अझ बृहत् हाफ म्याराथन

- साप्ताहिक संवाददाता

वैशाख ३१, २०७५

 

नेपाली घरेलु एथलेटिक्समा कान्तिपुर हाफ म्याराथन प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित छ । आयोजना सुरु भएको आठौं वर्षमा प्रवेश गर्दा यो म्याराथन अझ बृहत् हुनेछ । यसपटक यो प्रतियोगिता फागुन ७ मा नभएर जेठ ५ गते शनिबार आयोजित हुँदैछ । कान्तिपुर पब्लिकेसनले आफ्नो वार्षिकोत्सवका अवसरमा पहिलो पटक २०६७ मा यसको आयोजना गरेको थियो । यसपटकदेखि प्रतियोगिता फागुनमा नभएर जेठमा हुन लागेको हो । 

 

दौडलाई अझ व्यवस्थित गर्न योजनाअनुसार यसलाई पछाडि सारिएको हो । भविष्यमा अझ बृहत् रूप दिँदै यो प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य छ । रमन मोटर्सको उत्पादन रनर मोटरसाइकलको मुख्य प्रायोजनमा हुने यसपटकको प्रतियोगिताको शीर्षक रहनेछ— कान्तिपुर–रनर हाफ म्याराथन र यसमा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहनेछ । प्रतियोगितासँग नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्स तथा क्यालिवर सुजले पनि सहकार्य गर्नेछन् । यस्तै क्याथे ड्रयागन, एभरेस्ट बैंक, रियल जुस एवं सुमेरु हस्पिटल सह–प्रायोजक छन् । 

 

यसअघि जस्तै हाफ म्याराथन (२१ दशमलव १ किलोमिटर) सँगै कर्पोरेट–मिडिया (५ किलोमिटर) र व्हिल चेयरमा प्रतिस्पर्धा हुनेछ । हाफ म्याराथनमा १८ वर्ष पुगकाले मात्र सहभागी हुन पाउनेछन् । यो पटक नगद पुरस्कार वृद्धि गरेर ३ लाख ६ हजार रुपैयाँ पुर्‍याइएको छ । त्यससँगै दुई थान रनर काइट प्लस स्कुटर तथा इन्टरनेसनल फ्लाइटको टिकट पनि पुरस्कारस्वरूप प्रदान गरिनेछ ।

 

कान्तिपुर पब्लिकेसन्सको थापाथली, सेन्ट्रल विजनेस पार्कस्थित कार्यालयमा म्याराथनमा सहभागी हुन चाहने नाम दर्ता वैशाख १६ गते नै सुरु भैसकेको छ, जुन भोलि वैशाख २९ सम्म खुला रहनेछ । सहभागी हुन चाहनेहरूले नाम दर्ताका लागि फर्म कान्तिपुर पब्लिकेसन्सको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कस्थित कार्यालयबाट लिन सक्छन् । फर्म अनलाइनसमेत डाउनलोड गर्न सकिन्छ । नाम दर्ता गर्न भने कान्तिपुर कार्यालय थापाथली नै आउनुपर्नेछ ।

 

मुख्य स्पर्धा हाफ म्याराथनमा शीर्ष ६ खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् । महिला तथा पुरुष दुवै स्पर्धाका विजेताले ५०–५० हजार रुपैयाँ जित्नेछन् । उनीहरूले रनर काइट प्लस स्कुटर पनि पाउनेछन् । उपविजेताले ३०–३० हजार रुपैयाँ तथा तेस्रो हुनेले २०–२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो हुनेलाई १०–१० हजार रुपैयाँ, पाँचौं हुनेलाई ५–५ हजार रुपैयाँ तथा छैटौं हुनेलाई ३–३ हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

कान्तिपुर पब्लिकेसन्सको सेन्ट्रल विजनेस पार्क, थापाथलीबाट सुरु हुने यो दौड माइतीघर, बबरमहल, बिजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, गट्ठाघर, सानोठिमी हुँदै भक्तपुरको सल्लाघारी चोक पुगेर फर्किनेछ । सल्लाघारी चोकबाट, थिमी, गट्ठाघर, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, बिजुलीबजार, बबरमहल, माइतीघर हुदै पुन: सेन्ट्रल विजेनस पार्कमा आएर दौड टुंगिनेछ । यो दौडलाई अझ राम्रो र व्यवस्थित तुल्याउन एवं रुटमा कम व्यवधान होस भनेर विशेष ध्यान दिइनेछ । 

