सबै कुरालाई पैसासँग साट्नु हुँदैन

  • खगेन्द्र लामिछाने, अभिनेता

- साप्ताहिक संवाददाता

वैशाख ३१, २०७५

युवा लेखक तथा अभिनेता हुन्–खगेन्द्र लामिछाने । सानो छँदा लेखक बन्ने सपना सजाउने लामिछानेले पछि चलचित्रबाट बढी चर्चा कमाए । स्याङ्जामा जन्मिएका खगेन्द्रले पशुपतिप्रसादमार्फत आफ्नो परिचय बनाएका हुन् । अहिले उनी डमरुको डन्डीबियोका कारण चर्चामा छन् । फुलानी पुस्तकका लेखक खगेन्द्रका मौलिक कथा सबैले रुचाएका छन् । खगेन्द्रसँग मौलिक कथाको खोजी, चलचित्र निर्माण, अभिनय एवं लेखनमा केन्द्रित रहेर गरिएको कुराकानी : 

पशुपतिप्रसाददेखि डमरुको डन्डीबियोसम्म नयाँ शैलीका चलचित्र बनाउनुहुन्छ ? कसरी विषयवस्तु तय गर्नुहुन्छ ? 

मेरो रुचिले गर्दा त्यस्तो भएको हो । मलाई स्वभावैले परम्परागत रूपमा गरिआएको भन्दा फरक काम गर्न मन लाग्छ । अलग तरिकाले सोच्दा अलग विषयमा चलचित्रको कथा लेखे हुँला, बनाए हुँला र अभिनय गरे हँुला ।

 

तपाईं लेखक पनि अभिनेता पनि कुनमा बढी आनन्द महसुस गर्नुहुन्छ ? 

इमानदारीका साथ भन्नुपर्दा मलाई लेखनमै आनन्द आउँछ ।  तर चलचित्र अलग विषय हो । लेख्ने कुरा एक्लै रमाएर गर्न सकिने कुरा हो भने चलचित्रका लागि टिमवर्क चाहिन्छ । ग्ल्यामरस फिल्ड भएकाले त्यसका आफ्नै दायरा छन् । समय पनि बढी दिनुपर्ने हुन्छ, अरूका विषयमा सोच्नुपर्ने र आफू त्यही हिसाबमा हिँड्नुपर्ने हुन्छ । यता लेखनमा भने आफ्नो ढंगले अनुसन्धान गर्न गयो, गाउँठाउँ वा जहाँ जानुपर्छ, विषयले मागेअनुसार गएर मानिसहरूसँग कुराकानी गर्‍यो । उनीहरूका कुरालाई आफ्नै ढंगले लेख्न सकिन्छ । म संयोगवश कलाकार पनि भएँ । अभिनेता हुनु मेरो जीवनको बोनस हो । बोनस नै यति ठूलो पाइयो, म त्यतिकै खुशी छु । 

 

अन्तत: बोनसले नै व्यापक चर्चा र नाम दियो होइन ? 

बोनसले चर्चा दियो । मेरो लेखन नआउँदै चलचित्र हावी भएको हुनाले लेखक खगेन्द्र र अभिनेता खगेन्द्र एउटै मान्छे हो भन्ने कतिलाई थाहै छैन । मेरा पाठकहरूले मलाई लेखकका रूपमा चिन्नुहुन्छ ।  

लेखकका लागि पात्र उत्पादन गर्न सजिलो कि अभिनय गर्न ? 

दुवै कठिन काम हुन् । डमरुको डन्डीबियोसमेत गरी चारवटा चलचित्रमा लेखक र अभिनेताका रूपमा काम गरेको आधारमा म के भन्न सक्छु भने लेखक मात्र हुँदा दु:ख छ, किनभने चरित्र निर्माण गर्नुपर्‍यो, ती चरित्रलाई भोलि मानिसहरूले पर्दामा हेर्दा  यो त हाम्रै कथा रहेछ भनेर रुचि दिएर हेर्ने हुनुपर्‍यो । त्यसकारण चरित्रको निर्माण क्रमबद्ध रूपमा गरेर त्यसलाई कथामा बुनेर प्रस्तुत गर्नु निकै कठिन काम हो । यता अभिनेताले आफूले निर्वाह गर्ने भूमिकका र पात्रको चरित्रमा आफूलाई ढाल्नुपर्छ । त्यसकारण एक हिसाबले लेखकले चरित्र सिर्जना गर्नु र अभिनेताले उक्त चरित्रमा आफूलाई ढाल्नु कतै न कतै जोडिएको छ । 

लेखनको पात्र छान्न र चलचित्रको पात्र छान्न कुन सजिलो हुन्छ ? 

