कान्तिपुर हिसान शैक्षिक मेला

  • शैक्षिक मेला

- साप्ताहिक संवाददाता

जेष्ठ १४, २०७५

नेपालका शिक्षालयहरूले दिने शिक्षाको स्तर विश्वका अन्य शिक्षालयसँग प्रतिस्पर्धा गर्न सक्षम छ भन्ने सन्देश दिन बिहीबारदेखि कान्तिपुर पब्लिकेसन्सको कान्तिपुर दैनिक एवं उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघको संयुक्त आयोजनामा कान्तिपुर हिसान एडुफेयर प्रारम्भ भएको छ । 

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ राजधानीको भृकुटीमण्डपमा जारी शैक्षिक मेलामा देशभरका १ सय ५० उच्च माध्यमिक विद्यालय तथा कलेजहरूको सहभागिता छ । देशभरका सबै उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूलाई एउटै छातामुनि ल्याएर उनीहरूका बारेमा जानकारी दिन यो शैक्षिक मेलाको आयोजना गरिएको शैक्षिक मेलाका संयोजक लोकबहादुर भण्डारीले बताए । विशेष गरी प्लस टु अध्ययनपछि विदेश जाने विद्यार्थीहरूको संख्या बढ्न थालेसँगै स्वदेशमै स्तरीय अध्ययन–अध्यापन हुने कुरामा आम अभिभावक तथा विद्यार्थीलाई आश्वस्त तुल्याउन यो शैक्षिक मेला सञ्चालनमा ल्याइएको हो । 

चार दिनसम्म चल्ने यो शैक्षिक मेला २ लाखभन्दा बढी विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूले अवलोकन गर्ने आयोजकहरूको दाबी छ । विगत ५ वर्षदेखि कान्तिपुर पब्लिकेसन्स तथा हिसानले यो शैक्षिक मेला नियमित रूपमा आयोजना गर्दै आएका छन् । अभिभावक तथा विद्यार्थीहरूले नेपालमै आफूले चाहेको विषयमा जानकारी लिन सहज होस् भनेर शैक्षिक मेला आयोजित गरिएको कान्तिपुर पब्लिकेसन्सका एजिएम महेश स्वाँरले बताए । यो शैक्षिक मेलाबाट अभिभावकले आफ्ना सन्तानलाई हाम्रो संस्कृति तथा नैतिक शिक्षा प्रदान गर्ने सही जानकारी प्राप्त गरून् भन्ने हाम्रो चाहाना हो, स्वारले भने । 

नेपालमै सञ्चालन भैरहेका उच्च शिक्षालयहरूको गुणस्तरीयताका सम्बन्धमा जानकारी नहँुदा धेरै विद्यार्थीहरू बिदेसिनु परिरहेको एडुफेयरका संयोजक भण्डारी बताउँछन् । शैक्षिक मेलाले उत्कृष्ट शिक्षा दिने शिक्षालयहरूका सम्बन्धमा जानकारी, परामर्श एवं विषयगत छलफलका लागि प्लेटफर्म तयार गर्ने भण्डारीको दाबी छ । विद्यार्थी तथा अभिभावकहरूले सही परामर्श नपाउँदा विदेश मोह बढेको हो । भण्डारी भन्छन्– एडुफेयरमा उपलब्ध गराइने जानकारीले नेपालमै अध्ययनको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । मेलामा नेपाली विश्वविद्यालयको पाठ्यक्रमको जानकारीका साथै विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन भैरहेका कलेजहरूका सम्बन्धमा पनि जानकारी लिन सकिन्छ । 

शैक्षिक मेलामा विद्यालय शिक्षादेखि नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाहरूको समेत सहभागिता छ । यो शैक्षिक मेलामा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वञ्चल विश्वविद्यालय, मध्यमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रको सम्बन्धनमा सञ्चालनमा रहेका शैक्षिक संस्थाहरूसमेतको सहभागिता छ । मेलामा ७० प्रतिशत विद्यालय तहका (१० जोड २) तथा ३० प्रतिशत त्यसभन्दा माथिका शैक्षिक संस्थाहरूको सहभागिता छ । 

मेलामा विभिन्न संस्थाको प्रस्तुतिका साथै शिक्षा विज्ञहरूको सहभागितामा संघीयतामा शिक्षा लगायतका जानकारीमूलक सेमिनारहरू पनि सञ्चालन गरिने संयोजक भण्डारीले बताए । मेलामा आउने विद्यार्थी तथा अभिभावकहरूका लागि नि:शुल्क प्रवेशको व्यवस्था छ । संयोजक भण्डारीका अनुसार विभिन्न कलेजहरूले नि:शुल्क छात्रवृत्तिको समेत व्यवस्था गरेकाले त्यसको फाइदा पनि मेलामा आउने विद्यार्थीहरूले उठाउन सक्छन् । 

मेलाले अभिभावक तथा विद्यार्थीहरूलाई मात्र नभएर नेपालमै सञ्चालनमा रहेका शिक्षालयहरूबीच समन्वय र भाइचारा स्थापित गर्न समेत मद्दत पुर्‍याउने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघका अध्यक्ष रमेश सिलवाल बताउँछन् । हामी एउटै छातामुनि रहेर नेपालमै उत्कृष्ट शिक्षा प्रदान गर्न सक्षम छौं भन्ने सन्देश दिन पनि यो मेलाको आयोजना गरिएको हो, सिलवाल भन्छन्– यसले स्वस्थ्य प्रतिस्पर्धालाई बढावा दिन्छ र अस्वस्थ प्रतिस्पर्धा रोक्छ । स्वस्थ प्रतिस्पर्धाले अभिभावक र विद्यार्थीलाई नै फाइदा हुने सिलवालको दाबी छ । 

