२४ वर्षे साप्ताहिक

- किशोर नेपाल

जेष्ठ ८, २०७५

 

यो साता २४ वर्षमा टेक्दैछ ‘साप्ताहिक’ । कुनै पनि पत्रिकाले समयको एउटा अन्तराल पूरा गर्नु खासै ठूलो कुरा होइन, तर साप्ताहिकका पक्षमा यो निकै ठूलो विषय हो । नेपाली समाज आज पनि आधुनिकतामा राम्रोसँग फक्रिन सकेको छैन । २३ वर्षअघिको समाजको परिकल्पना गरौं, जुन समयमा पत्रकार मात्र होइन, ठूला उद्यमी–व्यवसायीहरू समेत ‘पेजर’ बोकेर हिंड्थे । घरको ल्यान्डलाइन फोनमा प्राविधिक सुधार गरेर ह्यान्ड्स फ्री बोकेर हिंड्थे । सञ्चारको महत्व बढ्दो थियो । व्यवसायसँग जोडिएको थियो सञ्चार, तर प्रविधि महँगो थियो । यस्तैमा एकाबिहानै काठमाडौंको बजारमा हाते फोन देखा पर्‍यो । नोकिया थियो त्यसको नाम । डिजाइन थिए थरी–थरीका । डिजाइन जस्तो भए पनि त्यो फोन बोक्नु नै सानोतिनो गौरव हुन्थ्यो । 

त्यतिबेला काठमाडौंमा नयाँ हलचल थपिएको थियो । ‘कान्तिपुर’ तथा ‘दि काठमाडौं पोस्ट’ को प्रकाशन नेपालको समाचार संसारमा साँच्चै ठूलो हलचल थियो । पहिलो त यसले सूचना र समाचारमाथि सरकारी एकाधिकारको अन्त्य गरेको थियो । दोस्रो, नेपालको निजी क्षेत्र पनि ठूलो लक्ष्यसहित समाचारपत्र प्रकाशन गर्न सक्षम छ भन्ने सन्देश दिएको थियो । त्यतिबेला देशमा समाचारपत्र नै नभएका होइनन् ।

टेब्लोइड आकारमा झन्डै डेढ दर्जन दैनिक समाचारपत्र र पाँच–सात दर्जन साप्ताहिक समाचारपत्रहरूको नियमित प्रकाशन भैरहेको थियो, तर ती व्यक्तिगत प्रयत्नका आधारमा चलेका थिए । संस्थागत भन्ने त्यस्तो केही थिएन । देशमा प्रजातन्त्रको पुनस्र्थापना भएको थियो । संसदीय प्रजातन्त्र सक्रिय भएको थियो, तर धेरैजसो कानुन असरल्ल थिए । नयाँ संविधानले समाचारपत्र र त्यसको छापाखानालाई बन्द गर्ने पुराना ऐन–नियमको प्रचलनको अन्त्य गरेर प्रेसलाई सार्वभौम स्वतन्त्रता दिएको थियो । यो सैद्धान्तिक पक्षबाहेक अरू व्यवहारिक पक्षहरू त अहिलेसम्म मिलिसकेका छैनन् ।

कान्तिपुर र दि काठमाडौं पोस्ट प्रकाशन भएको अल्पसमयपछि नै यसको स्वामित्व र प्रकाशनको जिम्मेवारी दुई युवा उद्यमी कैलाश सिरोहिया र विनोद ज्ञवालीले लिए । त्यसपछि कम्पनीको विस्तार सुरु भयो : थापाथलीबाट कम्पनीको कार्यालय बानेश्वरमा सारियो । त्यसपछि आयो, प्रकाशन विस्तारको योजना । कान्तिपुर र काठमाडौं पोस्टका सम्पादक थिए— मेरा मित्र योगेशराज उपाध्याय । म थिएँ समाचार संयोजक । लामो समय स्थानीय दैनिक र साप्ताहिक पत्रिकाहरूमा काम गरेको मेरो जिब्रोमा त्यसको स्वाद गढेको थियो । राजनीतिक पत्रपत्रिकाहरू त छताछुल्ल थिए, तर पाठकको रुचिअनुसारको ज्ञान र मनोरञ्जनको मिश्रण भएका पत्रपत्रिका थिएनन् । मेरो दृष्टि त्यही खाली रहेको स्थानमा थियो ।

