घर पुर्‍याउने माइक्रो

- सुविन भट्टराई

जेष्ठ १३, २०७५

एनएसीमा माइक्रोबस कुरिरहेछु । मलाई कपन जानु छ । धुलोले चार–पाँच पटक थप्पड हानिसक्यो । गाडीका हर्नले कानका जालीलाई पचासौँ पटक घोचिसक्यो । मानिसहरूको ठेलमठेलबाट जोगिन कैयौँ पटक कुस्ती खेल्नु परिरहेछ । एउटा माइक्रोबस आउँछ । ५० जनाले त्यसलाई घेर्छन् । खलाँसी ढोकै नखोली झ्यालबाट टाउको निकाल्दै यात्रु बोलाइरहेछ । जसले अरूलाई ठेल्न सके, उही माइक्रो चढ्न सके । जो ठेलिइरहे ती भीडमै कतै छुटिरहे । 

भीडभाडमा दाहिने गोजी छाम्छु । त्यसमा भएको मोबाइल जोगाउनु छ । पछिल्तिरको गोजीमा भएको पर्स कसैले खुसुक्क निकालिदेला कि 

भन्ने त्राहि छ । 

वर्षौंदेखि त्यही एउटा ठाउँमा कुरिरहेछु उही पुरानो माइक्रोबस । 

यही ठाउँमा माइक्रोबस कुर्ने क्रममा पानीले पनि भिजाएको छ । असिनाले पनि चुटेको छ । हावाहुरीले मेरो दुब्लो काया झनै–झनै उडाएको छ । यही ठाउँमा माइक्रो कुर्ने क्रममा म धेरैजसो उदास र थोरैजसो खुसीको भावमा हुन्छु । 

म वर्षौंदेखि यही ठाउँमा माइक्रोबस कुरिरहेछु । म बदलिएँ धेरै बरु, यो ठाउँ परिवर्तन भएको छैन ।

हो, माइक्रो एकदमै प्याक भएर आउँछ । खाली भए पनि रोकिन नपाउँदै भरिइहाल्छ, तैपनि मैले यो माइक्रो कुर्न छाडेको छैन । धुलोको थप्पड, पानीको चुटाइ, हर्नको घोचाइ र भीडभाडको धक्का खानु नै मलाई प्रिय लाग्न थालेको छ । माइक्रो प्याक भएर आउँदा पनि मलाई ठेलमठेल नगरी त्यसमा नचढी हुँदैन । खलाँसीले जति नै रूखो बोलोस्, दुई रुपैयाँका लागि मलाई दुई सयवटा गाली किन नदेओस्, मैले उसैसित संगत नगरी हुँदैन । ड्राइभर जति रफ्तारका साथ उडाउलाझैँ गरी माइक्रो कुदाओस्, जति बिस्तारै मान्छेभन्दा पनि ढिलै किन नहिँडाओस्, माइक्रोले जति उफारोस्, जति घच्याक्क रोकियोस्, जति पटक पूरै थचक्क बस्न पाएको होस्, जति पटक आधा अडिन पाएको होस्, दुई जनाको सिटमा तीन जना खाँदिनुपरेको होस्, उल्टो कोल्टिएर अडिनु परेको होस्, ढोकैमा झुन्डिनु परेको होस्, भित्र उभिनु परेको होस्, कुप्रिनु परेको होस्, थिचिनु परेको होस्, तैपनि मलाई यही माइक्रोबस प्रिय लाग्छ । किनभने यसले मलाई मेरो घरसम्म पुर्‍याउँछ ।

मानौँ यो माइक्रोबस मेरी आमा हो, जसले मलाई आफ्नो पिठ्युँमा बोकेर घरी पिट्दै, घरी फुल्याउँदै सकुशल घर पुर्‍याउँछिन् । 

यो जतिसुकै प्याक भएर आओस्, यसलाई देख्नासाथ आफ्नै घर पुगेझैँ लाग्छ । कुर्ने ठाउँमा मात्र होइन, नकुरेका ठाउँमा देख्दा पनि चढेर घरै जाऊँजस्तो लाग्छ । आखिर यो मेरो घर अगाडिकै बाटो हुँदै आएको माइक्रो न हो । योसँग त मेरा थुप्रै सम्झना गाँसिएका छन् । 

बस्दा कतिको झोला समातिदिएँ, उठ्दा कतिले मेरो झोला समातिदिए । कसैले सानो चिनजानका भरमा भाडा तिरिदिए । कसैको भाडा तिर्नका पीरले चिनेको पनि नचिन्यै गरे । यात्राका क्रममा सुनेका अपरिचित कतिपय बकबक मलाई प्रिय छन् ।

रिस उठ्थ्यो पहिले–पहिले, उहिल्यै धेरै पहिल्यै हरयात्राको कष्टले । अब त रिस पनि तिनै माइक्रोजत्तिकै थोत्रिइसके । दिग्दारी पनि बाटोका पिचसरि भत्किसके । 

यही कुरामा चित्त बुझाउँदै म माइक्रोको यात्रामा खुसी हुने गरेको छु, कि बाटो जस्तै नराम्रो भए पनि कमसेकम त्यसले घर त पुर्‍याउँछ ।

घर, जहाँ बूढा भएका मेरा बा–आमा, मेरी श्रीमती अनि छोराछोरी म पुग्ने समयभन्दा कैयौँ मिनेट अघिदेखि, आँखामा आशाको ज्योति टिलपिल भरेर मेरै बाटो कुरिरहेका हुन्छन् । 

प्रकाशित :जेष्ठ १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्