नेपाली शिक्षालयलाई विश्वास नगर्दा विदेश पढ्न जाने विद्यार्थीबाट ठूलो धनराशि बिदेसिइरहेको छ । हाल भारत बाहेकका देशहरूमा मात्र बर्सेनि ३० हजारभन्दा बढी विद्यार्थी उच्च शिक्षाका लागि पुग्ने नेपाल सरकारको तथ्यांक छ । त्यति संख्यामा विद्यार्थी विदेश जाँदा १७ अर्ब रुपैयाँभन्दा बढी धनराशि बिदेसिने अध्यक्ष सिलवालको दाबी छ । कतिपय अभिभावकहरू विदेशमा भन्दा नेपालमै सस्तोमा पढाइ हुन्छ भन्दा पनि पत्याउँदैनन्, –सिलवालको अनुभव छ । हामी कुनै विषयको विद्यार्थीलाई १५ लाख रुपैयाँसम्म उत्कृष्ट शिक्षा दिन्छौं भन्दा पत्याउँदैनन् तर त्यही विषय पढाउन तेब्बर खर्च गर्नेहरू पनि छन्, सिलवाल भन्छन् । गुणस्तरीय शिक्षाभन्दा पनि आफूलाई उच्चवर्गको देखाउने अभिभावकहरूले यस्तो कुरालाई प्रश्रय दिइरहेको सिलवालको दाबी छ । यद्यपि विदेश अध्ययन गर्न गएका भनिएका ६० प्रतिशत विद्यार्थीले पढाइ नै पूरा नगर्ने सिलवालको दाबी छ । एक अध्ययनले भारतबाहेक अन्य देश गएका ६० प्रतिशत विद्यार्थीले अध्ययन पूरा नगरेको देखाएको छ । सिलवाल भन्छन्– अध्ययनको बहानामा विदेशको पीआर र सिटिजनसिप प्राथमिकतामा रहने हुँदा त्यस्तो हुँदै गएको हो । यसले विदेशमा पनि सस्तो जनशक्ति उत्पादन लाइ बढावा दिएको सिलवालको तर्क छ । 

कति फर्कन्छन् नेपाल

नेपालबाट भारतबाहेकका देशहरूमा मात्र प्रतिवर्ष ३० हजारभन्दा बढी विद्यार्थी अध्ययनका लागि बिदेसिने गरेका छन् । अध्ययन पूरा गरिसकेपछि कति विद्यार्थी नेपाल फर्किए भन्ने सन्दर्भमा अहिलेसम्म सरकार तथा अन्य कुनै निकायसँग आधिकारिक तथ्यांक छैन । विशेष गरी विदेशको पीआर र त्यहाँको स्थायी बसोबासको प्रक्रियाका लागि विद्यार्थी भिसामा जानु सहज हुने हुँदा नेपालीहरूले विद्यार्थी भिसा नै रोज्दै आएका छन् । अध्ययनका लागि विदेश जाने धेरै विद्यार्थीले आफ्नो रुचिको विषय अध्ययनका लागि भन्दा पनि कसरी विदेश जान पाइन्छ भन्ने कुरामा ध्यान दिँदा त्यहाँ पुगेर बीचमै पढाइ छोड्ने प्रचलन पनि बढ्दै गएको छ भने लाखौं खर्च गरेर विदेश पुगेका विद्यार्थीहरू जीवनयापन र लागेको खर्च तिर्न अध्ययनभन्दा पनि कमाइमा बढी लाग्ने जानकारहरू बताउँछन् ।

 

नेपालमै छन् अन्तर्राष्ट्रिय स्तरका शैक्षिक संस्था

विश्वमा नाम चलेका र अन्तर्राष्ट्रिय ग्रेडिङमा परेका २५ भन्दा बढी शैक्षिक संस्था नेपालमै छन् । त्रिभुवन विश्वविद्यालयदेखि काठमाडौं विश्वविद्यालय र अन्य निजी कलेजहरू त्यस्तो ग्रेडिङमा परेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिसिन, इन्जिनियरिङ, वन विज्ञान तथा कृषि विज्ञान जस्ता प्रविधिक विषय विश्वस्तरीय मानिन्छ । त्यस्तै निजी क्षेत्रबाट सञ्चालित कलेजहरूले प्रदान गर्ने होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, वाणिज्य संकाय जस्ता विषयले अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गरिरहेको हिसानका अध्यक्ष सिलवालको दाबी छ । अन्तर्राष्ट्रिय रूपमा हुने ग्रेडिङका लागि सम्बन्धित शैक्षिक संस्थामा भएका विद्यार्थीहरूको संख्या, भौतिक पूर्वाधार, परीक्षाफल, संस्थाको व्यवस्थापकीय पक्ष, अतिरिक्त क्रियाकलापको अवस्था, अध्ययन हुने विषय जस्ता कुरालाई हेरिन्छ । 

प्रकाशित :जेष्ठ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्