नेपाल फर्कन आँट र सीप हुनुपर्छ

- साप्ताहिक संवाददाता

जेष्ठ ८, २०७५

मध्यतराईको बारा जिल्लामा जन्मिएका हुन्– अमर साह । २२ वर्षीय साहले फिजिक्स लिएर सेन्ट जेभियर्सबाट प्सल टु सके । उनलाई त्यतिबेला पाइलट बन्न मन थियो, तर उनको प्लस टु नसकिँदै भएको एउटा हवाई दुर्घटनापछि परिवारले उनको पाइलट बन्ने सपनामा लगाम लगाइदियो । उड्ने सपना पूरा नहुने देखेपछि उनी एरोनोटिकल इन्जिनियरिङ अध्ययन गर्न बैंगलोर गए ।

यद्यपि आफ्नो रिजल्टमा भएको सानो गल्ती सच्याउन महिनौं लाग्ने भएपछि उनले एड्मिसनको अवसर गुमाए । त्यहाँबाट उनी स्वदेश फर्किए अनि त्यसपछि एक वर्ष ग्याप भयो । सुरुमा अमेरिका जान चाहन्थे उनी, तर भिसा पाएनन् । सन् २०१३ को अक्टोबरमा उनी सिड्नीको भिक्टोरिया युनिभर्सिटीमा आइटी पढ्न भनेर अस्ट्रेलिया उडे, तर तीन महिनामै उनले त्यसलाई बिजनेसमा चेन्ज गरे ।

उनले भिक्टोरियाबाटै बिजनेसमा स्नातक गरे । आमा र दाजुलाई प्रेरणाको स्रोत मान्ने अमर सन् २०१७ मा नेपाल फर्किए अनि ३ करोडको लगानीमा पिपुल्स प्लाजामा केकेएफसी रेस्टुराँ स्थापना गरे, जसमा अहिले १८ जनाले रोजगारी पाएका छन् । उनको रेस्टुराँमा रोबोटबाट खाना सर्भ गर्ने प्रविधि प्रयोग गरिएको छ । साह आगामी ५ वर्षभित्रमा १ सय करोड लगानी गर्ने सपना देखिरहेका छन् । कलिलै उमेरमा ठूलो व्यवसायिक सपना साँचिरहेका साहसँग साप्ताहिकको कुराकानी : 

नेपाल फर्कने निर्णय कसरी गर्नुभयो ? 

गाह्रो थियो । त्यहाँ गएर काम गर्न थालेको पाँच वर्ष भैसकेको थियो । पढाइ सकिएको थियो भने खोजेर पनि नपाइने खालको जागिर थियो मसँग । 

कस्तो जागिर गर्नुहुन्थ्यो ? 

सुरुवात त मैले सामान्य कामबाटै गरेको हुँ । नेपाल फर्कने बेला म रिटेल कम्पनीमा सर्भिस म्यानेजरको काम गर्थे । वार्षिक ८५ हजार अस्ट्रेलियन डलर तलब थियो जुन नेपालको झन्डै ७०–७५ लाख रुपैयाँजति हुन आउँछ । 

त्यस्तो आकर्षक जागिर छाडेर नेपाल फर्कनुको कारण ? 

सबै जना युरोप, अमेरिका जान्छन् र धेरैजसो त्यहाँकै हावापानीमा हराउँछन् । त्यसरी हराउनु स्वभाविक पनि हो, विश्वस्तरीय सुविधा छ, सरसफाइ छ । भनेको सबै कुरा पाइन्छ, तर म नेपालमै केही गर्न चाहिरहेको थिए । अस्ट्रेलिया पुगेदेखि नै म रिसर्च गरिरहेको थिएँ । नेपालमा मैले धेरै अवसर देखें । नेपाल सधैंभरि यस्तै रहिरहने पनि होइन, बिस्तारै विकास पनि भैरहेको छ । मैले अहिले जुन कुरा सोचिरहेको छु, मैले गरिनँ भने अबको पाँच वर्षमा अरू कसैले गर्छ । अरूले त्यो सम्भावना देखे–देखेनन्, तर म त्यहीँ अवसर देखेर नेपाल फर्कने निर्णय गरेको हुँ । 

अस्ट्रेलियामा त अझ अवसर थिए होलान नि ? त्यसले तानेन ? 

