Teej banner

जाने होइन त र्‍याफ्टिङ ?

- नरेन्द्र रौले

जेष्ठ २६, २०७५

 

 

र्‍याफ्टिङ एक प्रकार हावा भरेर चलाउन मिल्ने डुंगा (र्‍याफ्ट) प्रयोग गरेर पानीको बहावसँगै बग्दै गरिने जलयात्रा हो । यो एउटा मनोरञ्जक साहसिक खेल हो । र्‍याफ्टिङका लागि अहिलेसम्म नेपालका १६ वटा नदी खुल्ला गरिएका छन् । त्यसमध्ये कर्णाली, सुनकोसी र भोटेकोसी नदी र्‍याफ्टिङका लागि संसारकै उत्कृष्ट दस नदीमा पर्छन् । खासगरी यी तीनवटा नदीमा विदेशीहरू महँगो रकम तिरेर र्‍याफ्टिङको मज्जा लिन्छन् । 

सुनकोसी नदी

लोन्ली प्लानेटका अनुसार सुनकोसी नदीको र्‍याफ्टिङ विश्वकै सबैभन्दा राम्रोमध्ये एक हो । यहाँ खासगरी सेप्टेम्बरदेखि जनवरीसम्म र्‍याफ्टिङ गर्न सकिन्छ । जुनसुकै र्‍याफ्टिङ कम्पनीबाट पनि टिकट बुकिङ गर्न सकिन्छ । सुनकोसीमा र्‍याफ्टिङका लागि ८ रात, ९ दिनको विशेष प्याकेज बनाइएको छ । यो यात्राका लागि १० दिनको समय छुट्याउनुपर्छ । 

मस्र्याङ्दी नदी

मस्र्याङ्दी नदीका आफ्नै विशेषताहरू छन् । यहाँको पानीको रंग आक्वा मरिन तथा सेतोजस्तो देखिन्छ । मस्र्याङ्दी नदीमा दुई दिनको समय छुट्याउँदा र्‍याफ्टिङको आनन्द लिन सकिन्छ । अक्टोबरदेखि जनवरीसम्म यहाँ र्‍याफ्टिङ प्याकेज उपलब्ध हुन्छ । 

समय : दुई दिन

भोटेकोसी नदी

नेपाल र तिब्बतको सिमानामा पर्ने भोटेकोसी नदीमा गरिने र्‍याफ्टिङ विश्वकै चुनौतीपूर्ण र्‍याफ्टिङमध्ये एक मानिन्छ । नोभेम्बरदेखि जनवरीसम्म यहाँ र्‍याफ्टिङको विशेष समय हो । दुई दिनको प्याकेजका लागि १६ हजार रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।

 

त्रिशूली नदी 

त्रिशूली नेपालमा र्‍याफ्टिङका लागि सबैभन्दा प्रचलित नदी हो । काठमाडौंबाट केही घण्टाको दूरीमा पुगिने भएकाले पनि त्रिशूली नदीमा आन्तरिक तथा बाह्य पर्यटकहरू ओइरो लाग्छन् । त्रिशूलीमा र्‍याफ्टिङका लागि काठमाडौं, पोखरा, चितवनमा प्याकेजहरू किन्न सकिन्छ । र्‍याफ्टिङका क्रममा गल्छेडाहरू पार गर्दै सुन्दर उपत्यका नियाल्न सकिन्छ । पानीको बहाव कतै उच्च गतिमा बग्छ भने कतै मन्द गतिमा । यसले छुट्टै रोमाञ्चकता थप्छ । 

समय : २ दिन

कर्णाली नदी

नेपालको सबैभन्दा लामो र ठूलो नदीका रूपमा परिचित छ— कर्णाली नदी । यो नदी र्‍याफ्टिङका लागि संसारकै सबैभन्दा उत्कृष्ट नदीमध्ये एक हो । मानसरोवर मुहान भएको कर्णाली नदीमा केही अघि बेलायतका राजकुमार ह्यारीले पनि र्‍याफ्टिङ गरेका थिए । 

