पदयात्राको रोमाञ्च

- नरेन्द्र रौले

जेष्ठ ३, २०७५

 

 

 

यात्राले शिक्षकभन्दा धेरै  कुरा सिकाउँछ ।

                                                                              अमित कलान्त्री, लेखक जीवनमा कतिपय कुरा पुस्तक पढेर मात्र सिकिँदैन । यात्राले त्योभन्दा धेरै कुरा सिकाउँछ । हामी जुन ठाउँ पुग्छौं, त्यहाँको जनजीवन, भूगोल, रहनसहन, जीवनशैली, भाषा, संस्कृति, कला, साहित्य आदिका बारेमा बुझ्न सक्छौं । प्रख्यात आरोही सर एडमण्ड हिलारी भन्थे– जीवनमा नयाँ कुरा सिक्न, अनुभव बटुल्न पदयात्रा सबैभन्दा राम्रो विकल्प हो । पदयात्राका लागि नेपाल त्यस्तो सुन्दर देश हो, जसले प्रकृतिको अनुपम नमुना बोकेको छ । भूगोल, संस्कृति, भाषा, रहनसहन, परम्परा तथा आतिथ्यका दृष्टिकोणमा नेपालको बेग्लै महत्व छ । 

 

वातावरण संरक्षणकर्मी कुमार पौडेलका अनुसार एकै दिन माछापुच्छ्ेरमा ब्रेकफास्ट, धौलागिरिमा लन्च र साँझ नीलगिरिमा स्थानीय स्याउको ब्रान्डी अनि स्याउकै ताजा जुससँग डिनर खान पाइने देश संसारमा अरू कुनै छैन । केही वर्षअघि उपल्लो मुस्ताङ पुग्दा पौडेलले त्यहाँ समुद्रको पींधमा पाइने जीवाशेष फेला पारे । त्यो कुराले उनलाई अचम्मित तुल्यायो । हजारौं वर्ष पहिले त्यहाँ समुद्र थियो भन्ने कुरामा उनको विश्वास बढ्यो । 

 

नेपालमा ३६ प्रजातिका चुत्रा छन् । तीमध्ये धुन्चेबाट गोसाइँकुण्ड पदयात्रा गर्दा मात्र ६ प्रजातिका चुत्रो चाख्न सकिन्छ । त्यस्तै ४ सय प्रकारका सुनाखरी पाइने नेपालमा १ सय ५ प्रकारका औषधिजन्य सुनाखरी फुल्छन् । जडीबुटी, वनस्पति, चराचुरुंगी, वन्यजन्तु तथा पाइलैपिच्छे फरक भौगोलिक बनावटका लागी नेपाल निकै धनी छ । 

 

पदयात्राका क्रममा स्थानीयवासीसँग जति बढी घुलमिल भयो त्यति नै आत्मियता गाँसिन्छ । सबै जातजाति, भाषाभाषीसँग निकट भएपछि सोचको दायरा नै फराकिलो हुन्छ । निबन्धकार युवराज नयाँघरे देश घुम्दै लेख्न रुचाउँछन् । लेखनमा स्थानीय परिवेश तथा जनबोली उतार्ने प्रयास गर्छन् । गाउँ घुम्दा उनलाई स्फूर्ति अनुभव हुन्छ । त्यो ताजगीले लेखनमा विशेष ऊर्जा भर्ने उनको विश्वास छ । लेखक प्रतीक ढकालले यात्रा गरेरै एक दर्जनभन्दा बढी पुस्तक लेखे । नियात्रा लेखनमा उनले बेग्लै छवि बनाइसकेका छन् । पाठकले उनका पुस्तक पढ्दा आफू पनि सँगसँगै घुमिरहेको महसुस गर्छन् । 

 

पदयात्राले अर्थतन्त्र चलायमान हुन्छ । यसले एकातिर स्थानीय जनताको कन्तुर भरिरहेको हुन्छ । फरक ठाउँ तथा फरक परिवेशका मानिसहरूको आवागमन र अन्तक्र्रियाले फरक सोच–विचार आदान–प्रदान हुन्छ, जसले गर्दा जागरण ल्याउन र थप सचेत बन्न सघाउँछ । विश्वको अर्को कुनाका मानिसले यहाँको संस्कृति, परम्परा एवं चालचलनका सम्बन्धमा जानकारी पाउँछन् । आफ्नो देश फर्केर गएपछि तिनले नेपालका बारेमा प्रचार–प्रसार गर्छन् । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यसले नेपालको पर्यटनलाई नै फाइदा पुर्‍याउँछ । 