अस्ट्रेलिया र अमेरिकामा सबै कुरा भैसकेको छ । कम्पनी सुरु गर्न सजिलो त छ, तर प्रतिस्पर्धा धेरै कडा छ । यहाँ सजिलै अघि बढ्न सकिन्छ, त्यहाँको तुलनामा प्रतिस्पर्धा पनि कम छ । पैसा कमाउन पनि नेपालमा सजिलो छ । 

फर्कंदा कति पैसा लिएर फर्कनुभयो ? 

झन्डै १ करोड रुपैयाँजति लिएर फर्किएँ । बाँकी पैसा परिवार र ऋणबाट जम्मा गरें । 

मानिसहरू त नेपालमा कमाइ नै हुँदैनन् भनेर बाहिरिइरहेका छन् नि ? 

नेपालमा अवसर पनि उत्तिकै र पैसा पनि उत्तिकै छ । म त नेपालमा जति पनि पैसा देख्छु । अस्ट्रेलियाभन्दा नेपालमा पैसा कमाउन सजिलो छ । अस्ट्रेलियामा जाने नेपालीमध्ये धेरैजसोले कडा परिश्रम गर्नुपर्छ, पहिले भाडा माँझ्ने, ट्वाइलेट सफा गर्ने, क्लिनर्स र किचनको काम गर्नुपर्छ । नेपालीहरूले सुरु–सुरुमा गर्ने काम यस्तै हो । नेपालमा मानिसहरू त्यही काम गर्न हिचकिचाउँछन् । काम जति सानो र जेसुकै भए पनि कामै हो । नेपालीहरू नेपालमा त्यस्ता काम गर्न चाहँदैनन् । त्यहाँ यस्तै कामका लागि प्रतिस्पर्धा हुन्छ, नेपालमा त्यही काम कसैले गर्दैन, जताततै अवसर छ । व्यवसायका लागि पनि आफूले चिनिरहेको ठाउँ भएकाले त्यहाँको भन्दा नेपालमा सजिलो छ । कानुन पनि अरू देशको भन्दा बढी थाहा हुन्छ । 

नेपाल फर्कन्छु भनेर कहिले निर्णय गर्नुभयो ? 

सन् २०१७ को डिसेम्बर १५ तिर मैले नेपाल फर्कने निर्णय गरेको हुँ । आउने योजना त अलिक पहिलेकै हो । त्यसअघि म यो व्यावसायिक अवधारणाको योजना बनाइरहेको थिए । 

आइटीको सौखिन व्यक्ति नेपालमा फरक प्रकारको व्यवसाय सुरु गर्ने जुक्ति कसरी फुर्‍यो ? 

मेरो परिवार बिजनेसमा भएको धेरै भयो । विदेशमा मैले हाइटेक बिजनेसहरू देखे, जुन नेपालमा पनि लान सकिन्छ भन्ने लाग्यो । अहिले नेपाली ब्रान्ड पनि खासै छैनन्, मैले देखेको छैन । अरू क्षेत्रहरूतिर त छन् तर फुड इन्डस्ट्रीमा मैले त्यति राम्रो ब्रान्ड देखेको छैन । फुड हाइजिन, सरसफाइ, टेक्नोलोजी सबै कुरा मैले त्यहाँ अध्ययन गरे र त्यसलाई नेपाल ल्याउन कम्मर कसेर लागे । सन् २०१३ मा अस्ट्रेलिया पुगेपछि मैले केही समय हङ्ग्री ज्याक रेस्टुराँमा काम गरे, जुन वल्र्डवाइड फास्टफुड रेन्टुरेन्ट हो । त्यसपछि नै मेरो दिमागमा यो कन्सेप्ट फुर्‍यो । त्यहाँ कोही नभए पनि सिस्टमले रेस्टुराँ चल्छ, यहाँ त साहू आफैं खट्नुपर्ने हुन्छ । त्यो रेस्टुराँ त्यस्तै मोडलको रहेछ, बाहिर अर्डर लियो भित्र स्वचालित रूपमा जाने सबै प्रविधिमा आधारित हुन्छ । मलाई नेपालमा पनि त्यस्तै रेस्टुराँ खोल्न मन लाग्यो । 

प्रविधिमा रुचि भएको मानिस एकाएक कसरी रेस्टुराँ व्यवसायी बन्नुभयो ? 

