Teej banner

अभिनयकै लागि जन्मिएको एउटा कलाकार

- साप्ताहिक संवाददाता

जेष्ठ १७, २०७५

रंगमञ्चबाट रजतपटमा आएका प्रतिभाशाली अभिनेता हुन्– विपिन कार्की । बाहुनी, मोरङमा जन्मिएका यी अभिनेताले संख्यात्मक रूपमा धेरै चलचित्रमा अभिनय नगरे पनि जतिमा अभिनय गरेका छन्, ती सबैमा पृथक भूमिका निर्वाह गरेर दर्शकको मनमा बस्न सफल भएका छन् । चलचित्र छड्केबाट प्रारम्भ भएको विपिनको चलचित्र यात्रा पशुपतिप्रसाद, जात्रा, नाका, लुट–२, लालपुर्जा हुँदै अघि बढेको छ । सकारात्मक तथा नकारात्मक दुवै शैलीका भूमिका उत्तिकै सहजताका साथ निर्वाह गरिरहेका विपिन यतिबेला नयाँ चलचित्र ‘हरि’ को प्रदर्शनको पर्खाइमा छ । 

 

विशाल भण्डारी, निर्देशक

नेपाली चलचित्रमा आफूलाई कसैले भर्सटायल प्रमाणित गरेका छन् भने ती विपिन कार्की नै हुन् । उनका हरेक चलचित्र हेर्दा विपिन कार्की स्वयं त्यो चरित्रमा ढलेका हुन्छन् । नेपालमा हाल यस्ता कलाकार कमै छन्, जसले पात्र र चरित्रलाई यति बुुझेर काम गर्छन् । यसर्थ विपिन अहिलेको पुस्ताका उत्कृष्ट कलाकार हुन् । 

आलोकश्री, संगीतकार

अभिनेता विपिन कार्कीमा चलचित्रको कथामा बग्न सक्ने क्षमता छ, जुन जीवन्त हुन्छ । कार्की चरित्रलाई जीवन्तता प्रदान गर्न सक्ने कलाकार हुन् । उनलाई ‘व्यक्ति एक चरित्र फरक’ उपाधि प्रदान गर्दा केही फरक पर्दैन । 

हिमानी सुब्बा, कोरियोग्राफर/अभिनेत्री

सबै प्रकारका भूमिकामा खरो उत्रँदै कथाको पात्रलाई जीवन्तता दिन सक्ने कुशल अभिनेता हुन्– विपिन कार्की ।

 

कुमार आचार्य, सञ्चारकर्मी

विपिन कार्की चलचित्रमा सानोतिनो भूमिका निर्वाह गर्दै अघि बढेका कलाकार हुन् । उनलाई चलचित्र छड्केमा निर्वाह गरेको बिन्दुको पात्रले स्थापित गरेको हो । चलचित्र पशुपति प्रसादमा भष्मे डन बनेपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । चलचित्र जात्राबाट उनको चर्चा अझ चुलियो । अहिले उनको चर्चा महँगो अभिनेताका रूपमा समेत हुन्छ । मलाई लाग्छ विपिन कार्की अभिनयमा पोख्त कलाकार हुन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र हरिमा विपिन चार भिन्न चरित्रमा प्रस्तुत हुँदैछन् । यो चलचित्रको प्रदर्शनसँगै विपिन अझ बढी लोकप्रिय हुने अनुमान गर्न सकिन्छ । 

वर्षा राउत, अभिनेत्री

दर्शकहरूले विपिनसँग मेरो चलचित्रको जोडी असाध्यै रुचाउनु भएको छ । मैले उहाँसंग चलचित्र जात्रामा अभिनय गरेकी थिएँ । श्रीमान्–श्रीमतीका रूपमा हाम्रो जोडीलाई दर्शकले निकै मन पराउनुभयो । हामीले जात्राकै गेटअपमा विभिन्न टेलिभिजन विज्ञापनमा समेत सहकार्य गर्ने मौका पाएका छौं । मैले उहाँलाई अभिनय गर्नकै लागि जन्मिएको कलाकारका रूपमा चिनेकी छु । 

प्रस्तुति : कृष्ण भट्टराई

प्रकाशित :जेष्ठ १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्