विश्वकप–हुने १२ रंगशाला

- एजेन्सी

जेष्ठ २२, २०७५

रूसमा हुने विश्वकप–२०१८ को उद्घाटन र अन्तिम खेल मस्कोको लुजनिकी रंगशालामा हुनेछ । जुन १४ देखि जुलाई १५ सम्म चल्ने उक्त प्रतियोगिताका क्रममा कुल १२ रंगशाला प्रयोगमा आउनेछन् । क्षेत्रफलका आधारमा विशाल रूसमा छरिएका यी रंगशालामध्ये प्रत्येकले कम्तीमा चार खेलको आयोजना गर्नेछन् । यसपटकको विश्वकपमा प्रयोगमा आउने रंगशाला कस्ता छन् त ? सबै १२ रंगशालासम्बन्धी संक्षिप्त जानकारी । 

एकटेरिनबर्ग एरिना

रूसको पूर्वी क्षेत्रमा पर्छ— एकटेनरिनबर्ग । सन् १९१७ को अक्टोबर क्रान्तिपछि यही सहरमा तत्कालीन शाही परिवारका सदस्यलाई मारिएको थियो । यही सहरको नाममा रहेको रंगशाला एकटेरिनबर्ग एरिनाको दर्शक क्षमता ४५ हजार छ । यो एफसी उलरको घरेलु मैदान पनि हो । सन् १९५३ मा निर्माण भएको यो रंगशालालाई विश्वकपका लागि पुनर्निर्माण गरिएको हो । यहाँ लिग चरणका चार खेल हुनेछन् ।

कलिनिनग्राड स्टेडियम

रूसको महत्त्वपूर्ण समुद्री तटीय सहर कलिनिनगार्डले विश्वकपका लागि नयाँ रंगशाला निर्माण गरेको छ । यो सहर रूसको पश्चिमतर्फ छ । अबदेखि यो रंगशाला एफसी बाल्टिकाको घरेलु मैदान हुनेछ । यो रंगशाला सन् २०१७ मा मात्र तयार भएको हो । यसको दर्शक क्षमता ३५ हजार २ सय १२ छ । यो मैदानमा लिग चरणका चार खेल हुनेछन् । 

कजान एरेना

कजान टाटारसनको राजधानी हो । यो सहरको कजान एरेना सन् २०१३ को वल्र्ड युनिभर्सिटी गेम्सका लागि तयार गरिएको हो । रुबिन कजानले घरेलु मैदानका रूपमा प्रयोग गर्ने यो रंगशालाको दर्शक क्षमता ४५ हजार छ । यहाँ कुल ६ खेल हुनेछन् । त्यसमा चार लिग चरणका खेलसँगै एक अन्तिम १६ र एक क्वाटरफाइनल खेल छन् । वेम्ली र इमिरेट्स निर्माण गर्ने संस्थाले नै यसको स्वरूप तयार पारेको हो । 

लुजनिकी स्टेडियम

सन् १९५९ मा निर्माण गरिएको लुजनिकी स्टेडियम सन् १९८० को मस्को ओलम्पिकका लागि पनि प्रयोग गरिएको थियो । सन् २००८ मा म्यानचेस्टर युनाइटेडले यही स्टेडियममा च्याम्पियन्स लिग जितेको थियो । यसको दर्शक क्षमता ८० हजार छ । रूसी राष्ट्रिय टिमले प्राय: यही मैदानमा खेल्छ । यहाँ उद्घाटन र फाइनलसँगै कुल सात खेल हुनेछन्, जसमध्ये एक खेल सेमिफाइनल हुनेछ । 

स्पार्टक स्टेडियम

सन् २०१४ मा मात्र निर्माण भएको स्पार्टक स्टेडियम रूसको अर्को मैदान हो । यसले ४२ हजार दर्शकलाई आतिथ्य प्रदान गर्न सक्छ । नामअनुसार नै यो रूसको सर्वाधिक चर्चित क्लब स्पार्टक मस्कोको घरेलु मैदान हो । स्पार्टक रूसमा सबैभन्दा बढी समर्थक भएको क्लब पनि हो । यहाँ पाँच खेल हुनेछन् । त्यसमध्ये चार लिग चरणका खेल हुनेछन् भने एक अन्तिम १६ को खेल हुनेछ । 