सुरुमा रेस्टुराँ खोल्ने इच्छा थिएन, फुड र कुकिङमा चाहिँ रुचि थियो । कुक नै बन्ने रुचि नभए पनि, घरमै खाना बनाएर साथीहरूलाई ख्वाउँथे । मलाई खाना पकाउन खुबै रहर लाग्छ । त्यही हबीका कारण म यो लाइनमा आए । अस्ट्रेलियामा जब पाँच–छवटा फास्टफुड रेस्टुराँमा काम गरे, सबैको सिस्टम एउटै थियो । सिस्टम एउटै भए पनि फुड फरक । मलाई त्यस्तै सिस्टम किन नेपालमा बनाउन सकिँदैन भन्ने लाग्यो । रिसर्च गरे, डाटाहरू कलेक्ट गर्न थाले । सानो–सानो कुरा पनि नोट गर्न थाले । इन्टरनेटबाट पनि धेरै कुरा पाएँ । यसरी लगातार ५ वर्षको प्रयासपछि २०१७ मा रेस्टुराँ खुल्यो । 

केकेएफसी यो नाम त विश्व प्रख्यात ब्रान्ड केएफसीसँग मिल्दोजुल्दो भएन र ? किन यस्तो नाम राख्नुभएको ? 

मलाई त केएफसीसँग कही पनि मिल्छ जस्तो लाग्दैन, सर्टफर्ममा त्यस्तो देखिने हो । यो एउटा संयोग मात्र हो । यद्यपि एनी पब्लिसिटी इज गुड पब्लिसिटी । हाम्रो फुल नेम क्रिस्पी क्रन्ची फ्राइड चिकेन हो । केएफसी केन्टकी फ्राइड चिकेन हो । हाम्रो पनि फ्राइड चिकेन हो तर हामीले ख्वाउने नेपाली कुखुरा हो । 

तपाईंको रेस्टुराँका फरक विशेषता के हुन् ? 

धेरै रेस्टुराँमा हाइजिनलाई ध्यान दिइँदैन । हामीले प्रयोग गरेजस्तो प्रविधि कतै पनि प्रयोग भएको छैन । यो रेस्टुराँ पूर्णत: प्रविधिबाट चल्ने रेस्टुराँ हो । 

रोबोटजस्तो महँगो प्रविधि प्रयोग गरेर रेस्टुराँ खोल्नुभयो । के फरक सन्देश दिन खोज्नुभएको हो ? 

नेपालमा पनि केही गर्न सकिन्छ, र त्यो सम्भव छ भन्ने म्यासेज दिन चाहेको हुँ । अहिलेको जमानामा जेमा पनि रोबोट र आर्टिफिसियल इन्टिजेन्स प्रयोग हुन्छ । पहिलेको जमानामा फोनमा अलार्म सेट गर्नुपथ्र्यो, अहिले मलाई भोलि बिहान ५ बजे उठा भनेर भन्यो भने फोनले त्यही गर्छ । प्रविधिको यस्तो अभूतपूर्व विकास भएको छ, त्यसैले हामीले पनि त्यसमा जोड दिएका हौं । हाम्रो मेनुमा पनि प्रविधि छ । मानिसले दिएको त सबैले खाइरहेका छन्, हामीले रोबोटबाट खाना सर्भ गराएर मानिसहरूलाई नयाँ अनुभव दिन खोजिरहेका छौं । 

रोबोट प्रविधि नेपालमा कति उपयोगी छ ? 

सस्तो त छैन, तर साह्रै उपयोगी छ । हामीले यसमा झन्डै ३ करोड लगानी गरेका छौं । त्यो भनेको सानोतिनो लगानी होइन् । प्रविधि महँगै भए पनि अब हामीले त्यसको पर्याप्त उपयोग गर्न सक्नुपर्छ । देखाउनका लागि मात्र लगानी गरेर त भएन । प्रतिफल पनि लिन सक्नुपर्‍यो । 

कहाँको प्रविधि हो यो ?

