Teej banner

आरामदायी सिनेमा घर

- कृष्ण भट्टराई

जेष्ठ ९, २०७५

अप्ठ्यारा कुर्सी, धमिलो पर्दा अनि जीर्ण बन्दै गएका सिनेमा हलमा नेपाली तथा हिन्दी चलचित्र हेर्न बाध्य भैरहेका नेपाली दर्शकलाई करिब–करिब उस्तै मूल्यमा आरामदायक कुर्सी, क्रिस्टल क्लियर पर्दा अनि सुविधासम्पन्न भवनमा चलचित्र हेर्ने बानी बसाउने एउटा कम्पनी हो— क्यूएफएक्स । टिम क्वेस्ट प्रालिअन्तर्गतको क्यूएफएक्सले स्थापनाको पहिलो दशकमै अधिकांश चलचित्रप्रेमीको मन मात्र जितेको छैन, काठमाडौंमा मात्र सीमित मल्टिप्लेक्स कल्चरलाई मोफसलसम्म पुर्‍याउन सफल भएको छ । 

पुरानो प्रविधिबाट सञ्चालन हुने सिनेमा हललाई अत्याधुनिक डिजिटल प्रविधिमा रूपान्तर गर्दै नेपाली चलचित्रलाई समेत गुणस्तरीय बन्न बाध्य बनाउने कम्पनीका रूपमा स्थापना भएको संस्था हो— क्यूएफएक्स अनि यसलाई हाँक्ने एक जना जुझारू हुन्— नकिम उद्दिन । सन् २०१० मा स्थापना भएको टिम क्वेस्ट प्रालिका अध्यक्ष उद्दिन हुन् भने उनलाई भाष्कर ढुंगाना तथा राजेश सिद्दिकीले साझेदारका रूपमा सहयोग गरेका छन् । यी तीन जना उद्यमीले चलचित्र क्षेत्रलाई बिल्कुलै नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित प्रारम्भ गरेको क्यूएफएक्सले आज एउटा आकार पाइसकेको छ । 

सन् २०१० मा सुन्धारास्थित सिभिल मलको आठौं तल्लामा तीनवटा पर्दामार्फत प्रारम्भ भएको क्यूएफएक्सको यात्रा काठमाडौंकै जय नेपाल, कुमारी हुँदै अघि मात्र बढेको छैन, ललितपुर, पुल्चोकस्थित लबिम मल तथा ठमेलको छायाँ सेन्टरसम्म फैलिएको छ । काठमाडौंपछि चितवनको नारायणघाटबाट प्रारम्भ भएको क्यूएफएक्सको मोफसल यात्रा हेटौंडा, नेपालगन्ज हुँदै बिर्तामोड (निर्माणाधीन) सम्म फैलिएको छ । चाँडै नै क्यूएफएक्सले विराटनगर तथा बुटवलमा पनि आफ्नो उपस्थिति जनाउँदैछ । 

सेल्युलाइड प्रविधिमा निर्माण भैरहेका नेपाली चलचित्रलाई डिजिटल प्रविधिमा रूपान्तर गर्ने श्रेय पनि क्यूएफएक्सलाई नै जान्छ । साप्ताहिकसँगको भेटमा टिम क्वेस्टका अध्यक्ष नकिम उद्दिन भन्दै थिए– ‘सेल्युलाइड प्रविधिमा चलचित्र निर्माण गर्नु अत्यन्त महँगो सावित भैरहेको थियो, यसबाहेक उक्त प्रविधिको चलचित्र निर्माण गर्ने क्रममा सानो काम पर्‍यो भने पनि बम्बई धाउनुपर्ने बाध्यता थियो । ती सबै झन्झटबाट मुक्ति पाउन हामीले नै डिजिटल प्रविधि भित्र्यायौं । त्यसका लागि हामीले भारतकै डिजिटल चलचित्र निर्माण गर्ने कम्पनी यूएफओ मुभिजसँग सहकार्य गरेर ‘कागबेनी’ तथा ‘सानो संसार’ जस्ता चलचित्र तयार पार्‍यौं । डिजिटल प्रविधिमा निर्माण गरिएका चलचित्र प्रदर्शनका लागि डिजिटल प्रविधियुक्त सिनेमा हल नै चाहिन्छ भन्ने भएपछि हामीले सुरुमा जयनेपाललाई डिजिटल बनायौं । त्यसपछि कुमारीलाई डिजिटल बनायौं । दुईवटा हललाई मात्र डिजिटल बनाएर पुग्दैन भन्ने सोच आएपछि हामी मल्टिप्लेक्सको धारणासहित सिभिल मलको आठौं तल्ला पुग्यौंं । एउटा नयाँ ब्रान्डसहित चलचित्र क्षेत्रलाई नै उचाइमा पुर्‍याउनुपर्छ भन्ने उद्देश्यले सिभिल मलबाटै हामीले आधिकारिक रूपमा क्यूएफएक्स स्थापना गरेको घोषणा गर्‍यौं ।’

सानो लगानीबाट प्रारम्भ भएको एक्यूएफएक्समा अहिले करोडौं रुपैयाँ लगानी भैसकेको छ । ‘ठ्याक्कै यति नै लगानी छ भन्ने गाह्रो छ,’ उद्दिन भन्छन्– ‘हामीले यहीं कमाएको रकम पुन: यहीं नै लगानी गरिरहेका हुन्छौं ।’ यतिबेला क्यूएफएक्सले करिब ५ सय जना नेपालीलाई प्रत्यक्ष रोजगारी दिइरहेको उद्दिनको भनाइ छ । 

