घरपरिवारले आशा मारेको थियो

- जनक तिमिल्सिना, महेश तिमल्सिना , भिषा काफ्ले

जेष्ठ १५, २०७५

दाङकी उर्मिला चौधरीले ६ वर्षको उमेरमै नयाँ फ्रक र चप्पल प्राप्त गर्छिन् । घरमा आएका नयाँ मानिसहरूले फ्रक र चप्पल मात्र दिँदैनन्, उनलाई पढाउने सपनासमेत देखाउँछन् । चञ्चले बालिका फुरुङ्ग हुन्छिन् अनि तिनै मानिसहरूले उनलाई दाङबाट काठमाडौं ल्याउँछन्, तर ती बालिका काठमाडौं पुगेपछि स्कुले विद्यार्थी होइन, कमलरी बन्न विवश हुन्छिन् । उनी एउटा दयनीय अवस्थामा जीवनका ११ विकराल वर्ष बिताउन बाध्य हुन्छिन् । त्यो ११ वर्षमा कहिल्यै परिवारसँग सम्पर्क गर्न पाउँदिनन् । भनिन्छ, १२ वर्षमा खोला पनि फर्कन्छ, उर्मिलाको जीवनमा पनि त्यस्तै हुन्छ । एक दिन टेलिभिजन स्क्रिनमा उनका दाजु देखिन्छन्, त्यही घटना उनको उद्धारको संयोग बन्न पुग्छ । १७ वर्षको उमेरमा ०६३ मा दाङ फर्किएकी उर्मिला त्यसपछि अध्ययन एवं सामाजिक कार्यमा सक्रिय छिन्् । २०७० सालमा एसएलसी दिएकी उर्मिला अहिले १२ कक्षामा अध्ययनरत छिन् । आफ्नो उचाइ हेरेर नागरिकता बनाइदिएको बताउने २९ वर्षीया उर्मिला ०६४ देखि मुक्त कमलरी विकास मञ्चमार्फत आफूजस्तै कमलरी बन्न बाध्य हजारौं युवतीको उद्धारमा सक्रिय छिन् । उनको यही सक्रियतालाई उच्च सम्मान गर्दै नेदरल्यान्ड्सको रुजबेल फाउन्डेसनले फ्रिडम फोरम फेयर एवार्ड–२०१८ प्रदान गरेको छ । मानवअधिकारको क्षेत्रमा काम गर्नेहरूलाई प्रदान गरिने यो प्रतिष्ठित एवार्ड यसअघि दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेला, म्यानमारकी नेतृ आङसाङ सुकी, जर्मन चान्सलर एन्जेला मार्केलदेखि पाकिस्तानकी अधिकारकर्मी मलालासम्मले प्राप्त गरिसकेका छन् । नेपालबाट पहिलो पटक गएको २ जेठमा उच्च सम्मानका साथ नेदरल्यान्डका पूर्वराजा विलियम एलेक्जेन्डर तथा रानी बिट्रिक्सको हातबाट उक्त सम्मान ग्रहण गरेकी उर्मिलासँग साप्ताहिकका लागि जनक, भिषा र महेशले गरेको कुराकानी : 

विश्वप्रसिद्ध पुरस्कार पाउनुभयो हैन ? 

एउटा सानो देशमा जन्मिएको मानिसले कहिल्यै विश्व प्रसिद्ध पुरस्कारको कल्पना गर्दैन । नेल्सन मण्डेला, आङसाङ सुकी, एन्जेला मर्केलजस्ता व्यक्तिहरूले पाएको पुरस्कार मेरा लागि नगरिएको कल्पना मात्र थियो । कहिलेकाहीँ सोच्दै नसोचेको कुरा पनि हुँदो रहेछ । एउटी नेपाली चेलीले त्यो पुरस्कार प्राप्त गर्ने कुरा मेरा लागि निकै ठूलो आश्चर्य थियो । 

कस्तो अनुभूति भैरहेको छ ? 

