सनमलाई रूखमा बाँधेर गोरेले पाइपले कुटे

  • टेकराजले करेन्ट लगाउँदा सास गयो

- साप्ताहिक संवाददाता

वैशाख ३१, २०७५

 

९ माघमा अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको साढे ३३ किलो सुन बाटैबाट गायब भयो । हराएको उक्तसुन पत्ता लगाउने क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या सुन तस्करीका नाइके गोरेको समूहले करेन्ट लगाउँदै यातना दिएर गरेको खुलासा भएको छ । उक्त समूहले उर्लाबारी–१, कान्छी चोकदेखि ३ किलोमिटर उत्तरमा पर्ने घना जंगलमा पुर्‍याएर यातना दिने क्रममा सनमको मृत्यु भएको अनुसन्धानमा संलग्न प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । 

हत्यामा संलग्नमध्ये एक काभ्रेपलान्चोकका २९ वर्षीय टेकराज मल्ल ठकुरी पक्राउ परिसकेका छन् । ‘पहिले गोरेले हराएको सुन पत्ता लगाउन जंगलको रूखमा बाँधे,’ टेकराजले प्रहरीसमक्ष दिएको बयानमा भनेका छन्, ‘त्यसपछि पाइपै पाइपले लोत हुने गरी आधा घण्टासम्म कुटे ।’ गोरेले मरणासन्न हुने गरी कुटपिट गर्दासमेत सुनका बारेमा चुइँक्क नबोलेपछि आफूले करेन्ट लगाउने क्रममा सनमको मुत्यु भएको ठकुरीले प्रहरीलाई दिएको बयानमा कबोल गरेका छन् । 

यसरी भयो 

सनम शाक्यको हत्या 

हराएको साढे ३३ किलो सुन खोज्न गोरेसहितको टिम काठमाडौंबाट पूर्वतर्फ हान्नियो । उनीहरू पूर्व आएको मोहन काफ्ले र सनम शाक्यले थाहा पाए । त्यसपछि उनीहरू भागेर भारतको आसामतिर लागे । उक्त कुरा थाहा पाएपछि गोरेले उनीहरूको परिवारलाई ‘कहाँ छ बोलाऊ’ भनेर दबाब दिए । परिवारलाई दबाब दिइएको जानकारी पाएपछि उनीहरू गोरेको सम्पर्कमा आए ।

भारत, पश्चिम बंगालको सिलगुडीमा सनम र मोहनसँग गोरेको भेट भयो । त्यहाँ अलिअलि कुटपिट पनि भयो । अरूसँग पनि सोधखोज गर्दा मोहन, सनम, रुस्तम मियाँ, कृष्ण भनिने नरेन्द्र कार्कीमाथि गोरेको शंका बढ्यो । गोरेले सत्य कुरा बाहिर निकाल्ने नयाँ उपाय लगाए–सबै जना पिकनिक जाने । उनीहरू उर्लाबारी नजिकैको जंगलमा पिकनिक गए अनि त्यसपछि फर्किएर धरानस्थित निर्वाना क्लबमा बसे । उनीहरू जहाँ–जहाँ बस्थे गोरेले हराएको सुन पत्ता लगाउन एक–अर्कालाई कुट्न लगाउँथे । त्यस क्रममा कहिले सनमले अरूलाई पिट्थे भने कहिले उनी आफैं पिटाइ खान्थे ।

त्यसबीच गोरे सुन हराउनुमा सनम, नरेन्द्र र मोहनको हात छ भन्ने निष्कर्षमा पुगे । भविन राईले सुन हराएको दिन सनम शाक्य काठमाडौंमै रहेको बताए । सुन हराएको जानकारी पाउँदासमेत ‘पूर्वमा छु भनी सनमले ढाँटेको मोहन र नरेन्द्रलाई थाहा भएको’ पत्ता लाग्यो । ‘सालाको विवाहमा उर्लाबारी जान्छु’ भनी सनम कथित प्रेमिका निशा सेन ठकुरीसँग काठमाडौंको होटलमा बसेको रहस्य पनि खुल्यो ।

त्यसपछि पनि गोरेले उनीहरूलाई सँगै लिएर हिडे । उनीहरू फरक–फरक गाडीमा हिँड्थे । फागुन १८ गते उर्लाबारी–१, कान्छी चौक सोल्टीखोला नजिकको चौरमा पुग्दा गोरे पहिले नै पुगिसकेका रहेछन्, ठकुरीले भनेका छन्, ‘गोरे मोहन काफ्लेको हात खुट्टा बाँधी पाइपले कुट्दै थियो । सनम र नरेन्द्र म चढेको गाडीमा थिए । उनीहरूलाई पनि गाडीबाट निकालेर हातखुट्टा बाँधी पाइपले कुट्न थाल्यो ।’