 

नेपालका प्रचलित केही ट्रेकिङ रुटहरू जुन विश्वमा पनि उदाहरणीय छन् । 

अन्नपूर्ण सर्किट

अन्नपूर्ण सर्किट संसारकै सबैभन्दा राम्रो ट्रेकिङ रुट मानिन्छ । यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरि, माछापुच्छ्ेर, मनास्लु आदि हिमाल, नदी अनि अन्य सुन्दर दृश्यहरू नियाल्न सकिन्छ । यो रुटमा अन्य थुपै्र सहायक रुट छन् । ट्रेकिङका लागि मार्दी हिमाल बेसक्याम्प रुटलाई वैकिल्पक मार्गका रूपमा लिन सकिन्छ । अमेरिकाको ट्रइन्साइडर डटकमले विश्वका १० उत्कृष्ट पदयात्रा रुटमध्ये अन्नपूर्ण सर्किटलाई दोस्रो स्थानमा राखेको छ । यो यात्राका क्रममा कास्कीको काँडे, अस्ट्रेलियन क्याम्प, पोथाना हुँदै पितम देउरालीमा पुगेर रात बिताउन सकिन्छ । अर्को दिन फरेस्ट क्याम्प, लो क्याम्प, बतासे डाँडा हँुदै हाई क्याम्प पुग्न सकिन्छ । यहाँबाट मार्दी बेस क्याम्प पुग्न ४ घण्टा लाग्छ । यो यात्राको सबैभन्दा उच्च स्थान ५ हजार ४ सय १६ मिटरमा अवस्थित थोरङला पास हो । यस क्रममा मुक्तिनाथको दर्शनसमेत गर्न सकिन्छ । मुक्तिनाथ, जोमसोम, कालोपानी, तातोपानी, बेनी हुँदै पोखरा झरेपछि यो पदयात्रा सम्पन्न हुन्छ ।

समय : १७ देखि २१ दिन

रुट : लमजुङ, मनाङ, मुस्ताङ तथा म्याग्दी ।

बजेट : अनुमानित ३५ हजार रुपैयाँ (एक जनाका लागि )

 

अन्नपूर्ण बेस क्याम्प

हिमालै हिमालले घेरिएको अन्नपूर्ण बेस क्याम्प स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि आकषर्णको केन्द्र हो । हिँड्न रहर गर्नेहरूले यो पदयात्राका लागि हप्ता दिन छुट्याए हुन्छ । ४ हजार १ सय ९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण बेस क्याम्प कम खर्चिलो र सजिलो पदमार्गका रूपमा चर्चित छ । साहसिक पदयात्रा मन पराउनेहरूले यो रुटको यात्रा गर्न सक्छन् । 

समय : १ साता

रुट : मुस्ताङको नारच्याङ, बेसीगाउँ, मिस्त्रीखोला हुँदै नीलगिरि हिमालको फेदीस्थित हुमखोला ।

खर्च : अनुमानित १५ हजार रुपैयाँ (एक जनाका लागि)

 

लाङटाङ

चीनको तिब्बतसँग जोडिएको लाङटाङ साहसिक पदयात्राका लागि प्रख्यात छ । रसुवा जिल्लामा अवस्थित लाङटाङ क्षेत्रमा राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्डजस्ता पर्यटकीय स्थलहरू छन् । ०७२ सालको भूकम्पअघि लाङटाङमा स्वदेशी तथा विदेशी पर्यटकहरू खुब ओइरिन्थे । भूकम्पले थिलथिलो पारेको लाङटाङ बल्ल तंग्रिन थालेको छ । लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा होटल तथा लजहरूको राम्रै सुविधा उपलब्ध छ । २ हजार ९ सय ५० मिटर उचाइमा अवस्थित लाङटाङको केन्जिङ उपत्यका पुग्नुअघि बाटामा चरिरहेका चौंरीगाई, घोडा, खच्चर आदि देख्न सकिन्छ । शेर्पा र तामाङ समुदायको बस्ती, स्थानीय रहनसहन, सेताम्य हिमाल एवं खोलानाला छिचोल्दै हिंड्दा सबै दु:ख बिर्सन पुगिन्छ । लाङटाङमा चौंरीको दूध तथा सुकुटी खान पाइन्छ । 

