उम्दा युनिभर्सिटी

- जनक तिमिल्सिना

जेष्ठ ८, २०७५

झन्डै १४ हजार विद्यार्थी । १० अर्बको सम्पत्ति । झन्डै १ हजार ५ सय कर्मचारी । २७ वर्षमा २५ हजार ८ सय ७३ ग्रेजुएट । ७ वटा स्कुलअन्तर्गत ग्रेजुएसनदेखि पिएडीसम्म ६१ भन्दा बढी एकेडेमिक प्रोग्राम । यी काठमाडौं युनिभर्सिटी (केयू) का २७ वर्षे यात्राका महत्वपूर्ण झलक हुन् । केयूको यात्रा २७ वर्षअघि ३ सय विद्यार्थी, १० जना कर्मचारी तथा एउटा एकेडेमिक प्रोग्रामबाट सुरु भएको थियो । 

न पूर्ण र प्रत्यक्ष सरकारी सहयोग । न त कुस्त सम्पत्ति भएको प्राइभेट कम्पनीको साथ । मात्र ‘मोडल युनिभर्सिटी’ स्थापना गर्ने हुटहुटी भएका प्रख्यात शिक्षाविद् डा. सुरेशराज शर्मा तथा उनका अन्य सहयात्री साथीहरूको सपनाले केयूले जग हालेको हो । विश्वास गर्न गाह्रो तर यथार्थ— मागेरै केयू अहिलेको अवस्थामा पुगेको हो । सहयोगी हातहरूको साथसँगै व्यवस्थापनको अथक परिश्रम, मेहनत र अब्बल व्यवस्थापनकै कारण केयू अहिले बलियो प्राज्ञिक संस्थाका रूपमा बृहत् परिधिमा फैलिएको छ । 

केयू विद्यार्थी संख्याका हिसाबले नेपालकै चौथो ठूलो युनिभर्सिटी हो भने गुणस्तरीय शिक्षाका हिसाबले उम्दा । केयूअन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा झन्डै १३ हजार ४ सय ११ विद्यार्थीले विभिन्न संकायमा अध्ययन गरिरहेका छन् । युनिभर्सिटीले ७ वटा स्कुल सञ्चालन गरेको छ, जसमा स्कुल अफ आटर््सअन्तर्गत १५ वटा, स्कुल अफ एजुकेसनअन्तर्गत ६ वटा, स्कुल अफ इन्जिनियरिङअन्तर्गत ११ वटा, स्कुल अफ ल अन्तर्गत ३ वटा, स्कुल अफ मेडिकल साइन्सअन्तर्गत ७ वटा, स्कुल अफ साइन्सअन्तर्गत १३ वटा तथा स्कुल अफ म्यानेजमेन्टअन्तर्गत ८ वटा एकेडेमिक कार्यक्रमहरू सञ्चालनमा छन् । 

गुणस्तरीय शिक्षा, अब्बल प्राज्ञिक जनशक्ति, उत्कृष्ट शैक्षिक क्यालेन्डरका कारण केयूले नेपाली शिक्षा जगत्मा फरक मानक स्थापित गरेको छ । स्वदेशी बजारका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा ठूलो टेवा पुर्‍याइरहेको केयूको अन्तर्राष्ट्रिय बजारमा पनि उच्च साख छ ।

केयूले नेपालको विश्वविद्यालयीय शिक्षामा अन्तर्राष्ट्रिय र नवीनतम् धारहरूलाई समात्यो । अन्तर्राष्ट्रिय बजारमा अब्बल मानिएको चारवर्षे सेमेस्टर प्रणाली नेपालमा केयूले 

भित्र्याएको हो भने कम्प्युटर, मेकानिकल, हाइड्रो पावर इन्जिनियरिङ, एमबीए, बीबीए, फार्मेसी, इन्भाइरोमेन्टल साइन्स, बायोटेक्नोलोजीलगायतका नवीनतम कार्यक्रम केयूले नै पहिलो पटक प्रारम्भ गरेको हो । भारतको एसोसिएसन अफ इन्डियन युनिभर्सिटीज (एआईयू), विड्ला इन्स्टिच्युट अफ टेक्नोलोजी, मणिपाल एकेडेमी, नर्वेको युनिभर्सिटी अफ ओस्लो, नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्स, चीनको हैवी युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेस, कन्फ्युसियस इन्स्टिच्युटजस्ता एकेडेमिक संस्थाहरूसँगको सहकार्यले केयूलाई ‘ग्लोबल ब्रान्ड’ बन्ने दिशातर्फ डोर्‍याएको छ । 