मेरो गाउँमा कमलरी प्रथा थियो । मैले यही समस्यामा काम गर्नुपर्छ भन्ने मेरो मानसिकता थियो । केही दिनपछि मेरो अन्तर्वार्ता पत्रिकामा आयो, त्यसपछि मलाई लाग्यो यो सम्पूर्ण थारु समुदायकै समस्या हो । त्यसपछि म त्यसका लागि स–साना प्रयास अघि बढाउन सक्रिय रहे । अहिले विश्वले नै मेरा ती प्रयासको मूल्यांकन गरेपछि मलाई देश र समुदायको जिम्मेवार व्यक्ति हुँ भन्ने अनुभूति भैरहेको छ । कमलरी रहँदा हार खाएको भए, संघर्ष नगरेको भए यो उपलब्धि सम्भव थिएन ।

पुरस्कार थाप्ने वातावरण कस्तो थियो, बताइदिनुहोस् न ? 

त्यहाँ एउटा त्यस्तो भवन रहेछ, जहाँ जुन देशको जुन व्यक्तिले पुरस्कार थाप्न गएको छ, उसको 

देशको नाम सहित स्वर्ण अक्षरमा लेखिँदो रहेछ । त्यसमा मैले जब नेपाल देखँे, त्यसपछि मलाई नेपाली चेली भएकोमा गर्व लाग्यो । त्यहाँ नेपाल लेखिएको देखेपछि मैले आफू थारु चेली भन्ने कुरा बिर्सिएँ, अनि मलाई लाग्यो, मेरो सम्मान मेरो देशको पनि सम्मान हो । 

प्रयासहरूले एक दिन सफलता दिलाउँदो रहेछ होइन त ? 

निरन्तरको प्रयास, मेहनत र सहयोगले मानिसलाई सफल बनाउँदो रहेछ । फाउन्डेसनले कमलरी प्रथा न्यूनीकरणका लागि गरेको प्रयास र संघर्षले मलाई यो तहसम्म पुर्‍याएको हो । त्यसैले म सधैं भन्छु— वी आर नट वर्थ कमलरी, वीआर मेक कमलरी । कमलरीका कारण सयौंले आफ्नो शिक्षादीक्षा एवं स्वतन्त्रता गुमाए । मैले व्यक्तिगत र संस्थाको पहलमा १३ हजार बहिनीलाई कमलरी जीवनबाट मुक्त गराए । दाङमा केन्द्रीय कार्यालय रहेको हाम्रो मुक्त कमलरी विकास मञ्चले बाँके, बर्दिया, कैलाली र कञ्चपनपुरसहित पाँचवटा जिल्लामा काम गर्छ । 

यो संस्थाले के–के काम गर्छ ? 

कमलरी प्रथा उन्मूलन गर्ने अभियान सन् २००१ देखि सुरु भएको हो । पहिले यसमा नेपाल फाउन्डेसनले काम गरिरहेको थियो । पाँच वर्षपछि धेरै कमलरीको उद्धार हुँदै गयो । त्यसपछि एकता नै बल हो भने जसरी हामीले आफ्नै केही माध्यम स्थापना गर्ने प्रयास गर्‍यौं र यो संस्था जन्मियो । यसले कमलरी युवतीको क्षेत्रमा काम गर्छ । यसको पहिलो प्राथमिकता कमलरी उद्धार र शिक्षा नै हो । अहिले संस्थाले उनीहरूलाई आर्थिक रूपमा सबल बनाउनका लागि पनि काम गरिरहेको छ । हामीले त्यसका लागि ५ वटा जिल्लामा ४२ वटा सहकारी स्थापना गरेका छौं, जसबाट तालिम दिने, प्राविधिक शिक्षा प्रदान गर्नेजस्ता काम गर्दै आएका छौं । काम सुरु गर्दा हामीसँग १ लाख रुपैयाँ पनि थिएन, अहिले हाम्रो पुँजी झन्डै ३ करोड रुपैयाँ जति छ ।

 

अभियानबाट कति लाभान्वित भैरहेका छन् ? 

