रेलको खेल

- किशोर नेपाल

जेष्ठ २३, २०७५

मानिसको जातै यस्तो कि आफैंलाई नपरेसम्म, आफैंले नभोगेसम्म कुनै पनि विषयको चेत खुल्दैन । शासन, प्रशासन, उद्योग, व्यापार, व्यवसाय सबै विषयमा उही हो । अहिले यही महानगरका सडकमा उडेको धूलोलाई हेरौं । केही दिन अघिसम्म यतिसारो धूलो उडेको थिएन । जब चौथाइ दशकको कोमाबाट मेलम्ची योजना अचानक ब्युँझियो, त्यसपछि नै कान्तिपुर सहरमा धूलोको महामारी सुरु भैहाल्यो । धूलोका यी करोडौं होइन, खर्बौं कणले कति काठमाडौंवासीको घाँटी बरबाद गरिसके, कतिको नाकको प्वाल टालिदिइसके, कतिको फोक्सो खराब तुल्याइसके । तैपनि धूलोको यो प्रचण्ड समस्यामा अरूको त के कुरा, स्वयं प्रधानमन्त्री र उक्त पदका अन्य प्रत्याशीहरूको पनि ध्यान गएन । ध्यान गए पनि उनीहरूले गर्नु के र ? आखिर यो समस्या तुरुन्तै समाधान हुने पनि होइन । 

एक त प्रमुख प्रतिपक्ष अहिले सेलाए पनि निकै आक्रामक छ, धूलोको कुराले उसलाई फेरि तताउला । कान्तिपुर सहर र यसका सडक–गल्लीलाई मेलम्चीको पानीले पखाल्ने जोसमा सहरभित्रका सबै सडक खनिएका छन्- कतिपयमा ओछ्याइएका पुराना पाइप फेर्न र कतिपयमा नयाँ पाइप गाड्न । यस्तोमा सरकारमा भर्खर सय दिन मात्र कटाएका प्रधानमन्त्रीले कुनै पनि कामलाई निरुत्साहित गर्न त मिल्दै मिलेन । प्रधानमन्त्रीको काम जनताको उत्साह बढाउने हो । यत्रो उत्साहको साथ विकासका काम भैरहेको सहरमा दायाँबायाँ कुरा निकालेर प्रधानमन्त्री आफंैले वातावरण धमिल्याउनु उचित पनि भएन । प्रतिपक्षका भिजिलान्ते जताततै छरिएका छन् । विरोधका लागि एउटा न एउटा भाउतो निकालिहाल्छन् ।

सहरका सबै सडक र पेटीहरू एकसाथ खनिएकाले धूलो पनि एकमुस्ट उडेको छ । घरबाहिर निस्किने हो भने सहरवासीसँग बाइक भए पनि नभए पनि हेलमेट हुनैपर्छ । मुखमा पट्टी टांसिएकै हुनुपर्छ । आँखाको चस्मा त भन्नुपर्ने कुरै होइन । धूलोको मारमा परेका छन् सधैं चिटिक्क भएर हिंड्ने युवतीहरू । उनीहरू रन्थनिएका छन, ‘ओह ! सिट, यस्तो पनि हुन्छ ?’ तर छिटै सम्हालिन्छन् र सम्झिन्छन्— अस्ति मात्र ग्वार्कोको एक्सिडेन्टमा उनको कजन सिस्टरको झन्डै ज्यान गएको ! यो धूलो त सामान्य भो । महांकालतिर त कति बाइक खाल्डामा झरिसकेका छन् । 

सहरको भेलमा नाच्दै हिंडेका पत्रकार युवतीहरू सोच्दै थिए, यो धूलोको प्रकोपलाई मुख्य समाचार बनाउन मिल्छ कि मिल्दैन ? नमिल्ने त कुरै भएन । बिहान मात्र उरुशाले मेनलाइन दैनिकमा पढेकी थिई– डस्टमाण्डू । हो त † पत्रकारको कल्पनाशीलताले उसलाई प्रभावित गरेको थियो । उसको दिमागमा किन आउँदैनन् यस्ता शब्दहरू ?

