कसलाई थाहा छैन र ?

- अविरल थापा

जेष्ठ १६, २०७५

 

जिन्दगीमा नजानेर गरिने गल्तीबाट जति दुख पाइन्छ जानेर गरिने गल्तीबाट अझ बढी दु:ख पाइन्छ । सामान्यत: मानिसहरूलाई के सही हो, के गलत हो, कुन बाटो हो, कुन कुबाटो हो, के खान हुन्छ, के खान हुन्न थाहा हुन्छ, तर थाहा भै–भै उनीहरू गर्न नहुने काम गरिरहेका, खान नहुने कुरा खाइरहेका र हिंड्न नहुने बाटो हिंडिरहेका हुन्छन् । आखिर किन मानिसहरू थाहा पाई–पाई गल्ती गर्छन् त ?

 खैनी, चुरोट, रक्सीलगायत अन्य लागूपदार्थ खानु हुँदैन भनेर प्राय: सबैलाई थाहा हुन्छ । यसले स्वास्थ्यमा हानि पुर्‍याउँछ, जीवन राम्रो बनाउँदैन भन्ने ज्ञान पनि छ, तर सेवन गर्न छोड्दैनन् । कतिले एकलाई छोड्न अर्कोको सहारा लिन्छन् । थाहा हुँदाहुँदै पनि छोड्न नसक्नु नशा हो । मानिसले आफ्नो मन बहलाउन एउटा न एउटा नशा लिएकै हुन्छ । नशा पनि सकारात्मक र नकारात्मक हुन्छ वा भनूँ हानिकारक र कम हानिकारक । कतिपय मानिसमा पुस्तक पढेर, संगीत सुनेर, चलचित्र हेरेर तथा डुलेर मन बहलाउने बानी हुन्छ । बुद्धिमान मानिसहरू सकारात्मक बाटो रोज्छन् । 

कुनै पनि नशाले समस्या समाधान गर्दैन, फगत एकछिन भुलाउँछ । नशा उत्रिनासाथ समस्या त जहाँको तहीं हुन्छ । समस्यासँग भागेर त्यसको समाधान निस्कँदैन । समस्यासँग जुधेर त्यसको समाधानतर्फ लाग्न छोडेर नशा सेवनमा अल्झनु काँतरपन हो । नशाले आफूलाई पनि सक्छ धन पनि सक्छ र समाजलाई पनि सक्छ । समस्या के हो भन्ने पहिचान गरेर। चिन्तन मनन गरेर समाधानतर्फ लागे अवश्य हल निस्कन्छ तर नशाबाट बाहिर निस्कन अर्को नशाले कहिल्यै सहयोग गर्दैन । तीव्र आत्मचिन्तन र आत्मबलले नै सबैलाई सत्मार्गमा हिंडाउँछ ।

 

अनावश्यक मोटाइयो भनेर सहरका मानिसहरू बिहान–बिहान कुद्न वा क्लबमा कसरत गर्न जान्छन् । खान नहुने कुरा खाएर, अनावश्यक खाएर, जंक फुड खाएर मोटाएको हो भन्ने सबैलाई थाहा छ । ती अनावश्यक खानेकुरा खान्न, नियन्त्रण गर्छु भन्नेतर्फ भन्दा पनि भैसकेपछि घटाउन र हटाउनतर्फ हामी लाग्छौं । मोटाउने काम नै गरिएन भने त घटाउने काम गर्नै पर्दैन, तर हामी बरु कुद्न, उपचार गर्न समय र धन खर्च गर्न तयार हुन्छौं तर स्वस्थ जीवनशैली अवलम्बन गर्न सक्दैनौं । समस्या हाम्रो चेतना, रहनसहन एवं खानपिनमा छ । जे गर्न सक्छौं त्यो पनि गर्दैनौं । जानी–जानी समस्यालाई निम्ता दिन्छौं, आफंैले आफैलाई सताउँछौं अनि आफैं चिन्तित हुन्छौं । हामी जत्तिको अरू मूर्ख को होला ?