यो नदीमा गरिने र्‍याफ्टिङ जीवनकै रोमाञ्चकारी यात्रा मानिन्छ । सुदूरपश्चिमको अपिबाट सुरु हुने सेती, धौलागिरिबाट सुरु हुने भेरी नदीसहित दुई दर्जनभन्दा बढी खोला–नालाको पानी बोकेर हिंड्ने कर्णाली नदी चिसापानीपछि सुस्त गतिमा भारततिर बग्छ । कर्णाली नदीको र्‍याफ्टिङ किन पनि चर्चित छ भने यो जलयात्राका क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ । सुस्त गतीमा र्‍याफ्टिङ गर्दा थारु संस्कृति, चराचुरुंगी, जलचर एवं वन्यजन्तुहरू नियाल्दाको आनन्द बेग्लै हुन्छ । 

समय : १० दिन

सेती नदी 

सेती नदीको र्‍याफ्टिङ पारिवारिक र्‍याफ्टिङका रूपमा बढी प्रचलित छ । यहाँबाट चार दिन लगाएर कर्णालीको चिसापानीसम्म लामो र्‍याफ्टिङसमेत गर्न सकिन्छ । तल्लो सेती नदीमा दुई दिनको प्याकेज लिन सकिन्छ । सुदूरपश्चिम घुम्ने पर्यटकहरूका लागि सेती नदीको र्‍याफ्टिङ आकषर्णको केन्द्र बन्दै गएको छ । यहाँ तुलनात्मक रूपमा कम मानिस हुन्छन् । सेती नदीबाट र्‍याफ्टिङ गर्दै कर्णाली पुग्न सकिन्छ । र्‍याफ्टिङका क्रममा स्थानिय जनजीवन, गाईवस्तु चराईरहेका मानिसहरू, पौडी खेलिरहेका बालबालिका, माछा मारिरहेका दृश्य आदि नियाल्न सकिन्छ ।

समय :२ दिन

भेरीमा र्‍याफ्टिङ

प्रदेश नम्बर ६ को राजधानी सुर्खेतको मेहलकुनादेखि रानीघाटसम्मको ४५ किलोमिटर खण्डमा र्‍याफ्टिङ सुरु भएको छ । यसका लागि फागुनदेखि जेठ महिनासम्मको समय सबैभन्दा उपयुक्त मानिन्छ । यहाँ भेरी–कर्णाली र्‍यापिड एड्भेन्चर तथा कर्णाली–भेरी र्‍यापिड एडभेन्चरले जलयात्रा गराउँदै आएका छन् । कर्णाली–भेरी र्‍यापिड एडभेन्चरले मेहलकुनादेखि रानीघाटसम्मको ४५ किलोमिटर दूरीलाई दुई खण्डमा विभाजन गरेर जलयात्रा गराउँदै आएको छ, जसअनुसार मेहलकुनादेखि भेरी पुलसम्मको २१ किलोमिटरलाई पहिलो खण्ड र भेरी नदीदेखि रानीघाटसम्मको २४ किलोमिटरको दूरीलाई दोस्रो खण्डका रुपमा विभाजित गरिएको छ । एक दिनका लागि (झन्डै ४ घण्टा) २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने भेरी–कर्णाली र्‍यापिड एड्भेन्चरका ज्ञानेन्द्र गौतमले बताए ।

 

                                                                 शिव अधिकारी, महासचिव,

                                                      नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज 

नेपालमा र्‍याफ्टिङको सम्भावना कस्तो छ ?