लौ बीस–पच्चीस जतिसुकै वर्षपछि आए पनि मेलम्ची खोलाको पानी आखिरमा काठमाडौ आइपुग्ने नै भयो । मेलम्ची खोलाको पानी ल्याउने परिस्थिति बन्नु धेरै राम्रो कुरा हो, तर त्यो राम्रो कामलाई ढंग पुर्‍याएर गर्ने राम्रो बानीको विकासचाहिं कहिले हुने ? उरुशीको चिन्तन प्रक्रियामा त्यतिबेला अवरोध उत्पन्न भयो जतिबेला पुरु उसको अगाडि आएर उभियो । उसका कपडाहरू धुलाम्मे थिए । नाकको डाँडीमा धूलो जमेर अनुहार नै बिरूप भएको थियो । उसले पुरुप्रति सहानुभूति व्यक्त गरी र साहित्यिक भाषामा भनी, ‘यस्तै हो साथी, जीवनमा पर्ने दु:खको यो एउटा सानो उदाहरण मात्र हो । अहिले नै नभए पनि मेलम्चीको पानी आएपछि तिम्रो यो रूपमा परिवर्तन आउँछ ।’

पुरु भन्दै थियो, ‘ह्या, तिमी पनि । म तिमीलाई आफ्नो हुलिया देखाउन आएको होइन । तिमी आमीरको दंगल हेर्न जाने हो सिभिलमा ?’

‘कति बजे ?’ उरुशाले सोधी ।

‘चार बजेको शो हो ।’ पुरुले जवाफ दियो ।

‘त्यसो भए नो,’ उसले जवाफ दिइ, ‘हेर, आज दुईवटा रिपोर्ट फाइल गर्नु छ । त्यसपछि मेरो आफनै आमीरको कल आउँदैछ दुबईबाट । अब यो तिम्रो आमीरको दंगल हेर्न कता जानु ? अरु कोही केटी साथी फेला पार्न सकेनौ कि के हो ?’

पुरुको मुख रातो भयो । उरुले उसलाई कडै दिएकी हो । केटीहरूको मामिलामा पुरु लोभी थियो । त्यसपछि ऊ आफ्नो बाइकमा हिंड्यो ।

उरुले सम्झिई, अनिकेतको निम्तो । ऊ आज अनिकेतको निम्तोमा जानेवाली थिइन । उसले कुरा गर्नु थियो चार्लीसंग । चार्लीले साँझ फोन गर्नु भनेको थियो ।

उरु अफिस पुगी र लेख्न थाली । लेख्दा ऊ एकाग्र हुन्थी । कसैले डिस्टर्ब गरेको मन पराउन्न थिई । उसले चार्लीको वाहेक अरु जम्मै फोन होल्डमा राखिदिएकी थिई । 

ऊ लेख्दै थिइ, सहर लड्खडाउँदै छ । मानिसहरू पानीको पाइप बिछ्याउने खाल्डोमा खस्दैछन् । उता सुरुङ जोडिइसकेको खबर आएको छ । सुरुङ नजोडिई खबर मात्रै आएको त होइन होला । तैपनि, पानी आउने–नआउने ठेगान छैन । केही कच्चा चट्टानहरूसँग भिड्दैछन् प्राविधिकहरू । ती चट्टान फुटिरहे पनि घाटा छ, नफुटे पनि घाटा छ । 

पानी पानी पानी– उसले कलम बन्द गरी । त्यसपछि न्युज रुममा पसी । त्यति नै बेला फोनको घण्टी वज्यो । लाइनमा प्रधानमन्त्रीका प्रवक्ता थिए । उरुले सोधी हाली, ‘ल भन्नुहोस् त, प्रधानमन्त्री चीनबाट रेल काठमाडौं ओर्लिदा खुसी हुनु होला कि मेलम्ची खोलाको पानी झर्दा ?’

प्रवक्ता जवाफ दिन अनकनाए । उनको प्राथमिकतामा पानी परे पनि प्रधानमन्त्रीको प्राथमिकतामा रेल पर्‍यो भने ? सोझै व्हांग हो नदीको पानी ल्याएर बाग्मतीमा बहाइदिए त भैगो नि !

प्रकाशित :जेष्ठ २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्