चप्पलको कथा

- सुविन भट्टराई

जेष्ठ ९, २०७५

 

 

 

 

हजुरबुवाहरू कथाका खानी हुन्छन् । पहिले हामी सबै गाउँमै बस्थ्यौँ । गाउँमा हुँदा म हजुरबुवाको छेउमा लुट्पुटिँदै कथा सुन्थेँ । मलाई कथा नसुनाई न हजुरबा सुत्न सक्नुहुन्थ्यो न म हजुरबाको कथा नसुनी निदाउन सक्थेँ । राजकुमार र राजकुमारीका कथाहरू । तारा र जूनका कथाहरू । राजा, घोडा अनि हात्तीका कथाहरू । 

 

एक दिन हजुरबाले मलाई चप्पलको कथा सुनाउनुभयो । अनौठो लाग्यो मलाई । चप्पलको पनि कुनै कथा हुन सक्छ ? हुँदो रहेछ त । हजुरबाले सुनाउनुभएको चप्पलको कथा यस्तो थियो ।

 

एकादेशमा एक जोडी चप्पल थिए । उनीहरू पसलको शोकेसमा पनि सँगै थिए । दुवै अलग–अलग खुट्टालाई बोकेर हिँडे पनि सँगसँगै हुन्थे । देब्रे चप्पल दाहिनेलाई हेरेर मुस्कुराउँथ्यो । दाहिने चप्पल देब्रेलाई हेरेर मुस्कुराउँथ्यो । कतै घर बाहिर खोलिँदा पनि सँगसँगै हुन्थे । वर्षात्मा पानीमा छप्ल्याङ्ग गर्न पाउँदा तिनीहरू खुसीले उफ्रिन्थे । हिउँदमा धूलो उडाउन पाउँदा पनि ती मखलेल हुन्थे । कतै देह नै पगाल्छ कि झैँ लाग्ने घामले पोल्दा पनि उनीहरू दु:खी हुँदैनथे । 

 

खुट्टाहरू जसलाई बोकेर ती चप्पल किलोमिटरौँ हिँड्थे, घरबाहिर छाडिँदा अलिकति दुरी बढ्यो भने पनि खुट्टाहरूले तिनलाई टँस्याएर एकैठाउँमा राखिदिन्थे । कुनै एक एकैछिन घोप्टिँदा कसैले आएर सुल्ट्याइदिहाल्थे । 

 

कहिलेकाहीं कुनै मन्दिरबाहिरको भीडमा भने चप्पलको जोडी तितरबितर हुन्थ्यो । दाहिने चप्पल देब्रे चप्पलको चिन्ताले व्यग्र हुन्थ्यो । देब्रे चप्पल पनि दाहिनेलाई चिन्तित हाउभाउमा खोजिरहेको हुन्थ्यो ।

 

कहिल्यै नअलगिइकन चप्पलहरूले यस्तै लामाछोटा यात्रा गरिरहे ।

बडो प्रसन्न मुद्रामा दाहिने चप्पल देब्रे चप्पललाई भन्थ्यो, ‘हामी कति भाग्यमानी ? हर  ठाउँमा, हर यात्रामा सँगै हुन पाउँछौँ । हर क्षण एक–अर्कालाई हेरिरहन पाउँछौँ ।’

 

देब्रे चप्पल लाज र खुसीले मिश्रित हाउभाउमा भन्थ्यो, ‘हो त, सधैँ उत्तिकै रफ्तारमा, कहिले थोरै तिमी अघि, कहिले थोरै तिमी पछि, तर पनि सँगसँगै ।’

तर सधैँ उत्तिकै त के हुन्थ्यो र ?

 

दुवै चप्पल खिइँदै गए । एकदिन खिइएको दाहिने चप्पलभित्र किल्ला घुसेर पाइतालामै गढ्यो । दोष सबै दाहिने चप्पलले खायो । एकदिन देब्रे चप्पलको फित्ता चुँडियो । फित्ता फेरिए पनि उसले मज्जैले गाली पायो । 

 

चप्पलहरू दुब्लाउँदै गए । दाहिनेमा बढी चाप परेर होला एकदिन त्यो चरक्क चर्कियो । त्यो देखेर दाहिने भन्दा देब्रेकै छाती बढी चर्कियो । 

त्यत्रो समय बोकेर हिँडेको पाइताला माथिका हातले एकदिन त्यसलाई रिसकै झोँकमा पिटिक्कै भाँचिदियो । बिचरो देब्रे चप्पल उक्त दृश्य टुलुटुलु हेरिरहन विवश भयो । यतिका समयको सहयात्री अब उसको जीवनमा थिएन । उसलाई रुन मन लाग्यो । उसको ह्दय छियाछिया भयो । भन्न मन थियो उसलाई, मलाई पनि भाँचिदेऊ त्यसरी नै । 

 

यद्यपि उसलाई कसैले भाँचेन । प्रयोगहीन भैसकेपछि त चप्पलहरूको जोडी सँगै छन् कि छैनन् भनेर पनि कसैले चासो दिँदो रहेनछ । देब्रे चप्पल बेवारिसे भएर आफ्नो दुनियाँमा कतै छाडियो । दाहिने चप्पल पूरै निकम्मा भएर कतै फालियो । 

 

 ०००

हजुरबाले सुनाइरहेको चप्पलको कथा सकियो । मैले कथा खासै बुझिनँ । बुझ्ने मेरो उमेर पनि थिएन, तर कथा भने मेरो मस्तिष्कमा छापिएर बसेको थियो । हजुरबालाई कुनै दिन सोध्छु भन्ने थियो ।

करिब दस वर्षपछि म हजुरबालाई भेट्न गाउँ गएँ । त्यतिबेलासम्म मेरो विवाह पनि भैसकेको थियो । हजुरबासित कैयौँ भेट भए पनि सोध्ने मेलो पाएको थिइनँ ।

 

घर पुग्दा हजुरबा बूढो खोकी खोक्दै आफ्नै कोठाको खाटमा पल्टिरहनुभएको थियो । 

त्यो दिन मैले हजुरबालाई भनेँ, ‘हजुरबा त्यो चप्पलको कथा मैले केही बुझेको थिइँन ।’

जुरुक्क उठेर हजुरबाले शिरानीमुनिबाट एउटा तस्बिर निकाल्दै देखाउनुभयो, ‘यो तेरी हजुरआमा हो, दाहिने चप्पल, जो धेरै पहिले खिइएर भाँचिई अनि यो तेरो अघि खोक्दै, लठ्ठी टेक्दै हिँड्ने बूढो जो छ, त्यो देब्रे चप्पल । हिँड्दा हिँड्दै बाटोमा बाटोकै किनारतिर बिना जोडी एक्लै झोक्राएर बसेको देखेको होलास् नि कैयौँ चप्पलहरू, त्यस्तै ।’

 

मेरो आङ सिरिङ्ग भयो । 

त्यो दिन मैले चप्पलको कथा महसुस गरे । सहर फर्किएपछि मैले आफ्नी श्रीमतीलाई अँगालो हाल्दै भनेँ, ‘चप्पल मात्र होइन प्रिय, मान्छे पनि जोडीमै पूर्ण हुँदो रहेछ । एउटा नरहेपछि त अर्को पनि नरहे बराबर हुने रहेछ ।’

 

प्रकाशित :जेष्ठ ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्