क्यूएफएक्सको अवधारणा कसरी आयो ? भन्ने जिज्ञासामा अध्यक्ष उद्दिन भन्छन्– ‘नेपालमा सिनेमा हलमा गएर चलचित्र हेर्ने पुरानो चलन हो । मनोरञ्जनको एक मात्र सस्तो माध्यम भनेकै सिनेमा हलमा गएर चलचित्र हेर्नु हो । यद्यपि एक दशकसम्म नेपालमा सञ्चालनमा रहेका सिनेमा हलमा मध्यम तथा त्योभन्दा माथिल्लो वर्ग आकर्षित हुँदैनथे । सिनेमा हलको भौतिक संरचना स्तरीय नभएकाले पनि उपल्लो वर्गका दर्शक सिनेमा हलसम्म पुग्दैनथे । त्यो अवस्थामा एउटा सिंगल स्क्रिनलाई मल्टिप्लेक्सको स्वरूपमा परिवर्तन गरेर दर्शक आकर्षित गर्न सकिन्छ भन्ने सोचले जय नेपाल सिनेमा हलबाट हामीले यो नयाँ व्यवसाय प्रारम्भ गरेका थियौं ।’ 

जय नेपाल तथा कुमारी सिनेमा हलमार्फत डिजिटल प्रविधिका चलचित्र प्रदर्शन हुन थालेपछि केही नेपाली चलचित्र निर्माताहरू आफ्ना चलचित्र प्रदर्शन नगरेको भन्दै क्यूएफएक्ससँग रुष्टसमेत भएका थिए । ‘हामीले जय नेपाल तथा कुमारी सिनेमा हललाई डिजिटल बनाउनुको उदेश्य नेपाली चलचित्र प्रदर्शन गर्नु थिएन,’ उद्दिनको भनाइ छ– ‘हामी हलिउड तथा बलिउडका स्तरिय चलचित्र प्रदर्शन गरेर सिनेमा हल नै नजाने दर्शकलाई हलसम्म ल्याउने ध्याउन्नमा थियौं । यद्यपि हामीले दुवै सिनेमा हलमा नेपाली चलचित्र पनि नचलाएका होइनौं, तर त्यतिबेला चलाइएका नेपाली चलचित्रलाई हाम्रा दर्शकले वास्तै गरेनन् । नेपाली चलचित्र तथा विदेशी चलचित्रका दर्शकहरू फरक हुने भएकाले पुरानो ढर्रामा बनेका चलचित्र हेर्न दर्शक नआउनु स्वभाविक थियो ।’

अहिले पनि क्यूएफएक्सले हरेक नेपाली चलचित्रलाई आफ्ना सिनेमा हलमा प्रदर्शन गराउँदैन । उद्दिन भन्छन्– ‘हामीले एउटा निश्चित मापदण्ड पूरा गरेका चलचित्र मात्र प्रदर्शन गर्ने नियम बनाएका छौं । पहिले टुके प्रविधिमा बनेका चलचित्र मात्र प्रदर्शन गर्ने नियम थियो, अहिले सबै चलचित्र फोरके प्रविधिमा निर्माण हुन थालेका छन् । यद्यपि आज पनि हाम्रो एउटा टिमले चलचित्र हेरेपछि मात्र हाम्रा सिनेमा हलमा प्रदर्शन गर्ने कि नगर्ने निर्णय गर्छ ।’ 

यिनै कारणले अहिले हरेक नेपाली चलचित्र निर्माताहरू आफ्ना चलचित्रलाई क्यूएफएक्समा प्रदर्शन गर्ने लक्ष्यसहित चलचित्र निर्माण गर्न थालेका छन् । यसबाट निर्माताहरूमाथि कुनै पनि कुरामा सम्झौता नगरी उत्कृष्ट चलचित्र बनाउने दबाब सिर्जना भएको छ । यसले नेपाली चलचित्र प्राविधिक रूपमा समेत स्तरीय बन्न थालेका छन्, राम्रा चलचित्रले उत्कृष्ट व्यवसाय पनि गरेका छन् । यी सबै कुराको श्रेय पनि क्यूएफएक्सलाई नै दिँदा फरक पर्दैन । 

क्यूएफएक्सले दर्शकको सुरक्षालाई सबैभन्दा बढि प्राथमिकतामा राखेको छ । त्यसका लागि सिनेमा हलको भवन नै सुरक्षित हुनुपर्ने क्यूएफएक्सको प्रमुख सर्त छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरका सिनेमा हलहरू सञ्चालन गरी नेपालीहरूको चलचित्र हेर्ने संस्कृतिमा आमूल परिवर्तन गरेर क्यूएफएक्सले नेपाली मनोरञ्जन उद्योगमा प्रभावकारी उपस्थिति जनाउँदै आएको छ । क्यूएफएक्समा वार्षिक चलचित्र हेर्न आउने दर्शकको संख्या हरेक वर्ष १०–१५ प्रतिशतको दरले वृद्धि भैरहेको क्यूएफएक्सका अध्यक्ष उद्दिनको भनाइ छ । 

प्रकाशित :जेष्ठ ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्