बिरामीको सेवामा फर्कन सक्ने छैन

- डा. उपेन्द्र देवकोटा

वैशाख ३०, २०७५

 

मेरा बेलायती न्युरोसर्जन मित्र हेनरी मार्स ‘बेस्ट सेलर’ पुस्तक लेखक पनि हुन् । त्यो दिन उनलाई लिएर म बिहानै आफ्नै मोटरमा गाउँतर्फ लागेँ, १२ बजेतिर घर पुग्यौँ । म हिँड्नुअघि नै आवश्यक व्यवस्था गर्न मामाको छोरा ‘भाइ’ लाई गाउँ पठाएको थिएँ । हामीसँग घरमै प्याक गरिएको स्यान्डविच थियो । माया गरेर फ्रिजमा बियर पनि राखिदिएका रहेछन् । गोरखा लिगलिगबाट हामी द्रव्य शाहको दरबारतिरको उकालो लाग्यौँ । हेनरी मभन्दा तीन–चार वर्ष जेठा हुन् । उक्लँदा मलाई अलिअलि गाह्रो भो । त्यतिबेला मलाई आफू सहरिया भएजस्तो लाग्यो ।

माथि पुगेर मैले हेनरीलाई ‘पिकनिक’ गरौँ भनेँ । लोकल बियर निकालेँ अनि हामी ३ सय ६० डिग्रीको सेरोफेरोमा दृश्यावलोकन गर्न थाल्यौँ । मस्र्याङ्दी, लमजुङ, चेपे, गोर्खा दरबार सबै आँखा वरिपरि देखिए । ती दृश्यहरू हेनरीलाई चिनाएँ ।

एक बोतल बियरबाट पाँच–सात घुट्का पिएपछि मन लागेन । हेनरीलाई पनि खासै रमाइलो लागेन । बियरको तर्पण दिएर ओर्लियौँ । यो उमेरमा ग्यास्ट्राइटिस राम्रो होइन । उनले मलाई काठमाडौँ गएर इन्डोस्कोपी गर्न सल्लाह दिए । मलेखुमा उनलाई ‘ड्रप’ गरेर म काठमाडौँ फर्किएँ । पाटन अस्पताल पुगेँ, रिपोर्ट अनौठो आयो । ग्यास्ट्राइटिस र हेलिको फ्याक्टर पोजिटिभ देखियो । उपचार सुरु भयो । मलाई फाइदा भएन, काम पनि जारी राखेँ, औषधि पनि खाइरहेँ ।

त्यसपछि चुनावको रौनक थियो । बीचमा गोरखामा चुनावी भाषण गरेर म काठमाडौँ फर्किएँ तर म धेरै थाकिसकेको थिएँ । भोलिपल्ट हेनरी बेलायत फर्कंदै थिएँ । म तल झरेर ‘बाई’ भन्न सक्ने अवस्थामा पनि थिइन । बिहीबार दिनभरि आराम गरेँ । शरीर पलाएपछि अस्पताल गएर शुक्रबार बिरामीको अप्रेसनमा सहभागी भएँ ।

गोरखाकी एक १२ वर्षकी बहिनीको अपरेसन म आफैं संलग्न भएर गर्नुपर्ने थियो । एक जना सहकर्मी डाक्टरको काम चित्त बुझेन । म ‘इरिटेट’ भएँ । तर, मैले सोचेँ, म यति ‘डिमान्डिङ’ र ‘इरिटेट’ हुने मान्छे त होइन, यो मेरो चरित्र होइन । ‘समथिङ मस्ट बी रङ विथ मी’ भन्ने लाग्यो । ट्वाइलेट गएँ, पहेँलो बाक्लो पिसाब आयो । ऐना हेरेँ, आँखा पहेँला । ‘डीप जन्डिस’ भयो कि भन्ने शंका पनि लाग्यो । त्यो मैले खाइरहेको ‘क्लेरिथ्रोमाइसिन’ को काम हो र त्यो औषधि सकिएपछि त्यो कम हुने आश पनि थियो । आफ्नै अस्पतालमा एमआरआई र अल्ट्रा साउन्ड गराएँ जसको रिपोट हेरेपछि म छाँगाबाट खसेजस्तो भएँ ।

