वर्षका १२ सुन्दरी

- कृष्ण भट्टराई

जेष्ठ ७, २०७५

आजभन्दा ठीक २४ वर्षअघि अर्थात् २०५२ साल जेठ ४ गते शुक्रबारका दिन साप्ताहिकको पहिलो अंक बजारमा आउँदा अधिकांश पाठकको नजर पत्रिकाको मध्यपृष्ठमा अडिएको थियो । उक्त पृष्ठमा समज्ञ लाकौलले खिचेको वर्षा खड्काको तस्बिरलाई ब्लो–अपका रूपमा प्रस्तुत गरिएको थियो । वर्षा त्यति बेला चलचित्रमा स्थापित हुन संघर्षशील थिइन् । साप्ताहिकको ब्लो–अपमा तस्बिर प्रकाशित भएपछि उनको क्रेज ह्वात्तै बढ्यो । निकै कम चलचित्र निर्माण हुने त्यो समयमा उनले राम्रै चर्चा पनि पाइन् ।

मोडलिङ तथा चलचित्र क्षेत्रमा करियर बनाउन चाहने नयाँ अनुहारलाई प्लेटफर्म दिने उद्देश्यले प्रारम्भ भएको साप्ताहिकको ब्लोअप पनि आजको मितिदेखि २३ पुगेर २४ औं वर्षमा प्रवेश गरेको छ । आजको मितिसम्म आइपुग्दा साप्ताहिकले आफ्नो मध्यपृष्ठमा ११ सय ५० वटा ब्लोअप प्रकाशित गरिसकेको छ भने तीमध्ये झन्डै ९५ प्रतिशत तस्बिर मोडल तथा अभिनेत्रीहरू छन् । 

ब्लोअपमा बितेको वर्ष 

पछिल्लो वर्ष साप्ताहिकका ५० वटा अंकमा प्रकाशित ब्लोअपमध्ये अधिकांश ब्लोअपमा मोडल तथा अभिनेत्रीहरूलाई चित्रण गरिएको छ । वर्ष २३ अंक १ अर्थात् गत वर्षको जेठ ५ गते अभिनेत्री श्वेता खड्काको ब्लोअप प्रकाशित गर्दै साप्ताहिकले आफ्नो नयाँ वर्ष प्रारम्भ गरेको थियो । वर्ष २०७३ मा प्रकाशित भएका ब्लोअपको मूल्यांकनमा श्वेता खड्काको ब्लोअप उत्कृष्ट हुँदै गत वर्षको पहिलो अंकमा उनकै तस्बिर प्रकाशित भएको हो । त्यसपछि साप्ताहिकमा इशा सुवेदी, साम्राज्ञी राज्यलक्ष्मी शाह, निकिता चाण्डक (मिस नेपाल वल्र्ड–२०१७), लक्ष्मी आचार्य, इशा गुरुङ, शालु गौतम, एकता थापा, अञ्जली लामा, जेनी राई, आँचल शर्मा, सृष्टि तामाङ, सोरु बराइली, मरिष्का पोखरेल, नन्दिता केसी, प्रकृति श्रेष्ठ, प्रियंका कार्की, ममता जोशी, सुमी मोक्तान, प्रमिला कार्की, दीपिका प्रसाईं, शुभेच्छा खड्का, अनु शाह, सरस्वती श्रेष्ठ, मेघना लामा, सारा शिर्पाली, श्रृतिका गुरुङ, सुनिक्षा मैनाली, अभिलाषा शर्मा स्वाँर, प्रतीक्षा खड्का, मिलन अमात्य, एलिना खड्का, श्रृंखला खतिवडा, हिमानी सुब्बा, स्वेच्छा केसी तथा एलिशा राईका तस्बिरहरू प्रकाशित भए । उनीहरूमध्ये अधिकांश मोडल थिए भने केही अभिनेत्रीसमेत थिए । 

