Teej banner

वैशाखका चलचित्र : कुन कति चले ?

- रामजी ज्ञवाली

जेष्ठ ९, २०७५

नयाँ वर्ष २०७५ को आगमनसँगै सिनेमा हलमा केही नेपाली चलचित्र प्रदर्शनमा आए । चैत मसान्तमा प्रदर्शन भएका दुई चलचित्र लिलिबिली तथा नेप्टे र वैशाखको अन्तिम शुक्रवार प्रदर्शित दुई चलचित्र लम्फू तथा हिरोजलाई जोड्ने हो भने वैशाखमा कुल १० वटा नेपाली चलचित्र प्रदर्शन भए । नयाँ वर्षको स्वागत गर्दै चैत ३० गतेदेखि प्रदर्शनमा आएका लिलिबिली तथा नेप्टे, वैशाख ७ गते स्वर्ग मेरो गाउँ, वैशाख १४ गते कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज तथा वैशाख २१ गते डमरुको डन्डीबियो अनि भोर प्रदर्शन भए । एक महिनाको अवधिका ९ वटा चलचित्र प्रदर्शन भए पनि थोरै चलचित्रले मात्र सन्तोषजनक व्यापार गरे । 

चैत ३० गते सार्वजनिक भएको चलचित्र लिलिबिलीले राम्रो व्यापार गरेको छ । चलचित्रका निर्देशक मिलन चाम्सका अनुसार उक्त चलचित्रले अहिलेसम्म ४ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । स्कटल्यान्डमा छायांकन गरिएको यो चलचित्र दर्शकको मन जित्न सफल भयो । प्रदीप खड्का तथा जसीता गुरुङको अभिनय पनि दर्शकले मन पराए । 

नयाँ वर्षकै पूर्वसन्ध्यामा प्रदर्शनमा आएको चलचित्र ‘नेप्टे’ भने असफल भयो । देवकुमार श्रेष्ठद्वारा निर्देशित यो चलचित्रलाई लगानी उठाउनै गाह्रो पर्‍यो । दयाहाङ राईजस्ता लोकप्रिय अभिनेताले पनि यो चलचित्रको व्यवसायलाई उकास्न सकेनन् । लिलिबिलीसँग जुध्नु नेप्टेका लागि निकै कष्टकर सावित भयो । 

वैशाख ७ गतेदेखि प्रदर्शनमा आएको स्वर्ग मेरो गाउँले पानी समेत माग्न पाएन । रामकृष्ण बजगाईंको निर्माण तथा निर्देशनको यो चलचित्रमा सहरबाट गाउँ घुम्न गएका युवतीहरूले गाउँलाई स्वर्ग बनाउन गरेको कामको कथा प्रस्तुत गरिएको थियो । नरेन खड्का, रामकृष्ण बजगाईं, भावना गुरुङ, सक्सी लम्साल, सुजता थापा, अष्ट महर्जन आदि कलाकारले अभिनय गरेको यो चलचित्र कति दिन प्रदर्शन भयो भन्ने कुरासमेत कसैलाई थाहा छैन ।

प्रदर्शन हुनुअघि नै ट्ेरलर तथा गीत–संगीतबाट कौतुहलता जनाउन सफल चलचित्र कोहलपुर एक्सप्रेस वैशाख १४ गते प्रदर्शनमा आयो । चलचित्रकी निर्मात्री केकी अधिकारीका अनुसार अहिलेसम्म यो चलचित्रले २ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ । विशाल भण्डारीको निर्देशनको यो चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, कुशाग्र भट्टराई, विनोद न्यौपाने, बुद्धि तामाङ आदि कलाकारले अभिनय गरेका छन् । सुस्त ओपेनिङ लिएको कोहलपुर एक्सप्रेस प्रदर्शनको तेस्रो सातामा समेत राम्रो दर्शक पाइरहेकाले यो चलचित्र नाफामा गएको अनुमान गरिएको छ । 

चलचित्र इतिहासमै सबैभन्दा धेरै पटक प्रदर्शन मिती सरेको चलचित्र ह्याप्पी डेज व्यवसायिक रूपमा असफल सावित भयो । वैशाख १४ गते नै प्रदर्शनमा आएको उक्त चलचित्रले निर्देशक मिलन चाम्स तथा अभिनेत्री प्रियंका कार्कीको असफल चलचित्रको सूचीमा अर्को एउटा चलचित्र थप्यो । निर्देशक मिलन चाम्सले सिनेमा हलबाट रिपोर्ट नलिइसकेकाले ह्याप्पी डेजले कति रकम बराबरको व्यवसाय गर्‍यो, अहिले नै भन्न नसकिने बताए । 

