Teej banner

नेपाली गौरव, नेपाली पौरख

  • आफ्नै पौरखले सिर्जिएको चितवन

- संजीवन महर्जन

जेष्ठ ९, २०७५

यो अंकसँगै साप्ताहिकले २३ वर्षको यात्रा पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । बितेका २३ वर्ष साक्षी छन्, हामीले हाम्रो हरेक वर्षको पहिलो अंकलाई विशेष बनाउने प्रयास गर्दै आएका छौं । यस क्रममा हामीले यो वर्ष हामी नेपालीले आफ्नै बुद्धि–बर्कत र योजनाअनुरूप आफ्नो देशलाई हरेक क्षेत्रमा समृद्ध बनाउँदै लान गरेको लगानी र त्यसको प्रतिफलमा प्राप्त उपलब्धिहरूलाई पाठकसमक्ष राख्ने प्रयास गरेका छौं । त्यसो त विकासको आधुनिक परिभाषा र मानिसको वैयक्तिक उपलब्धिका सन्दर्भमा हरेक देश र समुदायका आ–आफ्नै परिभाषा छन् । ती परिभाषाहरूलाई विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय मानकले फरक–फरक शैलीमा प्रस्तुत गर्छन् ।

यी र यस्तै परिभाषाहरूका माझ हामी नेपालीले पनि आधुनिक विकासको एउटा फरक मानक तयार गरेका छौं । त्यो मानकलाई सार्थक ढंगले प्रमाणित गर्ने थुप्रै उपलब्धि हामी नेपालीसँग छ । राज्यले लगानी गरेको वा राज्यले उपलब्ध गराएको अवसरको सदुपयोग गरेर एउटा औसत नेपालीले आर्जन गरेका व्यक्तिगत उपलब्धिहरूको सूची निकै लामो हुन सक्छ । तीमध्ये हामीले यो अंकका लागि चितवन नेसनल पार्क, काठमाडौं विश्वविद्यालय, मानव अंग प्रत्यारोपण केन्द्र, एफ–वान सफ्ट, बुद्ध एयर, क्यूएफएक्स तथा गोल्ड स्टारलाई छनौट गरेका छौं । हाम्रो यो छनौट आफैंमा सम्पूर्ण होइन, तैपनि यी प्रतिनिधि संस्थाहरूले कतिपय सन्दर्भमा नेपालीहरूको सीप, क्षमता, रणनीति एवं लगानीको अनुपातमा उच्चतम प्रतिफल प्राप्त गर्ने उदाहरण प्रस्तुत गरेका छन् । 

 

यतिबेला नेपालीहरू विदेशको कुनै पनि ठाउँमा आफूलाई चिनाउँदा प्राय: आफूलाई सगरमाथाको देश वा गौतम बुद्धको जन्मभूमिबाट आएको उदाहरण दिन्छन् । के नेपालीलाई यो संसारमा चिनाउने माध्यम यी दुई मात्र छन् त ? यो सन्दर्भमा हामीले आफंैले ओझेलमा पारेको अर्को परिचय हो— चितवन नेसनल पार्क । झट्ट सुन्दा सामान्य लाग्न सक्छ तर वन, वन्यजन्तु, जैविक विविधता, इतिहासमा उल्लेख सिकारगाथाहरू एवं संरक्षणको क्षेत्रमा नेपालीहरूको आफ्नै पौरखले स्थापित चितवन नेसनल पार्क नेपालीहरूले लामो समयदेखि आर्जिएको र संरक्षण गर्दै आएको गौरवमय सम्पदा हो । 

चितवनको ख्याति आजको होइन । नेपाल राष्ट्रको प्रादुर्भाव हुनुअघिदेखि नै भारतीय उपमहाद्वीपका सयौं राजारजौटाको हात्तीसम्बन्धी सौख पूरा गर्ने थलो पनि चितवन नै थियो । चितवनको यो चिनारीलाई सबैभन्दा पहिले पहिचान गर्ने व्यक्ति तत्कालीन नेपालका लागि ब्रिटिस दूत तथा इतिहासकार कर्णेल कर्कपेट्रिक थिए । वि.संं. १८४० को दशकतिर नेपालमा कार्यरत छँदा कर्कपेट्रिकले लेखेको एन एकाउन्ट अफ किंगडम अफ नेपाल शीर्षकको पुस्तकमा चितवनको जैविक विविधता यो क्षेत्रका लागि मात्र नभएर संसारकै लागि महत्वपूर्ण छ । उक्त पुस्तकको पृष्ठ १८ मा लेखिएको छ— सोमेश्वर पहाडदेखि पूर्व कोसीको बेसिनसम्म फैलिएको चारकोसे झाडीबाट नेपालका शासकहरू हरेक वर्ष २ सयदेखि ३ सय हात्तीका छावा समातेर भारतका रजौटाहरूलाई बिक्री गर्छन् । 

