्यान्ड (समूह–जी)

धेरैले धेरै पटक भनेका छन्, बेल्जियम बलियो टिम हो, किनभने यो टिम स्वर्णिम पुस्ताबाट गुज्रिरहेको छ । नजिता भने त्यसअनुसार रहने गरेको छैन । युरो छनौटमा पनि बेल्जियम अपराजित रह्यो । यसका धेरै खेलाडी इंग्ल्यान्डमा खेल्छन् । यसपटक तिनै खेलाडीले लिग चरणमा सामना गर्नेछन्, आफ्ना साथी खेलाडीहरूको टिम इंग्ल्यान्डको । इंग्ल्यान्ड पनि छनौटमा अपराजित थियो । पछिल्लो विश्वकपमा नकआउट चरण पनि पुग्न नसकेको इंग्ल्यान्डबाट धेरै आशा गर्न सकिँदैन तर यो एउटा निकै रोमाञ्चक खेल हुनेछ । 

जर्मनी–मेक्सिको (समूह–एफ)

 यसपटकको विश्वकपको लिग चरणमा यो दोस्रो ठूलो खेल हो । कन्फेडेरेसनकपमा जर्मनी र मेक्सिको भिडेका थिए । त्यसको नतिजा जर्मनीको पक्षमा ४–१ ले थियो । त्यति बेला जर्मनीले दोस्रो रोजाईका खेलाडी उतारेका थिए । अहिले डिफेन्डिङ च्याम्पियनका रूपमा जर्मनीले पहिलो रोजाइकै टिम उतार्दैछ । मेक्सिको पनि बलियो टिम हो, तर एउटै प्रश्न के भने यो टिम नकआउट चरणसम्म त पुग्छ, तर प्रत्येक पटक अन्तिम १६ बाट बाहिरिन्छ । सम्भवत: यो खेलकै नतिजामा समूहको स्थिति निश्चित हुनेछ ।

पोल्यान्ड–कोलम्बिया (समूह–एच)

पोल्यान्ड सन् २००६ यता विश्वकप खेलिरहेको छ, तर वरियतामा अहिलेको टिम नम्बर ६ मा छ । टिमको यस्तो प्रदर्शनमा कसैको ठूलो हात छ भने त्यो फरवार्ड रोबर्टो लेवनडोस्कीको उत्कृष्ट प्रदर्शन नै हो । यता कोलम्बियाले सन् २०१४ को विश्वकपमा तहल्का नै मच्चायो, जेम्स रोड्रिग्वेज प्रतियोगिताकै सफलतम खेलाडी मानिए । यी दुई टिमबीचको खेल एक प्रकारले युरोपविरुद्ध दक्षिण अमेरिकाको खेल पनि हुनेछ ।

प्रकाशित :जेष्ठ २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्