संस्थापक उपकुलपतिसमेत रहेका शिक्षाविद् डा. शर्माले २१ वर्षसम्म विश्वविद्यालयको नेतृत्व गरे । केयूको सफलताको खास कारण के हो ? ‘सेल्फ फिनान्स भएकाले बाहिरी हस्तक्षेप भएन’, डा. शर्मा भन्छन्, ‘अर्को महत्वपूर्ण कुरा हामीले स्रोतसाधन र जनशक्तिको कुशल व्यवस्थापन गर्‍यौं । त्यही नै हाम्रो सफलताको प्रमुख आधार हो ।’ 

विश्वविद्यालयका वर्तमान उपकुलपति डा. रामकण्ठ मकाजू श्रेष्ठ निस्वार्थी र राम्रो काम गर्ने चाहनालाई विश्वविद्यालयको सफलताको कारण मान्छन् । ‘केही गरौं भन्ने निस्वार्थ भावना नै हाम्रो सफलताको प्रमुख कारण हो’, डा. मकाजू भन्छन्—‘हाम्रो नि:स्वार्थ भावना मानिसहरूले बुझे र हामीलाई विश्वास गरे । केयू त्यही विश्वासको धरातलमा उभिएको छ ।’

यसरी जन्मियो केयू 

सन् १९८५ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा काठमाडौं भ्याली कलेजमा आईएस्सी पढाउन थालेका थिए— डा. सुरेशराज शर्मा र उनका उत्साही साथीहरू । ०४६ सालमा कलेज व्यवस्थापन समूह स्वायत्त क्याम्पस वा डिम्ड (मानित) विश्वविद्यालयको माग गर्दै २०४७ सालमा तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई कहाँ पुग्यो । त्यसबेला तत्कालीन प्रधानमन्त्री भट्टराईले डा. शर्माको टिमलाई डिम्ड विश्वविद्यालय र स्वायत्त कलेजको साटो छुट्टै विश्वविद्यालय खोल्न आग्रह गरे । उक्त आग्रहमा डा. शर्माको टिमले गम्भीर मन्थन थाल्यो । 

त्यसपछि २०४८ सालको प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो प्रतिनिधीसभा बैठकले २०४८ मंसिर २५ गते काठमाडौं विश्वविद्यालय ऐन पारित गर्‍यो, तर लगानीबिना विश्वविद्यालय खोल्न तम्सिनु भनेको लाइफ ज्याकेट बिनै समुन्द्रमा हामफाल्नुजस्तै थियो । उल्टै सरकारले पैसा नदिने शर्तसहित विश्वविद्यालय ऐन पारित गरेको थियो । सरकारको उक्त सर्तबाट विश्वविद्यालय बनाउन हिँडेका स्वप्नद्रष्टाहरू डगमगाएनन् । विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि नियमित कार्यालय सञ्चालनसम्मका लागि एक–एक पैसा जोहो गर्न थाले । ती दिनहरू निकै अप्ठ्यारा थिए, विश्वविद्यालयका संस्थापक रजिस्ट्रार सीताराम अधिकारी सम्झन्छन्—हामीले निकै कठिन समयमा आँट र हिम्मतले नै विश्वविद्यालयको आधार खडा गरेका हौं ।

त्यतिबेला आईएस्सी कार्यक्रमका रुपमा सुरु भएको केयूले त्यसपछि एमबीए, इन्जिनियरिङ, साइन्सलगायत अन्य प्रोग्राम सुरु गरेको हो । अहिले केयूको सम्बन्धनमा १० वटा मेडिकल कलेज सञ्चालनमा छन् । यस्तै, आर्टसका २, एजुकेसन १ र म्यानेजमेण्टका २ सम्बन्धप्राप्त कलेज छन् ।

प्रकाशित :जेष्ठ ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्