त्यो पहिले अनुमान गरेजस्तो कोलेस्टेटिक जन्डिस थिएन । पित्तनली थिचिएको अवस्थामा हुने त्यो अवस्ट्रक्टिभ जन्डिस थियो । भोलिपल्ट शनिबार एक्स्पर्ट मित्रहरू बोलाएर कन्सल्ट गर्दा कलेजोको भेट्नामा जटिल खालको मासु पलाएको जन्डिस देखियो । नलीहरू ‘ड्रेन’ गर्न नसके दुई–चार दिनमै जीवनमा असर पर्न सक्ने अवस्था देखियो । मुलुकमा यो क्षेत्रमा काम गर्ने एक्सपर्टिजहरू कहाँ–कहाँ छन्, छलफल गर्‍यौँ । ढुक्क हुन सकिएन । तत्काल हेनरीलाई बेलायत फोन गर्‍यौँ । उनले किंग्स कलेज अस्पतालका चिफ सर्जन फ्रोफेसर नाइजल हिटनको नाम लिए । उनीहरू दुवै जनाको मित्रतासँगै एउटा विशेष भिडियो पनि रहेछ । हेनरीले भनेपछि मंगलबारको ‘अप्वाइन्टमेन्ट’ निश्चित भयो । सोमबार काठमाडौँबाट उडेर मंगलबार नाइजललाई भेटेँ ।

म सँधै नै मुलुकभित्र सम्भव उपचार यहीँ हुनपर्छ र सक्नेले सरकारी ढुकुटीमा आँखा लगाउनु हुँदैन भन्ने मान्यता राख्दै आएको व्यक्ति हुँ । मेरो केसमा पुष्टि भयो, यसको उपचार नेपालमा सम्भव थिएन । नाइजललाई भेटेको भोलिपल्टै उनले आफ्नो विभागका पाँच–छ जना ख्यातिप्राप्त ग्यास्ट्रो इन्टेरोलोजिस्टलाई बोलाए ।

बुधबार ह्यारिसनलाई सुकेको नलीमा ‘स्टेन्ट’ हाल्ने काम दिइयो । उनले एकातिर हाल्न सके, अर्कातिर सकेनन् । त्यसपछि डा. जोन डेभलिनले ‘टेक अप’ गरे । पहिलो, दोस्रो र तेस्रो प्रयास असफल भएपछि चौथो ‘सिटिङ’ मा स्टेन्ट त हाले तर वायोप्सी सम्भव भएन । अन्तमा पाँचौँ ‘सिटिङ’ मा भित्रै अल्ट्रासाउन्डपछि उनले अत्यन्त ‘सोफिस्टिकेटेड’ प्रोसेसबाट बायोप्सी गरे । वाइल डक्ट (पित्त थैली) क्यान्सर देखियो ।

उपचार अत्यन्त जटिल छ, जाने बाटो एउटै छ । कोलोन्जियो कार्सीनोमाको स्ट्यान्डर्ड उपचार भनेको ‘किमो’ दिएर ट्युमरको साइज घटाउने अनि अपरेसन गरेर आधा कलेजो फाल्ने । त्यसमा विशेषज्ञता हासिल गरेका डाक्टर पाल रस (क्यान्सर विशेषज्ञ) ले काम सुरु गरे ।

नोभेम्बर २१ मा बेलायत पुगी जनवरी २५ मा मात्र किमोको पहिलो डोज लिन पाएँ । सबै कुरा ढिलो हुन पुग्यो । किमोपछि ल्युकोपोनिया र कलेन्जाइटिससँग जुध्दै रहेँ । लड्दै–पड्दै तीन साइकल किमो लिन पाएँ, तर मेरो ट्युमर बढ्दै गएको देखियो । आफ्नो उपचारले रेस्पोन्ड नगरेकोमा पाल अलि निराश देखिए ।