इतिहासमा उल्लेख भएअनुसार संसारकै ठूला सिकारहरू चितवनमै खेलिन्थ्यो । तीमध्ये उल्लेख्य सिकार गर्नेहरूमा बेलायतका लर्ड लिनलिथ गो, जंगबहादुर राणा, किङ जर्ज पन्चम आदि छन् । यो इतिहासको कुरा हो । अब अहिलेको कुरा गरौं । वि.सं.२००७ मा प्रजातन्त्र आएपछिको एक दशकसम्ममा व्याप्त अराजकता र राजनैतिक अस्थिरता, अनियन्त्रित वन पँmडानी एवं चितवनमा गरिएको अन्धाधुन्ध सिकारका कारण त्यहाँबाट जंगली हात्ती लगभग लोप भयो भने गैंडाको संख्या ९५ मा तथा बाघको संख्या सयभन्दा तल झर्‍यो । त्यसपछि नेपालीहरूको घैटोमा घाम लाग्यो । वि.सं. २०१५ मा बीपी कोइरालाको नेतृत्वमा प्रजातान्त्रिक सरकार सत्तामा आएपछि चिवतनको संरक्षण गर्ने अवधारणा अघि सारियो । त्यसका लागि सबैभन्दा पहिले नेपाली सेनाको गैंडा गस्ती टुकडी निर्माण गरियो । 

त्यहीबेला इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आयुसिएन)ले संरक्षण विज्ञ एडवर्ड प्रिचर्ड जीलाई चितवनको जैविक विविधता अध्ययनका लागि खटायो । प्रिचर्ड जीले चितवन क्षेत्रको व्यापक सर्वेक्षण गरी त्यहाँ गैंडा, बाघ, गौर, घडियाल गोहीलगायत अन्य जीवजन्तुको संरक्षणका लागि राष्ट्रिय निकुञ्ज स्थापना गर्न सिफारिस गरे । त्यसबीच राजा महेन्द्रले ‘कू’ गरेर बीपी कोइराला नेतृत्वको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि चितवनको अध्ययन केही पर धकेलियो । उक्त घटनाको केही वर्षपछि सन् १९६३ मा प्रिचर्डले आफ्नो अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाए । 

उनको सिफारिसपछि नेपाल सरकारले त्यो क्षेत्रको व्यापक सर्वेक्षण थाल्यो । उक्त सर्वेक्षणको नेतृत्व गर्ने व्यक्ति थिए– अहिलेका पर्यटन व्यवसायी कर्ण शाक्य । त्यतिबेला वन विभागमा कार्यरत कर्ण शाक्यको टोलीले गरेको सर्वेक्षणअनुसार अहिलेको चितवन नेसनल पार्कले आकार पाएको हो । चितवन नेसनल पार्कको स्थापनाका लागि त्यसको जैविक विविधता, वन्यजन्तुको उपस्थिति, त्यहाँको सामाजिक संस्कार आदिका बारेमा अध्ययन गर्ने व्यक्तिहरू थिए— तत्कालीन वन मन्त्रालयमा कार्यरत विश्वनाथ उप्रेती, हेमन्त मिश्र तथा तीर्थमान मास्के । प्रिचर्डको अध्ययन प्रतिवेदन प्राप्त भएको १० वर्षपछि सन् १९७३ मा चितवन नेसनल पार्क नेपालको पहिलो राष्ट्रिय निकुन्जका रूपमा अस्तित्वमा आयो, जसको पहिलो संरक्षण अधिकृत (वार्डेन) थिए— डा. तीर्थमान मास्के । 