चोरी गर्नु हुँदैन, व्यभिचार गर्नु हुँदैन, बलात्कार गर्नु हुँदैन, कसलाई थाहा छैन र ? थाहा हुँदाहुँदै हामी किन कुकर्म गर्छौं त ? हामीसँग धैर्यता हुँदैन, छिटो धनी हुन मन लाग्छ, आफना इन्द्रियलाई वशमा राख्न सक्दैनौं । तात्कालिक लहड, उमंग, उक्साहट, फाइदा र तृप्तिको पासोमा परेपछि हामी कुकर्म गर्न पछि पर्दैनौं । अपराध गरेपछि कतै भाग्न सकिँदैन भन्ने ज्ञान हुँदाहुँदै पनि अपराध गर्न उद्यत हुन्छौं । अरू त अरू मानिस केही रकमका लागि बिनाकसुर कसैको हत्या गर्नसमेत पछि पर्दैन । केही समय भाग्ला लुक्ला तर अन्त्यमा कानुनको फन्दामा परेर नारकीय जीवन भोग्नैपर्छ । कुनै पनि कुकर्म गर्नुअघि एकफेर ठन्डा दिमागले त्यसको परिणाम आँकलन गर्ने हो भने धेरै अपराध घट्न सक्छ । 

 जुवातासमा लागेर घरखेत जाने अनि परिवारको विचल्ली हुनेहरू धेरै छन् । एकफेर एकदिन जित्यो होला तर हारेको हिसाब हुँदैन । जितेर आएको दिन भोजभतेर गर्ला, अरू पनि खुशी होलान् तर जुवातास खेलेरै प्रगति गरेको त कसले होला र ? कहिलेकाहीँ रमाइलोका लागि खानु, खेल्नु सामान्य हो तर जब मात्रा बढ्न थाल्छ तब कतै आफूलाई बानी त लागेन, नशा त लागेन भनेर प्रश्न गर्नुपर्छ, अरूले पनि थाहा पाएपछि सचेत गराइदिनुपर्छ । खति हुनुभन्दा पहिल्यै ओखती गरे लाग्छ । अरूलाई दोष दिन सजिलो छ तर यसो सम्झनुस् त, कति समस्या आफैले गर्दा त कतिपय समस्या अरूले गर्दा आइलाग्छ ।

हामीलाई स्वीकार गर्न गार्‍हो हुन्छ । यसले गर्दा त्यस्तो भयो, उसले गर्दा यस्तो भयो । यसले कुरा बुझेन, उसले कुरा बुझेन । समस्या एकातिर हुन्छ हल अर्कातिर खोजिरहेका हुन्छौं हामी अथवा समस्याको नाममा हामी आफूलाई नशामा अल्झाइरहेका भुलाइरहेका हुन्छौं । कतिपय बेला अहं, लाज, घृणा, माया अनेक कुराले रोक्छ । आफू ठीक, दुनियाँ सबै खराब भन्ने रोग हामी सबैभित्र छ । रोगी आफू छौं, दोष अरूलाई दिन्छौं । 

 बाटोमा फोहोर फाल्नु हुँदैन, जथाभावी बाटो काट्नु हुँदैन थाहा छ तर हामी गर्छौं । हामी आफ्नो दायित्व बिर्सन्छौं बरु सरकारले वा अन्य निकायले फोहोर उठाउनुपर्छ, यसो–उसो गर्नुपर्छ भनेर पैरवी गर्छौं । हामी आफू सच्चिए आधा समस्या आफैं हल हुन्छ । अरूलाई उठाउनुअघि आफू जाग्नुपर्छ । अरूले गर्दैन भन्नुअघि आफूले गर्नुपर्छ । अरूलाई दोष दिनुअघि आफू सच्चिनुपर्छ । 

विषलाई दोष दिइरहने कि विषबाट टाढै रहने आफ्नै हातमा छ । मात्रा मिलाउन जाने विष पनि ओखती नत्र खति । विष खाए मरिन्छ भन्ने कसलाई थाहा छैन र ?

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :जेष्ठ १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्