सगरमाथालाई तीन पटक ढोगेर माफी माग्छु

- जनक तिमिल्सिना, महेश तिमल्सिना

जेष्ठ २४, २०७५

सोलुखुम्बुको थामेमा सामान्य परिवारमा जन्मिएका कामीरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको २२ पटक आरोहण गरिसकेका छन् । सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमान आफ्नो नाममा लेखाएका शेर्पाले २२ वर्षको उमेरमा सगरमाथा आरोहण सुरु गरेका थिए । उनले २०५१ सालमा २४ वर्षको उमेरमा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । तेस्रो प्रयासमा सगरमाथा आरोहण गरेपछि उनी निरन्तर सगरमाथाको सफल आरोहण गरिरहेका छन् । कामीरिताको सगरमाथा आरोहण एवं त्यससँग जोडिएका अनुभव आदि विषयमा जनक तिमिल्सिना तथा महेश तिमल्सिनाले गरेको कुराकानी :

कति वर्षको उमेरदेखि हिमाल आरोहण सुरु गर्नुभयो ? 

मैले २२ वर्षको उमेरदेखि नै सुरु गरेको हुँ, २४ वर्षको उमेरमा मैले पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेँ ।

 

२२ औँ  पटकसम्म सगरमाथा चढिसक्नुभयो फरक–फरक समयका फरक–फरक अनुभूति होलान् नि ? 

हामीले सधैँ हिमाल चढ्ने हो, त्यसैले फरक अनुभूति भन्ने हुँदैन । 

पहिलो पटक आफैँ पर्वतारोही भएर हिमाल चढ्नुभएको थियो कि अरू कसैलाई लिएर चढ्नुभएको थियो ? 

पहिलो पटक चढ्दा विदेशीलाई लिएर चढेको थिएँ । त्यो बेला म विदेशीलाई गाइड गर्थें । हाम्रा लागि सगरमाथा आरोहण पेसा हो, ट्याक्सी ड्राइभर र प्लेन उडाउने पाइलटजस्तै । 

हिमाल चढ्ने पेशामा कसरी आउनुभयो ? 

हाम्रो गाउँमा स्कुल थिएन, हामीले पढ्ने मौका पाएनौँ । परिवारको आर्थिक अवस्था कमजोर थियो । त्यो बेला पैसा कमाउन पनि सजिलो थिएन । तेञ्जिङ शेर्पा आरोहण क्षेत्रमा लागेपछि शेर्पाहरूले त्यसैलाई 

पछ्याए अनि हामीपनि पैसा कमाउन यतैतिर आकर्षित भयौँ । 

भनेपछि यो पेसा रहरभन्दा पनि बाध्यता थियो ? 

हो, हाम्रा लागि यो बाध्यता नै हो । 

२२ पटक सगरमाथा आरोहण कसरी सम्भव भयो ? 

मैले अरूसँग प्रतिस्पर्धा गरेर कीर्तिमान राख्न सगरमाथा आरोहण गरेको होइन । यदि म कसैलाई पछि पार्छु भन्ने उद्देश्यले लागिपरेको भए व्यक्तिगत रूपमा यसलाई आफ्नो जितमानेर खुसी पनि हुन्थेँ होला । मैले त यो क्षेत्रमा निरन्तर सक्रिय भएकाले अहिले यो सफलता पाएको हुँ । अर्को कुरा हामीमाथि विदेशी आरोहीहरूलाई कसरी सफल तुल्याउने र उनीहरूलाई खुसी बनाउने भन्ने जिम्मा हुन्छ । त्यही जिम्मेवारी पूरा गर्ने उद्देश्यले निरन्तर लागेको परिणाम हो यो कीर्तिमान । 

हिमाल चढ्दा मूख्य के कुरामा ध्यान दिनुपर्दो रहेछ ? 

