हाँसोको मुहान खोज्दै जाँदा–५

- मनोज गजुरेल

जेष्ठ २२, २०७५

एक्कासि जहाज घड्याक्क गर्‍यो । मुटु सिरिङ्ग भयो । ‘ड्यू टु ब्याड वेदर, प्लिज रिमेन सिट बेल्ट टाइटिङ,’ पाइलटले भने । जहाज झन्–झन् हल्लिन थाल्यो । डरले सातो– पुत्लो उड्यो ।

अस्ती भर्खर यूएस बंगलाको दुर्घटना सम्झिएँ । मुत्युवरण गर्नेहरूको अनुहार याद गरें । डाक्टर बन्ने सपना बोकेका कलिला युवायुवती झल्झल्ती आए । जहाज झन्–झन् बम्पिङ् गर्न थाल्यो । एयर होस्टेजहरू आत्तिदै बेल्ट चेक गर्दै थिए । डर भगाउन मैले आँखा चिम्म पारें ।

यो डर भन्ने चिज पनि गज्जबकै हुन्छ । यसले कस्ता–कस्ता मै हुँ भन्नेलाई पनि छुलछुल पारिदिन्छ । जस्तोसुकै नास्तिक पनि अप्ठ्यारो पर्दा ‘राम–राम’ भन्न थाल्छन् । ठूल्ठूला वैज्ञानिक पनि ‘भगवान्’को सम्झना गर्छन् । क्रान्तिकारी प्रगतिवादीहरूसमेत लुकीलुकी पूजा–अर्चनामा लाग्छन् ।

अचानक मोदनाथ प्रश्रितको ‘भूत प्रेतको कथा’ याद आउँछ । हुबहु त बिर्सिसकें तर कथाको सारांश यस्तो छ : कुनै युवा रातको १२ बजे एक्लै चिहानमा जान सक्ने दाबी गर्छ । साथीहरूले प्रमाणका लागि एउटा लौरो गाड्नु पर्ने कुरा बताउँछन् । ऊ साथीहरूले दिएको लौरो लिएर मध्यरातमा चिहानतिर लाग्छ ।

तर ऊ फर्कंदैन । बिहान खोज्न जाँदा चिहान नजिकै बेहोस भेटिन्छ । धेरैलाई लाग्छ, यो सबै भूतको कमाल हो तर खासमा कुरो अर्कै हुन्छ ।

मुटु जतिसुकै बलियो भए पनि डर भन्ने तत्त्व त्योभन्दा शक्तिशाली हुन्छ । उसको हातमा लौरो छ । धोती लगाएको छ । जनि चिहानको नजिक पुग्छ, उति–उति उसको डरको पारो बढ्दै जान्छ । चिहान नजिक पुगेर ऊ झ्याप्प लौरो गाड्छ र हतारमा फनक्क फर्कछ । फनक्क फर्कंदा उसको धोती बयरको काँडाका अल्झिन्छ । उसलाई लाग्छ, भूतले तान्यो । त्यही अज्ञात भूतको भयले ऊ बेहोस हुन्छ ।

फेरि वर्तमानमा फर्किन्छु, ओहो † यो त कुनै कल्पना होइन, साँच्चिकै हल्लाइरहेको छ । युट्युबमा जहाज दुर्घटनाको भिडियो सम्झन्छु । कथंकदाचित केही भैहाल्यो भने के होला ?

म त ऐया भन्न नपाई मर्छु, खेला सकिइहाल्यो, तर परिवारको के गति होला ? कमाउन हिंडेको छोरोले ज्यान गुमाएको खबर सुनेर बाले कसरी आफूलाई सम्हाल्ने होलान् । पत्नी र बालबच्चाको अवस्था के होला ? यस्तै अनगिन्ती कुरा खेलाउँदा खेलाउँदै जहाज हल्लिन छोड्छ । मेरो मन हल्का हुन्छ, अनि सकारात्मक सोच्न थाल्छ ।

यदि मलाई केही भैहाल्यो भने पनि परिवारको चिन्ता छैन । दुर्घटना बिमा हुन्छ रे । झन् इन्टरनेसनलको अलि धेरै पाइन्छ भन्छन् । मैले तीन वर्षमा कमाउनेभन्दा बढी नै आउला । आखिर म परिवारका लागि कमाउन गएको हुँ, जसरी भए पनि कमाए भैहाल्यो नि । म फिस्स हाँस्छु ।

फेरि हिँड्ने बेला आमाले भनेको कुरा सम्झन्छु । टिका लगाइदिएर दही ख्वाउदै भन्नुभएको थियो, ‘सबैभन्दा ठूलो कुरा आफ्नो शरीर हो । पैसाका लागि आफूलाई कष्ट नदिनु । सम्पत्ति भनेको भाग्यमा जति छ त्यति मात्र पाइन्छ । तैंले पठाउने पैसाले हामीलाई सुख मिल्ला तर खुसी तँ स्वयम् फर्किएर आएको दिन मात्र हुन्छौं ।’

हो त हगि ! कुन बाबु–आमालाई इच्छा हुन्छ, आफूले दिसापिसाब धोएर हुर्काएको सन्तान आफूभन्दा टाढा जाओस् । कुनै बाबु–आमाले चाहँदैनन् कि आफ्नो सन्तानको लास आफ्नो हातले बोक्नु परोस् । उनीहरूको अन्तिम इच्छा नै यही हुन्छ कि आफ्नो देह आफ्नै सन्तानको काखमा त्याग्नु परोस् !

‘वेलकम टु दोहा, कतार ।’ ए, जहाज त अघि ल्यान्ड गरिसकेछ । मेरो छेउमा बस्ने साथी साह्रै ठट्यौलो थियो । सिटको बेल्ट खोल्दै सबैले सुन्ने गरी भन्यो, ‘हत्तेरिका, आज पनि ४० लाख घाटा भयो यार ?’

मैले सोधें, ‘कसरी ?’ झन् ठूलो स्वरमा हाँस्दै भन्यो, ‘केही भएको भए बिमाबापत ४० लाख आउँथ्यो क्या !’ उसको यो डार्क जोकमा सबै जना गलल हाँस्न थाले ।

क्रमश: 

 

प्रकाशित :जेष्ठ २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्