समानताको नारा सहित शिखरमा

- साप्ताहिक संवाददाता

जेष्ठ १४, २०७५

लैंगिक समानताका लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने नारासहित आरोहणका लागि गएकी ओखलढुंगा, पात्लेकी २५ वर्षिया दिकी शेर्पाले पनि सगरमाथा आरोहण गरेकी छिन् । महिलालाई दोस्रो दर्जाका रूपमा हेरिने दृष्टिकोण बदल्ने सन्देशका साथ उनी अभियान स्वरुप सगरमाथा आरोहणमा गएकी थिइन् । 

‘पुरुषप्रधान सोचलाई परिवर्तन गर्दै महिला सशक्तीकरण अभियान लिएर सगरमाथा आरोहणमा गएकी थिएँ ।’ आरोहणपश्चात् दिकीले भनिन्, ‘अब एउटा सगरमाथा आरोही महिलाका नाताले म यही अभियानलाई निरन्तरता दिनेछु । मेरो अभियान नारामै सिमित हुँदैन भन्ने अपेक्षा छ ।’ गोरखाकी महिला पत्रकार पूर्णिमा श्रेष्ठले पनि यसै साता सगरमाथाको सफल आरोहण गरेकी छिन् । 

यस्तै, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, मेगा टेलिभिजनकी कल्पना महर्जन तथा स्वतन्त्र पत्रकार देउराली चाम्लिङले पनि बुधबार विहान सगरमाथाको सफल आरोहण गरेका छन् । यसबीच शेर्पा महिला पत्रकार डोमा शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेकी छिन् । एक दशकदेखि पत्रकारितामा संलग्न शेर्पा आवाज बिहीनहरूको आवाज भन्ने नाराका साथ मंगलबार विहान सगरमाथाको शिखरमा पुगेकी थिइन् । 

प्रकाशित :जेष्ठ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्