नेपालको अविस्मरणीय यात्रा गर्न मन छ

- कृष्ण भट्टराई

जेष्ठ २, २०७५

बलिउड अभिनेत्री करिश्मा कपुर काठमाडौं आउँदैछिन् भन्ने खबर आइतबार साँझदेखि नै अधिकांश सञ्चारगृहमा पुगिसकेको थियो । दरबारमार्गस्थित याक एन्ड यति होटल मार्गमा स्थापना भएको मेरिगोल्ड ज्वेलर्सले इमेलमार्फत सोमबार बलिउड अभिनेत्री करिश्मा कपुरको काठमाडौं भ्रमणका सम्बन्धमा जानकारी गराएको थियो । उक्त ज्वेलर्सको उद्घाटन गर्न करिश्मा केही घण्टाका लागि काठमाडौं आउने तय भएको समाचारमा बताइएको थियो । 

सन् १९९१ मा चलचित्र प्रेम कैदीमार्फत बलिउडमा पदार्पण गरेकी करिश्माले राजा हिन्दुस्तानी, जानवर, कुली नम्बर वान, अनाडी, फिजा, जुबेइदा, दिल तो पागल है जस्ता अत्यन्त सफल चलचित्रमा अभिनय गरेकी छिन् । सन् १९९७ मा प्रदर्शनमा आएको चलचित्र दिल तो पागल हैका लागि भारतको प्रतिष्ठित नेसनल फिल्म एवार्ड जितेकी करिश्माले राजा हिन्दुस्तानीबाट सर्वोत्कृष्ट अभिनेत्रीको फिल्मफेयर एवार्ड हात पारेकी थिइन् । यद्यपि लामो समयदेखि उनी चलचित्रमा छैनन् । करिश्माकै शब्दमा ‘म यतिबेला आफ्ना छोराछोरी हुर्काएर बसेकी छु ।’ 

मेरिगोल्ड ज्वेलर्सकी सञ्चालिका ज्योत्सना श्रेष्ठका अनुसार पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार बिहान करिब ९ बजे करिश्मा काठमाडौं अवतरण गरिन् अनि विमानस्थलबाट सोझै होटल याक एन्ड यति पुगेर केही बेर आराम गरिन् । त्यसपछि मेकओभर गरेर ड्ेरस चेन्ज गरेपछि करिश्मा सेतो रंगको कारमा मेरिगोल्ड ज्वेलर्सको शोरुममा झुल्किइन् । ज्वेलर्सको मुख्यद्वारको रिबन काट्नुअघि करिश्माले त्यसको पछिल्लो भागमा निर्माण गरिएको स्टेजमा उक्लिएर पानसमा सजाइएको बत्ती बालिन् । त्यसपछि उनले छोटो औपचारिक समारोहलाई सम्बोधन गरिन् । आफ्नो झन्डै दुई मिनेटको भाषणका क्रममा करिश्माले पन्ध्र वर्षपछि दोस्रो पटक नेपाल आउँदा खुसी लागेको बताइन् । रातो रङको स्लिभलेस गाउनमा सजिएकी करिश्माले औपचारिक उद्घाटनपछि दरबारमार्गको मुख्य सडकतर्फ फर्किएको ज्वेलर्सको मुख्यद्वारमा राखिएको रिबन काटिन् । रिबन काटेर सुनका गरगहनाले सजिएको शोरुमको अवलोकन गर्दै करिश्मा दोस्रो शोरुमको रिबन काट्न पुगिन् । दोस्रो शोरुममा हीराका गरगहना सजाइएका थिए । 