उस्तै–उस्तै हो । दुवै कठिन काम नै हुन् । लेखकले चरित्र निर्माण गर्दा त्यो व्यक्तिलाई नजिकबाट चिन्नुपर्छ । 

साथीभाइसँग डन्डिबियो खेल्दा र त्यसलाई चलचित्रमा उतार्दाका भिन्नता के रहेछन् ? 

धेरै फरक छ । किनभने, पहिले यसको स्पष्ट नियम थिएनन्, हामी आ–आफ्नै ढंगले खेल्थ्यौं ।  अनुसन्धान गर्दै जाने क्रममा हामीले डन्डीबियो संघ फेला पार्‍यौं, त्यहाँ गएर कुरा बुझ्दा त्यसको मैदान संरचना र नियम हुँदो रहेछ । ती नियमको पुस्तिका नै रहेछ । त्यो नियमलाई पछ्याएर प्रशिक्षण लिनुपर्छ । त्यसैले हामीले डन्डीबियो संघका साथीहरूसँग प्रशिक्षण पनि लियौं, त्यसपछि यसको नियम बुझियो । त्यसो गर्दा फरक अनुभूति पनि भयो । यो खेल क्रिकेटसँग मिल्दोजुल्दो छ । 

यो चलचित्रमार्फत के सन्देश दिन खोज्नुभएको छ ? 

सन्देशभन्दा पनि यो फ्यामिली स्पोर्ट्स ड्रामा हो । चलचित्र हेरिसकेपछि मानिसहरूको आ–आफ्नो अनुभूति हुन्छ, मैले एउटा देख्छु, अर्कोले अर्कै देख्छ । कुनै पनि चलचित्रका बारेमा फरक–फरक व्यक्तिले फरक–फरक अनुभूति गरेको हुन्छ । हाम्रो उद्देश्य डन्डिबियोलाई पारिवारिक विषयसँग घोलमेल गरेर एउटा रमाइलो पारिवारिक चलचित्र बनाउने थियो । अब यसमा एउटाले एउटा र अर्कैले अर्को चिज फेला पार्न सक्छन् । 

डमरुको डन्डिबियोको विषयवस्तु कसरी छनौट गर्नुभयो ? 

निर्माता विनोद गुरुङ तथा निर्देशक छेतेन गुरुङजी डन्डिबियोसम्बन्धी चलचित्र बनाउने कुरा लिएर आउनुभएको थियो । विषय सुन्ने बित्तिकै मलाई रुचि लाग्यो, हामीले छोड्दै गएको, हराउँदै गएको खेल । कतिपय चिज आफैं देशको संस्कार बन्छन्, त्यसकारण डन्डिबियोलाई राष्ट्रिय खेल भनियो । त्यसपछि त्यसलाई हटाएर भलिबललाई राष्ट्रिय खेलका रूपमा स्थापित गरियो । यो नेपालको मौलिक खेल हो, यो हरायो भने देशबाट एउटा मौलिक चिज गुम्छ । मेरो स्वभाव नै अलि अलग विषयमा काम गर्ने भएकाले म यो खेलप्रति आकर्षित भए, त्यसपछि कथा–सार यसरी बनाउँ भनेर हामीले बारम्बार छलफल गर्‍यौं । कथा–सार तयार भएपछि पटकथा तयार पार्‍यौं । 

कथा लेखनमा कति समय लाग्यो ? 

आठ–नौ महिना लाग्यो । किनभने अनुसन्धान पनि गर्नुपर्‍यो । डन्डीबियोलाई कथा–सार त बनाइयो तर त्यसको नियम के हो भन्ने कुरा बुझ्दै जानुपर्‍यो । त्यसकारण अलि गाह्रो भयो । 

डन्डिबियोसँगका तपाईंका केही पुराना संयोगहरू पनि थिए कि ? 

