नौटंकीको अवस्थामा छ संगीत र संस्कृति

- किशोर नेपाल

जेष्ठ ६, २०७५

यो पटक लामै बसिन् झुमा बेलायततिर । काठमाडौं फर्किएपछि उनले भनिन्, ‘अब एक वर्ष पर्फमेन्समा बिताउनुपर्छ । संगीत तथा नाटक भनेका पर्फमेन्स कला हुन् ।’ 

झुमाका कुल, कुटुम्ब, जेठा बा, कान्छा बा, दाजु, भाइ, दिदी, बहिनी, भदा, भदै सबै बेलायतमा छन् । त्यहाँ रहेका कसैले पनि उनलाई छिटो नेपाल फर्कन दिएनन् । उनी आफैं पनि काठमाडौंको कोलाहलबाट मुक्त भएर बेलायतमा सिर्जनात्मक काम गर्न चाहन्थिन् । उनले मुन्धुम संगीतको एल्बम लन्च गरिन् । 

एउटा पब्लिक शो भयो निकै आकर्षक । काठमाडौं सहरको धूलो, धूवाँलगायतका प्रदूषित तत्वहरूको असर त पाँचै महिनामा हट्ने कुरा भएन । तैपनि झुमा फ्रेस भइन् । सास लिन सजिलो भयो । आफ्ना मानिसहरू भेटेर उनीहरूको मनमा रहेको लिम्बुवानको सम्झनालाई ताजा बनाइदिइन् । अनि त झुमाले अरुथोक के गरुन् ? यी लिम्बू चेली मुन्धुमलाई पछ्याउँदै छिन् । 

झुमा भन्छिन् : आफ्नो देशमा त कुनै सुविधा छैन । मुन्धुमजस्तो संगीतका धारहरू थुप्रै छन् । संगीत–नाटक एकेडेमी, जनजाति प्रतिष्ठानमा साउन्ड रेकर्डिङको सामान्य क्षमता पनि छैन । लाइब्रेरीको समेत अभाव छ । यस्तोमा कलाकार आफैं अग्रसर भएर संगीतको प्रमोशन गर्ने हो । युट्युबमा राख्ने हो, तर यति मात्रैले केही हुन सक्दैन । हामीकहाँ विकासको राजनीतिक परिभाषा छ । थुप्रै छ तर राजनीति, समाज व्यवस्था एवं आर्थिक नीतिका बीचमा समन्वय छैन । अहिलेका नेताहरूले देशको सांस्कृतिक निष्ठाका लागि काम गर्नुपर्छ भन्ने नबुझेका त होइनन्, तर बुझ्न चाहेको देखिँदैन । यो अवस्थामा सांस्कृतिक कलाकारजस्ता आफ्नो काममा समर्पित व्यक्तिहरू कहाँ जाने ?

कुनै पनि गीत सांगीतिक हिसाबले मात्र पूर्ण हुँदैन । त्यसका लागि अनेकन विधि अपनाउनुपर्ने हुन्छ । मुन्धुम होस् वा सामान्य गीत हुन्, भाषाले मात्र यसलाई बलियो बनाउने होइन । थिम त चाहिन्छ नै । गीतको संरचना बोलीचालीको भाषामा पनि नहुने होइन, तर त्यो बढी नै बनिबनाउ हुन्छ । यथार्थपरक हुनै पाउँदैन । त्यसमा मनदेखिको कुरा आउनै पाउँदैन । जब संगीतले मानिसको मनलाई प्रभावित तुल्याउन सक्दैन अर्थात् मानिसलाई रुने, हाँस्ने जस्ता भावोन्मादतर्फ लान सक्दैन त्यतिबेला त्यो गीत र संगीतको प्रभाव रहँदैन । सडकमा हिंड्दा कसैले अल्लारे पारामा कुनै गाना गाएजस्तो मात्र हुन्छ ।

झुमाको विचारमा संस्कृति र संगीतका आयामहरू तिनको प्रदर्शनपछि मात्र निर्णायक अवस्थामा हुन्छन् । हामीकहाँ प्रदर्शनको चलन नै छैन । नौटंकीजस्तो अवस्थामा छौं हामी । बेलायतमा मैले एक–दुइवटा एकल प्रदर्शन गरें । त्यसको प्रभाव र परिणाम दुवै राम्रो आयो । पूरा पर्फमेन्सका रूपमा मैले मुन्धुमको दुई भाग देखाएँ मार्च २५ मा । त्यसका लागि आवश्यक खर्च लिम्बू समुदायका साथीभाइहरूले बेहोरे । 

अब यो मुन्धुम लोकप्रिय हुने गीतजस्तो होइन, तर मानिसहरूको रुचि यसमा हुनु वा बढ्नु ठूलो कुरा हो । मुन्धुमले लिम्बू समुदायका सदस्यहरूलाई मात्र होइन, सबै नेपालीलाई आकर्षित गर्‍यो । कलात्मकता भनेकै प्रदर्शनबाट सावित हुने कुरा हो । जे होस्, लन्डन गएर मैले जे काम गर्छु भन्ने सोचेकी थिएँ त्यो काम भयो । एथनिक म्युजिक स्टुडियोमा गएर अरू कसैले नगरेको काम गरें । वल्र्ड सिनेमासँग नेपालको मिस्टिरियस, तान्त्रिक संगीत तथा संस्कृतिलाई जोड्ने कामलाई सानो त भनिँदैन होला । अब नेपालको मुन्धुम र अन्य संगीतहरू उताका संगीतको शिक्षा दिने स्कूलहरूमा पनि पढाइनेछन् । यो सानो उपलब्धि होइन ।

झुमा शास्त्रीय संगीत मात्र होइन, आधुनिक गीत गाउन पनि उत्तिकै उत्साहित छिन् । भन्छिन्, ‘अहिले त हुर्रे सिनेमामा गीत पनि गाएकी छु । कालीप्रसाद बाँस्कोटासँग पनि गीत गाउन थालेकी छु । सागरराजले पनि मेरा गीतमा संगीत दिएका छन् । यी गतिविधिहरू प्रचारमा आएका छैनन् भनेर म आत्तिएकी पनि छैन । जमाना बदलिएको छ । मानिसहरूले युट्युबमा सुनेर तथा हेरेरै कुनै पनि गीतलाई लोकप्रिय बनाइदिन्छन् । अहिले प्रविधि धेरै अघि छ ।’

प्रकाशित :जेष्ठ ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्