पहिलो तथा दोस्रो शोरुमको रिबन काटुन्जेलसम्ममा करिश्मा कपुरलाई आफ्नो क्यामेरामा कैद गर्न दर्जनौं फोटो/भिडियो पत्रकारहरू दरबारमार्गमा भेला भैसकेका थिए । आयोजकहरूको अपेक्षाभन्दा अत्यन्त बढी सञ्चारकर्मीको उपस्थितिले अभिनेत्री कपुरलाई समेत नर्भस बनाएको देखिन्थ्यो । मध्यान्नको चर्को गर्मीका बीच करिश्माले शोरुमभित्रै आराम गर्न चाहिन् । आयोजकले सम्पूर्ण सञ्चारकर्मीलाई शोरुमबाट बाहिर जान आग्रह मात्र गरेनन्, आगन्तुकहरूलाई समेत भीड नगर्न आग्रह गरे । करिब १५ मिनेट आराम गर्ने क्रममा करिश्मासँग सेल्फी खिच्न खोज्ने उच्च घरानाका आगन्तुकहरूको घम्साघम्सी चलिरह्यो । त्यसक्रममा करिश्माले उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग लामै कुराकानी गरिन् । 

झन्डै आधा घण्टाको विश्रामपछि आयोजकले करिश्मालाई भित्री बाटोबाट नजिकैको द ओपन हाउस रेस्टुराँ पुर्‍याए, जहाँ पूर्वनिर्धारित पत्रकार सम्मेलनको तयारी भैरहेको थियो । उद्घाटनका क्रममा सञ्चारकर्मीको बाक्लो उपस्थितिबाट आत्तिएका आयोजकहरूले पत्रकार सम्मेलनमा सीमित सञ्चारकर्मीलाई मात्र प्रवेश गराए । विशेष गरी टेलिभिजन पत्रकारहरूका लागि खुला गरिएको पत्रकार सम्मेलनमा करिश्मा कपुरले करिव दस मिनेट विभिन्न जिज्ञासाको जवाफ दिएकी थिइन् । सञ्चारकर्मीहरूसँग वार्तालाप गरेपछि करिब १ बजेतिर करिश्माले लञ्च गरिन् । त्यसपछि केही समय आराम गरेपछि उनी दिउँसो २ बजे पुन: विमानस्थलतर्फ लागिन् भने साँझ ४:१५ बजेको फ्लाइटबाट मुम्बई प्रस्थान गरिन् । मेरिगोल्ड ज्वेलर्सले आयोजना गरेको पत्रकार सम्मेलनमा करिश्माले सञ्चारकर्मीका विभिन्न जिज्ञासाको जवाफ दिएकी थिइन् । 

नेपाल भ्रमणका लागि यति छोटो समय किन ? 

(हाँस्दै) वास्तवमा मलाई लामो समय बस्न मन थियो । यद्यपि यसपटक त्यो सम्भव भएन । इमान्दारितापूर्वक भन्नुपर्दा मैले आजै (सोमबार) फर्कनुपर्नेछ । किनभने आज मैले आफ्नो नजिकको साथीको वैवाहिक समारोहमा सहभागी हुनुपर्नेछ । (करिश्मा गत मंगलबार सम्पन्न सोनम कपुरको वैवाहिक समारोहमा सहभागी भैसकेकी छिन् ।) 

सोनम कपुरको विवाह भन्न खोज्नुभएको हो ? 

हो, उनको विवाहका हरेक फङ्सनमा सहभागी हुनुपर्ने भएकाले म केही घण्टाका लागि मात्र काठमाडौं आउन सकें । यद्यपि भविष्यमा म अलि बढी समय लिएर नेपाल आउनेछु । 

छोटै समय भए पनि यो भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ ? 

भ्रमण छोटो भए पनि असाध्यै मीठो भयो । सबैको माया पाएर असाध्यै खुसी लाग्यो । 

नेपाल र नेपालीलाई कसरी हेर्नुहुन्छ ? 

म नेपाल तथा नेपालीको असल साथी तथा शुभचिन्तक हुँ । मलाई नेपाल आउन पाउँदा असाध्यै खुसी लागेको छ । मलाई सगरमाथाको यो देश मन पर्छ । यसका साथै नेपाल र भारतबीच कला, संस्कृति, धर्म, रहनसहन, जीवनशैली आदि धेरै कुरामा समानता छ । यिनै कारण गर्दा होला हामी भारतीय कलाकारहरू नेपाल खासगरी काठमाडौं भ्रमण गर्ने मौका हत्तपत्त गुमाउन चाहँदैनौं । मेरो यो छोटो भ्रमणको कारण पनि त्यही नै हो । 

यो भ्रमणका क्रममा कुनै विशेष स्थानको भ्रमण गर्ने अवसर जुर्‍यो कि ? 