विशेष ब्लोअप 

साप्ताहिकले विशेष अवसर पारेर विशेष ब्लोअप प्रकाशित गर्ने परम्परालाई गत वर्ष पनि निरन्तरता दियो । बितेको वर्ष साप्ताहिकले असार १५, गाईजात्रा, तीज, दसैं, तिहार, क्रिसमस, अंग्रेजी नयाँ वर्ष, भ्यालेन्टाइन डे, होली, नेपाली नयाँ वर्ष आदि अवसर पारेर विशेष ब्लोअप प्रकाशित गरेको छ । त्यसको थालनी अघिल्लो वर्ष असार १५ विशेषबाट प्रारम्भ भयो । त्यसका लागि अभिनेत्री वर्षा शिवाकोटीले लुभुमा रोपाइँ गरिरहेको तस्बिरबाट गरियो । हरियो पृष्ठभूमिको उक्त ब्लोअप कृषकहरूप्रति समर्पित थियो । गाईजात्राको अवसर पारेर साप्ताहिकमा गत वर्षको साउन २० गते मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको तस्बिरलाई ब्लोअपमा स्थान दिइयो । उक्त तस्बिरमा हरिवंश आचार्य महिलाको भेषमा थिए भने मदनकृष्ण श्रेष्ठले उनको जोडीका रूपमा अभिनय गरेका थिए । 

असोज ६ गतेको अंक दसैं विशेष थियो । उक्त अंकमा अभिनेत्री सारा शिर्पाली तथा मोडल एलिशा राईको जोडीलाई प्रस्तुत गरियो । दसैं आगमनको संकेत दिने उक्त ब्लोअपमा सारा तथा एलिशा परम्परागत पहिरनमा प्रस्तुत भएका थिए । कात्तिक ३ गते प्रकाशित भएको तिहार विशेष ब्लोअपमा पनि तिहारकै झझल्को दिने प्रयास गरियो । उक्त ब्लोअप पोखराको लेकसाइडमा खिचिएको थियो, जहाँ मोडलद्वय रोशनी नेपाली तथा निर्मिता घिमिरे लेहेंगा चोली र गाउनमा प्रस्तुत भएका थिए । क्रिसमसको अवसर पारेर पुस ७ गते प्रकाशित ब्लोअपमा मोडल अस्मिता गौतमलाई क्रिसमस थिममै प्रस्तुत गरिएको थियो । अंग्रेजी नयाँ वर्ष विशेष साप्ताहिकको ब्लोअपमा भने वर्ष २०१७ का मिस नेपालका मुख्य उपाधि विजेताहरू निकिता चाण्डक, नीति शाह, रोजिना श्रेष्ठ तथा साहारा बस्नेतलाई चित्रण गरिएको थियो । 

फागुन २६ गते प्रकाशित भ्यालेन्टाइन विशेष ब्लोअपमा अभिनेता पुष्प खड्का तथा मोडल पूनम रायमाझीको जोडीलाई प्रस्तुत गरिएको थियो । फागुन ११ गतेको होली विशेष साप्ताहिकको ब्लोअपमा अभिनेत्री शिल्पा पोखरेलको होली मुड प्रस्तुत गरियो । फागुन २५ गते विवाह विशेष ब्लोअपमा रोनाली अमात्य, त्रिशाला गुरुङ तथा अभिलाषा शर्मालाई चित्रण गरियो । चैत ९ गतेको साप्ताहिकमा अभिनेता हरिवंश आचार्य तथा अभिनेत्री दीपाश्री निरौला प्रस्तुत भए । नयाँ वर्ष २०७५ लाई स्वागत गर्ने नयाँ वर्ष विशेष ब्लोअपमा मोडलद्वय प्रिया श्रेष्ठ तथा प्रतिक्षा सेन्चुरीको तस्बिर समावेश थियो । 