हामीले सामाजिक क्रान्तिबाट आर्थिक क्रान्तितर्फ फड्को मार्न यो सहकारी अभियान सञ्चालन गरेका हौं । छोटो अवधि र लामो अवधिको गरी ९ जना बहिनीले प्राविधिक शिक्षा लिएर राम्रो करिअर सुरु गरिसकेका छन् । उनीहरूले विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । अन्य सयौं सिकाइकै क्रममा छन् । हामीले प्राविधिक शिक्षातर्फ अनमी, ल्याब असिस्टेन्ट, जुनियर टेक्निसियन, जेटीए, स्टाफ नर्स आदि विषय अध्ययन गर्न सहयोग उपलब्ध गराइरहेका छौं । नेपाल फाउन्डेसनले हामीलाई उपलब्ध गराएको रकम हाम्रो संस्थामार्फत उनीहरूसम्म पुग्छ ।

 

तपाईं आफैं​ पनि कमलरी बस्नुभयो ? कति वर्ष कमलरी बन्नुभयो ? 

झन्डै साढे ११ वर्ष बसें । दाङबाट मलाई ६ वर्षकै उमेरमा कमलरीका रूपमा काठमाडौं ल्याइयो । यहाँ मैले दुई फरक परिवारमा गरेर साढे ११ वर्ष कमलरीका रूपमा बिताए । 

कमलरी बसेको छु भन्ने कहिले थाहा पाउनुभयो ? 

सुरुमा त रमाउँदै आए, त्यतिबेला मलाई थाहा थिएन म कहाँ जाँदैछु ? त्यतिबेला मलाई नयाँ फ्रक दिइयो, पहिलो पटक नयाँ चप्पल लगाउन पाए । म साह्रै खुुसी भएर यहाँ आएँ । किनभने, म कहाँ जाँदैछु, कसले लग्दैछ भन्ने थाहा थिएन । मलाई यतिमात्र भनिएको थियो कि बसमा चढेर जाने हो, त्यहाँ ठूला–ठूला घर हुन्छन्, त्यहाँ कालो भाँडा हुँदैन, स्कुल पढ्न पाइन्छ । यति सुनेपछि म एकदमै दंग थिएँ । यो सम्झना अहिले एकदम मधुरो गरी दिमाग आउँछ ।

 

काठमाडौं ल्याएपछि के काम गर्नुपथ्र्यो ? 

अहँ, उनीहरूले मलाई पढाएनन् । मलाई फकाएर ल्याउने अर्कै व्यक्ति हुनुहुन्थ्यो । काठमाडौं आएको केही महिनापछि मात्र मैले त्यो कुरा थाहा पाए । म नानीहरूलाई तयार पारेर स्कुल पुर्‍याइदिन्थें, म स्कुलको गेटसम्म मात्र पुग्थें । जब म स्कुलको गेटमा पुग्थें वा ती बच्चाहरूलाई स्कुलतिर डोर्‍याइरहेकी हुन्थें, मलाई उनीहरूजस्तै स्कुल जान मन लाग्थ्यो, उनीहरूजस्तै ड्रेसमा सजिन पाए, किताब समाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो, तर त्यो मेरो भाग्यमा थिएन । कतिबेला त म आफैंसँग प्रश्न गर्थें, त्यो स्कुलको गेटभित्र म किन जान पाउँदिनँ ? उनीहरूले मलाई उमेरअनुसार काम लगाउँदै गए । पहिले बच्चालाई स्कुल पुर्‍याउन लगाउँथे । पछि चिया पकाउन लगाएँ, ग्याँस अग्लो ठाउँमा थियो, म पुग्दिनथँे । सुरु–सुरुमा त मैले कुर्सीमाथि उभिएर चिया पकाएँ । उमेर बढ्दै जाँदा कामको जिम्मेवारी पनि त्यही अनुपातमा थपिँदै गयो । डेढ वर्षपछि घरको सम्पूर्ण काम अर्थात् भाँडा माझ्नेदेखि खाना पकाउनेसम्म र लुगा धुनेदेखि पानी ओसार्नेसम्म मलाई नै लगाइयो । 

उनीहरूले पैसा पनि दिन्थे कि ? 

