अमीरा : दीपक बज्राचार्यको संगीत

- किशोर नेपाल

जेष्ठ १६, २०७५

दीपक बज्राचार्य लोकप्रिय संगीत साधक मात्र होइनन्, आफैंमा ट्रेन्ड हुन् । जतिबेला उनी स्कुल पढ्थे त्यतिबेलादेखि नै संगीतमा रमाउँथे । स्थानीय साथीभाइहरू गिल्ला गर्थे, ‘तिमीले गीत गाएर, गितार बजाएर खाँदैनौं ।’ दीपकको मनमा यो कुरा बिझ्थ्यो, तर जोसुकैले जेसुकै भनून्, उनले आफ्नो साधनालाई जारी राखे । एक दिन उनले थाहा पाए, उनी त लोकप्रिय भैसकेछन् । 

उनको गायन ट्रेन्ड सेटर भएछ । त्यसपछि दीपकले अहिलेसम्म पछाडि फर्केर हेरेका छैनन् । ‘ओ अमीरा’ उनको यस्तो सिर्जना हो जसको महत्व अत्यन्त धेरै छ उनको जीवनमा । जसको नाम अमीरामा उनले गीत गाए, ती अमीरा अहिले उनकी पत्नी हुन् । अमीरासँग दीपकको फोनमा कुरा गर्दागर्दै पहिचान बढ्यो । उनी लभी–डबीका रूपमा चिनिए । बिहे गरे । अहिले सुखमय दाम्पत्य जीवनको आनन्दमा रमाइरहेका छन् ।

अलिकति इन्ट्रोभर्ट छन् दीपक । उनी आफ्नी पत्नी अमीरा मात्र होइन, नेपालका महिला प्रतिभाहरूले संगीतमा लाग्ने प्रोत्साहन नपाएको स्पष्ट बताउँछन् । अमीराका बारेमा उनको विचार निकै भावनात्मक र सारपूर्ण छ । अमीरालाई मन पर्छ लिबर्टी । एकपटक दुवै बूढाबूढी अमेरिका भ्रमणमा थिए । न्युयोर्कमा दीपक र अमीरा एउटै कोठामा सुतिरहेका थिए । दीपक निदाए । त्यसपछि दुई बजे राति उनको निद्रा खुल्यो । अमीरा कोठामा थिइनन् । दीपकको नर्भसनेस बढ्यो । त्यत्तिकैमा अमीरा कोठामा आइन् । उनी स्वतन्त्रताको खोजीमा होटलछेउको पार्कमा गएकी थिइन् । 

फर्केर कोठामा आउँदा अमीरा जाज्वल्य थिइन् । खुसी र स्वतन्त्रताको अनूभूतिले रमाएकी । ‘म कुनै रितु होइन’ र ‘काली काली’ जस्ता गीत उनका अनुपम सिर्जना हुन् । ‘काली काली’ उनको यस्तो सर्वप्रिय सिर्जना हो जुन गीत नगाएसम्म उनको कुनै पनि कन्सर्ट टुंगिँदैन । युट्युबमा उनका गीतहरूको श्रृंखला भेटिन्छ । साँझ पूर्णिमा र औंसीको बीचमा मुन डान्स हेर्दै दीपकका गीत सुन्नुको मज्जा नै अर्को छ ।

दीपकले कुनै ब्यान्डमा काम गरेनन । अहिले उनको आफ्नै ब्यान्ड छ रिद्म, तर ब्यान्डमा रहेर काम नगरे पनि दीपक ब्यान्डवालाहरूका बीच लोकप्रिय छन् । भारतका लोकप्रिय गायक कन्सर्टका लागि काठमाडौं आउँदा उनले ओपनिङ पर्फमेन्स दिएका थिए । उनको पब्लिक इमेज कुल थियो । लकी अलीको कन्सर्टमा दीपकको प्रदर्शन उनका लागि निकै राम्रो सावित भयो । अलीको टिमले उनको सम्मान गर्‍यो । दीपकको अघिपछि नेपाली गीत र संगीतको दुनियाँले धेरै ठूला उपलब्धिहरू हासिल गर्‍यो । हरिष माथेमा, सन्जय श्रेष्ठ, नेपथ्य : दीपकका अगाडि पछाडि प्रेरक वातावरणको कमी थिएन । दीपक लजालु थिए । अहिले त अब उनको त्यो लजालु छवि छैन । उनको गाउँ ग्वार्को अब पाटन सहरको एउटा महत्वपूर्ण हिस्सा भैसकेको छ ।

नेपाली संगीत र बाजाको प्रयोगले नेपाली गीतमा नयाँ फ्युजन ल्याउन लागेका छन् उनी । यसको पछाडि पनि कारण छ । कार्यक्रम देखाउन विदेश जाँदा नेपाली संगीतकारहरूको हातमा गितार र अरू पश्चिमी वाद्ययन्त्र देखेका विदेशीहरू खिस्रिक्क भए । उनीहरू नेपाली बाजा र संगीतमा रमाउन आएका थिए । त्यही घटनाबाट प्रेरित दीपक अहिले नेपाली वाद्ययन्त्रहरूकै प्रयोग गरेर नेपाली गीत–संगीत सिर्जना गर्दैछन् । उनको यस्तो सिर्जना देश र विदेश दुवैतिर लोकप्रिय हुन थालेको छ । 

दीपकको संगीतमा बढी झ्याइँझुइँ हँुदैन । उनी शान्त प्रकृतिका छन् आफैं पनि । त्यसैले पनि उनी अलग्गै काम गर्न रमाएका हुन् । मानिस एक्लोमा सिर्जनाका बादलहरूमा भौंतारिन्छ । परिवर्तनप्रति दीपक अलि बढी संवेदनशील छन् । खासगरेर महिला गायिका तथा संगीतकारको अभाव उनलाई खट्किएको छ । नेपाली समाज आफ्नै सर्किटमा घुम्छ । टाइममा केटीको बिहे हुनैपर्ने, बिहे भएपछि नारीको आवाज नसुनिने, उनीहरूले भनेजस्तो नहुने— यी पचासौं जञ्जालले नारीलाई बन्धनमा बाँधेको छ । उनीहरूले घर–परिवारका लागि जागिर छाडेर घरमा खुम्चिएका अनेक उदाहरण छन् दीपकसँग । नारीहरूले जीवनको स्वतन्त्रता भोग्न पाएकै छैनन् ।

दीपकले धेरै साथीभाइको नाम लिए । गायक, संगीतकार, शब्दकार, तर उनले दुई जनाको नाम लिए : नारायण गोपाल र योगेश्वर अमात्यको । ‘नारायण दाइ त नारायण दाइ नै भयो,’ दीपकले भने, ‘योगेश्वर दाइ विचित्रको छ । ठ्याक्कै रकस्टार । आफ्नै एटिच्युड, स्टायल, डिटरमिनेसन, पहिचान र आफ्नोपन भएको विशिष्ट कलाकार । योगेश्वर दाइका हजारौं दर्शक–श्रोता नै उसको विशिष्टता हो । दर्शकको माझमा कुदिहाल्ने ठूलो गुण छ योगेश्वरमा ।”

योगेश्वरको जस्तो श्रोतासँग जोडिने स्पन्दन दीपकमा पनि त्यति नै छ । श्रोताले थाहै पाउँदैन, उसको हिरो उसैसँग छ । 

प्रकाशित :जेष्ठ १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्