मैले व्यवस्थापनमा आफ्नो प्रस्ताव लगें । छलफल सुरु भयो । अनेकन् तर्क आए । कम्पनीले यस्तो पत्रिका निकाल्न थालेपछि स्थानीय प्रकाशनहरूको रोषको सामना गर्नुपर्ने कुरा उठ्यो । छलफलका क्रममा ती तर्कहरू निरस्त भए । पत्रिकाको नामको खोजी हुँदा मैले नै सुझाएँ— ‘साप्ताहिक’ । सबै कुरा जुट्यो । कम्पनीले बहुरंगी छापाखाना ल्याएकाले त्यसको चिन्ता थिएन । अब चिन्ता थियो— सम्पादन र उत्पादनको । यही बेला मैले सुवास ढकालसँग कम्पनीको योजनाका सम्बन्धमा कुरा गरें । उसलाई आफैं कार्यकारी सम्पादकको हैसियतले काम गर्न मानसिक रूपले तयार गराएँ । सहयोगी साथीहरूको खोजी भयो । संयोजनका यी सबै कुरामा सुवास रात–दिन खट्यो । हामीले रातारात स्थायी स्तम्भहरूको नाम चयन गर्‍यौं । कुन पाठकका लागि कस्ता सामग्री दिने जस्ता निर्णय गर्नु आवश्यक थियो । पूर्व काँकडभित्तादेखि पश्चिम गड्ढा चौकीसम्मका युवा पाठकहरूको मन जित्ने सामग्री संयोजन गर्नु ठट्टा थिएन । 

यो सबै जिम्मा सुवासको काँधमा राखिदिएपछि म ढुक्क भएको थिएँ । सुवासमा एउटा उत्तम गुण छ । ऊ आफ्नो सम्पादन कार्यमा अत्यधिक सतर्क रहन्छ । तैपनि यो काम नै यति सामूहिक र यति झन्झटिलो छ कि कुनै कुनै बेला कहीं न कहीं केही भैहाल्छ । 

म अन्य काममा लागेको थिएँ । कान्तिपुर दैनिकको समाचार संयोजकका रूपमा मेरा दायित्व त छँदै थिए । त्यतिबेलाको समय राजनीतिक हिसाबले निकै उथल–पुथलको थियो । एमालेले अल्पमतको सरकार बनाएको थियो । सरकार संसद् भंग गरेर मध्यावधि निर्वाचन गराउने पक्षमा देखिएको थियो । त्यसका विरुद्ध कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

सुवासको व्यवसायिक रुचि राजनीतिक समाचारमा थियो । एक दशकभन्दा बढी समय देशान्तर, सुरुचि, स्वतन्त्रता र जन–स्वतन्त्रताजस्ता संस्थामा राजनीतिक पत्रकारितामा बिताएको एउटा जल्दोबल्दो युवकका लागि नयाँ ढंगको साप्ताहिकको निर्माण र परिष्कार साँच्चै ठूलो चुनौती थियो । सुवासले यो चुनौती पार मात्र गरेन, साप्ताहिकलाई अहिलेको फ्रेम र फम्र्याटमा ल्याउन धेरै ठूलो योगदान दिएको छ । पछि त झन् उसको काँधमा ‘नारी’ सम्पादनको अभिभारासमेत थपियो । यी अभिभाराहरूले उसलाई थिचेको छैन । चुनौतीहरूको बीचमा ऊ झन्–झन् रमाएको छ ।

 

प्रकाशित :जेष्ठ ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्