कोही अरूजस्तै

- सुविन भट्टराई

वैशाख ३०, २०७५

 

 

एउटा अन्तर्वार्ता दिँदै थिएँ । धेरै खालका प्रश्न सोधिए । प्रश्नअनुसारका जवाफ पनि दिएँ । अन्तर्वार्ताको करिब–करिब अन्त्यतिर पुग्दा एउटा प्रश्न आयो, ‘नयाँ आउने लेखकहरूलाई आफूजस्तै लेखक बन्न के सल्लाह दिनुहुन्छ ?’बडो गम्भीर प्रश्न थियो त्यो, तर नौलो प्रश्न थिएन । 

धेरै पाठकले सोधिसक्नुभएको थियो, ‘तपाईंजस्तै कसरी लेख्ने ?’ जवाफमा म कतिको इमान्दार भएँ वा भइनँ, अहिले त्यो बिर्सिएँ तर त्यो अन्तरवार्ताका दौरान लाग्यो, मैले इमान्दार हुनैपर्छ । सधैँभरि पाठक (जो लेखक हुने इच्छा पनि राख्छन्) लाई म ललीपपजस्तो जवाफ दिएर खुसी बनाउन चाहन्नँ । मैले उनीहरूलाई इमान्दार भएर स्वस्थ किसिमको सल्लाह दिनैपर्छ । 

अन्तर्वार्तामा सोधिएको त्यो प्रश्नको जवाफमा मैले भनेँ, ‘कोही मजस्तै नहोस् । मेरो जस्तो नलेखोस् । मैले लेखेको पढोस् तर मैले लेखेजस्तो नलेखोस् । यो मेरो कुरा मात्र होइन । कोही कसैले अरू कसैको जस्तो नलेखोस् । कोही अरूजस्तो बन्नै नखोजोस् ।’

मान्छे सबैभन्दा सुन्दर आफ्नै रूपमा हुन्छ । मान्छेको बौद्धिकता मौलिकतामा झल्कन्छ । मान्छेको पहिचान जे हो त्यही स्थितिमा हुन्छ । आखिर मान्छेले चाहने पनि त्यही हो । ऊ त्यही परिचय चाहन्छ जो उसको नितान्त निजी होस् । फलानाको छोरा, फलानाकी श्रीमती, फलानाको साथी अथवा फलानाजस्तो भनेर अरूको परिचयको पुछारमा घुस्रिनुभन्दा आफ्नै परिचयको सिङ्गो र सगल्ती अस्तित्वमा रमाउन चाहन्छ मान्छे, तर यो सबका लागि मानिसले आफूलाई आफैँजस्तोमात्र बनाउनुपर्छ । 

सुन्दा नमीठो लाग्ला । घमन्डी कुरा गर्‍यो भन्नुहोला । तँ को होस् ? भनेर पनि सोध्नुहोला, तर यथार्थ यही हो । एसएलसी दिएपछि ममा उपन्यास लेख्ने भूत सवार भयो । भर्खरै बीपी कोइरालाको हिटलर र यहुदी पढेर सिध्याएको थिएँ । त्यही पढेर प्रेरणा मिलेको थियो ।

उपन्यास पूरै बुझेको थिइनँ, तर मैले आफूले लेखेको उपन्यासमा बीपी कोइरालाकै शैली पछ्याएको थिएँ । करिब ४०–५० पेज लेखिसकेपछि आफैँ पढेँ । मैले उपन्यास लेखेको होइन रहेछ, हिटलर र यहुदीले आफूमाथि पारेको प्रभाव लेखेको रहेछु । मेरो शैलीले बीपी कोइरालाको शैलीलाई पछ्याएको मात्र थियो । एउटा स्पष्ट नक्कल । बीपीको जत्तिको एक प्रतिशत पनि थिएन । नक्कल पनि कहीँ राम्रो हुन्छ ?

कैयौँ फिल्म स्टारका डुप्लिकेट टेलिभिजनमा आउँछन् र केही बेर मनोरञ्जन प्रदान गरेर जान्छन्, तर फिल्म स्टार जत्तिको महत्व तिनको हुँदैन । कोही अरूजस्तै बन्छु भन्दा त्यति हो बन्न सकिने । 

बजारमा एक चिज चल्छ, सबका सब त्यही चिजको नक्कल गरेर चल्न खोज्छन् । त्यो चल्ने त पहिलो थियो र चल्यो । नयाँ चिजप्रतिको उत्साह मानिसले सधैँ देखाउँछन् । लस्करै त्यसकै नक्कल अरूले किन गर्नु ? बजारमा के चलिरहेको छ ? भन्दा पनि बजारमा के चिज खड्किरहेको छ ? त्यो पहिल्याउनुपर्छ । केही नयाँ गर्नुपर्छ । जोखिम त हरेक कुरामा हुन्छ । कसैलाई पछ्याउँदा पनि जोखिमै छ ।

चाहे सिनेमा होस्, चाहे गीत–संगीत होस्, चाहे व्यवसाय होस्, चाहे अरू नै कुनै क्षेत्र । पछ्याउने भन्दा नयाँ केही गरेर देखाउनेहरू नै सफल हुन्छन् । कसले के–के गर्‍यो ? यो चिजलाई ज्ञानमा राख्ने हो, तर के–के गरिनँ बाँकी छ ? भन्ने चिजलाई भने ध्यानमा राख्ने हो । किनभने अरू हिँडिसकेको बाटोमा हिँड्दा दोस्रो, तेस्रो, चौथो भइन्छ । आफूले बनाएको बाटोमा हिँड्दा पहिलो भइन्छ र सफलता पनि त्यही हो । 

प्रकाशित :वैशाख ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्