सहकर्मीसँगै लगनगाँठो

- एजेन्सी

जेष्ठ २५, २०७५

चलचित्रमा काम गर्दागर्दै गहिरो प्रेम सम्बन्धमा पर्ने र ब्रेकअप हुने कुरा बलिउडमा नौलो रहेन, यद्यपि बलिउडमा त्यस्ता धेरै कलाकार पनि छन् जसले काम गर्दागर्दै चलचित्रबाटै जीवनसाथी फेला पारे अनि घरजम नै बसाए । 

 अमिताभ बच्चन र जया भादुडीको प्रेमकथा चलचित्र अभिमानबाट सुरु भएको हो । बलिउडमा यो जोडीलाई आदर्श जोडीका रूपमा लिइन्छ ।

 धर्मेन्द्र र हेमा मालिनीले चलचित्र तुम हसीं मै जवाँमा सँगै काम गरेका थिए । उक्त चलचित्रसँगै नजिकिएका उनीहरू सन् १९८० मा ठूलो विवादबीच विवाह बन्धनमा बाँधिए ।

 चलचित्र रफु चक्करपछि ऋषि कपुर र नीतु सिंह प्रेम सम्बन्धमा बाँधिएका थिए । त्यसपछि केही समयको संगतपछि उनीहरूले विवाह नै गरे । बलिउडमा सबैभन्दा शान्त र भलाद्मी जोडीका रूपमा लिइन्छ अजय र काजोलको जोडीलाई । अजय र काजोलले पहिलो पटक चलचित्र हलचलमा सँगै काम गरेका थिए । त्यसपछि उनीहरू नजिकिँदै गए र विवाह गरे । सैफ अली खान र करिना कपुरको सम्बन्ध चलचित्र टसनबाट बलियो बन्दै गएको हो । त्यसपछि डेटमा रमाईरहेका उनीहरू केही वर्षअघि मात्रै विहे वन्धनमा वाधिएका हुन् ।

अक्षय कुमार र ट्विंकल खन्नाको जोडी बलिउडको सुन्दर जोडी मानिन्छ । यो जोडीले दुई चलचित्र इन्टरनेसनल खेलाडी र जुल्मीमा सँगै काम गरेका थिए । 

 अभिनेता आमिर खानका लागि लगान चलचित्र विशेष रह्यो । आमिर खान यसै चलचित्रकी सहायक निर्देशक किरण रावप्रति मोहित भएपछि आफ्नी श्रीमतीलाई पारपाचुके गरी किरण रावसित विवाह गरेका थिए ।

 रितेश देशमुख र जेनेलिया डिसुजा चलचित्र तुझे मेरी कसमको छायांकनका क्रममा असल साथी भएका थिए । त्यसको झन्डै ९ वर्षपछि उनीहरूले विवाह नै गरे ।

 अभिषेक बच्चन र ऐश्वर्या रायले पहिलो पटक चलचित्र ढाई अक्षर प्रेमकामा काम गरेका थिए । तेस्रो पटक चलचित्र गुरुमा काम गर्ने क्रममा अभिषेकले ऐश्वर्यासमक्ष प्रेम प्रस्ताव राखेका थिए । 

प्रकाशित :जेष्ठ २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्