वैशाख २१ गतेदेखि प्रदर्शनमा आएको चलचित्र डमरुको डन्डीबियो व्यवसायिक रूपमा औसत सावित भयो । पशुपतिप्रसादजस्तो सफल चलचित्र दिएका खगेन्द्र लामिछानेको क्रेजले पनि यो चलचित्रप्रति दर्शकलाई आकर्षित गर्न सकेन । छेतेन शेर्पाद्वारा निर्देशित यो पहिलो चलचित्रको मेकिङ भने उत्कृष्ट छ । खगेन्द्रसँगै मेनुका प्रधान, अनुप बराल आदि कलाकारले उत्कृष्ट अभिनय गरेका छन् । खेलकुदको विषयमा पनि नेपाली चलचित्र निर्माण गर्न सकिन्छ भन्ने कुरालाई यो चलचित्रले स्थापित गरेको छ । आकर्षक लोकेसनमा छायांकन गरिएको यो चलचित्रको कथासमेत रोचक थियो । 

विगतमा चलचित्र झोला बनाएर चर्चामा आएका निर्देशक हुन् यादव कुमार भट्टराई । यसपटक उनले तराईमा व्याप्त दाइजो प्रथालाई मुख्य विषय बनाउँदै चलचित्र भोर निर्माण गरे । वैशाख २१ गतेदेखि नै प्रदर्शनमा आएको यो चलचित्रलाई क्यूएफएक्सले प्रदर्शन भएको केही दिनपछि नै नियमित प्रदर्शनबाट अलग राख्यो । समाजमा व्याप्त एउटा विसंगतिलाई आकर्षक शैलीमा चित्रण गरेको जस पाएका निर्देशक भट्टराई यसको व्यवसायिक पाटोबाट भने खुसी हुन सकेनन् । 

वैशाखको अन्तिम साता प्रदर्शित चलचित्र लम्फू व्यवसायिक हिसाबले औषत रह्यो । २८ गते प्रदर्शनमा आएको लम्फूलाई दर्शकले खासै साथ दिएनन् । चलचत्रिका निर्देशक गोपालचन्द्र लामिछानेले आफूहरूको सोचअनुसार चलचित्रले व्यापार गर्न नसकेको बताए । उनले भने, ‘चलचित्रको प्रदर्शनअघि हामीले त्यति ठूलो अपेक्षा गरेका थिएनौं तर जुन अपेक्षा थियो त्यसको नजिक पनि पुग्न सकेका छैनौं । आशा छ, चलचित्रले लगानी उठाउनेछ ।’ उनले लम्फूको व्यापार मध्यम खालको रहेको बताए । मरिश्का पोखरेल, सलोन बस्नेत, कबिर खड्का आदि कलाकारद्वारा अभिनीत चलचित्र लम्फूमा एक युवाको जीवनमा आइपर्ने उतारचढावहरू समेटिएको थियो ।

वैशाख २८ गते नै देशभरिका हलमा प्रदर्शनमा आएको चलचित्र हिरोजले पानीसमेत माग्न पाएन । प्रदर्शनको दिनदेखि नै न्यून मात्रामा हलमा देखिएका दर्शकले यो चलचित्रलाई खासै वास्ता गरेनन् । एक्सन, लभ, कमेडी तथा संवेदनाले भरिएको यो चलचित्रमार्फत करिश्मा मानन्धरले लामो समयपछि पुनरागमन गरेकी थिइन् । यद्यपि उनको अभिनयले कुनै जादु छर्न सकेन । राजनीतिक विकृति, बेरोजगारी, चेलिबेटी बेचबिखचन तथा सडक बालबालिकाको विषयमा केन्द्रित चलचित्र हिरोजले वैशाख महिनाको असफल चलचित्रको सूचीमा एउटा चलचित्र थप्ने काम मात्र गर्‍यो ।

सिनेमा हलमा चैतको पहिलो साता नै प्रदर्शन भएको मह जोडीको चलचित्र ‘शत्रुगते’ लाई अझै पनि दर्शकहरूले साथ दिइरहेका छन् । प्रदर्शनको ५१ औं दिन मनाएको शत्रुगतेले १२ करोडभन्दा बढी सङ्कलन गरिसकेको बताइन्छ ।

प्रकाशित :जेष्ठ ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्