हिमाल चढ्दा गाइड गर्ने मान्छेले विदेशीको शारीरिक अवस्था बुझ्नुपर्छ । हामीले विदेशीहरूलाई आरोहणमा लाँदा क्याम्प ३ देखि एउटा समय तोकिएको हुन्छ । यदि त्यो समयभित्र उनीहरू तोकिएको ठाउँमा पुग्न सकेनन् भने फर्कनुपर्ने हुन्छ । त्यसैले समयमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । 

सफल आरोहणका लागि के कुरामा विशेष चनाखो हुनुपर्छ ? 

सबैभन्दा पहिले त हामीले मौसममा ध्यान दिनुपर्छ, आफ्नो टिममा अक्सिजन पुग्छ कि पुग्दैन त्यो पनि हेर्नुपर्छ अनि अर्को कुरा टिमसँग सहकार्य हुनुपर्छ ।

 

२२ पटक सफल आरोहणको कीर्तिमानपछि संसारको ध्यान तपाईंमाथि केन्द्रित भएको छ । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ? 

मेरो नाम संसारभरि फैलिरहेको छ । संसारमै ओहो यस्तो मान्छे भन्ने भएको छु । नेपालमा भन्दा पनि विदेशतिर मेरो चर्चा बढी छ । म भन्दा पहिले पनि कीर्तिमान राख्ने धेरै छन्, तर उनीहरूका लागि नेपाल सरकारले केही गर्न नसकेपछि उनीहरूले विदेश जानुपर्‍यो । अब पनि सरकारले आरोहीहरूप्रति बेवास्ता गर्ने हो भने अबको १० वर्षपछि हामी जस्ता पर्वतारोही फेला पार्न गाह्रो हुन्छ । 

तपाईंलाई पनि विदेशबाट प्रस्तावहरू आइरहेका होलान नि ? 

धेरै देशबाट प्रस्ताव आएका छन् तर म विदेशी नागरिक हुन चाहन्नँ । त्यस्तो प्रस्ताव राख्नेहरूलाई म घुम्नचाहिँ आउँछु, तर त्यहिँ बस्न भने आउँदिन भनेको छु । किनभने म नेपालको छोरो नेपालमै नाम कमाएपछि किन विदेश जानुपर्‍यो ?

हिमाल चढ्दाका केही स्मरण सुनाइदिनुहोसन् ? 

सन् २०१४ मा खुम्बु आइसफल भत्किँदा ५ जनाको मृत्यु भयो, त्यतिबेला मलाई निकै दु:ख लागेको थियो । त्यस्तै, सन् २०१२ मा मनास्लु हिमाल चढ्दा १२ जना फ्रेन्चलाई पहिरोले बगाउँदा यो हिमाल चढ्ने काम राम्रो होइन रहेछ भन्ने सोंच मनमा आयो । ती दुई घटनाले यो क्षेत्रमा नलागौँ कि भन्ने पनि लागेको थियो, तर, हिमाली संसारको मायाले तानिहाल्यो । 

हिमालले तपाईंलाई नाम, दाम, इनाम सबै कुरा दियो । तपाईं चाहिँ हिमाललाई कसरी लिनुहुन्छ ? 

प्रत्येक हिमालमा भगवान्का रूपमा एउटी देवी हुन्छिन् । देवीदेवता रिसाए भने नराम्रो हुन्छ । हामीले देवीदेवताको प्रार्थना गर्नुपर्छ । हिमाल चढ्नुभन्दा पहिले त्यहाँका देवीदेवतासँग मैले तपाईंको टाउकोमाथि टेक्नुपर्‍यो भनेर मनैदेखि माफी माग्छु । आरोहणपूर्व म सगरमाथालाई तीन पटक ढोगेर माफी माग्छु । हिमाल छैन भने नेपालै छैन भने पनि हुन्छ । 

पटक–पटक हिमाल चढ्ने आत्मबल कसरी जुटाउनुहुन्छ ? 

आँट छैन भने मानिसले कुनै पनि काम गर्न सक्दैन । कामलाई निरन्तरता दिँदै जाँदा धेरै कुरा सिक्दै गइन्छ । 

हिमाल चढ्दा सिकेको सबैभन्दा ठूलो कुरा के हो ? 

