पर्याप्त अवसर मेडिकल प्राविधिकमा

- साप्ताहिक संवाददाता

जेष्ठ १, २०७५

 

 

४ लाख ८५ हजार विद्यार्थी चैत्रमा सञ्चालित एसईई परीक्षा दिएर उच्च शिक्षाका लागि परीक्षाफल कुरिरहेका छन् । दुई वर्षअघि एसएलसीलाई एसईई बनाइएपछि अब विद्यार्थीहरू अनुत्तीर्ण हुँदैनन् ।

मापन प्रणालीमा सुधार गर्दै विद्यार्थीले ल्याएको प्रतिशतलाई ग्रेडिङमा ढालेसँगै विद्यार्थीहरूको पठनपाठनको विषय ग्रेडिङकै आधारमा तय हुन्छ । ग्रेडिङअनुसार विषय छनौट हुँदा तल्लो ग्रेडिङ ल्याउनेहरूमा प्राविधिक विषय पढ्न नपाइने हो कि भन्ने चिन्ता हुनु स्वभाविक हो ।

यद्यपि प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले सञ्चालन गर्ने मेडिकल प्राविधिक विषयहरू खुला रहन्छन् । यी तालिमलाई नेपालका विश्वविद्यालयको प्रमाणपत्र तह सरहको मान्यता प्राप्त छ ।

व्यवसायिक शिक्षाअन्तर्गत मेडिकल क्षेत्रमा पनि थुप्रै विषयमा प्राविधिक शिक्षा उपलब्ध छन् । जसको अध्ययन पश्चात मध्यमस्तरको रोजगारी निश्चित छ । प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) सानोठिमी, भक्तपुरले सञ्चालन गरिरहेको चिकित्सा क्षेत्रको प्रवीणता प्रमाणपत्र तहका विभिन्न कार्यक्रमलाई सरकारले शैक्षिक आधार प्रदान गरेपछि यी विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूको संख्या अझ बढ्ने निश्चित छ । 

सिटिइभिटी अन्तर्गतका सबै शैक्षिक कार्यक्रममा भर्ना पाउने आधार एउटै छ । नर्सिङ (स्टाफ नर्स), डिप्लोमा इन फार्मेसी, एचए, डेन्टल सहायक तथा ल्याब टेक्निसियन कुनै पनि कार्यक्रममा भर्ना हुन विद्यार्थीले एसईई कम्तीमा बी ग्रेड ल्याएको हुनुपर्छ ।

इच्छुक उम्मेदवारले सम्बन्धित क्याम्पसबाट आवेदन दर्ता गराइसकेपछि तोकिएको मितिमा प्रवेश परीक्षा दिनुपर्छ । प्रवेश परीक्षामा अंग्रेजी, अनिवार्य गणित तथा विज्ञान गरी तीन विषयमा ५०–५० अंक गरी १५० अंकको वस्तुगत प्रश्न सोधिन्छ ।

४० प्रतिशत अंक ल्याए परीक्षार्थी उत्तीर्ण भए पनि भर्ना पाउन उत्कृष्टताको सूची हेरिने भएकाले जति बढी अंक ल्यायो भर्ना पाउने उति नै सम्भावना बढी हुन्छ । एउटा कार्यक्रमका लागि आवेदन दिएको उम्मेदवारले अर्को कार्यक्रमको सिट खाली भए पनि भर्ना पाउन सक्छ ।

व्यवसायिक शिक्षा अन्तर्गत शैक्षिक योग्यता कायम नहुने सिटिइभिटीको पाठ्यक्रमलाई त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाण पत्र तह बराबरको मान्यता दिइएको छ । सिटिइभिटीअन्तर्गत ९१ वटा कलेजमा प्रमाणपत्र तह नर्सिङको अध्यापन हुन्छ । त्यस्तै २३ वटा कलेजमा डिप्लोमा इन फार्मेसी, ४८ वटा कलेजमा स्वास्थ्य सहायक (एचए), ५ वटा कलेजमा डेन्टल सहायक, ४५ कलेजमा मेडिकल ल्याब टेक्सिनिसियन, एउटामा होमियोप्याथी तथा एउटामा डिप्लोमा इन अप्थाल्मिक साइन्सको अध्यापन गराइन्छ । 

स्वास्थ्य सहायक (एचए) 

स्वास्थ्य सहायक अर्थात एचए निकै पुरानो पाठ्यक्रम हो । यसको सुरुवात त्रिभुवन विश्वविद्यालयबाट भए पनि हाल यो पाठ्यक्रमको अध्यापन सिटिइभिटीअन्तर्गत कलेजमा मात्र सीमित छ । चिकित्सकको संख्या कम हुनु र भएका चिकित्सकहरू पनि सहरी क्षेत्रमा सीमित भएकाले एचएमा रोजगारीको अवस्था राम्रो छ । खासगरी ग्रामीण क्षेत्रमा ‘डाक्टर’ का रूपमा चिनिने एचएले सामान्य विरामीहरूको राम्रो उपचार गर्न सक्ने तथा सामान्य चिरफार, प्रस्तुति सेवा पनि दिन सक्ने हुन्छ । यसबाहेक एमबीबीएसको अध्ययन गर्ने अवसर पनि प्राप्त गर्न सकिने भएकाले, एचएको अध्ययन राम्रो मानिन्छ ।