ब्लोअपमा पुरुष

साप्ताहिकले हरेक वर्ष गर्ने ब्लोअप सर्वेक्षणमा सहभागी अधिकांश पुरुष सेलिब्रेटीहरूले महिनामा एकपटक पुरुष मोडलको तस्बिर प्रकाशित गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । पाठकहरूले समेत बेला–बेलामा पुरुष मोडल तथा अभिनेताहरूको ब्लोअप हेर्न चाहेका छन् । यी सबैका बाबजुद बितेको वर्ष साप्ताहिकको ब्लोअपमा पर्न सफल भए अभिनेता तथा मोडल आशिरमान देशराज जोशी । चलचित्र अभिनेताका रूपमा स्थापित भैसकेका आशिरमानको ब्लोअप साउन २७ गतेको अंकमा प्रकाशित भएको थियो । यद्यपि साप्ताहिकले महिला–पुरुष तथा महिला–महिलाको तस्बिरलाई जोडी बनाएर प्रकाशित गर्ने शैलीलाई भने जारी राख्यो । बितेको वर्ष मह जोडी, हरिवंश–दीपा, पुष्प–पूनम, सारा–एलिशा, रोशनी–निर्मिता, प्रिया–प्रतिक्षा आदिका तस्बिर जोडिका रूपमा प्रस्तुत भएका थिए ।

ब्लोअपमा अभिनेत्री 

बितेको वर्ष झन्डै एक दर्जन अभिनेत्री ब्लोअपमा प्रस्तुत भए । वर्षको पहिलो अंकमै अभिनेत्री श्वेता खड्कालाई ब्लोअपमा प्रस्तुत गरिएको थियो । त्यसपछि क्रमश: साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा शिवाकोटी, आँचल शर्मा, मरिष्का पोखरेल, नन्दिता केसी, प्रियंका कार्की, सुमी मोक्तान, दीपिका प्रसाईं, शुभेच्छा खड्का, अनु शाह, सारा शिर्पाली तथा शिल्पा पोखरेल ब्लोअपमा छाए ।

 

सर्वोत्कृष्ट ब्लोअप सुन्दरीको छनौट

वर्ष २३ को ५० अंकमा प्रकाशित ५० वटा ब्लोअपमध्ये एकल तस्बिर प्रकाशित भएका ४२ वटा ब्लोअपलाई मात्र सर्वोत्कृष्ट ब्लोअप सुन्दरीको प्रतिस्पधामा सहभागी गराइयो । ती ४२ जना सुन्दरीको ब्लोअपमध्येबाट साप्ताहिकको अनलाइन संस्करण, फेसबुक तथा ट्विटरमा सर्वाधिक हेरिएका तथा मन पराइएका उत्कृष्ट २० ब्लोअप छनौट गरिएपछि साप्ताहिकद्वारा छनौट गरिएका १० जना सेलिब्रेटी निर्णायकलाई उत्कृष्ट १२ ब्लोअप छनौट गर्न आग्रह गरियो । प्रत्येक निर्णायकले २० वटै ब्लोअपलाई पूर्णांक १० को आधारमा भोट दिनु भयो । 

उहाँहरूले दिनुभएको मतका आधारमा सर्वाधिक अंक पाउने उत्कृष्ट १२ ब्लोअप सुन्दरीको छनौट गरियो । निर्णायक समितिमा र्‍याप गायक निर्णय श्रेष्ठ (निर्णय दा एनएचके), फोटो पत्रकार हरिगोपाल श्रेष्ठ, सञ्चारकर्मी विजय आवाज, अभिनेता कबिर खड्का, रंगकर्मी तथा चलचित्र लेखक अजित लामिछाने, निर्देशक तथा अभिनेता आसिफ शाह, इभेन्ट मेनेजर तथा डिजाइनर फुपु तेन्जिङ शेर्पा, चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे तथा गायक/चिकित्सक डा. विक्रान्त मेहता हुनुहुन्छ । त्यसक्रममा निर्णायकले ब्लोअपमा प्रस्तुत भएका मोडल तथा अभिनेत्रीहरूको पोज, हाउभाउ, फोटोजेनिक तथा समग्र फोटाग्राफीका आधारमा अंक प्रदान गर्नु भएको थियो । 

