Teej banner

क्यासलेस बनाउने एफवान सफ्ट

- नरेन्द्र रौले

जेष्ठ १२, २०७५

एसियाका उत्कृष्ट १ सय कम्पनीमा सूचीकृत नेपाली कम्पनी हो— एफवान सफ्ट । मोबाइल पेमेन्ट सेवा प्रदान गर्ने कम्पनीहरूको सूचीमा यो कम्पनी विश्वकै ३५ औं स्थानमा छ । एफवान सफ्ट इन्टरनेसनलका प्रबन्ध निर्देशक विश्वास ढकालले यो कम्पनीलाई नेतृत्व दिइरहेका छन् । एफवान सफ्ट त्यही कम्पनी हो, जसले मोबाइल बैंकिङ, इन्टरनेट कार्ड म्यानेजमेन्ट, डिजिटल वालेट तथा अनलाइन पेमेन्ट गेटवे ई–सेवाजस्ता वित्तीय प्रविधि नेपाल भित्र्याउन तथा प्रविधिमार्फत वित्तीय कारोबार अघि बढाउन योगदान दिँदै आएको छ । 

एफवान सफ्टलाई विश्व बजारमा चिनाएका युवा व्यवसायी विश्वास ढकालको कथा जनकपुरबाट सुरु हुन्छ । उनी स्कुले जीवनदेखि नै इलेक्ट्रोनिक्स सामानहरूप्रति विशेष चासो राख्थे । घरबाट ३ किलो मासु किन्न पठाउँदा उनी साढे २ किलो मासु मात्र किनेर फर्कन्थे । बचेको पैसा आफू राख्थे । यसरी हरेक सामान किन्दा उनी पैसा जोगाउन थाले । ठूलो रकम जम्मा भएपछि त्यही पैसाले उनी ग्याजेट्सहरू किन्थे । बा–आमासँग पैसा माग्न अप्ठ्यारो लाग्थ्यो, विश्वास भन्छन्– मलाई यही बाटो सजिलो लाग्यो । जीवनका प्रारम्भिक दिनमा विश्वास दुईवटा रुचि राख्थे— पहिलो क्रिकेट खेल्न, दोस्रो बिजुलीका सामानहरू खोल्न, बिगार्न र सपार्न ।

चेन्नइबाट प्लस टु गरेका विश्वासले कम्प्युटर इन्जिनियरिङ अध्ययनका लागि अमेरिका जाने सपना साँचे, तर उनको सपना पूरा भएन । उनी कोलोराडो स्टेट युनिभर्सिटीमा भर्ना भए । त्यो सँगै सानो छात्रवृत्ति पनि मिल्यो । आई ट्वान्टी आएपछि उनले भिसा एप्लाई गरे । भिसा रिजेक्ट भयो । त्यसपछि उनमा एक प्रकारको निराशा छायो । त्यसपछिका ३ महिना जनकपुरमा आमा–बुबासँगै बिताए र अन्तत: काठमाडौं आए । 

सन् २००३ मा काठमाडौंको एनसिआइटी कलेजमा भर्ना भए । त्यतिबेला उनले प्लान इन्टरनेसनलमा काम पाए । आइटी असिस्टेन्टका रूपमा उनको मासिक तलब थियो १४ हजार रुपैयाँ । त्यही बेला हो, एफवान सफ्ट कम्पनीको व्यवसायिक यात्रा प्रारम्भ भएको ।

पहिलो सेमेस्टर पूरा गरेपछि उनले आफ्नै कोठालाई कार्यालय बनाए । आफूसँग भएको एउटा कम्प्युटरबाट उनले वेबसाइट बनाउने, डोमेन बिक्री गर्ने तथा वेब होस्टिङको काम सुरु गरे । त्यसको एक वर्षपछि चारवटा कम्प्युटर किनेर ४ जनालाई रोजगारी दिन सक्षम भए । त्यतिबेला त संसारै जितेजस्तो भयो, उनी त्यो क्षण सम्झन्छन् । कम्पनीले काम धेरै गरे पनि बजारबाट पैसा उठाउन ठूलै हन्डर बेहोर्नु पथ्यो । तैपनि कम्पनीमा उनले कर्मचारीहरू थपिरहे, कम्पनी फैलँदै गयो । 

सन् २००८ मा उनले नेपालमा एसएमएस बैंकिङको कल्पना गरे । उनको कल्पनालाई लक्ष्मी बैंकले साथ दियो । त्यसपछि एक वर्षभित्र आठवटा बैंकमा एसएमएस बैंकिङ सेवा प्रारम्भ भयो । राम्रो व्यापार हुन थालेपछि उनले एसएमएस बैंकिङमा (एसएमएस इन्क्वाइरी) मात्र सिमित नभएर ग्लोबल बैंकिङ पनि सुरु गरे । पोस्पेड, ल्यान्डलाइन र मोबाइलको बिल तिर्न मोबाइल बैंकिङ सेवाको बिस्तार भयो । नेपालमा पहिलो पटक अनलाइन पेमेन्ट गेटवेको सुरुवात पनि उनैले गरेका हुन् । सन् २००९ मा उनले सुरु गरेको ई–सेवाले राम्रो व्यापार गर्न थाल्यो । 

यतिबेला ४ सय १७ जनालाई रोजगारी दिएको एफवान सफ्टले विभिन्न पाँचवटा कम्पनीमा काम गरिरहेको छ । दुईवटा स्टार्टअप चलाइरहेको छ । स्टार्टअप कम्पनीमध्ये सिरान टेक र धर्मटेक एपमा आधारित कम्पनी हुन् भने वेब भीआरभी सिएमएस डेभलपमेन्टमा आधारित छ । 

यो सफलता एकाएक हात परेको होइन । विश्वासको समूहले बीचमा केही प्रोजेक्टमा हात हालेको थियो । ती सबैमा सफलता प्राप्त हुन सकेन् । एकपटक समूहले क्यास अन एड्को अवधारणामा काम सुरु गरेको थियो, तर त्यसका लागि नेपाल एकदम सानो बजार सावित भयो । क्यास अन एड सार्वजनिक भएको तीन महिनामै झन्डै २ लाख उपभोक्तामाझ पुगिसकेको थियो । त्यसपछि विश्वासले ओहो बजारमा लगानी गरे । ओहो बजार ई–सेवाजत्तिको सशक्त ढंगले अघि बढ्न सकेन । क्यास अन एड्मा धेरै पैसा गुमाएकाले कम्पनीले ओहो बजारमा ठूलो लगानी गर्न चाहेन । 

विश्वास बेस्ट म्यानेजर अफ इयर एवार्ड–२०१७ बाट सम्मानित व्यक्ति हुन् । एकपटक उनलाई निराशाले यति गाँजेको थियो कि उनले केही गर्ने आशा गुमाइसकेका थिए । चरम निराशा छाएका बेला आफ्नो भाग्य आफै बनाउँछु भनेर उनले एकपटक चक्कुले हत्केलामा भाग्यरेखा कोर्ने प्रयास समेत गरेका थिए । यद्यपि यतिबेला विश्वासले आफ्नो मात्र होइन, सयौं नेपालीको भाग्य चम्काइरहेका छन् । 

प्रकाशित :जेष्ठ १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्