एचए अध्ययनका लागि दर्ता भएका ४५ वटा शिक्षालयमध्ये चारवटा नेसनल एकेडेमी फर हेल्थ साइन्स बल्खु, नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स बौद्ध, होली भिजन क्याम्पस वानेश्वर तथा नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजि थापाथली, काठमाडौंमा छन् । हेल्थ असिस्टेन्ट अध्ययनका लागि स्कुल अफ हेल्थ साइन्स भरतपुर, चितवनमा ६२ वटा सीट छन्, भने बाँकी अन्य सबै कलेजहरूमा ४०–४० सिट छुट्याइएको छ । एचए अध्ययनका लागि काठमाडौंबाहेक विराटनगर, धनगढी (कैलाली), महेन्द्रनगर (कञ्चनपुर) राजविराज, वीरगन्ज, बुटबल, पोखरा, नेपालगन्ज, जनकपुर तथ उर्लाबारी (मोरङ) मा कलेज छन् ।

डिप्लोमा इन फार्मेसी 

नेपाल सरकार औषधी व्यवस्था विभागले औषधी बिक्री–वितरण गर्न न्यूनतम योग्यता डिप्लोमा इन फार्मेसी गर्नुपर्ने प्रावधान राखेको कारणले गर्दा हाल डिप्लोमा इन फार्मेसीको अध्ययनमा धेरैको रुचि छ । डिप्लोमा इन फार्मेसी अध्ययन गरेका विद्यार्थीले स्नातक तहमा पनि सोही विषयमा अध्ययन गर्ने अवसर पनि पाउँछन् । औषधी–बिक्री वितरणमा १६ देखि ३० प्रतिशतसम्मको मुनाफा हुने भएकाले पनि प्राय: विद्यार्थीले यो विषयको अध्ययनपश्चात् आफैं व्यापार गर्न सक्ने फार्मेसी कक्षा सञ्चालन गरिरहेको पिनाकल एकेडेमीका प्रिन्सिपल ऋषी तिवारी बताउँछन् । तिवारीका अनुसार व्यवसायिक शिक्षाअन्तर्गत पनि फार्मेसीको अध्ययनमा पर्याप्त अवसर छ । काठमाडौं उपत्यकाभित्र १० वटा कलेजमा डिप्लोमा इन फार्मेसी अध्यापन हुन्छ । सिटिइभिटीअन्तर्गतका सबै कलेजमा ४०–४० वटा सीट उपलब्ध छ । सिटिइभिटीको आफ्नै आगिंक शिक्षालय स्कुल अफ हेल्थ साइन्स चितवनले डिप्लोमा इन फार्मेसी सञ्चालन गरेको छ । 

डेन्टल साइन्स

पाँचवटा कलेजमा डेन्टल सहायक अध्यापन हुन्छ । काठमाडौं मोडल हस्पिटल, स्कुल अफ ओरल हेल्थ बागबजार, समाज स्कुल अफ डेन्टिस्ट्री नयाँ बानेश्वर, हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स जोरपाटी, कान्तिपुर स्कुल अफ डेन्टिस्ट्री बसुन्धरा, कान्तिपुर स्कुल अफ डेन्टिस्ट्री पोखराले ४०–४० सिटका लागि डेन्टल साइन्स अध्यापन गराउँछन् । एकातर्फ दाँतका बिरामीको संख्या बढ्दो रहेको र अर्कातर्फ कस्मेटिक उद्देश्यले दाँतको माध्यमबाट सौन्दर्य बढाउने फेशन चलेकाले डेन्टल साइन्सको अध्ययन उपयुक्त छ । हाम्रो मुलुकको सन्दर्भमा दाँतको उपचारका लागि मध्यमस्तरको जनशक्तिको कमी भएकाले रोजगारका दृष्टिकोणले यो विषयको अध्ययन उत्तम देखिन्छ । 

ल्याब टेक्निसियन

प्रयोगशाला अर्थात् ल्याबबिना स्वास्थ विज्ञान नै अपुरो हुन्छ । त्यसैले प्रमाणपत्र तहको ल्याब टेक्निसयनको महत्त्व बढ्दो छ । अस्पतालको संख्या बढ्दै गएकाले ल्याब टेक्निसियनहरूले अध्ययनपश्चात् तुरुन्तै रोजगारी प्राप्त गर्न सक्छन् । सिटिइभिटीको आफ्नै १ र सम्बन्धनप्राप्त ४४ गरेर ४५ शिक्षालयले प्रमाणपत्र तहमा मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउँछन् । भरतपुर चितवनस्थित स्कुल अफ हेल्थ साइन्स सिटिइभिटीको आफ्नै शिक्षालय हो, जसमा ३० सिटका लागि ल्याब टेक्निसियन अध्यापन हुन्छ ।

रेडियोग्राफी

रेडियोग्राफी पनि चिकित्साशास्त्रको एउटा अभिन्न अङ्ग हो । एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान र एमआरआईजस्ता विषयमा रेडियोग्राफी अध्ययन गर्ने विद्यार्थीले ज्ञान हासिल गर्छन् । सिटिइभिटीले १५ वटा शिक्षालयलाई प्रमाणपत्र तह रेडियोग्राफीको सम्बन्धन दिएको छ । डिप्लोमा इन रेडियोग्राफी प्रमाणपत्र तहको दुईवर्षे कोर्स हो । सामान्य एक्सरे, विशेष किसिमका एक्सरेहरू सिटी स्क्यान तथा एमआरआइ गर्न रेडियोग्राफर नभई हुँदैन । हाम्रो देशको परिप्रेक्ष्यमा रेडियोग्राफी अध्ययन गरेका विद्यार्थीको सधैं अभाव छ । कतिपय अवस्थामा अस्पतालले आफ्नै स्रोतमा तालिम उपलब्ध गराएका गैर्‍हप्राविधिकहरूले रेडियोग्राफरको भूमिका निर्वाह गर्दै आएका छन् । त्यसकारण पनि यो विषयको अध्ययन रोजगारीका दृष्टिकोणले सफल मान्न सकिन्छ । 

प्रकाशित :जेष्ठ १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्