बदलिँदो समाज र परिवर्तित नेपाली जीवनशैली

- जीवन अधिकारी

जेष्ठ २०, २०७५

नेपाल बहुजाति, बहुसंस्कृति, बहुभाषी स्वतन्त्र तथा अटल राष्ट्र हो । सहयोग र आत्मीयता नेपाली जनताका जीवन्त पक्ष हुन् । माथि लिखित वाक्य हामीले वर्षौंदेखि मानसपटलमा सँगालेर राखेका छौँ । अनेकौँ भाषा, जातजाति भए पनि त्यसको सदुपयोग र अनुशरण नहुँदा एकदिन नेपाली भन्ने पहिचान नै गुम्ने हो कि भन्ने डर छ ।

आधुनिक र सहज जीवनयापन गर्ने सौख सबैलाई हुन्छ तर आधुनिकीकरणको नाममा नेपाली संस्कृति नै समाप्त हुने हो कि भन्ने खतरा पनि उत्तिकै छ । वर्षौंदेखि मेलमिलापपूर्ण जीवनयापन गर्दै आएका नेपाली जनता अहिले पश्चिमा संस्कृतिबाट बढी प्रभावित छन् । सामाजिक सञ्जालको प्रभावका कारण अनावश्यक तडकभडकमा वृद्धि भैरहेको छ, विशेषगरी बजार छेत्रमा मौलिक संस्कृति र पहिचानले उचित स्थान पाउन सकेको छैन ।

खोक्रो राष्ट्रवादका कारण हाम्रा राष्ट्रिय पोसाक, गीत–संगीत, खेल आदि सबै एकदिवसीय समारोह बन्न पुगेका छन् । नेपालीहरूको पहिचानका रूपमा रहेको दौरा–सुरुवाल र ढाका टोपी अर्थात् राष्ट्रिय पोसाक विरलै एक–दुई अवसरमा मात्र प्रयोग भएको पाइन्छ । मकै, भटमास, चिउरा, कोदोको रोटी आदिको स्थान म:म, चाउमिन, पिज्जा आदिले ओगटिसकेको छ । यसमध्ये मकै गरिब र मधुमेह रोगीबीच मात्र परिचित छ । स्थानीय तवरमा भुटिएको मकै बिरलैले सेवन गर्छन्, तर त्यही मकैलाई मेसिनमा भुटेर मसलामा मोली प्याकेजिङ गरी ‘पोपकोर्न’ का रूपमा सेवन गरिन्छ ।

कोदोलाई नेपाली समाजमा कुअन्नका रूपमा हेरिन्छ । विदेशीहरूले यसलाई फाइबर र भिटामिनको मुख्य स्रोत माने पनि हामीकहाँ भने यसको झोल तन्नेरीहरूको सोमरस र छोक्राचाहिँ बंगुरको आहारका रूपमा प्रयोग हुन्छ । भटमास भने तेल बनाउन अनि कोदोको झोल पिउनेहरूको सितनका रूपमा प्रयोग हुन्छ ।

 नेपालमा भौतिक विकासले फड्को मारे पनि मौलिक संस्कृति र जातीय पहिचानको संरक्षणमा नेपालीहरूको मानसिक विकास हुन नसकेको देख्दा मनै कुँडिएर आउँछ । एक दशकअघिसम्म व्यवहारिक एवं राजनीतिका सम्बन्धमा साधारण गफगाफ हुने चौताराहरू, अहिले युवाहरूको दुव्र्यसन, वासना र कोलाहलको प्रमुख स्थलका रूपमा परिवर्तित भएका छन् । ओठ निचोर्दा दूध निस्कने उमेरका युवासमेत दुव्र्यसनमा फसेको देख्दा जिब्रो टोकेर राम–राम जप्नु सिवाय अरू केही गर्न सकिँदैन ।

सामाजिक सञ्जालको छाप आदिका कारण नकारात्मक जीवनशैली अपनाउनेहरूको संख्यामा पनि भारी वृद्धि भएको छ । यसबाट के बुझ्न सकिन्छ भने अहिलेको युवापुस्ता कमजोर र खराब मानसिकताका कारण मौलिक संस्कृतिको संरक्षण गर्नेतर्फ लाग्ने छैन ।

यही अचेत प्रवृत्तिका कारण भविष्यमा हाम्रो देश, एकादेशमा नेपाल भन्ने बहुजाति, बहुसंस्कृति, बहुभाषीमूलक देश थियो रे । कहीँ नभएको अलौकिक संस्कृति त्यहाँ देख्न पाहिन्थ्यो रे । सम्पूर्ण जातजातिहरूबीचमा मेलमिलाप र आस्थाको भावना थियो रे भन्ने अवस्था सिर्जना हुनसक्छ । 

प्रकाशित :जेष्ठ २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्