हिमाल चढ्ने प्राविधिक ज्ञान मसँग छ । जस्तो हिउँमा मान्छे लड्यो भने कसरी तान्ने उसलाई कसरी बचाउने भन्ने कुरा राम्रोसँग सिकेँ । 

शेर्पाहरू हिमालको फेरिँदो मौसम क्षणभरमै थाहा पाउँछन् रे हो ? 

हामी बादलबाटै मौसम थाहा पाउँछौँ । जस्तोसुकै परिस्थितिमा हामीले हिमालमा हुने मौसमको पूर्वअनुमान गर्न सक्छौँ । अहिले त मौसम रिपोर्टहरू पनि धेरै आउँछन् । विभिन्न ठाउँको मौसमको रिपोर्ट जुधाएर हेर्छौं । जुन दिन सबै ठाउँको मौसम ठीक छ त्यही दिन हामी सगरमाथाको शिखरमा जान्छौँ ।

आफूलाई कसरी फिट राख्नुहुन्छ ? 

हामी त त्यत्तिकै फिट हुन्छौँ । गाउँघरमा बस्दा पनि कठोर मेहनत गरिरहेका हुन्छौँ । 

हरेक पटक हिमाल चढ्नुपूर्व कसरी तयारी गर्नुहुन्छ ? 

कम्पनीले हामीलाई यो ठाउँमा जानुपर्छ भनेर छुट्याउँछ । जसले गर्दा हामीले खासै पूर्वतयारी गर्नु पर्दैन । आफूलाई चाहिने सामानको बन्दोबस्त भने गर्नुपर्छ । 

तपाईंले पहिलोपटक सगरमाथा चढ्दा र २२ औँ पटक सगरमाथा चढ्दा के फरक पाउनुभयो ? 

पहिले अलि गाह्रो थियो । भनेजस्ता सामान पनि पाइँदैनथ्यो । अहिले सामानहरू पनि सजिलो खालका आएका छन् । त्यसैले पहिलेको तुलनामा अहिले सगरमाथा चढ्न सजिलो भएको छ । 

हिलारी स्टेपमा रहेको ढुंगा हराएर सगरमाथा आरोहण सहज भएको भनिन्छ नि हो ? 

हिलारी स्टेप छैन् भनेर मैले गत वर्ष नै भन्दा मानिसहरूले हिउँले छोपेर नदेखिएको भने । हिलारी स्टेपलाई कहिल्यै हिउँले छोप्न सक्दैन, त्यहाँ ठूलो ढुंगा थियो, अहिले त्यो ढुंगा छैन । यसपालि पनि मैले राम्रोसँग खोजी गरे र तस्बिर खिचेर ल्याएँ, तर त्यो ढुंगा त्यहाँ छैन । त्यो ढुंगा नभएका कारण अहिले सगरमाथा चढ्न अलि सहज भएको छ । 

त्यो ढुंगा के कारणले हराएको हुन सक्छ ? 

सन् २०१५ को भूकम्पका कारणले हराएको हो कि जस्तो लाग्छ । भूकम्पपछि सगरमाथा चढ्न सहज भएको छ । पहिले खुम्बु आइसफलमा ४/५ ठाउँमा भर्‍याङ लगाउनुपथ्र्यो, यस पटक खुम्बु आइसफलमा एउटा मात्र भर्‍याङ लगाउनुपर्‍यो । मेरो विचारमा भूकम्पको धक्काका कारण आइसफलमा रहेका दरारहरू जोडिए । जसका कारण अहिले खुम्बु आइसफलमा एउटा मात्र भर्‍याङ लगाउनुपर्ने भएको छ । पहिले–पहिले हामीले सातवटासम्म भर्‍याङ गाँसेर खुम्बु आइसफल पार गर्नुपथ्र्यो । यस पटक बेस क्याम्पदेखि आइसफलसम्म एउटा मात्र भर्‍याङ लगाउनुपर्‍यो । 

ग्लोबल वार्मिङको असर सगरमाथामा कत्तिको देखिन्छ ? 