पैसा दिने प्रतिबद्धता थियो, तर उनीहरूले पैसा दिएको मलाई सम्झना छैन ।

कमलरी जीवनबाट खुला जीवनमा कसरी आउनुभयो ? 

०६३ सालतिर होला, घरमै बसेका बेला मालिक्नी टिभी हेरिरहनुभएको थियो । उहाँलाई जुस दिन जाने क्रममा टिभीमा तीनकुनेमा टेन्ट लगाएर बसेको समाचार आइरहेको थियो । टिभीमा एउटा कम्बल ओढेको मान्छेलाई देखेँ, मलाई आफ्नै दाइजस्तो लाग्यो । मैले अझ नजिक गएर हेरे, मालिक्नीले मलाई हकार्नुभयो, ‘आँखा देख्दैनस्, एकतिर आँखा र एकतिर कान छ ।’ तैपनि वास्ता नगरी एकछिन हेरिरहें । त्यतिबेलाको समाचार अहिले पनि मलाई सम्झना छ, ‘मुक्त कमैयाले तीनकुने कब्जा गरेको र जाडोमा ओढ्ने ओछ्याउने नभएर उहाँहरू बिरामी परेको’ भनेर देखाइएको थियो । चार–पाँच वर्षदेखि म घरपरिवारको सम्पर्कमा थिइनँ, उहाँहरूले पनि मेरो आशा मार्नुभएको थियो । अचानक दाइलाई टिभीमा देखेपछि मेरो खुट्टा र शरीर काँप्न थाले । 

परिवारसँग कसरी सम्पर्क विच्छेद भयो ? 

जुन परिवारले मलाई दाङबाट ल्याएको थियो, त्यो परिवारले केही वर्ष राखेपछि उनीहरूको फुपूको घरमा कोही छैन भनेर मलाई फुपूको घरमा पठाइदियो । यस विषयमा मेरो परिवारलाई केही पनि जानकारी थिएन । मलाई जहाँ पठाए पनि मेरो परिवारलाई जानकारी दिनु जरुरी थिएन । मेरो घरबाट कल आउँथ्यो तर म्यामले मेरो घरमा कोही पनि काम गर्ने छैन, म काम गर्ने मान्छे राख्ने खालकी मान्छे होइन भनेर भन्नुहुँदो रहेछ । धेरै वर्षपछि अचानक दाइलाई टेलिभिजनमा देखेपछि मैले आँट गरेर भने, ‘महारानी सा’ब, मेरो दाइ काठमाडौं आउनुभएको रहेछ, मलाई भेट्न लग्दिबक्सियोस् ।’ उहाँ जर्‍याकजुरुक उठ्नुभयो र भन्नुभयो– तिमी यसरी घरबाट बाहिर जाने, मानिसहरूसँग कुरा गर्ने भए म तिमीलाई पुलिसकहाँ लगेर बुझाइदिन्छु, तिमीलाई पुलिसले लग्छ । यस्तै–यस्तै भनेर धेरै रिसाउनुभयो । दुई दिनसम्म अनुरोध गरें, नलगेसम्म काम पनि नगर्ने खाना पनि नखाने भएपछि एक दिनको शनिबार उहाँले मलाई दाइसँग भेट्न लानुभयो अनि पाँच मिनेट भेट्ने समय दिनुभयो । 

दाजुसँग भेटेर के कुरा गर्नुभयो ?

