हिउँ छिचोल्दै धावक

- मनोज पौडेल

जेष्ठ २०, २०७५

सगरमाथा बेस क्याम्पमा सपना पनि राम्रो देखे त्रिभुवन आर्मी क्लबका ३६ वर्षे धावक भीमबहादुर गुरुङले । नभन्दै हिउँ छिचोल्दै दगुरेका गुरुङको सपना बिपनामा परिणत भयो । उनले ४२ दशमलव ९५ किलोमिटरको दूरी ४ घण्टा २ मिनेट ३७ सेकेन्डमा पूरा गरेर पन्ध्रौं तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन च्याम्पियसनसिपको उपाधि चुमे । उक्त प्रतिस्पर्धामा स्थानीय सुमन कुलुङ दोस्रो भए । कुलुङले उक्त दूरी ४ घण्टा ६ मिनेट ६ सेकेन्डमा पूरा गरे भने सेनाकै वेदबहादुर सुनवार ४ घण्टा २८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए । 

सगरमाथा बेस क्याम्प पुर्‍याइएको लुम्बिनीस्थित विश्व शान्तिद्वीपको ज्योति देखाएर उक्त म्याराथन प्रारम्भ गरिएको थियो । सगरमाथामा पहिलो पटक सर एडमन्ड हेलारी र तेन्जिङ नोर्गे शेर्पाले ६५ वर्षअघि २९ मेका दिन पाइला राखेको दिनको सम्झनामा विगत १५ वर्षदेखि म्याराथन आयोजना गरिँदै आएको छ ।

यो वर्ष लुम्बिनी र सगरमाथालाई एकसाथ विश्वमै पहिचान गराई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लुम्बिनीस्थित विश्व शान्तिद्वीपको ज्योति लगेर उक्त म्याराथन सुरु गरिएको हो, जसलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ । 

सोही अवसरमा आयोजित २१ किलोमिटर लामो हाफ म्याराथनको उपाधि न्युजिल्यान्डका नागरिक जोडेन किलिङले २ घण्टा ५९ मिनेट ३४ सेकेन्डमा पूरा गरेर जिते भने कोरियन नागरिक डोङवर्क खोन ३ घण्टा १९ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरी दोस्रो भए । भारतीय नागरिक दिपेश सबरवाल ३ घण्टा ३७ मिनेट ३२ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए । 

६० किलोमिटर लामो खुला अल्ट्रा एभरेस्ट म्याराथनतर्फ त्रिभुवन आर्मी क्लबका तीर्थ तामाङ विजेता भए । उक्त प्रतिस्पर्धामा दोस्रो र तेस्रो क्रमश: किरण कुलुङ र मोहनदेव जोशी रहे । महिलातर्फ ४२ किलोमिटर म्याराथनको उपाधि पुर्णिमा राईले जितिन् । दोस्रो तथा तेस्रो स्थानमा निर्कला कुलुङ र पदमकुमारी राई रहे । विदेशी महिलाको ४२ किलोमिटर लामो म्याराथनको उपाधी अस्ट्रेलियन नागरिक म्यानुल सेयरले जितिन् । दोस्रो र तेस्रो स्थानमा क्रमश: बेलायती जोनथोन बेम्बर तथा न्युजिल्याण्डकी जोसु विलेलिभ देखा परे । 

कार्यक्रममा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका परिकल्पनाकार विक्रम पाण्डेकाजीले पर्यटन प्रवद्र्धन गर्न थप ५ प्रदेशमा म्याराथन आयोजना गर्ने घोषणा गरे । उनले प्रदेश नम्बर १ र ५ मा म्याराथन संचालन गर्दै आएका छन् । 

यो वर्षको एभरेस्ट म्याराथनमा ३० मुलकका १ सय ३५ विदेशी तथा ६० जना नेपाली सहभागी थिए । विश्वकै कठिन र हाई अल्टिच्युट लाग्ने ठाउँमा दौड पूरा गर्न सबै लालायित हुन्छन्, इभेन्ट म्यानेजर शिखर पाण्डे भन्छन्— त्यसैले हामी सबैलाई अवसर दिएर मुलुकलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन जुटेका छौं ।

प्रकाशित :जेष्ठ २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्