त्यसको स्पष्ट असर देखिन्छ । पहिले–पहिले सगरमाथाको क्याम्प टु ५ हजार ६ सय मिटरमा हिउँ निकै बढी हुन्थ्यो, अहिले ग्लेसियर धेरै देखिन्छ । माथितिर बाटोमा पनि पहिलेको तुलनामा अहिले नांगा चट्टान बढी देखिन्छन् । 

सगरमाथाको चुचुरोबाट कस्तो दृश्य देखिन्छ ? 

सगरमाथाबाट हिमालै हिमाल देखिन्छ । शिवपुरी डाँडाको टुप्पोमा पुगेपछि जसरी काठमाडौं घरैघरले भरिएको देखिन्छ, त्यस्तै सगरमाथाको चुचुरोबाट सेताम्य हिमाल र डाँडाहरू देखिन्छन् । त्यहाँ चर्को हावा पनि चलिरहेको हुन्छ । 

हिमाल चढ्ने प्रतिस्पर्धा पनि देखिन थालेको छ होइन ? 

हो, अहिले प्रतिस्पर्धाको जमाना छ । सगरमाथा आरोहणको कुरा पनि खेल जस्तो बनाइएको छ । स्पोन्सर खोज्ने सगरमाथा चढ्ने, तर, दु:खलाग्दो पक्ष के छ भने उनीहरू एक्लै आफैमात्र कहिल्यै सगरमाथा चढ्न सक्दैनन्, उनीहरू स्वयंले चढे पो उनीहरूको नाम आउने हो । त्यो सबै काम शेर्पाहरूले गरिदिन्छन् । उनीहरूको खानपिन, ओढ्ने ओछ्याउनेदेखि अक्सिजनसम्म, बाटो बनाउनेदेखि शिखरसम्म पुर्‍याउने काम पनि शेर्पाकै हुन्छ तर, उनीहरूको नाम अगाडि आउँछ, यसमा शेर्पाको नाम नआउँदा मलाई साह्रै दु:ख लाग्छ । नेपालको सेना, प्रहरी, निजामति कर्मचारीदेखि प्रचण्डका छोरा र बुहारीसम्मले सगरमाथा चढे । तिनीहरू सबै शेर्पाबिना चढेका होइनन् । नेपाली मात्र होइन, विदेशीहरू पनि शेर्पाबिना सगरमाथा चढ्न सक्दैनन् । आफै बाटो खोल, आफैं आफ्नो खाना बोक आफै दु:ख गरेर सगरमाथा आरोहण गरेर देखाउ ? शेर्पाले चढाएको ठाउँमा शेर्पाको नाम काटेर उनीहरूको नाममात्र किन आउँछ ? फलानो शेर्पाले गर्दा मैले सगरमाथा चढे र मेरो नाम रह्यो भन्नु पर्दैन् ? 

सरकारले शेर्पाहरूका लागि के गरिदिओस् भन्ने चाहनुहुन्छ ? 

सरकारले गर्नुपर्ने धेरै पहिले नै हो । सरकारले गर्न नसकेपछि तेन्जिङ नोर्गे शेर्पालाई भारतले किन्यो । सरकारले त्यतिबेला नै केही गरेको भए अहिले तेन्जिङ शेर्पा नेपाली नै हुन्थे । अहिले पनि १० भन्दा धेरै पटक सगरमाथा आरोहण गरेका कैयौं कीर्तिमानधारी शेर्पाहरू छन् । १८–१९ पटक आरोहण गरेकाहरू पनि धेरै छन् । १०–१२ पटक सगरमाथा आरोहण गरेका त झन्डै १ सय जना शेर्पा छन् । यिनीहरू नेपालका सम्पत्ति हुन्, हामीले उनीहरूको संरक्षण गर्नुपर्छ भनेर सरकार लाग्नुपर्छ । ५–६ पटक त धेरैले आरोहण गरिरहेका छन्, १० चोटि र त्यो भन्दा बढी सगरमाथा आरोहण गर्नेलाई सरकारले कसरी हुन्छ संरक्षण गर्नुपर्छ । सरकारले एक जना विदेशीबाट पाउने एक हजार डलर रोयल्टीको २० प्रतिशत मात्र उनीहरूलाई भत्ता दिएर हुन्छ कि कसरी हुन्छ संरक्षण गर्नुपर्छ ।

 

सगरमाथाको संरक्षणको कुरा पनि उठिरहेको छ । त्यहाँको मुख्य समस्या के छ ? 