त्यसो गर्न पाएको भए म आफूलाई असाध्यै भाग्यमानी मान्थें । यद्यपि अर्को पटकको भ्रमणमा म काठमाडौंका विशेष अनि सुन्दर ठाउँहरू घुम्ने गरी आउनेछु । 

यसअघि नेपाल आउनुभएको थियो ? 

१५ वर्षअघि म पहिलो पटक नेपाल आएकी थिएँ । 

बलिउडमा आफूलाई कुन स्थानमा पाउनुहुन्छ ? 

बलिउडमा अहिले म कुन स्थानमा छु भन्दा पनि मैले बलिउडमा कपुर खान्दानको चौथो पुस्तालाई प्रतिनिधित्व गरिरहेकी छु भन्ने कुराले गौरवान्वित छु । 

गरगहनाप्रतिको तपाईंको लगाव कस्तो छ ? 

म मात्र होइन हरेक नारी गरगहना भनेपछि हुरुक्क हुन्छन् । म पनि गरगहनाप्रति सहजै आकर्षित हुन्छु । त्यही आकर्षणका कारण पनि आज म काठमाडौंमा खुलेको एउटा नयाँ ज्वेलर्सको उद्घाटन गर्न आइपुगेकी हुँ । 

नेपाली संस्कृतिलाई कसरी नियाल्नुभएको छ ? 

मलाई नेपालको परम्परागत संस्कृति असाध्यै मन पर्छ । यो वास्तवमै सुन्दर छ । 

नेपाली गरगहनाचाहिँ कस्ता लागे नि ? 

मैले शोरुम भ्रमणका क्रममा केही नेपाली गहना नजिकबाट नियाल्ने मौका पाएँ । त्यस क्रममा मैले के पाएँ भने नेपाली गहना पनि अन्तर्राष्ट्रिय स्तरका भैसकेका रहेछन् । नेपाली गहना झट्ट हेर्दै अलग देखिने रहेछन् । 

कुन गहना सबैभन्दा बढी मन पराउनुभयो ? 

मलाई मंगलसूत्र असाध्यै मन पर्‍यो । त्यसको डिजाइन निकै टिपिकल लाग्यो ।

तपाईंसँग गहनाको कस्तो संकलन छ ? 

त्यस्तो ठूलो संकलन त छैन, तर हरेक नारीझैं म पनि हीरा भनेपछि हुरुक्क हुन्छु । हीरालाई हरेक नारीको असल साथी पनि भनिन्छ । अर्को कुरा हामी महिलालाई जति नै गरगहना भए पनि पुग्दैन । ममा पनि यो कुरा लागू हुन्छ । 

गरगहना लगाएर हिँड्न रुचाउनुहुन्छ ? 

मलाई छरिता गहना मन पर्छन् । म साधारण पहिरनकी पारखी हुँ । पहिरनझैं गहना पनि सामान्य नै मन पर्छ । विशेष समारोहबाहेक गरगहनाले ढाकिएर हिँड्न रुचाउँदिनँ । यद्यपि हरेक नारीको सुन्दरतालाई सुन्दर गरगहनाले थप आकर्षक बनाउने कुरामा भने दुई मत छैन । 

गहना र नारीको सम्बन्धलाई कसरी व्याख्या गर्नुहुन्छ ? 

मेरो विचारमा हरेक नारी आफैंमा सुन्दर हुन्छन् । गहनाले नारीको सौन्दर्यलाई अझ चम्काउने काम गर्छ । 

पहिलो चलचित्र प्रेम कैदी (१९९१) देखि जुबैद (२००१) सम्मको अभिनय यात्रालाई कसरी सम्झन चाहनुहुन्छ ? 

