हाँसोको मुहान खोज्दै जाँदा–३

- मनोज गजुरेल

जेष्ठ १०, २०७५

 

म ब्युँझन्छु । एयर होस्टेसले गाडी गुडाउँदै मेरो नजिक ल्याइपुर्‍याइन् । ‘सर, चिकेन दिऊँ कि मटन ?’ सुरुमा त मैले केही बुझिनँ । किनभने सुकिला–मुकिलाहरू मलाई पहिलो पटक ‘तपाईंं’ भन्दै थिए । मलाई मात्र होइन, प्लेनका सबै यात्रुलाई उनी मीठो मुस्कानसहित तपाईं भन्दै थिइन् । मलाई विश्वासै भएन कि उनले मसँगै उक्त प्रश्न सोधेकी हुन् ।

मलाई राम्रोसँग सम्झना छ, हाम्रो देशमा कामका आधारमा मानिसलाई सम्मान गरिन्छ । सेवाग्राहीले पालेलाई तँ, पिउनलाई तिमी, खरदारलाई तपाईं तथा हाकिमलाई हजुर भनेको मेरै कानले सुनेको छु । कर्मचारीहरूले पनि सेवाग्राहीलाई उसको लवाइखवाइका आधारमा तँ, तिमी, तपाईं भन्छन् । यद्यपि यहाँ सबैलाई एउटै सम्बोधन गरेको सुन्दा अचम्मै लाग्यो ।

‘के खानुहुन्छ रे ?’ अर्को सिटमा बस्ने यात्रुले सोधे । मैले भनें, ‘मासुभातको कति पर्छ ?’ उनी अलि जान्ने परेछन्, भने— ‘फ्री हो फ्री ।’ मैले भनें, ‘भेज दिनु ।’ मैले दाम सोध्नुको कारण के थियो भने यसअघि मेरो मामाको छोरा कतार गएको थियो । उसले प्लेनमा पानी पनि किनेर खानुपर्छ भनेको थियो । सौभाग्य, यसमा पैसा लाग्दो रहेनछ ।

खाना खाँदै सहयात्रीसँग गफ गर्न थाले । उसले आफ्नो अनुभव सुनायो, ‘यसअघि छुट्टीमा आउँदा पानीसमेत किन्नुपर्ने टिकट थियो ।’ उसका अनुसार, धेरैजसो प्लेनको टिकट पनि कम्पनीले नै तिर्छ, तर म्यानपावरहरूले त्यसलाई लुकाउँछन् अनि टिकट हामीलाई किन्न बाध्य बनाउँछन् । ‘त्यसो भए यसपटक हामी भाग्यमानी परेछौं, कम्तीमा खाना त फ्रीमा खाइयो ।’ उनले भने, ‘केको फ्री हुन्थ्यो, टिकटमै मिलाएर लिइएको हुन्छ ।’

एकछिनपछि फेरि एयरहोस्टेज आइन्, ‘चिया, कफी, कोक, फ्यान्टा, बियर, वाइन के लिनुहुन्छ सर ?’ मैले चिया मागें । साथीले कोक पियो । एकछिनमा उनी फेरि भाँडाकुँडा लिन आइन् । हाम्रो पछाडि बस्नेले जिस्क्यायो, उनी मुसुक्क हाँसिन् । अर्कोले गाली गर्‍यो, उनी सरी सर भन्दै गइन् । अर्कोले दोहोर्‍याई–तेहेर्‍याई ड्रिंक्स माग्यो, तर उनमा कुनै झिंझोपन थिएन । अरू रिसाउँदा पनि, जिस्क्याउँदा पनि, गाली गर्दा पनि जवाफमा उनि हँसिलो अनुहारमा हुन्थिन् ।

ती बैनीलाई देखेर लाग्यो, उनी जहाजभित्रकी आमा हुन् । आफ्ना सन्तानलाई सकेसम्म खुसी राख्न चाहन्छिन् । जस्तै पिर भए पनि बाहिर देखाउँदिनन् । जतिसुकै पीडा भए पनि आफूभित्रै लुकाउँछिन् । सबै यात्रुलाई बराबर सम्मान गर्छिन् । साँच्चै भनौं भने हाम्रा नेताहरूले भनेजस्तो ‘समाजवाद’ त जहाजभित्र रहेछ ।

खानपिन सकियो । सबै जना आ–आफ्ना काममा लागे । कोही फिल्म हेर्न, कोही गफ गर्न, कोही मोबाइल खेलाउन त कोही सुत्न थाले । म पनि निदाउने प्रयासमा लागे तर मनमा घरको यादबाहेक केही आउँदैन । सोच्छु— कसले मलाई बाबु, चिया खान उठ् भन्ला † को आउला बाबा चकलेट दिनु भन्दै † कसले फोन गर्ला घर कतिखेर आउने भनेर ।

मलाई देख्नासाथ कराउने बाख्राको पाठो विदेशमा हुँदैन अब । मेरो अभावमा आँगन कुरेर पर्खने काले कुकुर पनि त्यहाँ हुँदैन । माली गाईले मलाई बाहेक अरूलाई छुन दिंदैनथ्यो, कसले दुहुने होला उसलाई । यस्तै–यस्तै अनेक कुरा खेलाउँदै निदाउने प्रयास गर्दै थिएँ, कतिबेला निदाएछु पत्तै पाइनँ ।

ब्युँझदा जहाजभित्र अँध्यारो थियो । अधिकांश निदाएका थिए । पछाडि फर्किएर हेरे, कुनै–कुनै सिटमा उज्यालो थियो । अगाडितिरका केही सिट पनि उज्याला थिए । त्यहाँका यात्रुचाहिँ टोलाएर बसिरहेका देखिन्थे । मलाई लाग्यो, तिनीहरूको मनमा मेरो भन्दा पनि ठूलो सोचाइको नदी बगिरहेको होला । मेरो भन्दा पनि बढी दु:खद् कथा होला, व्यथा होला । उनीहरूलाई देखेपछि मलाई लाग्यो, जीवन संघर्षको यो यात्रामा म एक्लो छैन । हजारौं मानिस छन् अनि म आफूले आफैंलाई सम्हाल्दै वैदेशिक यात्राका रमाइला पाटाहरूको कल्पना गर्न थालें.... ।

प्रकाशित :जेष्ठ १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्