उत्कृष्ट १२ सुन्दरी 

निर्णायकहरूको मतका आधारमा यो वर्ष मिस नेपाल वल्र्ड–२०१८ श्रृंखला खतिवडाले सबैभन्दा बढी अंक पाइन् । मिस नेपालको उपाधि जितेपछिको हप्ता साप्ताहिकले श्रृंखलाको तस्बिरलाई ब्लोअपमा प्रस्तुत गरेको थियो । अधिकांश निर्णायकले श्रृंखलाको पोज, फोटो पत्रकार महेश प्रधानको फोटोग्राफी तथा डिजाइनर सुष्मा सिंहले डिजाइन गरेको पहिरन सर्वाधिक मन परेको प्रतिक्रिया दिएका छन् । उत्कृष्ट ब्लोअप सुन्दरीको दोस्रो स्थानमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । लाजिम्पाट नजिककैको रानीबारीमा खिचिएको तस्बिरमा साम्राज्ञी असाध्यै सुन्दर देखिएकी थिइन् । त्यस क्रममा साम्राज्ञीले क्रसरोड अपेरियलले तयार पारेको लङ गाउन लगाएकी थिइन् । 

अधिकांश निर्णायकले साम्राज्ञीले लगाएको पहिरन तथा पोजलाई मन पराए । तेस्रो स्थानमा मिस नेपाल वल्र्ड–२०१७ निकिता चाण्डक पर्न सफल भइन् । निकितालाई मिस नेपाल–२०१७ को उपाधि जितेलगत्तै गत वर्षको जेठ २६ गते प्रकाशित ब्लोअपमा चित्रण गरिएको थियो । अभिनेत्री प्रियंका कार्कीको ब्लोअपले चौथो स्थान प्राप्त गर्‍यो । अधिकांश निर्णायकले प्रियंकाको पोज मन पराए । अभिनेत्री दीपिका प्रसाईं पाँचौं स्थानमा परिन् । चलचित्र ऐश्वर्यबाट रजटपटमा उदाएकी दीपिका चलचित्रको सफलतासँगै साप्ताहिकको ब्लोअपमा प्रस्तुत भएकी थिइन् । 

छैटौं स्थानमा मोडल तथा अभिनेत्री शुभेच्छा खड्का रहिन् भने सातौं स्थान अभिनेत्री सारा शिर्पालीले सुरक्षित गरिन् । अभिनेत्री मरिष्का पोखरेल आठौं स्थानमा रहन सफल भइन् भने आँचल शर्मा नवौं स्थानमा रहिन् । अभिनेत्री तथा नृत्यांगना एलिशा राई दसौं स्थानमा परिन् भने मोडलद्वय स्वेच्छा केसी तथा सरस्वती श्रेष्ठ क्रमश: एघारौं तथा बाह्रौं स्थानमा रहन सफल भए । 

निर्णायकहरूको धारणा

निर्णय श्रेष्ठ, गायक

साप्ताहिक हात पर्नेबित्तिकै सबैभन्दा पहिले आँखा जाने भनेकै ब्लोअपमा हो । साप्ताहिकले नयाँ अनुहारलाई जसरी प्लेटफर्म दिएको छ, त्यसलाई निरन्तरता दिइरहनुपर्छ । मेरो विचारमा ब्लोअपले नयाँ प्रतिभाको करियरमा टर्निङ प्वाइन्टको भूमिका निर्वाह गरेको छ । 

हरिगोपाल श्रेष्ठ, फोटो पत्रकार

साप्ताहिकको ब्लोअप आकर्षक छ । यद्यपि पछिल्ला केही वर्षयता साप्ताहिकले नयाँभन्दा पुराना अनुहारलाई बढी स्थान दिएको जस्तो लाग्छ । साप्ताहिकले ब्लोअपमा नयाँ अनुहारलाई नै प्रस्तुत गरेर उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका प्रदान गर्नुपर्छ । 