सगरमाथाको सबैभन्दा ठूलो समस्या भनेकै फोहोरको समस्या हो । सगरमाथालाई क्लिन राख्न सरकारले विशेष ध्यान दिनुपर्ने भैसकेको छ । बसन्त ऋतुमा मात्र झन्डै ४ सयभन्दा बढी विदेशी सगरमाथा आरोहणका लागि आउँछन् । उनीहरूबाट उठ्ने राजस्वको एक भाग सगरमाथाको सरसफाइमा खर्च गर्नुपर्छ । उनीहरू जलवायुको असरका सम्बन्धमा कोपहेगनमा गएर बैठक गर्छन्, कालापत्थरमा हेलिकप्टर लिएर बैठक गर्छन् । त्यति गर्दा सगरमाथा सफा हुन्छ ? त्यस्ता बैठक–सेमिनारमा गरिने खर्च सगरमाथाको फोहोर संकलनमा लगाएको भए हुन्थ्यो नि । फोहोरकै कारण सगरमाथामा हिउँको अस्तित्व नै संकटमा छ । 

 

२२ पटक सगरमाथा चढ्दा तपाईंले आफ्नो जीवनशैलीमा के–कस्तो परिवर्तन आएको महसुस गर्नुभएको छ ? 

मेरो जीवनशैली हिजो जस्तो थियो आज पनि उस्तै छ । म साधारण जीवनशैली बाँच्छु । मैले प्रतिस्पर्धा गरेर मेरो जीवन बनाउँछु भनेर सगरमाथा आरोहण गरेको भए कुरा अर्कै हुन्थ्यो होला । मचाहिँ कामको सिलसिलामा गाइड बन्दैं सगरमाथा आरोही हुन पुगे । त्यसपछि सगरमाथा आरोहण दलको नेतृत्व गर्दै सगरमाथा पुगिरहेको छु । करोडौं खर्च गरेर विदेशीहरू सगरमाथा आरोहण गर्न आउँछन्, उनीहरूको आरोहण सफल पारियो भने नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्छ । पर्यटकको संख्या बढ्यो भने हामी सबै नेपालीलाई पैसा कमाउन सहज हुन्छ । म त्यही कुरा ध्यानमा राखेर सगरमाथा आरोहण गर्छु । 

सगरमाथा आरोहणका क्रममा परिवारलाई कत्तिको सम्झनुहुन्छ ? 

परिवारको सम्झना त आउँछ नै । म वर्षमा दुई–तीन पटक सगरमाथा आरोहणको नेतृत्व गर्छु । त्यसकारण आजकाल त बानी नै भैसकेको छ । 

अब कति पटक सगरमाथा आरोहण गर्छु जस्तो लाग्छ ? 

मैले २५ पटक सगरमाथा चढ्छु भनेर भनेको हुँ तर अहिले मेरो पछि–पछि प्रतिस्पर्धा गर्ने मानिसहरू देखिरहेको छु । २० पटक आरोहण गरेकाहरूले मैले २४ पटक आरोहण गरे भनेर फेसबुकमा हल्ला चलाइरहेका छन् । त्यस्तो हुन थाल्यो भने म छोडिदिन्छु । उनीहरू कीर्तिमान राखून् मलाई कीर्तिमान चाहिँदैन् । उनीहरूले नै गरी खाउन, म त्यस्तो प्रतिस्पर्धामा जाँदिनँ । 

 

प्रकाशित :जेष्ठ २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्