रुट : स्याफ्रुबेसी, खामजिङ, शेर्पागाउँ, रिम्चे हुँदै केन्जिङ उपत्यका ।

खर्च : अनुमानित १५ हजार रुपैयाँ (एक जनाका लागि)

समय : एक साता 

 

मनास्लु

नेपालको सातौं तथा संसारको आठौं अग्लो मनास्लु हिमाल (किलर माउन्टेन) ८ हजार १ सय ५६ मिटर उचाइमा अवस्थित छ । गोरखा र मनाङ जिल्लामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा हिउँ चितुवा, जरायो, हिमाली थारजस्ता जनावरहरू देख्न सकिन्छ । गोरखा जिल्लाको सदरमुकाम गोरखाबजारबाट बूढीगण्डकीको किनारै किनार लार्के भन्ज्याङ पार गरेर १० दिनको यात्रापछि उक्त क्षेत्र पुग्न सकिन्छ । गुरुङ जातिको बाक्लो बस्ती रहेको यो क्षेत्र प्राकृतिक एवं सांस्कृतिक सम्पदाका हिसाबले अत्यन्तै धनी छ । यहाँ २९ प्रजातिका स्तनधारी जन्तु, १ सय १० प्रकारका चरा, ३ प्रकारका सर्प तथा २ सयभन्दा बढी हिमाली वनस्पति पाइन्छन् । 

खर्च : लगभग १५ हजार रुपैयाँ (एक जनाका लागि)

समय : कम्तीमा १२ दिन 

रुट : गोरखाबजार, आरुघाट, माछाखोला, चुम्नुब्री, छेकम्पार, ल्हो, सानागाउँ, साम्दो, धर्मशाला, लार्के, भिम्ताङ, धारापानी हुँदै बेसीसहर ।

 

गोसाइँकुण्ड

समुद्री सतहभन्दा ४ हजार ३ सय १० मिटरको उचाइमा अवस्थित छ— गोसाइँकुण्ड । दसैं र रक्षाबन्धनमा यहाँ ठूलो मेला लाग्छ । यो पदयात्रामा लेक लाग्ने प्रबल सम्भावना भएकाले साथमा औषधि बोक्न बिर्सनु हुँदैन । बेलाबेला बिरेनुन, मरिच, ज्वानो, पाचक तथा लसुन खाँदा शारीरिक अवस्था सन्तुलनमा राख्न सकिन्छ । गोसाइँकुण्डमा १ सयभन्दा बढी प्रजातिका वनस्पति पाइन्छन् भने चखेवा, कालीजुरे, खोयाहाँस जस्ता चराचुरुंगीहरू पनि देख्न सकिन्छ । यो ठाउँ याकको चीजका लागि पनि त्यत्तिकै प्रख्यात छ । 

खर्च : लगभग १० हजार रुपैयाँ 

(एक जनाका लागि)

समय : एक साता

रूट : काठमाडौं—धुन्चे—गोसाइँकुण्ड

 

रारा

प्रदेश नम्बर–६ मा पर्ने मुगुको रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । समुद्री सतहभन्दा २ हजार ९ सय ७२ मिटर उचाइमा अवस्थित रारा पुग्न मुगुको सदरमुकाम गमगढीबाट पश्चिमतर्फ झन्डै ३ घण्टा हिंड्नुपर्छ । रारा राष्ट्रिय निकुञ्जमा कस्तुरी, रतुवा, डाँफेलगायत अन्य विभिन्न चरा–चुरुङ्गीहरू हेर्न सकिन्छ । जेठदेखि असोजसम्म विभिन्न फूलले राराको रूप नै मनमोहक बनाउँछ । छिनछिनमा रूप फेरिरहने रारामा विश्वमा कतै नपाइने असला माछा पनि पाइन्छ । यस्तै रारामा सिस्ने र कान्जिरोवा हिमालको छायाँदेखिन्छ । मुगुको छायाँनाथबाट साइपाल हिमाललगायत आठवटा जिल्ला हेर्न सकिन्छ । मुर्माटपबाट अन्य थुप्रै मन हर्ने दृश्य देख्न सकिन्छ । यहाँ हाइकिङ, साइक्लिङ, घोडसवारीका साथै तालमा डुंगा चढेर रमाइलो गर्न सकिन्छ । नेपालगन्जबाट हवाईजहाजमा मुगुको ताल्चा विमानस्थल पुगेर रारातर्फ लाग्नु सबैभन्दा सजिलो बाटो हो । त्यस्तै बाजुराबाट हिंडेर पनि रारा पुग्न सकिन्छ । गाडीबाट जाने हो भने सुर्खेत, दैलेख, कालिकोट हँुदै रारा पुगिन्छ । 