विजय आवाज, सञ्चारकर्मी

पहिले–पहिले अनलाइन मिडिया नहुँदा साप्ताहिकको ब्लोअप नै नयाँ कलाकारको एक मात्र विकल्प हुन्थ्यो । पछिल्ला केही वर्षयता साप्ताहिकले नयाँको तुलनामा पुराना अभिनेत्रीलाई बढी प्राथमिकता दिएको देखिन्छ । अझ चलचित्र प्रदर्शन हुने अवसर पारेर चलचित्रकै प्रचार हुने शैलीमा प्रकाशित गरिने ब्लोअपको खासै अर्थ हुँदैन । बिकिनी तस्बिरलाई पनि साप्ताहिकले स्थान नदिएकै राम्रो । इन्टनरनेटको जमानामा पत्रिकामा बिकिनी पोजलाई स्थान दिनुको खासै महत्व नहोला । मेरो विचारमा साप्ताहिकले अहिले पनि नयाँ अनुहारलाई नै बढि भन्दा बढि प्राथमिकता दिनुपर्छ । 

कबिर खड्का, अभिनेता

बजारमा आउन संघर्ष गरिरहेका नयाँ अनुहारलाई साप्ताहिकले ब्लोअपमा स्थान दिएर ठूलो गुण लगाएको छ । साप्ताहिकको ब्लोअपमा आएपछि कुनै पनि नयाँ अनुहार ग्ल्यामर क्षेत्रमा सहजै भिज्न सक्ने हुन्छन् । आगामी दिनमा पनि साप्ताहिकले खोजी–खोजी नयाँ अनुहारलाई नै स्थान दिइरहनुपर्छ । 

अजित लामिछाने, लेखक/कलाकार

चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनका निर्देशकहरूलाई साप्ताहिकको ब्लोअपले ठूलो सहयोग पुर्‍याएको मैले अनुभव गरेको छु । ब्लोअपमार्फत साप्ताहिकले नयाँ कलाकारहरूलाई आफ्नो करियर प्रारम्भ गर्न ठूलो हौसला प्रदान गर्दै आएको छ ।

दीपक घिमिरे, मोडल

साप्ताहिकको ब्लोअपमा पुरुष मोडलहरूले पनि स्थान पाउनुपर्छ । हुन त पछिल्लो समय महिला तथा पुरुषलाई जोडीका रूपमा प्रस्तुत गरेर ब्लोअपमा पुरुषको पनि सहभागिता बढाइएको छ, यद्यपि महिनामा कम्तिमा एउटा भए पनि पुरुषको ब्लोअप समावेश गर्न सके हामी पुरुष मोडलहरूलाई समेत राहत हुने थियो ।

 

आशिफ शाह, निर्देशक

वर्षका १२ सुन्दरी छान्ने क्रममा मैले ग्ल्यामरभन्दा पनि ओभरअल प्याकेजमै मूल्यांकन गरेको छु । त्यसक्रममा मैले साप्ताहिकले मौसम, अवसर, सेलिब्रेसन आदि सबै कुरालाई ध्यान दिएको पाएँ । फेसनको परिवर्तित शैलीदेखि फोटो खिच्ने शैलीसम्ममा साप्ताहिकले सक्दो मेहनत गरेको छ । यद्यपि आगामी दिनमा ब्लोअपमा क्रिएटिभ एंगल पनि समावेश हुनुपर्छ भन्ने मेरो सुझाव छ । यसका साथै नारी दिवसदेखि इदसम्मका पर्वलाई पनि ब्लोअपमा स्थान दिनुपर्छ । 

फुपु तेन्जिङ शेर्पा, इभेन्ट म्यानेजर

फेसन र मोडलिङ क्षेत्रमा साप्ताहिकको ब्लोअपले पुर्‍याएको योगदानको चर्चा जति गरे पनि कम हुन्छ । साप्ताहिकको ब्लोअपमा आउने नयाँ अनुहार एक दिनमै सेलिब्रेटी बनेको हामीले अनुभव गरेका छौं । मेरो एउटा मागचाहिं के छ भने पुराना अभिनेत्रीहरूको ब्लोअप दोहोर्‍याउनुभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका विजेताहरूलाई मौका दिन सके उनीहरू थप उत्साहित हुने थिए ।  

 

प्रकाशित :जेष्ठ ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्