निज्नी नोभगोरोड

भोल्गा नदीको छेउमा निर्मित निज्नी नोभगोरोड रंगशालाको दर्शक क्षमता ४५ हजार छ । निज्नी नोभरोगोड रूसको निकै महत्त्वपूर्ण व्यवसायिक सहर हो । विश्वकपका लागि निर्माण गरिएको यो मैदान अबदेखि ओलम्पियत्स निज्नी भोगोरोडको घरेलु मैदान हुनेछ । यो रंगशालामा कुल ६ खेल हुनेछन । त्यसमा लिग चरणका खेलसँगै एक अन्तिम १६ तथा एक क्वाटरफाइनल खेल हुनेछन् ।

सेन्ट पिटरसबर्ग रंगशाला 

मस्कोपछि दोस्रो महत्त्वको सहर हो— सेन्ट पिटर्सबर्ग । रुसको पुरानो राजधानी समेत रहेको यो सहरका नाममा नयाँ रंगशाला निर्माण गरिएको छ र यसको दर्शक क्षमता ६७ हजार छ । विश्वकपका निकै खास र महत्त्वपूर्ण खेल यहाँ हुनेछन् । जसमध्ये रूस र इजिप्टबीचको खेलले घरेलु टिमको भाग्य निर्धारण गर्नेछ । तेस्रो स्थान, एक सेमिफाइनल, एक अन्तिम १६ को खेलसँगै यहाँ कुल सात प्रतिस्पर्धा हुनेछन् । 

रोस्टोभ एरिना

विश्वकपकै लागि तयार गरिएको अर्को रंगशाला हो— रोस्टोभ एरिना । मस्को नजिकको रोस्टोभ रूसको ऐतिहासिक सहर हो । एफसी रोस्टोभको घरेलु मैदान बन्ने यो रंगशालाको क्षमता ४५ हजार छ । यहाँ पाँच खेल हुनेछन् जसमा लिग चरणका चार खेलसँगै एक अन्तिम १६ को खेल सामेल छ । 

समरा एरिना

समरा क्षेत्रको राजधानी हो— समरा । यही सहरको नाममा छ, समना एरिना । सोभियत संघ छँदा यो रूसको प्रमुख प्रशासकीय सहर थियो । यसको दर्शक क्षमता ४५ हजार छ । यो पनि विश्वकपकै लागि निर्माण गरिएको नयाँ रंगशाला हो । यहाँ विश्वकपका ६ वटा खेल हुनेछन् । त्यसमा लिग चरणका चार खेलसँगै एक अन्तिम १६ तथा एक क्वाटरफाइनल खेल छन् । 

मोरडोभिया एरेना

मारडोभियाको राजधानी हो— सारान्स्क । यहाँको रंगशालाको नाम भने मोरडोभिया एरेना हो । कुल ३ लाख मात्र जनसंख्या भएको यो सहरको यो रंगशालाको दर्शक क्षमता ४५ हजार छ । सन् २०१७ मा निर्माण पूरा भएको यो नयाँ रंगशालामा लिग चरणका चार खेल हुनेछन् । 

फिस्ट रंगशाला 

सन् २०१३ को सोची शीतकालीन ओलम्पिकका लागि तयार गरिएको हो— फिस्ट रंगशाला । सोची रूसमा रिसोर्ट सहरका रूपमा प्रख्यात छ । फिस्ट रंगशालाले कुल ४८ हजार दर्शकलाई आतिथ्य प्रदान गर्न सक्छ । विश्वकपपछि यही मैदानमा रूसी राष्ट्रिय टिमले अभ्यास गर्नेछ । विश्वकपमा यहाँलिग चरणका ४, १–१ अन्तिम १६ तथा १ क्वाटरफाइनलका खेल हुनेछन् । 

भोल्गोग्राड एरिना

दोस्रो विश्वयुद्धमा सर्वाधिक रक्तपातपूर्व युद्ध भएको स्थान हो— भोल्गोग्राड । यसअघि यो सहरको नाम स्टालिनग्राड थियो । अहिले यो औद्योगिक सहरका रूपमा प्रसिद्ध छ । यहाँको भोल्गोग्राड एरिना पनि विश्वकपकै लागि भनेर निर्माण गरिएको हो । यसको दर्शक क्षमता ४५ हजार छ । यहाँ लिग चरणका चार खेल हुनेछन् । यो रंगशाला विश्वकपपछि रोक्टर भोल्गोग्राडको घरेलु मैदान हुनेछ । 

प्रकाशित :जेष्ठ २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्