मानिसहरूले देख्ने भएपछि काफ्ले र शाक्यलाई जंगलमा लगियो अनि रूखमा बाँधेर कुटियो । फेरि गाडीमा राखेर करेन्ट लगाइयो । सनम बेहोस भए तर सुनका सम्बन्धमा मुख खोलेनन् । ठकुरीले गोरेलाई भने— सनम त बेहोस भयो । सुनका सम्बन्धमा नबोलेसम्म करेन्ट लगाउन नछोड्नु भन्ने गोरेको निर्देशन थियो ।

सनमले कुनै प्रतिक्रिया जनाउन छाडे । ‘मर्‍यो कि भनेर हेर्दा धड्कन नचलेको पाइएपछि मर्न त दिनु हुन्न भनेर हतारहतार ड्राइभरलाई ग्लुकोज लिन पठाएँ,’ उनले आफ्नो बयानमा भनेका छन्, ‘ग्लुकोज लिएर आउँदासम्म सनमको मृत्यु भैसकेको थियो । त्यसपछि के गर्ने भन्ने सल्लाह भयो ।’ केहीले सनमको लास कोसी वा त्रिशूली नदीमा फालिदिनुपर्छ भने । कसैले काल्पनिक एक्सिडेन्ट सेट गरेर छाडी दिनुपर्ने बताए ।

यता गोरेले जंगलमै खाल्डोमा पुर्नुपर्छ भनेर लाक्पा शेर्पा र टुकबहादुर मगरलाई खाल्डो खन्न लगाए । ‘अलिकति खनेपछि उसले कता फोन गर्‍यो र खाल्डो खन्न छोड्दे भन्यो,’–ठकुरीले भनेका छन् । उनीहरू गाडीमा लास हालेर धरानको निर्भाना कन्ट्री क्लब पुगे । कोही बियर पिउन थाले, कोही गफमा अलमलिए ।

ठकुरीको बयान अनुसार उनीहरूको योजना धरानबाट बिहानमात्र हिड्ने थियो तर कसैले गोरेलाई फोनमा सनम मरेको कुरा उर्लाबारीमा थाहा भैसकेको जानकारी दियो । त्यसपछि उनीहरू तितरबितर भए । यद्यपि गोरे र ठकुरीचाहिँ सँगै थिए ।

टेकराजले लिए शव 

लुकाउने जिम्मा

करेन्ट लगाउँदा–लगाउँदै सनमको मृत्यु भएपछि शव लुकाउने जिम्मा गोरेले ठकुरीलाई नै दिए । उनले शाक्यको लास माथि तौलिया राखी बिरामी भएजस्तो देखाई गाडी धरानको निर्भाना कन्ट्री क्लबतिर लगे । ठकुरीसँगै सुरेन्द्र गौतम, टुक बहादुर मगर, रोहित आचार्य, कृष्ण भनिने नरेन्द्र कार्की तथा लाक्पा शेर्पा अन्य गाडीमा कन्ट्री क्लब पुगे । क्लबमा पुगेपछि कोही बियर पिउन थाले कोही गफ गर्न थाले । सनम मरेको खबर उर्लाबारीमा हल्ला भएको जानकारी पाएपछि भबिन राई, रुस्तम मियाँ, रोहित आचार्य तथा राजन ड्राइभरलाई गोरेले ३/३ हजार दिएर काठमाडांै पठाए । मोहन काफ्ले र कृष्ण भनिने नरेन्द्र कार्कीले घटनाका सम्बन्धमा कसैलाई जानकारी नदिने भनेपछि मे १ च ५३९५ नम्बरको टाटा हाइलक्स गाडी लिएर उनीहरू आ–आफ्नो घरतर्फ लागे । 

एकछिनमा गोरेले संजेल (सई बालकृष्ण संजेल) मामालाई फोन गरे अनि सनमको मृत्यु भएको जानकारी गराए । गोरेले मामा केस मिलाइदिनु तपाईंलाई २ करोड रुपैयाँ दिन्छु भन्दै फोन राखे । ‘फोन राखेपछि गोरेले मलाई सनमको लास जिम्मा लिऊ तिम्रो परिवारलाई ५० लाख रुपैयाँ दिन्छु र केस सेटल पनि गराइदिन्छु भने । मैले हुन्छ भनें, ठकुरीको बयानमा उल्लेख छ । लास जिम्मा लगाउँदा गोरेले अपराध महाशाखाका प्रहरीसँग सबै कुरा भैसकेको र टोली नआउन्जेलसम्म धरानमा लास घुमाएर बस् भने ।

