नयाँ इनिङको तयारी

- साप्ताहिक संवाददाता

जेष्ठ १३, २०७५

‘म साँच्चै निकै खुसी छु,’ सन्दीप लामिछानेको यो प्रतिक्रिया अपेक्षित र स्वभाविक रह्यो । उनी यति धेरै खुसी नहुन् पनि किन ? आखिर उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सका लागि गज्जबको प्रदर्शन गरे । उनले प्रतियोगिताको अन्त्यतिर तीन खेल मात्र खेल्न पाए । जति बेला उनले खेल्न पाए, त्यति बेलासम्म दिल्लीको क्वालिफायर सम्भावना समाप्त भैसकेको थियो, तर सन्दीपले जति खेल्न पाए, त्यसमा सबैको मन जित्न सफल भए ।

अहिले उनको चर्चा मैदानमा उनले गरेको प्रदर्शनका कारण भैरहेको छ । अब भन्न थालिएको छ, दिल्लीले सन्दीपलाई सुरुदेखि नखेलाएर भूल गर्‍यो । सबैले भनिरहेका छन्— दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले सन्दीपलाई सुरुदेखि खेलाएनन्, नतिजा टिमले कमजोर प्रदर्शन गर्‍यो । जति बेला सन्दीप टिममा परे, टिमको प्रदर्शन बेग्लै रह्यो । 

पछिल्ला केही दिनयता सन्दीपको चर्चा जताततै छ । उनी सामाजिक सञ्जालमा खुबै छाए, अधिकांश मिडियाका लागि फ्रन्ट–पेजको समाचार बने । क्रिकेट मन पराइने अरू देशमा पनि सन्दीप छाए । प्रमुख विदेशी समाचार संस्थाहरूले पनि उनको समाचार लगातार प्रकाशित गरे । एउटा नेपाली खेलाडीको यति धेरै चर्चा, त्यो पनि अन्तर्राष्ट्रिय रूपमा यसअघि कहिल्यै भएको थिएन् । 

विश्व फुटबलमा नेपाली खेलाडीले लियोनल मेसी अथवा क्रिस्टियानो रोनाल्डोविरुद्ध खेल्दा कस्तो हुन्छ होला ? टेनिसमा नेपाली खेलाडीले नम्बर १ खेलाडी राफेल नाडालविरुद्ध चुनौती पेस गर्दा कस्तो हुँदो हो ? बक्सिङमा नेपाली खेलाडी फ्लोयड मेवेदरविरुद्ध भिड्दा कस्तो देखिँदो हो ? अथवा कुनै समयका नम्बर १ गल्फर टाइगर उडविरुद्ध कुनै नेपाली गल्फर भिड्दा के हुने होला ? विश्व क्रिकेटमा सन्दीपको प्रदर्शन यस्तै रह्यो । 

स्तरीय बलिङ

दिल्लीका लागि सुरुका अधिकांश खेलमा सन्दीपले खेल्न नपाउँदा यसलाई हाँसोको विषय बनाउने पनि धेरै थिए । केहीले त उनलाई पर्यटक खेलाडीसमेत भने । अझ केहीले त उनलाई दिल्लीले लिनुको पछाडि राजनैतिक तथा व्यापारिक कारण पनि फेला पारे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई खुसी तुल्याउन दिल्लीलाई दबाब दिएको समेत भनियो । सन्दीपसामु यी सबै कारणलाई गलत सावित गर्ने एक मात्र उपाय थियो— मैदानमा राम्रो प्रदर्शन । उनले त्यही काम गरे । 

उनको पहिलो खेल थियो, रोयल च्यालेञ्जर्स बैंगलोरविरुद्ध । उनले उक्त खेलमा ४ ओभरमा २५ रन मात्र खर्चेर १ विकेट लिए । त्यो विकेट थियो, पार्थिव पटेलको । पार्थिवलाई भारतीय क्रिकेटमा स्पिनविरुद्ध राम्रो खेल्न सक्ने खेलाडीका रूपमा लिइन्छ । उनी सन्दीपको बलमा मीठो ढंगले एलबीडब्लू धरापमा परे । दोस्रो खेल चेन्नई सुपर किङ्सविरुद्ध थियो । उक्त खेलमा सन्दीपको सिकार भए– सुरेश रैना । केही समयअघिसम्म उनी भारतीय टिमका खम्बा थिए । 