समय : एक साता 

खर्च : ३० देखि ३५ हजार रुपैयाँ (बसमा जाने प्याकेज) ५० हजार रुपैयाँ (हवाईजहाजसहितको प्याकेज) (एक जनाका लागि)

 

गुरिल्ला ट्रेक

सशस्त्र द्वन्द्वमा माओवादी लडाकुहरूले प्रयोग गरेको रुकुम, रोल्पाको पहाडी बाटो नै गुरिल्ला ट्ेरकका रूपमा परिचित छ । अमेरिकी खोजकर्ता एलेन्ज लियनसले यिनै ठाउँहरू घुमेर लेखेको दी गुरिल्ला ट्रेकले अन्तर्राष्ट्रिय क्षेत्रमा यो पदमार्गलाई चिनाउन निकै सघायो । गुरिल्ला ट्रेकमा ढोरपाटन सिकार आरक्ष क्षेत्र तथा धौलागिरि हिमशृंखलामा पर्ने दर्जनौं टाकुराको अवलोकन तथा आरोहण गर्न सकिन्छ । उत्तरका हिमशिखरका आधार क्षेत्रमा रहेका दर्जनौं मगर बस्तीका सांस्कृतिक, सामाजिक जीवन अध्ययन एवं अवलोकन धेरैका लागि महत्वपूर्ण सावित हुन्छन् । विशेषगरी ढोरपाटनबाट रेखांकन गरिएको तीनवटा रुटको गुरिल्ला मार्ग रुकुम र रोल्पामा बढी केन्द्रित छ । 

बाग्लुङको केही भाग ।

खर्च : ३५ हजार रुपैयाँ (एक जनाका लागि)

समय : दुई साता

रुट : रोल्पा, रुकुम, म्याग्दी तथा

 

पाथीभरा देवी 

ताप्लेजुङ जिल्लाको पाथीभरा प्रसिद्ध तीर्थस्थल हो । हिन्दू एवं बौद्धमार्गीहरूको महत्वपूर्ण धार्मिक स्थलका रूपमा परिचित ताप्लेजुङ १२ हजार फिट उचाइमा छ । ताप्लेजुङ जिल्लाको सदरमुकाम फङ्लिङबाट १९ दशमलव ४ किलोमिटर पूर्व–उत्तरतर्फ अवस्थित पाथीभरा देवीको दर्शन गर्न वर्षभरि नै मानिसहरूको भीड लाग्छ । फुङ्लिङबाट एक दिन पैदल हिंडेर त्यहाँसम्म पुग्न सकिन्छ । पाथीभराबाट कञ्चनजंघामा देखिने सूर्योदय र सूर्यास्तको दृश्य अत्यन्तै सुन्दर देखिन्छ । यसबाहेक यहाँबाट लोत्से, नोत्से, मकालु, कुम्भकर्णजस्ता हिमालहरू हेर्न सकिन्छ । धरानबाट धनकुटा, हिले हुँदै कोसी राजमार्ग १ सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पदयात्रामार्फत पनि पाथीभरा पुग्न सकिन्छ । इटहरी, झापा वा इलाम हुँदै सार्वजनिक वा निजी गाडीमा समेत पाथिभरा पुग्न सकिन्छ ।

खर्च : १५ हजार रुपैयाँ (एक जनाका लागि)

समय : १० दिन

रुट : काठमाडौं, विराटनगर, झापा, इलाम हुँदै ताप्लेजुङ ।

 