सिटी स्क्यान गर्दा ट्युमर फैलिएको देखियो । त्यो दु:खद थियो । फस्ट लाइन किमो प्रभावकारी नभए सेकेन्ड लाइन किमो पनि त्यत्ति प्रभावकारी हुँदैन । रेडियोथेरापी त्यति प्रभावकारी नहुँदा सर्जरी नै गरिन्छ । रेडिएसनमा किरणले आन्द्राहरू सुकाउँछन् । अब मैलै त्यहीँ नै बसेर उपचारलाई निरन्तरता दिनुको अर्थ थिएन ।

म किमोले रेस्पोन्ड नगर्ने रेडियोथेरापीको साइड इफेक्टमात्र हुने अनि सर्जरी गर्न नमिल्ने विचित्रको अवस्थामा थिएँ ।

खासै कुनै उपाय नभएको अवस्थामा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा समयमै आफ्नो देश फर्किएर बाँकी जीवन तपार्इंहरू सबैका बीच बस्ने निधोका साथ म नेपाल फर्किएँ ।

निको नहुने रोग लाग्दा के गर्ने ? म स्वयम् चिकित्सक हुँ । मेरो व्यक्तिगत धारणा के हो भने जब निको नहुने रोग लाग्छ त्यतिबेला अनावश्यक उपचारमा लाग्नुभन्दा शरीरमा केही शक्ति हुँदासम्म काम गर्नु उत्तम हुन्छ । त्यही मान्यताका साथ किमोबाट थप जटिलता निम्त्याउनुभन्दा बाँकी जीवन मेरो आफ्नै देशको माटो–हावापानीमा बिताउने निधो गरेँ, आफ्ना दाजुभाइ–दिदीबहिनीहरूकै समीपमा ।

मेरा आफ्ना अनुभव र उपलब्धिहरूले अरूका लागि के अर्थ राख्लान् मलाई थाहा छैन । तर मलाई मेरो हावा पानी माटो र तपाईंहरू सबै अत्यन्त प्रिय हुनुहुन्छ । 

म सायद फेरि बिरामीहरूको सेवामा फर्कन सक्ने छैन तर जति बाँच्छु उहाँहरूप्रति सद्भाव र शुभकामना राख्नेछु । मृत्यु अवश्यम्भावी छ ।

गीतामा पनि भनिएको छ, ‘जातस्य ही ध्रुवो मृत्यु ।’

अर्थात् जन्मपछि मृत्यु निश्चित छ ।

हेनरी लंगलेफोले भनेका छन्–जिन्दगी भनेको आमाको गर्भबाट निस्किएर चिहानसम्मको यात्रा हो ।

हामी चिकित्सकले त्यो यात्रालाई केही लम्ब्याउने वा टार्ने प्रयास गर्छौं ।

क्षेत्रप्रताप अधिकारीको यो गीतको अर्थ अहिले बुझ्न थालेको छु ।

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ

सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ ।

वास्तवमा मर्नु आफैँमा ठूलो कुरा हो । मर्ने व्यक्तिले उसलाई सम्झने के कुरा बाँकी छाडेर जान्छ यो लोकमा त्यसले महत्व राख्छ ।

संक्षेपमा उपेन्द्र देवकोटा

जन्म मिति : २०११ साल

जन्म स्थान : गोरखा

एसएलसी : अमरज्योति मावि, पालुङटार, गोरखा

आईएसी : अमृत साइन्स क्याम्पस

एमबीबीएस : महाराजगन्ज क्याम्पस

मेडिकल अधिकृतका रूपमा वीर अस्पतालबाट सेवा प्रारम्भ (२५ वर्ष सेवा)

विशेषज्ञता : बेलायतबाट स्नायु शल्यचिकित्साको अध्ययन

विधा : स्नायु शल्यचिकित्सा

चिकित्सा क्षेत्रमा सक्रियता : ३७ वर्ष

शल्यक्रिया : करिब ३४ हजार

बिरामी उपचार संख्या : करिब ८ लाख

२०४६ सालमा वीर अस्पतालमा न्युरो विभाग स्थापनामा नेतृत्वदायी भूमिका,

पूर्वराजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि स्वास्थ्यमन्त्री भएका बेला वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना, मन्त्रीबाट हटेपछि बाँसवारी न्युरो अस्पताल स्थापना । 

                                (देश सञ्चार अनलाइनबाट सम्पादित अंश )

प्रकाशित :वैशाख ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्