उक्त खेलमा सन्दीपको बलिङ विश्लेषण रह्यो– ४ ओभर २१ रन तथा १ विकेट । यी दुवै खेलमा सन्दीपको बलिङ साँच्चै उत्कृष्ट रह्यो । तेस्रो खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध ३ विकेट लिए । उनले यसपटक सूर्यकुमार यादव, वेस्ट इन्डिजका किरोन पोलार्ड तथा कुणाल पान्ड्याको विकेट लिए । लगभग उनकै धारिलो प्रदर्शनका कारण मुम्बई क्वालिफायरको समीकरणबाट बाहिरियो । समग्रमा उनको प्रदर्शन रह्यो– १२ ओभर ८२ रन तथा ५ विकेट । 

सन्दीपको यात्रा

एउटा महत्त्वपूर्ण तथ्य के भने नेपाली क्रिकेटमा सन्दीपको प्रवेश भएको पनि धेरै भएको छैन । तीन वर्षअघि मात्र उनी त्यो बेलाका नेपाली प्रशिक्षक पुबुदु दसानायेकेको नजरमा परेका हुन् । त्यतिबेला पुबुदु युवा खेलाडीको खोजी थिए र उनी पुगे, चितवनको क्रिकेट एकेडेमी । त्यति बेला सन्दीप निकै लज्जालु खेलाडी थिए, तर पुबुदुले उनको प्रतिभा चिन्न भूल गरेनन् । त्यति बेला नै उनले ठूलो सपना देखिसकेका थिए । उनले त्यसका लागि कडा मेहनत पनि गरे । सुरुमा उमेर समूह क्रिकेटबाट प्रवेश गरेका सन्दीपले यू–१९ का प्रतियोगिताहरूमा स्तरीय प्रदर्शन गरे । त्यसले उनका लागि नेपाली राष्ट्रिय टिमको बाटो खोल्यो । राष्ट्रिय टिम पनि राम्रो प्रदर्शन गरेपछि उनी विश्वकै आँखामा परे । आईपीएलमा सन्दीपको प्रदर्शनले विश्व क्रिकेटमा नेपाली खेलाडीका लागि समेत ढोका खोलिदिएको छ । 

लामो रेसका घोडा

सन्दीपले पाएका यी सबै सफलताबीच केही डर पनि छ । सन्दीप रातारात निकै ठूला स्टार भएका छन् । कतै स्टारडमले उनलाई बिगार्ने त होइन ? खासमा सन्दीप लामो रेसका घोडा हुन् । उनी भर्खर १८ वर्ष छुने क्रममा छन् । उनी सामु लामो खेल जीवन छ । उनले मज्जाले अर्को एक दशक क्रिकेट खेल्न सक्नेछन् । उनीसामु अझ राम्रा र ठूला अवसरहरू आउने निश्चित छ । अबको आईपीएलमा उनीमाथि सजिलै करोडको भाउ लाग्नेछ । 

अहिले नै सन्दीपलाई यस्तो गर्नु पर्छ, यस्तो गर्नु हुँदैन भनेर सल्लाह दिने धेरै भैसकेका छन् । आफूले वास्तवमै के गर्ने हो, त्यसको एक मात्र निर्णयकर्ता सन्दीप स्वयं हुन् र उनले निकै चतुर्‍याइँपूर्ण तथा योजनाबद्ध ढंगले आफूलाई तयार पार्नुपर्नेछ । विश्व खेलकुदमा एउटा शब्दावली छ, ‘बर्न–आउट’ । त्यसको अर्थ हो, कम उमेरमै चम्किएर पछि आफूलाई सम्हाल्न नसक्ने, अनि हराउने । नेपाली क्रिकेटले कदापि चाहने छैन, सन्दीपले बर्नआउटको सिकार हुनुपरोस् । सन्दीपले ‘जेन्टलम्यान’ हुँदै आफ्नो कडा परिश्रमलाई लगातार कायम राख्नुपर्नेछ ।

प्रकाशित :जेष्ठ १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्