यो जापानमा बनेको र चीनबाट ल्याइएको प्रविधि हो । किचनका इक्विपमेन्टहरूको कुरा गरौं, त्यो पनि फुल्ली अटोमेटिक छ । रोबोटले गर्न सक्ने काम धेरै छन् । अहिले खाना कस्टमरको टेबलसम्म लगिदिने काम रोबोटले नै गरिरहेको छ । यसले कस्टमरसम्म खाना पुर्‍याएपछि कस्टमरलाई ‘वेलकम टु केकेएफसी’ भनेर अभिभादन गर्छ, कस्टमरले खाना लिइसकेपछि २० सेकेन्डसम्म कसैले हात छोएन भने ऊ आफैं फर्कन्छ । 

तपाईंले रेस्टुराँ सुरु गर्नुभएको पाँच महिना भैसक्यो । कस्तो सम्भावना देखिँदैछ ? 

यो पाँच महिनामा हामीलाई कस्टमरले धेरै रुचाएको पाएका छौं । जो केएफसी जान्छन्, उनीहरू हामीकहाँ पनि टेस्ट गर्न आउँछन् । उनीहरू भन्छन्— ओहो ! केएफसीभन्दा पनि मीठो रहेछ । यस्तो फिडब्याक पाएपछि म निकै उत्साहित पनि छु । केएफसी त्यत्रो पुरानो रेस्टुराँसँग त के दाँज्नु, उसको आफ्नै ब्रान्ड छ । हामीले आफ्नो ब्रान्ड क्रिएट गर्न लागेका हौं तर, सकारात्मक प्रतिक्रिया पाएपछि हाम्रो बजारमा राम्रो इमेज गैरहेको छ, मानिसहरूले रुचाइरहेका छन् भनेर उत्साहित हुन्छु । 

अबको योजना के छ ? 

यो वर्ष मैतीदेवीलगायत थप चार ठाउँमा यस्तै रेस्टुराँ खोल्दैछु । दुई वटाको त लगभग लोकेसन पनि तय भैसक्यो । अरू दुईवटा ठाउँमा कुरा चल्दैछ । 

 

सुरुवाती चरणमा रेस्टुराँले दिएको प्रतिफलबाट सन्तुष्ट हुनुहुन्छ ? 

अहिले नभए पनि पछि सन्तुष्ट हुनेछु, त्यो ग्यारेन्टी छ । दुई–चार वर्ष भित्रैमा सन्तुष्ट हुनेमा म विश्वस्त छु । विदेशी भूमिमा ७० लाख कमाएको भन्दा नेपालमै हुने २० लाख कमाइले बढी सन्तुष्टि दिन्छ । 

व्यवसायमा आउने तनाव र समस्यालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? 

यो रेस्टुराँ खोल्नुअघि मलाई निकै तनाव भएको थियो । त्यतिबेला मैले दुई घण्टा पनि सुत्ने समय पाएको थिइन । लगभग दुई चार दिनमै छाड्ने मुड बनाइसकेको थिए, तर सकिएन, मनले मानेन । रुचि र सपनाले नै यस्ता समस्यामाथि विजय प्राप्त गर्न सहयोग गर्छन् । मलाई ड्रिमले नै तान्यो । 

तपाईंको सपना के हो ? 

बिजनेसम्यान बन्छु भन्ने हो । अहिले म त्यही बाटोमा छु । भविष्यमा के हुन्छ, थाहा छैन, त्यसैले भविष्यको सपना अहिल्यै भन्न सक्दिनँ, तर पाँच वर्षभित्र जल्दोबल्दो बिजनेस म्यान त भइन्छ । लगभग सय करोड लगानी गरेर २५ वटा आउटलेट खोल्छु । 

विदेशमा भएका युवाहरूलाई के भन्न चाहनुहुन्छ ? 

मेरा धेरै साथी अस्ट्रेलियामा छन् । उनीहरू नेपाल फर्कदैनौं भनिरहेका छन् । नेपाल फर्कनका लागि आँट  र सीप हुनुपर्छ । उनीहरूसँग सीप त छ, तर उनीहरूको रुचि के हो, पैसा कमाएर घरजग्गा किनेर बस्ने हो कि व्यवसाय गर्ने ? त्यो आ–आफ्नो सपनामा भर पर्ने कुरा हो । 

प्रकाशित :जेष्ठ ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्