एन्फामा ऐतिहासिक परिवर्तन

- साप्ताहिक संवाददाता

वैशाख २९, २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन वैशाख २२ तय थियो, तर त्यसको एक दिनअघिसम्म पनि चुनाव हुनेछ कि हुनेछैन, साधारण सभा बस्नेछ कि छैन, कुनै टुंगो लागेको थिएन । पूर्णत: अन्यौलको स्थिति थियो तर शनिबार साँझसम्ममा एन्फा ऐतिहासिक परिवर्तनबाट गुज्रियो र त्यसमा कुनै प्रकारको अवरोध भएन । प्रजातन्त्रको सुन्दर पक्ष नै यही हो, निकै सौहार्दपूर्ण रूपमा एन्फा अध्यक्ष चुनिए–कर्माछिरिङ शेर्पा । 

अध्यक्षमा उनी मात्र चुनिएनन्, उनको पक्षमा रहेका सबैले सबै पदमा जित हात पारे । खेलकुदकै भाषामा यो ‘क्लिन स्विप’ जस्तै थियो । अध्यक्ष पदका उम्मेदवार मणि कुँवरले साधारणसभाको अघिल्लो दिन चुनावबाट हट्ने निर्णय गरेपछि यो सबै काम सम्भव भएको थियो । त्यसमा उनलाई उपाध्यक्ष पदका उम्मेदवार गणेशबहादुर चन्दले पनि साथ दिएका थिए । त्यतिबेला उनीहरूको जिकिर थियो, एन्फाको विधान विपरीतको चुनावमा भाग नलिने । 

यसका लागि उनीहरू साधारण सभा रोक्ने प्रयास गर्दै अदालत पनि गए, तर अदालती प्रक्रिया उनीहरूको पक्षमा रहेन । कुँवर र चन्दले चुनाव बहिष्कार गरेपनि उनीहरूकै समूहबाट उठेका अरु प्रत्याशीले भने प्रतिस्पर्धाको बाटो छाडेनन्, तर उनीहरूको चुनावी लडाइँ उनीहरूकै भाषामा ‘पाइलट विनाको जहाज’ जस्तै रह्यो । एक प्रकारले चुनावको ठीक अगाडि कुँवर पक्षमा फाटो आएको थियो । 

अर्को शब्दमा भन्ने हो भने कुँवरले आफूलाई समर्थन गरेर चुनावमा होमिएकाहरूलाई धोका दिए । कुँवर चुनावमा कायम रहेको भए, उनले जित्ने थिए कि थिएनन्, त्यो सम्भावनाको कुरा मात्र थियो, तर उनी चुनावमा कायम रहेको भए, उपाध्यक्ष र सदस्य पदमा उनको समूहका केहीले चुनाव जित्ने सम्भावना पनि उत्तिकै थियो । जतिले चुनावमा सहभागी भएर हार स्वीकार गरे, उनीहरूले प्रजातान्त्रिक चरित्र देखाए । केही भने यो पक्षमा नराम्रोसँग चुके । 

यो रह्यो, चुनावको दिन र त्यसअघि घटेका एकपछि अर्को नाटकीय घटनाक्रम । त्यतिबेला सबै खाले चुनौती र दबाब भने एन्फाका तात्कालीन अध्यक्ष नरेन्द्र श्रेष्ठमाथि थियो । त्यतिबेला दुई धार थियो, पहिलो साधारणसभा र चुनाव पछाडि सार्ने । त्यसका लागि ६० दिनको सुचना टाँसेर फेरि एक पटक नयाँ प्रक्रियाबाट साधारणसभा र चुनाव कार्यक्रम तय गर्ने । अर्को जुन स्थितिमा चुनाव रोकिएको हो, त्यही स्थितिबाट अगाडि बढ्ने । 

यस क्रममा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) तथा एसियाली फुटबल महासंघ (एएफसी) बाट स्पष्ट धारणा आएको थियो, चुनाव जहाँ रोकिएको हो, ठीक त्यहीँबाट अघि बढे पुग्छ । ठीक यहीँ तत्कालीन अध्यक्ष श्रेष्ठ अडिग रहे । उनीमाथि चर्को दबाब थियो, विशेषत: उनकै संस्थापन पक्षबाट । उनले साधारणसभा र चुनाव सार्ने निर्णय गरेको भए, नेपाली फुटबल दुर्घटनाबाट गुज्रिन सक्थ्यो, तर कम्तीमा त्यस्तो भएन । निकै स्वभाविक रूपमा एन्फा नेतृत्वमा परिवर्तन आयो, जुन ऐतिहासिक रह्यो । 

यसको एक वर्षजति अघि भएको विशेष साधारण सभामा शेर्पा आफैं अध्यक्ष पदमा श्रेष्ठसँग पराजित भएका थिए । यस्तै वरिष्ठ उपाध्यक्ष पदमा पनि कुँवरले शेर्पा पक्षका उम्मेदवारलाई हराएका थिए । श्रेष्ठ र कुँवरले त्यसयता नेपाली फुटबलमा सकारात्मक सुधार गर्दै कार्यक्रम ल्याएको भए, अहिलेको नतिजा फरक हुन सक्थ्यो अथवा श्रेष्ठ आफै यसपटक पनि अध्यक्ष पदमा उठेको भए चुनावी समीकरणमा परिवर्तन आउने सम्भावना थियो । 

अहिले जुन स्थिति तयार भएको छ, त्यसले नेपाली फुटबलमा रहेको एक खालको अन्योल र संघर्षको अन्त्य गरेको छ । शेर्पा र उनको समूहका खास–खास सहयोगीले लामो समय नेपाली फुटबलको संस्थापन पक्षसँग संघर्ष र आन्दोलन गरेको थियो, विशेषत: त्यति बेलाका अध्यक्ष गणेश थापाविरुद्ध । यसबीच नेपाली फुटबल धेरै आरोह–अवरोहहरूबाट गुज्रियो । थापा स्वयं फिफाबाट दस वर्षको प्रतिबन्धमा परे र उनी पर्दा पछाडि सीमित हुन पुगे । खेल मिलोमतोको प्रकरण पनि बाहिर आयो, तर शेर्पा स्वंय भने आफ्नो बाटोमा कायम रहे । सम्भवत: यिनै कारणले शेर्पाले अहिलेको विजय आत्मसात् गरेका हुन् ।

प्रकाशित :वैशाख २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्