Teej banner

सपना, पोल्यान्ड र दिल्ली

- प्रदीप सुवेदी

जेष्ठ ३, २०७५

बिहान ९ बज्न आँटिसकेको थियो, हतार–हतार स्वयम्भूनजिकैको मञ्जुश्री यातायातले सञ्चालन गरेको दिल्ली पुग्ने बस चढेँ । सजधजका साथ यात्रुहरू भरिदै थिएँ, जसमा ३० वर्षभित्रका लक्का जवानहरूको संख्या बढीथियो । महिला अनि पाका उमेरका कमै थिए । निर्धारित समयमै बस छुट्यो । स्वयम्भू–कलङ्की हुँदै थानकोट पुग्नै दुई घण्टा लाग्यो । जाममा बानी परेको मलाई भने खासै बोर लागेन । जाम, धूलो, बाटो र सिस्टमका विषयमा बहस अनि गुनासा गुञ्जदै थिए । म गम्दै थिएँ । कसैलाई भन्नु केही थिएन । केवल त्यहाँ देखिने अनुहारहरूलाई नियाल्नु थियो । मूल्यांकन आफैंलाई बुझाउनु थियो । कोही परिचित छ कि भनेर पछाडिको सिटसम्म नजर घुमाएँ । थानकोटमा बस रोकियो । माइती नेपालका दुई महिला आए ।

 तरुनी देखिने केटीहरूको केरकारपछि बसले गति लियो । आफ्नो सिटअनुकूलका यात्रीहरूसँग परिचय साटासाट भैरहेका थिए । मुग्लिन–नारायणगढमा जाम परेन भने पनि ३० घण्टा लामो यात्रामा थियौं हामी । सबै यात्रु यात्रालाई रमाइलो बनाउने प्रयत्नमा थिए । कसैका हातमा बियरका क्यान थिए, कोही म्युजिक डिमान्ड गर्दै थिए । सबैको गन्तव्य दिल्ली । जसमा धेरैको पोल्यान्ड दूतावास रहेको कुरा बुझे । छेउछाउ सिट भएका सबैसँग परिचय भैसकेको थियो । गफगाफ, हाँसो–मजाक चल्दै थियो । पोल्यान्ड पुगेपछिको काम, तलब र सुविधाका विषयमा बहस चल्दै थिए । 

पी आर, युरोपियन गर्लफ्रेन्ड, समुन्द्री किनार, सस्तो बियर, रातो पासपोर्ट, कम्पनी परिवर्तन आदि–इत्यादि विषय ठट्यौली पारामा वर्णन भैरहेका थिए । केही विद्यार्थी भिसामा जाने पनि थिए, धेरैजसो वर्क प्रमिटवाला । खाना खान भनेर मुग्लिनमा बस रोक्कियो । खाना खाने क्रममै मुग्लिन–नारायणगढसम्मको बाटो सम्झिएँ । जुगेडीमा १४ घण्टा रोकिएको सम्झिए । चार–पाँच चम्चा भात जबर्जस्ती निलेँ । आधा घण्टामा खाईवरी मुग्लिन छोडियो । ३६ किलोमिटर दूरी पार गर्न साढे तीन घण्टा लाग्यो । यो साढे तीन घण्टामा आशा–निराशाका, खुसी र पीडाका, कल्पना र वास्तविकताका खिचडी पाके ।

केही युवा देश बन्नेमा आशावादी देखिए त केही पुरानो पुस्ताका नेता नहटेसम्म केही हुँदैन भन्ने निष्कर्षमा पाइए । दूरदर्शिताको कुरा उठ्यो । सायद यो बाटोको विकल्प निर्माण भएपछि भत्काएको भए– यस्तै–यस्तै प्रहार राजनीति र राजनीति गर्नेहरूप्रति भैरहे । गुनासा, हाँसो–मजाकको यात्रा सुनौली बोर्डरमा केही समय सुरक्षा जाँचका लागि रोकियो । अलिअलि दुव्र्यहार सहनु त सामान्य हो । कतिले कसरी लिए । 

जे होस्, सुरक्षाको हिसाबले गरिएको चेकजाँच थियो त्यो । यस्तो प्रक्रियामा आफैंलाई सम्हाल्नुपर्छ । धेरैको गन्तव्य पोल्यान्ड दूतावास सुनेर भारतीय कर्मचारीले ‘सारा नेपाल पोल्यान्ड जाने भो’ भनेर गरेको व्यंग्यले चसक्क घोच्यो । सुरक्षा जाँचपछि बस विदेशी भूमिमा गुड्न थाल्यो । पहिलो पटक यात्रा गर्नेहरू बाटोको प्रशंसा गर्न थाले । हुन त नेपालको हाइवेका हिसाबले भारतको हाईवेको स्तर धेरै माथि छ । रेल्वे लिङ्क, मेट्रो रेल.., विकासको हिसाबले तुलना नगर्दा हुन्छ, भारत पुगेर रेल देखेका हामीहरूले । त्यसपछि त थप गुनासाहरू गुन्जिन थाले ।

निद हराएको थियो सबैका आँखाबाट, धेरै पर देखिने इन्द्रेणी सपनाले चोरेको थियो सबैको निद । देशमा गर्न खोज्नेहरू तर असफल भएका केही पात्रहरू जसलाई फेसबुकमा जोडेँ, यात्रासँगै मन मिलेकाले, विचार मिलेकाले । रात छिप्पिँदै थियो, मनमा तिक्तता बढ्दै थियो । विदेश जाने भिसा लगाउन पनि विदेश नै पुग्नुपर्ने ? यो कस्तो नियति हाम्रो पुस्ताको ? साँच्चिकै नेपाल रित्तिँदैछ, युवाविहीन हुँदैछ ? मनमा अनुत्तरित प्रश्न उठिरहे । रात–बिहान अनि दिन हुँदै साँझ ५ बजे मज्नुकाटिला पुगियो । ३२ घण्टे बसको यात्रा टुंगियो । एउटा परिवार छुटेर छिन्नभिन्न भएको आभास भयो । सबैको सफलताको कामना गर्दै म अटो चढेर मेट्रो स्टेसनतर्फ लागेँ ।

प्रकाशित :जेष्ठ ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्