हाँसोको मुहान खोज्दै जाँदा—२

- मनोज गजुरेल

जेष्ठ ५, २०७५

 

क्याबिन क्रु, बी सिटेड फर टेकअप ।’ पाइलटको यो एनाउन्सपछि जहाज अगाडि बढ्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धानवमार्गमा दौडिरहेको जहाजको झ्यालबाट बाहिर हेर्छु । दायाँ–बाँयाका भवनहरू जहाजसँगै दौडिएजस्तो लाग्छ । भवनभित्रका बत्तीहरूले पनि जहाजलाई पछ्याएजस्तो लाग्छ । यस्तो लाग्छ, घर, रूख र बत्ती सबै ‘ए नजा, नजा’ भन्दै मेरो पछि–पछि दौडिइरहेका छन् ।

एक्कासि जीउ सिरिङ्ग हुन्छ । मस्तिष्कमाथि नै अड्किएजस्तो, मुटु मात्र तल झरेझैं लाग्छ । पछि थाहा भयो, जहाजले भुइँ छोड्दा सबैलाई यस्तै हुँदो रहेछ । एकछिनमा ‘घड्याक्क’ आवाज आउँछ । फेरि मुटु ढक्क फुल्छ । योचाहिं जहाजले पाङ्ग्रा लुकाएको रहेछ । जहाज दायाँ ढल्किन्छ, बायाँको झ्यालबाट नीलो आकाश मात्र देखिन्छ । बायाँ ढल्किन्छ, दायाँ झ्यालबाट झलमल्ल काठमाडौं देखिन्छ । बाहिर जहाज झलमल्ल छ, मेरो मनको जहाजमा बत्ती बल्दै–निभ्दै छन् ।

मनमा बत्ती बल्दैछ भन्नुको अर्थ मन दंग छ । दंग यस कारण छ कि अब म विदेश जाँदैछु, । जागिर खाँदैछु । पैसा कमाउँदैछु । छुट्टीको दिन घुम्न जान्छु । साथीभाइसँग रमाइलो गर्छु । तलब आउनासाथ घर पठाइदिन्छु । बाले ऋण तिर्नुहुनेछ । ऋण तिरेपछि आमाको तनाव घट्नेछ । बाको प्रेसर पनि कम हुनेछ । यस्तै कल्पनाले गर्दा मन उज्यालो भएको छ ।

जहाँ दिन हुन्छ त्यहाँ रात पनि पर्छ । जहाँ उज्यालो हुन्छ त्यहाँ अँध्यारो पनि आउँछ । जो दंग हुन्छ त्यो उदास पनि हुन्छ । एक्कासि मनको बत्ती झ्याप्प निभ्छ । त्यहाँ बिछोडको अँध्यारो फैलिन्छ । मनमनै सोच्छु, एक दिन होइन । एक महिना होइन । एक वर्ष होइन । पाँच वर्षका लागि घर छाड्दैछु । कसरी काटौंला त्यत्रो समय † कसले सोध्ला— खाना खाइस् बाबु भनेर † को होला फोन गर्ने— कतिबेला आउने हजुर भन्दै † कसले भन्ला— बाबा भरे आउँदा चकलेट लिएर आउनु है भनेर !

बटार्दै बटारिंदै काठमाडौ उपत्यकालाई एक फन्को लगाएपछि जहाज सीधा हुन्छ अनि पश्चिम दिशातर्फ लाग्छ । बत्ती बल्छ । एयर होस्टेसहरू उठ्छन् । पेसेन्जरहरू चलमलाउँछन् । कोही फिल्म हेर्न थाल्छन् । कोही कानमा इयरफोन कोचेर घ्वार–घ्वार घुर्न थालिसकेका छन् । कोही गफ गर्दैछन्, हाँस्दैछन् । कोही कल बटम थिचेर होस्टेसलाई बोलाउँदैछन् । कोही ट्वाइलेटतिर लाग्छन् । कोही खानातिर लाग्छन् । म तिनीहरूका प्रत्येक गतिविधि हेर्दै उनीहरूका बारेमा विभिन्न अनुमान लगाउँछु ।

ती फिल्म हेर्नेहरू कलाकार होलान्, कार्यक्रम देखाउन हिंडेका ! एयरफोन कोच्नेहरू छुट्टीमा आएर फर्किएका होलान् † गफ गर्नेहरू घुम्न हिंडेका होलान् † ट्वाइलेट हिंडेकाहरूचाहिँ एयरपोर्ट सेकुवा टन्न खाएर आएका होलान् । एयर होस्टेसलाई बोलाउनेहरू भोकाएका होलान् † अनि ती हाँस्दै, गफ गर्नेहरू छुट्टीमा आएर फर्किएका होलान् अनि ती दायाँ–बायाँ हेर्नेहरूचाहिँ मजस्तै होलान्, जो पहिलो पटक प्लेन चढेर वैदेशिक रोजगारीमा गैरहेका छन् । 

मनमा यस्ता कुरा खेलाउँदा–खेलाउँदै एयर होस्टेसको आवाज आयो, अंग्रेजीमा । अगाडि के भनिन्, पछाडि के बोलिन्, केही बुझिनँ । बीचका दुईवटा शब्दचाहिं टिप्न सकें, ‘सिट बेल्ट’ र ‘टर्बुलेन्स’ † पहिलो पटक सुकेटारबाट विराटनगर आउँदा यसको अर्थ जानेको थिएँ । मौसम गडबड छ, जहाज हल्लने सम्भावना भएकाले सिट बेल्ट बाँध्न अनुरोध गरिएको थियो । सिट बेल्टलघि नै लगाएको थिएँ तर पनि कन्फर्म गर्न बेल्ट छामेको मात्र थिएँ, जहाज घटट गर्दै तर झर्‍यो । जहाजमात्र होइन, मेरो मुटु पनि झर्‍यो । सम्हालिन नपाउँदै फेरि घटट गरेर झन्डै एक बित्ता माथि चढ्यो । हावा, हुन्डरी र पानीसहितको बादलमा पसेर निस्किँदा यसरी सातो लिंदो रहेछ । 

हुन त त्यो सबै कुरा एक मिनेटभन्दा कम समयमा भएको थियो तर मेरो मनले झन्डै तीन घण्टाको काल्पनिक सिनेमा बनायो । एउटा मनले भन्छ, यस्तै बेलामा त होला नि जहाज खस्ने † अर्को मनले भन्छ, यस्ता घटना त कति हुन्छन् हुन्छन्, यो त सामान्य हो । अर्को मनले भन्छ, जहाज झरिहाल्यो भने घरको अण कसले तिर्ला † अर्को मनले जवाफ दिन्छ, म मरें भने बिमाले दिइहाल्छ नि पैसा । फेरि अर्को मन बोल्छ, पैसा त आउला तर छोराछोरीले कसलाई बा भन्लान् † मुख्य मनले चित्त बुझाउँछ, हुने कुरा भैहाल्छ, बरु झ्याप्प निदाउँछु ।

यति सोचेर निदाउन आँखा चिम्लिन्छु तर त्यही बेला कसैले कोट्याउँदै बोलाउँछ, ‘हेल्लो, दाइ ।’

....क्रमश:

प्रकाशित :जेष्ठ ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्