Teej banner

गाउँलेको प्रशंसाले संगीतमा प्रवेश

- महेश तिमल्सिना

जेष्ठ २२, २०७५

म पर्वतमा जन्मी हुर्किएको हुनाले सानैदेखि लोक गीत–संगीत धेरै सुन्थेँ, गाईबाख्रा चराउन जाँदा पनि गुनगुनाउथेँ  । विद्यालयमा शिक्षक, साथीहरूले म राम्रो गीत गाउँछु भन्ने थाहा पाएपछि गीत गाउन लगाउँथे । गाउँमा हुने रोधी, मेलापातमा पनि गाउँथेँ । एसएलसी दिएर बाग्लुङको महेन्द्र बहुमुखी क्याम्पस अध्ययन गर्न थालेँ । त्यही क्रममा ०६१ मा आफ्नै स्वरमा गीत रेकर्ड गराउने उद्देश्यले म काठमाडौँ आएँ । 

पहिलो एल्बम 

काडमाडौँ आएपछि साथी रुद्र रिजालसँग मिलेर गीत सिर्जनातर्फ लागँे । सुरुसुरुमा त धेरै संघर्ष गरेँ । यसबीचमा ०६१ मा कुरा काटेको शीर्षकको एल्बम निकालेँ, जसमा तीनवटा गीत समावेश थिए । उक्त एल्बम ८ हजारको हाराहारीमा बिक्री भयो । एल्बमले आर्थिक रूपमा राम्रो नगरे पनि स्टुडियोमा गएर कसरी गीत गाउने भन्ने कुराचाहिँ राम्रोसँग सिकेँ । अर्को कुरा त्यतिबेला आफ्नै नाममा गीतिएल्बम निस्कनु र कभरमा फोटो आउनु नै खुसीको कुरा थियो । 

गीतले सर्वत्र चिनायो

त्यसपछि म त्यो बेला चर्चामा रहेको धौलागिरि क्यासेट सेन्टर पुगे । त्यहाँबाट ०६२ मा मै बसौँला पीपलु र वर शीर्षकको एल्बम निकालेँ । यही क्रममा मैले धौलागिरि क्यासेट सेन्टरमा मिडिया म्यानेजरको जागिर पनि पाएँ । त्यहाँ २ वर्ष जति काम गर्दा मैले धेरै कलाकार तथा मिडियाका साथीहरूसँग चिनजान गर्ने मौका पाएँ । जहाँबाट मैले सिरी–सिरी हावा बहुञ्जेल, कता गयौ गीत गाउने गाइने दाइ, बाँसुरीको धुन, बास्ना फूलैको आदि गीत रेकर्ड गराएँ । यहिक्रममा ०६६/०६७ मा मेरो ‘फूल राम्रो गुलाफको काँडा भए नि’ गीत बजारमा आयो । त्यो गीत सर्वाधिक हिट सावित भयो, जहाँबाट दर्शक श्रोताहरूले मलाई गायकका रूपमा चिन्न थाल्नुभयो । त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेको छैन । 

 

प्रकाशित :जेष्ठ २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्