रामारोशन

रामारोशन अछाम जिल्लाको सुन्दर पर्यटकीय क्षेत्र हो । बाह्र बण्ड, अठार खण्डका नामले परिचित रामारोशनमा १२ वटा ताल तथा १८ वटा ठूला–ठूला मनमोहक उच्च हिमाली पठार छन् । यहाँ १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस तथा नेपालको राष्ट्रिय चरा डाँफे देख्न सकिन्छ । १२ वटा तालमा सबैभन्दा ठुलो ताल हो— जिगाले । यो अंग्रेजी अक्षर सीजस्तो देखिन्छ । सबैभन्दा ठूलो पठार किनेमिनेको किनारबाट बग्छ, कैलाश खोला । मयूरदेखि डाँफेसम्म हेर्न सकिने रामारोशनमा छाँगा–छहरा, पहाडका थुम्का, गोरुभैंसी चरिरहेका दृश्यहरूले आनन्द महसुस गराउँछन् । चराचुरुंगीहरूको चिरबिराहटले सारा वातावरण नै संगीतमय हुन्छ । अछामको जयगढबाट रामारोशनसम्म गाडीमार्फत पुग्न सकिन्छ । यो रुट घुम्ने क्रममा डडेल्धुराको उग्रतारा र अमरगढी किल्ला, डोटीको शैलेश्वरी, अछामको वैद्यनाथ जस्ता धार्मिक तथा पर्यटकीय स्थान पुग्न सकिन्छ । काठमाडौं–सुर्खेत हुँदै अछामको विनायकसम्म गाडीमा र त्यहाँबाट हिँडेर शान्तडा हँुदै पनि रामारोशन पुगिन्छ । 

खर्च : १५ हजार रुपैयाँ (एक जनाका लागि)

समय : १ साता

रुट : काठमाडौं, धनगढी, दिपायल, साँफेबगर हुँदै रामारोशन ।

 

खप्तड

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थल खप्तड प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । उक्त क्षेत्रको भ्रमणमा खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह तथा बाबाको आश्रम आदि अवलोकन गर्न सकिन्छ । खप्तड राष्ट्रिय निकुञ्जमा ५ सय ६७ थरीका वनस्पति एवं २ सय ६० भन्दा बढी चराचुरुंगी पाइन्छन् । खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर तथा बाघबुट्टे निगालो पनि यहीँ पाइन्छ । त्यहाँ पुग्न डोटीको बाटो बढी प्रचलित छ । काठमाडौंबाट हवाईजहाज वा बसमा धनगढी पुग्न सकिन्छ । धनगढीदेखि डोटीको सिलगढीसम्म बस यात्रा गरेपछि पैदल हिंड्नुपर्छ । सिलगढीबाट हिंडेको दोस्रो दिनमै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ ।

खर्च : १५ हजार रुपैयाँ (एक जनाका लागि)

समय : १ साता

रुट : काठमाडौं, धनगढी, दिपायल 

 

अरुण उपत्यका 

मकालु–बरुण राष्ट्रिय निकुञ्जमा पर्ने अरुण उपत्यका पूर्वको चर्चित पदयात्रा मार्ग हो । काठमाडौंबाट तुम्लिङटारसम्मको हवाई यात्रापछि पदयात्रा सुरु गर्न सकिन्छ । बाटोमा राई, शेर्पा तथा लिम्बु जातिहरूको स्थानीय रहनसहन अवलोकन गर्न सकिन्छ । यहाँबाट सगरमाथा, थाम्सेर्कु, मकालु, आमादब्लम आदि हिमालयका साथै पूर्वी नेपालको सुन्दरता नियाल्न सकिन्छ । लगभग १५ जनाको समूहमा दैनिक ५–६ घण्टा हिंड्नु ठीक हुन्छ । यहाँ पुग्ने विभिन्न रुट छन्, धनकुटा, हिले, वसन्तपुर, चैनपुर हुँदै पनि अरुण उपत्यका पुग्न सकिन्छ ।

 

खर्च : ३५ हजार रुपैयाँ (एक जनाका लागि)

समय : १७ दिन

रुट : काठमाडौं, धरान, धनकुटा, लेगुवा

 