दाइसँग भेट भएपछि मैले गाउँको फोन नम्बर मागेर ल्याए । फोन पनि गाउँभन्दा एक घण्टा टाढा थियो । मैले दाइलाई बोलाइदिन भनेर फोन गरे, त्यसको दुई दिनपछि फोन पसलेले दाइलाई बोलाइदिनुभयो । मैले दाइलाई लिन आउनु भनेपछि दाइ आउनुभयो, यता म्याडमले मलाई जान नदिने अड्डी कस्नुभयो तर मैले मानिनँ । मैले फेरि फर्कने सर्तमा घर जान पाएँ । उहाँहरूले मलाई फर्केर आउने भनेर तलब पनि दिनु भएन । बिहान दाइ आउनुभएको थियो, हामी त्यही साँझको बसमा दाङ फर्कियौं । तीनकुनेको मुक्त कमैया आन्दोलन मैले टिभीमा नदेखेको भए सायद म अहिले पनि कमलरी नै हुने थिएँ, किनभने मलाई बाहिर जाने अनुमति थिएन । ०६२/६३ को जनआन्दोलन पनि मैले झ्यालबाटै हेरेकी हुँ । आन्दोलन त्यसरी हेरेको र अहिलेको स्वतन्त्र जीवन मलाई सपनाजस्तै लाग्छ । 

मुक्त भएपछि कहिलेदेखि पढ्न थाल्नुभयो ? 

त्यहाँबाट मुक्त हुँदा म १७ वर्षकी थिएँ । त्यसपछि मैले ०६३ सालमा बाह्रखरी पढ्न थालें । 

परिवारले किन कमलरीका रूपमा पठायो ? 

म धेरै कुरा त सम्झिन सक्दिनँ । यति सम्झन्छु हाम्रो बुबा बिरामी हुनुहुन्थ्यो । हामीले जमिन्दारको घरबाट केही किलो धान ऋणका रूपमा लिएका थियौं । त्यो ऋण चुक्ता गर्न त्यही घरमा बुवा कमैया बस्नुभयो, दिदी कमलरी हुनुभयो र आमा पनि कमलरी बस्नुभयो । तैपनि उक्त ऋण चुक्ता भएन । त्यो ऋण चुक्ता गर्न उनीहरूले दाइसँग कि बहिनी पठाइदे कि पैसा दे भनेर सर्त राखेपछि म कमलरी बन्न पुगे । 

अहिले जुन स्टाटसमा आइपुग्नुभएको छ, त्यसको सबैभन्दा ठूलो श्रेय कसलाई दिनुहुन्छ ? 

धेरै जना हुनुहुन्छ । यसमा पत्रकार, मानव अधिकारकर्मी, नागरिक समाज तथा हाम्रो उद्धार गर्ने स्थानीय संघ–संस्थाहरूको ठूलो हात छ । यदि मलाई उद्धारमात्र गरिएको भए मैले केही पनि गर्न सक्ने अवस्था थिएन, तर अक्षर चिन्ने मेरो दृढ इच्छा थियो । केही नभए पनि म आफ्नो नाम मात्र लेख्न भए पनि सिक्छु भन्ने आँट थियो । उमेरले ठूलै भए पनि म स्कुल जान थालेँ । मलाई स्कुलमा शिक्षकहरूले तिम्रो उमेर धेरै भएकाले सीपमूलक तालिम लिएर व्यवसाय गर्नु राम्रो हुन्छ भनेर मोटिभेट गर्न खोज्नुभयो । उहाँहरूको त्यस्तो कुरा मलाई मन परेन अनि म कडा रूपमा प्रस्तुत भएँ । मलाई आफ्नो नाम लेख्न जान्नु छ त्यसैले एक कक्षामा भर्ना गरेपनि म पढ्न तयार छु भने पछि ०६४ देखि दाङको गढुवा गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयमा बाह्रखरी पढ्न थालें ।

पढ्ने भोकचाहिँ के कारणले जाग्यो ? 

एकपटक ताप्लेजुङको धुन्सामा हेलिकप्टर दुर्घटना भएको थियो, जसमा धेरै नाम कहलिएका नेपालीहरूले ज्यान गुमाए । त्यतिबेला म समाचार सुन्थेँ, तर पढ्न जान्दिनथेँ । त्यो बेला मलाई लाग्थ्यो यदि म पढ्न जान्ने भैदिएको भए उहाँहरूको नाम पढ्न सक्थेँ, लेख्न सक्थें । मैले त्यो बेला किनेको पत्रिका अहिले पनि मसँग छ । मलाई त्यो बेलादेखि नै पढ्नुपर्छ भन्ने लाग्यो । 

स्कुलको प्रारम्भिक दिनका चुनौतीहरूलाई तपाईले कुन आत्मबलले चिर्नुभयो ? 