होइन, त्यस्तो केही थिएन । हामी सानोमा रमाइलोका लागि मात्र डन्डीबियो खेल्थ्यौं । मज्जैले खेलिन्थ्यो, मेरो उमेर समूहका मानिसहरू त प्राय: डन्डीबियो खेलेरै हुर्कन्थे । सानोमा खेलेको सम्झना छ, तर डन्डीबियोसँगको छुट्टै संस्मरण मेरो स्मृतिमा छैन । बुवाआमाहरूले आँखा फुट्छ, खेल्नु हुन्न भनेको चाहिँ अलिअलि सम्झना छ मलाई, तर आखिर हामी लुकीछिपी खेलिहाल्थ्यौं । 

के आँखा फुट्ने खेल नै रहेछ यो ? 

होइन, अलि जोखिमपूर्ण खेल चाहिँ हो तर, खेल भनेका सबै जोखिमपूर्ण नै हुन्छन् । क्रिकेट पनि त्यतिकै जोखिमपूर्ण छ । फुटबलमा पनि त्यस्तै जोखिम छ । डन्डीबियोमा पनि जोखिम छ, सट हान्दा बियोले आँखामा लाग्ने सम्भावना हुन्छ । सुटिङका क्रममा पनि हामी दुई–तीन जना सामान्य घाइते भयौं । जोखिम छ भनेर एउटा पुरानो खेललाई विलुप्त हुन दिनुभन्दा पनि त्यसलाई कसरी सुरक्षित खेल्ने भन्नेतिर ध्यान पुर्‍याउनुपर्छ । क्रिकेट र फुटबलमा प्याड तथा हेलमेट लगाइन्छ, बक्सिङ खेल्दा ग्लोब लगाइन्छ । भैरहेको सस्तो खेललाई प्रवद्र्धन गर्न छाडेर यसलाई हटाउनु हुन्थ्यो कि हुँदैनथ्यो ? व्यक्तिगत हिसाबले मेरो प्रश्न हो । 

चलचित्रमा तपाईं मौलिक र नवीनतम प्रयोगहरू गर्नुहुन्छ । मौलिक र नवीन विषय कसरी खोज्नुहुन्छ ? 

त्यो मेरो रुचिले गर्दा हो । विषयले छोयो र कथा राम्रो छ भने प्रेमकथामा पनि कलाकारका रूपमा काम गर्नुपर्ला, तर मैले आफूले आफ्नो ढंगले बनाउने चिज आफ्नै प्रकारका हुनेछन् । केही चिज बनाउनु छ भने त्यसले पछिसम्मका लागि छाप छोडोस्, मानिसले त्यसलाई सम्झिउन भन्ने लाग्छ । गाउँमा जन्मिएर, हुर्किएर आएको मान्छे अनि किसानको छोरो भएका कारण मैले हाम्रा कतिपय मौलिक विषयलाई नजिकबाट देखेको छु, भोगेको छु ।

तपार्इंको मौलिक कथा खोज्ने शैली कस्तो छ ? 

म गाउँघरतिर गैरहेको हुन्छु । अहिले त पहिलेको भन्दा केही कम भएको छ । पहिले म धेरै नै घुम्थें । म नेपालका ६५ भन्दा बढी जिल्ला पुगेको छु । म आफैं मानिसहरूसँग कुरा गर्दिनँ, म उनीहरूको कुरा सुन्न रुचाउँछु । आफैं कुरा गर्न खोज्दा बाहिरको मान्छेलाई कति भन्न हुन्छ कति हुँदैन भन्ने हेक्का हुँदैन, बरु आफ्नै ढंगले थाहा नपाएजस्तो गरेर मानिसहरूको छेउछाउमा बसेर उनीहरूको गफ सुनियो भने त्यसबाट एकदमै मार्मिक कुरा आइरहेको हुन्छ । 

आफूले लेखेका र अभिनय गरेका चलचित्रमध्ये कुनमा चाहिँ पात्र र चरित्रप्रति न्याय गरे जस्तो लाग्छ ? 