सगरमाथा बेस क्याम्प

संसारको सर्वोच्च शिखर सगरमाथाको काखमा उत्तर र दक्षिण गरेर दुईवटा बेस क्याम्प छन् । दक्षिण बेस क्याम्प ५ हजार ३ सय ६४ मिटरमा अवस्थित छ भने उत्तर बेस क्याम्प ५ हजार १ सय ५० मिटरको उचाइमा अवस्थित छ, जुन तिब्बतमा पर्छ । दक्षिणको सगरमाथा बेस क्याम्पलाई निकै चल्तीको बेस क्याम्प मानिन्छ । बर्सेनि हजारौं पदयात्रीले यो रुटको यात्रा गर्छन् । काठमाडौंदेखि लुक्लासम्म हवाई यात्रापछि पदयात्रा प्रारम्भ हुन्छ । नाम्चे बजार, दूधकोसी नदी, डिङबोचे हुँदै बेस क्याम्पसम्म पुग्न सकिन्छ । 

 

खर्च : ३५ हजार रुपैयाँ (एक जनाका लागि)

समय : १९ दिन

रुट : काठमाडौं, लुक्ला, नाम्चे बजार, थामी, खुम्जुङ, तेङबोचे, लोबुजे ।

 

यात्रामा बोक्नु पर्ने सामानहरू

औषधी, न्यानो कपडा, तातो पञ्जा, चश्मा, न्यानो टोपी, स्लिपिङ ब्याग, पानीको बोतल, ड्राई फुडहरू, इनर्जी ड्रिंक्स, चकलेट, टर्च लाइट, ट्रेकिङ जुत्ता, चक्कु, ह्यान्ड स्यानिटाइजर, ट्राउजर, ह्याट् वा टोपी, सन ब्लक क्रिम, लिप बाम, नक्सा, मेडिकल किट्, क्यामेरा, पावर ब्यांक, सन ग्लास, जिपिएस वा कम्पास । 

 

पदयात्राका फाइदा

पदयात्राले शरीर तन्दुरुस्त राख्न सघाउँछ ।

तनाव घटाउँछ । 

शरीरमा अक्सिजनको मात्रा कम हुन दिँदैन ।

 

नयाँ साथीहरूसँग सम्बन्ध जोड्न सहयोग पुर्‍याउँछ ।

 स्थानीय जनजीवन कला, संस्कृति, रहनसहन एवं जीवनशैली बुझ्न सकिन्छ ।

तौल घटाउन मद्दत पुग्छ ।

 

हड्डी बलियो हुन्छ ।

फोक्सो सफा हुन्छ ।

शरीरमा स्फूर्ति जगाउँछ ।

पदयात्रा गर्दा अपनाउनुपर्ने सावधानी

 

 पदयात्राको अवधि लामो हुने भएकाले यात्रामा निस्कनुअघि दौडने, हिंडडुल गर्ने, साइक्लिङ गर्ने, स्वीमिङ गर्ने आदि कामबाट आफूलाई अभ्यस्त तुल्याउनुपर्छ ।

हरेक दिन प्रशस्त पानी पिउने, हरेक एक–एक घण्टामा पानी पिउने, दिनमा कम्तीमा दुई–तीन लिटर पानी पिउनुपर्छ ।

 

धूम्रपान र मद्यपानबाट टाढै रहने ।

बढी क्यालोरी दिने खानेकुरा खाने ।

आराम गर्ने ।

 

यात्रामा दुर्घटना हुन सक्ने भएकाले स्वास्थ्य बिमा गराउने ।

बाटो बिराउन सकिने भएकाले गाइडलाई पछ्याउने, साथीहरूसँगै हिंड्ने ।

उच्च रक्तचाप हुनेहरूलाई पदयात्रा गर्न गार्‍हो हुन सक्छ त्यसैले धेरै उचाइको यात्रा नगर्नु नै उपयुक्त हुन्छ । 

 

यात्रामा लेक लागेर बान्ता भयो भने ओरालो झर्नुपर्छ भने नियमित पानी पिइरहनुपर्छ । 

प्राथमिक उपचारका सामग्री साथमा राख्न बिर्सनु हुँदैन । 

पचाउन सक्ने खानेकुरा मात्र खानुपर्छ 

 

पानी पर्ने मौसममा सकभर पदयात्रामा नजाने

चाहिनेभन्दा धेरै खानेकुरा नबोक्ने

जथाभावी फोहोर नफ्याँक्ने ।

प्रकाशित :जेष्ठ ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्