महाशाखाबाट प्रहरीको टोली आइपुगेपछि तँलाई भेटेर सबै कुरा उनीहरूले नै मिलाउँछन् । तैंले चिन्ता लिनु पर्दैन । तँलाई जसरी पनि अदालतबाट निकाल्ने काम मेरो हो भनी मलाई विश्वास दिलायो, त्यसपछि म गाडी लिएर निस्किएँ, उनले आफ्नो बयानमा भनेका छन् । 

गोरेले मामा भन्ने सई संजेल डिएसपी प्रजित केसीसँगै आए । उनीहरूसँग एक रात होटलमा सँगै बसेको बयान पनि ठकुरीले दिएका छन् । इटहरीस्थित स्वस्तिका होटलको कोठा नम्बर ५०६ मा केसी तथा ५०९ मा प्रहरी जवान मेष राना, प्रहरीको गाडी चालक र म बस्यौं । संजेल मामा ५१० मा बसे,–ठकुरीले आफ्नो बयानमा भनेका छन् ।

प्रहरी टोलीसँग लास कतै जंगलमा लगेर फाल्ने कुरा भयो । दुहबी आएपछि केसीले मेष रानालाई फोन गरे । उनले जंगल खोजेर लासको व्यवस्थापन गर्न भने । त्यसपछि हामी दुहवी बजारबाट दाहिनेतर्फ लाग्यौं, उनको बयानमा उल्लेख छ । यद्यपि त्यहाँ जंगल नभेटिएपछि विराटनगरतर्फ आउने क्रममा सँगै बसेका प्रहरीले हतकडी लगाएर आफूलाई गिरफ्तार गरेको ठकुरीले बयान दिएका छन् ।

गोरेसहित सबैलाई कारबाही होस् अल्पायुमै छोरा र श्रीमान् गुमाएर पीडामा रहेकी सनम शाक्यकी आमा कल्पना तथा श्रीमती सुनिताको अनुहार मलिन देखिन्थ्यो । ३६ वर्षका सनमको हत्यापछि उनीहरू अझै पनि टोलाइ रहेका देखिए । 

उर्लाबारी–७ स्थित सनमको घरमा पुग्दा उनीहरूले एकै स्वरमा भने–दोषी जति सबैलाई कडा कारबाही हुनुपर्छ । साप्ताहिकसँग कुरा गर्दै सनमकी आमा कल्पनाले मेरो जेठो छोराको हत्या गर्ने मुख्य नाइके गोरे र पक्राउ परेका अन्य अभियुक्तलाई कडा कारबाही होस् भनिन् । आफ्नै गाउँमा सानोतिनो कारोवार गरेर छोराले जीवन चलाइरहेको थियो, घरको बलेसीमा बसेकी आमा कल्पनाले मलिन स्वरमा भनिन्–एक छोरी र श्रीमतीसँग आफ्नो परिवारमा रमाइरहेको थियो । उसमा लोभलालच पनि थिएन । कल्पना भन्छिन्–घर बेचेर अन्तै घडेरी किनी घर बनाउने र उब्रिएको पैसा ठेक्कापट्टामा लगाउने योजना थियो, तर दुई वर्ष अघि विकेश र गोरे भन्ने साथीले फकाएर छोरालाई काठमाडौं लगे ।

कल्पना भन्छिन्— गोरेको व्यापारको लेखा हेर्ने काम गर्छु भन्थ्यो । हामीलाई सामान्य तलब छ भन्थ्यो । हामीलाई कहिल्यै ठूलो रकम ल्याएर दिएको पनि छैन, उनले भनिन् । एक पल्ट बुहारी र छोरीलाई काठमाडौं घुमाउन लगेको थियो, उनले भनिन्–त्यत्ति हो, त्यो पनि मेरो करले । सम्पत्तिको नाममा हाम्रो यही एउटा चिया पसल र काठको यही घर हो । जीविका चलाउने अर्को उपाय छैन । गोरेले नबोलाएको भए मेरो जेठो छोरा सनम काठमाडांै जाने नै थिएन, उनले भनिन्– काठमाडौं नगएको भए उसको ज्यान पनि नजाने रहेछ ।

प्रकाशित :वैशाख ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्