मलाई लाग्छ, म आफ्नो अभिनय करियर सँगसँगै हुर्किएकी हुँ । मेरो पहिलो चलचित्र प ्रेम कैदी मेरो १७ औं जन्मोत्सवभन्दा एक साताअघि मात्र प्रदर्शनमा आएको थियो अर्थात् बलिउडमा डेब्यु गर्दा म जम्मा १६ वर्षकी बच्ची थिएँ । त्यो उमेरबाट प्रारम्भ भएको मेरो बलिउड यात्राले अहिले २६ वर्ष पूरा गरिसकेको छ । यो अवधिमा मैले बलिउड चलचित्र उद्योगमा ठूलो परिवर्तन देखेकी छु, धेरै विकास भएको पाएकी छु । यो साढे दुई दशकको अवधिमा धेरै प्रकारको पुस्ता चलचित्रमा आइसकेको छ । मलाई लाग्छ, म बलिउडमा एउटा उत्कृष्ट जीवन बाँच्न सफल छु । यसका लागि म नेपाल, भारत तथा विश्वभर रहेका आफ्ना सम्पूर्ण प्रशंसकहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।

कपुर खानदानबाट चलचित्रमा आउने पहिलो महिला सदस्य हुन पाउँदा कस्तो लागेको छ ? 

यो मेरा लागि गौरवको कुरा त हुँदै हो, यद्यपि सुरु–सुरुमा यो मेरा लागि चुनौतीको विषय पनि थियो । आफूलाई अब्बल साबित गर्न मैले कडा परिश्रम गर्नुपरेको थियो । किनभने त्यतिबेला मबाट धेरैले धेरै ठूलो आशा राखेका थिए । म एउटा ठूलो परिवारकी छोरी भएकाले मात्र होइन, मेरा हजुरबुवा, बुवा–आमा, काका–काकीहरू नै एकसे एक प्रतिभाशाली कलाकार भएकाले मबाट सबैले त्यस्तै अपेक्षा गर्नु नौलो कुरा पनि थिएन । यद्यपि उक्त कुराले मलाई एउटा व्यक्ति तथा एउटी अभिनेत्रीका रूपमा कडा मेहनत गर्न मोटिभेट पनि गरिरहेको थियो । त्यसैकारण मैले एकपछि अर्को चलचित्रमा उत्कृष्ट काम गर्न सकें, गर्न बाध्य पनि भएँ । 

निकट भविष्यमा पुन: बलिउडमा पुनरागमन गर्ने सम्भावना कत्तिको छ ? 

अहिले नै त छैन । मेरा छोरा (कियान राज कपुर) तथा छोरी (समाइरा कपुर) निकै साना छन् । अहिलेको मेरो दायित्व अनि प्राथमिकता उनीहरूलाई हुर्काउनु र पढाउनु हो । अहिले म आफ्नो अधिकांश समय उनीहरूलाई नै दिइरहेकी छु । यतिबेला मैले चलचित्रलाई समय दिनु भनेको लामो समय घरबाट बाहिर रहनु हो । आजको मितिमा म परिवारबाट धेरै दिनसम्म टाढा रहन सक्दिनँ । यद्यपि भविष्यमा पुन: चलचित्रमा आउने सम्भावनालाई चाहिँ नकार्दिनँ, किनभने भविष्य कसैले देखेको हुँदैन । 

नेपाली चलचित्रका बारेमा कस्तो जानकारी राख्नुभएको छ ? 

नढाँटी भन्नुपर्दा मलाई नेपाली चलचित्रका बारेमा खासै जानकारी छैन । यद्यपि जसरी आज मैले नेपाली गरहगनाहरूका बारेमा जानकारी हासिल गरें, गहनाकै लागि यहाँ आएँ । त्यसैगरी भविष्यमा म नेपाली चलचित्रकै लागि यहाँ भएँ भने अचम्म नमान्नु होला ।

प्रकाशित :जेष्ठ २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्