मेरा व्यक्तिगत कुराबाटै प्रेरित भएर मैले कुनै पटकथा त लेखेको छैन, तर यसमा मेरो जीवनसँग जोडिएका केही चिज पक्कै छन् । किनभने अभिनेताले आफ्नो व्यक्तिगत अनुभव चलचित्रको चरित्रमा ल्यायो भने अझ रुचिपूर्वक त्यसको विकास गर्न सक्छ । मैले अभिनय गरेका अधिकांश चलचित्रमा गाउँको परिवेशका कथा छन् । त्यसकारण मेरा केही न केही अनुभव पक्कै पनि जोडिएका छन् तर सबै होइन । 

अहिलेसम्म तपार्इंले लेखेका चलचित्रमध्ये सबैभन्दा मन परेको कथा कुन हो ? 

कथाका हिसाबले मलाई पशुपतिप्रसादको कथाले छुन्छ । पात्रका हिसाबले टलकजंग भर्सेस टुल्के प्रभावशाली लाग्छ । 

राम्रो चलचित्रका लागि के–के कुरा चाहिँदो रहेछ ? 

सबै कुरा बलियो हुनुपर्छ । मुख्य कुरा त कथा नै बलियो हुनुपर्‍यो । कथा नै झुर छ भने जति नै राम्रो तरिकाले बनाए पनि चलचित्र राम्रो हुँदैन । यद्यपि कथा मात्र राम्रो भएर पनि एकदमै राम्रो चलचित्र बन्छ भन्ने हुँदैन, किनभने निर्देशक र अन्य पूरा टिमले, कलाकारहरूले एक–अर्कालाई समर्थन गर्नुपर्ने हुन्छ । राम्रो कथामा, राम्रा निर्देशक, टिम, कलाकार अनि राम्रा प्राविधिकहरूले काम गरे भने राम्रो चलचित्र बन्छ । कथा राम्रो छ, तर त्यसमा काम गर्नेहरू व्यावसायिक छैनन् भने उक्त कथाप्रति न्याय गर्न सक्दैनन् । त्यसकारण मूल चिज कथा हो तर त्यसलाई समर्थन गर्ने चिजहरू पनि बलियो हुनुपर्छ । 

चलचित्र बनाइसकेपछि कहिलेकाहीँ योचाहिँ मिलेन भनेर थकथकी लाग्दैन ? 

चलचित्र बनाइसकेपछि धेरै कमी कमजोरीहरू फेला पर्छन् । स्वभाविक हो, यो पुस्तक लेखन, नाटक तथा पेन्टिङमा पनि हुन्छ । सिर्जनाका सबै चिजमा हुन्छ । चलचित्र भनेको एक पटक बनाइसकेपछि सुधार्न एकदम गाह्रो कुरा हो, रि सुट गर्नु गाह्रो कुरा हो । त्यो हिसाबले मैले हरेक चलचित्रबाट केही न केही सिकिरहेको छु । अहिले पनि मलाई के लाग्छ भने ‘टलकजंग भर्सेस टुल्के’को पटकथा अहिले लेख्न पाएको भए त्यतिबेलाको भन्दा धेरै राम्रो हुने थियो ।

के चीज थियो त्यसमा फरक गर्न चाहनुभएको ? 

त्यसको पटकथा आफैंमा धेरै समस्या छ । त्यसका पात्रहरूको आ–आफ्नै कथा छ । कतिपय पात्रको कथाबीचमै छोडिएको छ, पूर्ण छैन । चलचित्र तयार भैसकेपछि आफैंले एउटा दर्शकका हिसाबले हेर्दा त्यस्तो लाग्यो । मेरो पहिलो लेखन पनि भयो, त्यसैले पनि त्यसमा केही कमी–कमजोरी रहे । 

छुटेका कुरा समेटेर कुनै चलचित्रको सिक्वेल बनाउने इच्छा छ ? 

अहिलेसम्म सिक्बेल बनाउने योजना बनाएको छैन । मेरो धारणा सबै चिजलाई पैसासँग साट्नु हुँदैन भन्ने हो । हो, चलचित्र व्यापार पनि हो तर मलाई सधै के डर के लाग्छ भने ‘पशुपतिप्रसाद’ यति धेरै दर्शकले मन पराउनुभयो, अब त्यसमाथि सिक्वेल बनाउँदा त्योभन्दा कमजोर चलचित्र बन्यो भने त्यो ‘पशुपतिप्रसाद’ले बनाएको साख पनि घट्छ । त्यसकारण त्यसलाई पैसासँग नसाटौं भन्ने लाग्छ मलाई । 

 

प्रकाशित :वैशाख ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्