डा. तीर्थबहादुर श्रेष्ठ भन्छन्— तराईको शिवालिक क्षेत्रको जैविक विविधता जोगाउन पनि चितवन महत्वपूर्ण छ । यो क्षेत्र ठूला स्तनधारीहरू (गैंडा, हात्ती, गौर) को खानी हो । चितवनले जति प्रजातिका जीवजन्तु, चराचुरुङ्गगी, माछा, घडियाल गोही तथा कछुवा आदि उभयचरहरूलाई बासस्थान उपलब्ध गराएको छ, त्यति संसारको कुनै पनि संरक्षित क्षेत्रले उपलब्ध गराउन सकेको छैन । यस अर्थमा चितवन जत्तिको जैविक विविधता भएको क्षेत्र संसारमा अर्को छैन, यही कुरा चितवनमा उपलब्ध वनस्पतिहरूका लागि पनि भन्न सकिन्छ ।

 

संसारकै सबैभन्दा उत्पादनशील घाँसे मैदान चितवनमै छ, जसमा भीमकाय हात्तीसमेत हराउँछन् । यही कारणले सन् २००३ मा दक्षिण अफ्रिकाको डर्बनमा आयोजित पाँचौं वल्र्ड पार्क कंग्रेसले चितवनलाई संसारकै उत्कृष्ट व्यवस्थापन गरिएको नेसनल पार्कहरूमध्ये पहिलो स्थान दिएको थियो, जुन अहिलेसम्म कायमै छ । यसैगरी संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक, वैज्ञानिक तथा शैक्षिक विषयसम्बन्धी संगठन युनेस्कोले चितवन नेसनल पार्कलाई आफ्नो प्राकृतिक सम्पदासम्बन्धी वैश्विक सूचीको उच्च तहमा सूचीकृत गरेको छ भने दबदबे तथा पानीले ओगटेको भूमि अर्थात् सीमसारसम्बन्धी विश्वव्यापी रूपमा गरिएको रामसार सम्झौताले पनि चितवन नेसनल पार्कलाई संसारकै उत्कृष्ट सीमसार क्षेत्रका रूपमा सूचीकृत गरेको छ । 

अर्को कुरा, अहिले विश्वव्यापी रूपमा चर्चामा रहेको मानिस र वन्यजन्तुबीचको सम्बन्धलाई कसरी सन्तुलित रूपमा अघि बढाउने भन्ने कुरामा पनि चितवनले एउटा मानक स्थापित गरेर संसार सामु उदाहरण प्रस्तुत गरेको छ । डा. श्रेष्ठ भन्छन्— चितवनको हकमा हामीले गर्व गर्नैपर्ने विषय यसको मध्यवर्ती क्षेत्र अर्थात् बफरजोन पनि हो । ९ सय ९२ वर्गकिलोमिटरमा फैलिएको चितवन नेसनल पार्कको मध्यवर्ती क्षेत्रको क्षेत्रफल नै ७ सय ५० वर्गकिलोमिटर छ । यो मध्यवर्ती क्षेत्रले वन्यजन्तुको व्यवस्थित संरक्षण मात्र होइन, तिनीहरूको संरक्षणमा स्थानीय जनताको सहभागिता, रचनात्मक भूमिका, उनीहरूको आम्दानी तथा संरक्षणमा उनीहरूले गरेको लगानी समेतलाई संसार सामु उदाहरणका रूपमा प्रस्तुत गरेको छ । त्यतिमात्र होइन लोप हुँदै गएका घडियाल गोही र हात्ती प्रजननका लागि समेत चितवन नेसनल पार्कले गरेको प्रयासलाई संसारभरि नै उदाहरणका रुपमा पछ्याइन्छ । 

हरेक वर्ष लाखौं देशी–विदेशी पर्यटकहरूले अवलोकन गर्ने चितवन नेसनल पार्कको अहिलेको अवस्थालाई हामी नेपालीले निरन्तरता दिन सकेनौं भने यसको आयु सय वर्षमा सकिने आँकलन डा. तीर्थबहादुर श्रेष्ठको छ । यी र यस्तै कारणहरूले चितवन नेसनल पार्कले नेपालीहरूलाई संसारको जुनसुकै कुनामा पनि हामी प्रकृति संरक्षणको क्षेत्रमा कति धनी छौं र हामीले यो संसारलाई हराभरा राख्न कति ठूलो योगदान दिएका छौं भन्ने कुरा गर्वका साथ भन्ने अवसर दिएको छ । 

 

प्रकाशित :जेष्ठ ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्