 

अरू स्पर्धा

ह्विल चेयर रेसमा विजेता महिला तथा पुरुषले २०–२० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रोलाई १०–१० हजार रुपैयाँ एवं तेस्रोलाई ५–५ हजार रुपैयाँ प्रदान गरिनेछ । ह्विल चेयर रेस कान्तिपुर पब्लिकेशन्सको कार्यालय सेन्ट्रल विजनेस पार्क, थापाथलीबाट प्रारम्भ भएर माइतीघर मण्डला घुमेर फेरि त्यही बाटो थापाथलीस्थित कान्तिपुर कार्यालयमा पुगी टुंगिनेछ । कर्पोरेट–मिडिया ५ किलोमिटर दौडमा कर्पोरेट र मिडिया क्षेत्रमा अधिकृत वा त्योभन्दा माथिल्लो तहका कर्मचारीहरू मात्र सहभागी हुन पाउनेछन् । 

 

यो स्पर्धाका विजेताले काठमाडौं–हङकङ–काठमाडौंको हवाई टिकट प्राप्त गर्नेछन् । दोस्रो हुनेलाई काठमाडौं–पोखरा–काठमाडौंको टिकट प्रदान गरिनेछ । यस्तै तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट जित्न सक्नेछन् । यसको रुट कान्तिपुर पब्लिकेशन्सको कार्यालय थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट सुरु भई माइतीघर, बबरमहल, बिजुलीबजार, नयाँ बानेश्वर हुँदै सिभिल हस्पिटल पुगेर फेरि त्यही बाटो थापाथलीस्थित कान्तिपुर कार्यालय पुगेर टुंगिनेछ ।

 

हाफ म्याराथनका पूर्वविजेताहरू

 

वर्ष विजेता (पुरुष/महिला)

२०६७ अर्जुनकुमार बस्नेत/कान्छीमाया कोजू

२०६८ हरिकुमार रिमाल/वृन्दा श्रेष्ठ

२०६९ कल्याण बानियाँ/कान्छीमाया कोजू

२०७० अनिस थापामगर/कान्छीमाया कोजू

२०७१ हरिकुमार रिमाल/विश्वरूपा बूढा

२०७२ गोपीचन्द्र पार्की/रेशु बस्नेत

 २०७३ हरिकुमार रिमाल/कान्छीमाया कोजु

 

कान्छीमाया कोजू

कान्तिपुर हाफ म्याराथनको महिला प्रतिस्पर्धाको कुरा गर्दा कान्छीमाया कोजु नाम त्यसै जोडिएर आउँछ, किनभने प्रतियोगिताको पूरा इतिहासमै उनी सर्वाधिक सफल धाविका हुन् । कान्छीमाया २०६७ मा पहिलो पटक आयोजना हुँदाकी विजेता मात्र होइनन्, चोटबाट गुज्रिरहेको स्थितिमा पोहोर २०७३ मा पनि उनै विजेता थिइन् । यस्तोमा उनी डिफेन्डिङ च्याम्पियन पनि हुन् । गत वर्ष रेस जितेलगत्तै उनी खुसीले चिच्याएकी थिइन् । कान्छीमायाको भनाइ छ— कान्तिपुर हाफ म्याराथन मलाई सबैभन्दा मन पर्ने प्रतियोगिता हो ।

 

हरिकुमार रिमाल

हरिकुमार रिमालका लागि कान्तिपुर हाफ म्याराथनको खास महत्त्व छ, त्यसैले उनले यसमा नियमित सहभागिता मात्र जनाएका छैनन, तीन पटक पहिलो स्थान समेत हात पारेका छन् । पोहोर पनि आर्मीका यी धावकले पहिलो स्थान हात पारे र त्यसका लागि उनले दोस्रो स्थानमा आएका अनिस थापामगरलाई दुई सेकेन्डले मात्र उछिने । अनिस पनि कान्तिपुर हाफ म्याराथनका पूर्वविजेता हुन् । उपाधि जितेपछि रिमाल निकै आत्मविश्वासी देखिएका थिए र उनको दाबी थियो— प्रतिद्वन्द्वी जो भए पनि आफूले जित्नेमा पूर्ण विश्वास थियो । 

 

 

 

 

 

प्रकाशित :वैशाख ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्