म घरबाट स्कुल जान निस्किएपछि ऊ... बूढी विद्यार्थी गई भनेर जिस्क्याउँथे । म स्कुल पढ्न जाँदा घरका १०–१२ जना बाहिर निस्किएर हेर्थे, तर मैले वास्ता गरिनँ, किनभने त्यति बेला म केही बुझ्ने भैसकेकी थिएँ । म निरन्तर स्कुल गैरहेँ । 

तपाईंलाई स्कुलमा कसैले पढ्नुपर्छ भनेर प्रेरित गरेनन् ? 

पहिलो दिन स्कुल जाँदा त बस्ने बेन्च नै पाइनँ । अग्लो भएकाले पछाडिको बेञ्चमा गएर बसेँ । पछाडि बसेपछि मैले शिक्षकले बोलेको आवाज बुझ्न सकिनँ । त्यसपछि अर्को दिन स्कुल गएर पहिलो बेञ्चमा बसेँ तर मलाई अरुले आएर उठाउन खोजे । मैले त्यो बेन्च तिमीले आफ्नो घरबाट ल्याएको हो ? यदि हो भने छाड्छु नत्र भने सँगै बसौँ भने । त्यसपछि मात्र उनीहरू माने । अर्को कुरा स्कुलमा पनि कमलरी भनेर विभेद गरिन्थ्यो । 

शिक्षकहरूले के–कस्तो सल्लाह दिनुहुन्थ्यो ? 

शिक्षकहरूले मलाई अरू नै केही गर, तिम्रो उमेरका मानिसहरूले स्नातक सिध्याउन थालिसके, त्यसैले अब तिमीले पढेर केही हुँदैन भन्नुहुन्थ्यो, तर मैले उहाँहरूले व्याचलर गरे पनि मैले कक्षा ५ मा पढेर के गल्ती गरेँ भनेर प्रश्न गरेँ । त्यसपछि त्यस्तो हतोत्साहित गर्ने कुरा कहिल्लै उठेन ।

अहिले तपाईं एउटी नेतृ भैसक्नुभएको छ, आखिर नेतृत्व के रहेछ ?

कमलरी जाँदा म सँगै थुप्रै दिदीबहिनी कमलरी जानुभएको थियो । उहाँहरूमध्ये धेरैजसो मुक्त भैसक्नुभएको थियो । म पनि उहाँहरूसँग आन्दोलनमा हिँडे । ‘सानो मान्छे स्कुलमा ठूला मान्छे काममा कमलरी प्रथा बन्द गर’ भन्ने नाराका साथ सुरुमा सडकमा निस्कँदा मभित्र एउटा आत्मबल आयो । त्यतिबेला अरूका अगाडि गएर बोल्दा नेतृत्व भनेको यही नै रहेछ भन्ने लाग्थ्यो, तर अहिले मानिसहरूमा सकारात्मक परिवर्तन ल्याई कसरी नयाँ आयाम प्रस्तुत गर्न सकिन्छ, त्योचाहिँ नेतृत्व हो ।

नेपाली युवाहरूको अवस्थालाई कसरी हेर्नुहुन्छ ? 

पहिले नपढेर म आफैं बेरोजगार थिएँ, अहिले स्तातकोत्तर तहसम्म पढेका बेरोजगार युवाहरूको संख्या ठूलो देखिरहेको छु । हामीले जबसम्म त्यस्ता बेरोजगारहरूलाई व्यवस्थापन गर्न सक्दैनौं । तबसम्म हामी समृद्धिको दिशामा अघि बढ्न सक्दैनौं । 

 

प्रकाशित :जेष्ठ १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्