Teej banner

डा. देवकोटालाई पत्र

- डा. रवीन्द्र समीर

वैशाख ३१, २०७५

 

श्रद्धेय डाक्टरसाहेब

असीम श्रद्धा !

अचानक तपाईं उपचारका लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भव नभएकाले बेलायत गएको आदि ... । त्यसको केही समयपछि पारिवारिक स्रोतलाई उद्धत गर्दै उहाँलाई क्यान्सर नभएको, सामान्य जाँचपछि आराम गरेको जस्ता खण्डन पढ्न पाइयो । चिकित्सा विज्ञानको विद्यार्थीका नाताले मलाई त्यतिबेला लागेको थियो – तपार्इंलाई पक्कै पनि नेपालमा उपचार सम्भव नभएको रोग लागेको छ र त्यो रोग प्राणघातक क्यान्सर नै हो । म बुझ्छु, हामी चिकित्सकलाई बिरामी छु भन्ने छुट छैन । बिरामी छु भन्नेबित्तिकै हाम्रो पेसा, पेसागत संस्था, हामीले हेरिरहेका बिरामी, मिडिया तथा आम जनतामा हाम्रो हैसियत (?) उजागर हुन्छ ।

यति लामो समय बेलायतमा बस्दा मलाइ लागेको थियो, तपाईं सर्जरी र केमो आदिको चक्रव्यूहमा हुनहुन्छ र त्यो कर्कटलाई जितेर मीठो मुस्कान छर्दै विमानस्थलमा देश र जनतालाई अभिवादन गर्दै आउनुहुनेछ, तर विधिको बिडम्बना, विमानस्थलबाट तपाईं एम्बुलेन्समा सुतेर अस्पताल जानुपर्‍यो । तपाईं अन्तिम सत्य बोल्न बाध्य हुनुभयो, हामी निरीह भएर सुन्न विवश भयौं ।

हामी सबै मृत्युको गन्तब्य बोकेर जन्मिएका हुन्छौं । जन्मिएपछि मान्छे मात्र होइन, हरेक प्राणी, वस्तु तथा सृष्टिको अन्त्य हुन्छ । हाम्रो त के कुरा ? भगवान् राम, कृष्ण, लगायत देवता समेत मृत्युन्जयी बन्न सकेनन् । मृत्यु अनपेक्षित, चामत्कारिक एवम सर्वाधिक पीडादायक सत्य हो । दुर्घटनामा परेर, ह्दयाघात भएर, मस्तिष्कघात भएर वा अन्य प्राणघातक रोगबाट पनि तपाईंको मृत्यु हुन सक्थ्यो । त्यसो भएको भए तपाइंलाई आफुले मृत्युवरण गरिरहेको वा गरेको समेत थाहा हुने थिएन । अहिले कमसेकम तपाईँलाई आफ्नो आयु थाहा छ, उपचार गर्न नपाएको गुनासो छैन, व्यवहार मिलाउन नपाएको पारिवारिक पीडा छैन... ठूलो कुरा त चमत्कारको आशा छ । आशा अझै बाँकी छ ! सम्भावनाको दियो निभेको छैन ।

श्रद्धेय डाक्टरसाहेब । आफुलाई म मर्दैछु भन्ने कहियै नसोच्नुहोला । हामी जो कोही पनि मर्दैछौँ । आफुले सम्पूर्ण जीवन छोटो समयमै भोगेकोमा गर्व गर्नुहोला । सफल, असल, सुरुचिपूर्ण एवं सार्थक जीवन बाँचेको मान्छेका लागि आँसु उपयुक्त विम्ब होइन । तपाईंले ६३ वर्षको उमेरमा पनि सय वर्षको अनुभव लिन सक्नुभयो, सय वर्षको योगदान दिन सक्नुभयो– यो नै तपार्इंको दीर्घायु हो । 

यहाँ मैले स्टेफेन हकिङदेखि जगदीश घिमिरेको उदाहरण दिनु आवश्यक छैन । दुईवर्षे आयुको ग्रेस थपेर घर फर्किएका जगदीश घिमिरेले अन्तर्मनको यात्रा नलेखेको भए एक वर्ष पनि उनका लागि टाढाको कुरा हुन्थ्यो, आत्मबल र गन्तव्यको क्रेजले उनी आठ वर्ष सक्रिय जीवन बाँचे ।

त्यति मात्र होइन, जमराको रस तथा खुर्पानीको बिउ खाएर क्यान्सर जितेका धेरै व्यक्ति हाम्रै समाजमा छन् । स्वमूत्रपानले समेत क्यान्सरलाई ढालेका मुक्केबाज पूर्वमन्त्री गणेश शाहजस्ता व्यक्तिहरू हाम्रो समाजमा अझै सक्रिय छन् । तसर्थ एक रति पनि हार नखानुहोला । आफुले गरेको संघर्ष, देखेको संसार, भोगेका पल एवम् त्यो अद्भुत क्षमताको रहस्यलाई जस्ताको तस्तै लेखेर हाम्रो अनि भविष्यको पुस्तामा बाँचिरहने उपयुक्त अवसर प्राप्त भएको छ, यहाँलाई । गन्तव्यको सिमा भएको अवस्थामा लेखाइभन्दा ठूलो थेरापी अरु केही हुँदैन ।

अहिले तपाईं साँच्चै सर्वाहारा हुनुभएको छ । जित्नलाई संसार छ, हार्नलाई केही छैन । तपाइंको साथमा हामी करोडौं जनता छौं । हामीहरू तपाईंको दीर्घजीवनका लागि मुटुभित्र दीयो बालेर प्रार्थना गरिरहेका छौं । डा. देवकोटा ! उठ्नुहोस्, हिँड्नुहोस् अनि विज्ञानभन्दा पर रहेको ज्ञानमा आफूलाई समर्पित गर्नुहोस् । जहाँ विश्वासले धोका दिन्छ त्यहाँ अन्धविश्वासले साथ दिन्छ । प्रेमको उत्कर्ष अन्धो प्रेम भएझैं विश्वासको उत्कर्ष अन्धविश्वास हो ।

                                                           तपाईंलाई आफ्नो आयुको २० वर्ष दिन तयार प्रशंसक 

                                                                                   रवीन्द्र समीर 

                                                                         लेखक तथा जनस्वास्थ्य विज्ञ

(डाक्टर समीरले आफ्नो फेसबुकमा  पोस्ट गरेको पत्रको सम्पादित अंश )

प्रकाशित :वैशाख ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्