जोगिऊँ निपा भाइरसबाट

- मिलन खरेल

जेष्ठ २२, २०७५

यो लेख तयार पार्दासम्म भारतको केरलामा निपा भाइरसबाट संक्रमितहरूमध्ये एक नर्ससहित १४ जनाको मृत्यु भैसकेको छ । नेपाल–भारत खुला सिमानाका कारण नेपालमा पनि यो भाइरस फैलने जोखिम बढेको छ । 

 

के हो निपा भाइरस ?

निपा भाइरस हालसालै पुन: फैलिएको ज्यानै लिन सक्ने कडा प्रकारको संक्रमण हो । यो ‘निपा’नामक विषाणु (एक प्रकारको आरएनएभाइरस)द्वारा जनावर तथा मानिसमा सर्छ । यो भाइरस विशेष गरी फलफूल खाने ‘टेरोपस’ जातिको संक्रमित चमेरोको र्‍यालमा पाइन्छ । यो भाइरसको संक्रमण ४ देखि १४ दिनसम्म रहन्छ ।

 

कहाँ देखियो पहिले ?

निपाभाइरस अर्थात् एनआईभी संक्रमणका रूपमा सर्वप्रथम सन् १९९८ मामलेसियाको ‘काम्पुंग सुंगाई निपा’भन्ने ठाउँको एक सुगुर फर्मका सुगुरहरूमा देखिएको थियो । त्यहीँबाट यसको नाम निपा रहन गयो । त्यतिबेला २ सय ५७ जना व्यक्तिमा यसको संक्रमण देखिएकोमा १ सय ५ जनाको ज्यान जोगियो भने लाखौं सुंगुर मरेका थिए । त्यसपछि सन् २००४ मा बंगलादेशमा निपा संक्रमित चमेरोको र्‍यालको जुठो मिसिएको ताडी पिउनाले मानिसमा सरेको थियो । अहिले यो भाइरस मानिसबाट मानिसमा समेत सरेको पाइन्छ ।

 

लक्षण ?

यो भाइरसबाट संक्रमित व्यक्तिहरूमा कुनै पनि लक्षण नदेखिने, सामान्य रुघाखोकी, घाँटी दुख्ने, बान्ता हुने, शरीर दुख्ने जस्तादेखि लिएर घातक मस्तिष्कज्वरो (इन्सेफलाइटिस) तथा कडा किसिमको फोक्सोको संक्रमण (निमोनिया) समेत हुन्छ । 

कसरी सर्छ ?

यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रत्यक्ष सम्पर्कबाट, संक्रमित व्यक्तिको थुक, र्‍याल, सिगान आदिको सम्पर्कबाट, संक्रमित चमेराले जुठो पारेका फलहरू तथा ताडी भनिने रूखबाट निस्किएको नशालु तरल पदार्थको सेवनबाट अनि सुंगुरजस्ता संक्रमित जनावरको राम्रोसँग नपाकेको मासु खानाले सर्छ ।

 

उपचार ?

अहिलेसम्म यो भाइरसको नियन्त्रणका लागि कुनै खोप बनेको छैन । वैज्ञानिकहरू यो भाइरस विरुद्धको खोप चाँडोभन्दा चाँडो निकाल्न दिन–रात लागिपरेका छन् । अहिले यो रोगका बिमारीको उपचार लक्षणहरूका आधारमा गरिन्छ ।

 

कसरी ?

 संक्रमित व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्कबाट टाढै रहने 

 घर बाहिर निस्कँदा नाक, मुख ढाक्ने मास्क लगाउने 

 साबुन पानीले नियमित रूपमा हात धुने 

 चरा,चमेरो आदिले केही भाग खाएर छोडेको फलफूल नछुने र नखाने 

 सुंगुरजस्ता जनावर पालिएको खोरको छेउछाउ नजाने

 ताडी जस्ता नशालु पेयपदार्थ सेवन गर्नु परे उमालेर मात्र पिउने 

 फलफूल खानु अघि राम्रोसँग बोक्रा ताछ्ने वा पखाल्ने 

 आफ्नो तथा बालबालिकाहरूको व्यक्तिगत सरसफाइमा ध्यान दिने 

 घरमा रहेका खाद्य सामग्रीहरू राम्रोसँग छोपेर राख्ने ।

( लेखक प्राणी शास्त्र विभाग केन्द्रीय प्रविधि क्याम्पस, धरानमा कार्यरत छन् ।)

प्रकाशित :जेष्ठ २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्