नेपाल हिमाल र नदीका लागि धनी छ । कर्णाली, कोसी र गण्डकी संसारमै ऊर्जावान् एवं जीवन्त नदीका रूपमा कहलिएका छन्, हामीले प्रचार–प्रसार गर्न नसकेको मात्र हो । पारदर्शिता, प्रचार र काम गर्ने जाँगर भयो भने धेरै गर्न सकिन्छ । हामी भाषण र गफले बिग्रियौं । कर्णाली, सगरमाथा र लुम्बिनी हाम्रा गौरव हुन् । कर्णाली नदीमा र्‍याफ्टिङ गर्दा पहाड, हिमाल र तराइ सबै अवलोकन गर्न सकिन्छ । मानिस त्यहाँ पुग्नेबित्तिकै मोहित हुन्छन् । यी तीनवटा कुरा मात्र बेच्न सकियो, प्रचार गर्न सक्यो भने पनि नेपालले प्रशस्त आम्दानी गर्न सक्छ ।

र्‍याफ्टिङका लागि सबैभन्दा बढी प्रचलित ठाउँ कुन हो ?

बढी चलिरहेको ठाउँ त त्रिशूली नै हो । स्वदेशी–विदेशीहरू बढी त्रिशूली नै पुग्छन् । बढी पैसा हुनेहरू कर्णाली तथा तमोर नदी जान्छन् । सबैभन्दा छोटो कालीगण्डकीको र्‍याफ्टिङ हो । दमौलीबाट नारायणघाट नजिकको गाइघाट रुट र सेती नदीमा गरिने र्‍याफ्टिङ पारिवारिक र्‍याफ्टिङ मानिन्छ । 

नेपालका नदीहरू र्‍याफ्टिङका लागि किन विशेष छन् ?

संसारमा अन्त नपाइने माछा गोल्डेन मासिर कर्णाली नदीमा पाइन्छ । विदेशीहरू यही माछा मार्न यहाँ आइपुग्छन् । १५ दिनदेखि १ महिनासम्म खोलामै बस्ने, कुर्ने गर्छन् । त्यो रहर पूरा गर्न विदेशीले १५ सयदेखि ३ हजार डलरसम्म खर्च गर्छन् । उनीहरू उक्त माछाको फोटो खिचेर नदीमै छोडिदिन्छन् । 

र्‍याफ्टिङ गर्नेहरूको संख्यामा कस्तो फेरबदल आएको छ ?

मैले एड्रिफ एड्भेन्चर चलाएको १५ वर्ष भयो । तुलनात्मक रूपमा पर्यटकहरू असाध्यै कम छन् । यो व्यवसाय नेपालीहरूको भरमा चलाएर मात्र हुँदैन । व्यापार ५० प्रतिशतले घटेको छ । गिटी, बालुवा तस्करी र यहाँको ट्राफिक जामले गर्दा पनि प्रत्यक्ष असर पुर्‍याएको छ । अहिले नेपालीले गर्दा नै व्यापार धानिएको छ । नेपाल आउने पर्यटकहरू भारततिर डाइभर्ट भएका छन् । 

र्‍याफ्टिङ व्यवसायका चुनौती के–कस्ता छन् ?

खासगरी गिट्टी, बालुवा तस्करीले ठूलो असर गरिरहेको छ । नदीमा यस्तो क्रियाकलाप भैरहेको देख्दा विदेशीहरू तिमीहरूमा मानवीयता छैन भनेर सोध्छन् । प्रकृतिको दोहन गरेकोमा उनीहरू असन्तुष्टि व्यक्त गर्छन् । क्रसर उद्योगले र्‍याफ्टिङ व्यवसायमा प्रत्यक्ष असर पुर्‍याइरहेका छन् । ट्राफिक जाम पनि उस्तै छ । जाम छिचोल्दै त्रिशूली पुग्न धेरै समय लाग्छ । अर्कातिर स्थानीयवासीले खोलामा ढल मिसाइदिन्छन् । धेरैजसो नदीलाई फोहोरमैलाको डम्पिङ साइट बनाइएको छ । सरकारले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा पर्याप्त प्रचार–प्रसार गर्न सकेको छैन ।

 

प्रकाशित :जेष्ठ २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्