सर्वाधिक आलोचित मिस नेपाल मै हुँला
जेष्ठ २५, २०७५
धापाखेल, ललितपुरमा सन् १९८६ मा जन्मिएकी सुगरिका केसीले सफल रेडियो जक्की बन्ने सपना देखेकी थिइन् । केसीलाई सञ्चार क्षेत्रले सहर्ष स्वीकार मात्र गरेन, दृढ संकल्प र अथक प्रयासले मिस नेपाल वल्र्ड–२००५ को विजेतासमेत बनायो । कोरियोग्राफी, स्टेज शो, टेलिभिजन तथा रेडियोमा सक्रिय सुगरिकासँग साप्ताहिकका हङकङ प्रतिनिधि अनोज रोक्काको कुराकानी :
मिस नेपालसम्मको यात्रा छोटकरीमा सम्झनुपर्दा ?
वास्तवमा मिस नेपाल मेरो चाइल्ड ड्रिम होइन । कलाकारिता र टेलिभिजन पनि होइन, म त रेडियो जक्की बन्न चाहन्थेँ । कक्षा १२ पढ्दाताका रेडियोको ट्ेरनिङ लिएपछि म रेडियोप्रति थप लालायित भएँ ।
मिस नेपाल नि ?
रेडियोमा काम गर्दा गर्दै मेरा साथी अनि गुरुहरूले मिस नेपालमा प्रयास गर न भन्नुभयो, मेरो हाइट अनि बोल्ने कलाले गर्दा होला, ममीले पनि हौसला दिनुभयो र अन्तिम समयमा आएर मैले मिस नेपालमा भाग लिएँ । पहिलो अन्तर्वार्तामा छनौट भए पनि क्रमश: ट्ेरनिङ, पर्फमेन्समा आफ्नो तर्फबाट अधिक प्रयास गर्दै गएँ । त्यसकै प्रतिफल हो— मिस नेपाल ।
मिस नेपाल भएपछि जीवनमा आएको परिवर्तन ?
धेरै सकारात्मक परिवर्तन आए । इतिहासमै सबैभन्दा आलोचित मिस नेपाल मै हुँला । २००५ मा म मिस नेपाल हुँदा धेरै आलोचना भए, जसले मलाई आलोचनाबीच पनि अघि बढ्ने प्रेरणा दियो, म अझ परिपक्व भएँ । जिम्मेवारी बोध र सकारात्मक कुरा अत्यधिक सेयर गर्नुपर्छ भन्ने भावनाको विकास भयो, जसको नतिजा म आज छु ।
कतिपय मिस नेपालहरू विदेशमै घरजम गरेर बसेका छन् । तपाईंलाई के कुराले मातृभूमिमा तान्छ ?
सर्वप्रथम म मेरी एक्ली आमालाई छोडेर विदेश बस्न सक्दिनँ । अर्काे कुरा, म विदेशमा गएर बस्नुपर्छ अनि विदेशमा मात्र सम्भावना छ भन्ने कुराको विरोधी हुँ । हामीले पहिचान मात्र गर्न नसकेका हांै, नेपालमा अत्यधिक सम्भावना छ ।
कस्तो सम्भावना ?
विदेश बस्ने नेपालीहरूकै प्रयासमा हामीले ‘आइडिया फर नेपाल’ भन्ने क्याम्पियन चलाइरहेका छौं । हामी नेपालका विभिन्न क्षेत्रमा पुगेर कृषि, इन्टरनेट, उद्योग आदिका सम्बन्धमा सम्भावनाहरूको खोजी गरिरहेका छौं । हाम्रो यो कामकै कारण निकट भविष्यमै धेरै दाजुभाइ, दिदीबहिनीहरू नेपाल फर्कनुहुनेछ ।
नेपाली चलचित्र कत्तिको हेर्नुहुन्छ ?
मलाई मन पर्छ, समय खासै हुँदैन तर मिलाएर हेर्छु ।
तपाईंको रोजाइका तीन अभिनेता तथा अभिनेत्री ?
अभिनेतामा पुष्प खड्का, आयुष्मान देशराज तथा अनमोल केसी अनि अभिनेत्रीमा प्रियंका कार्की, गौरी मल्ल र मिथिला शर्मा ।
प्रकाशित :जेष्ठ २५, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्