Teej banner

हामी एक हुनैपर्छ

- अविरल थापा

वैशाख २९, २०७५

 

आदरणीय युवा साथीहरू !

 हामीलाई राम्रोसँग थाहा छ, हामीले वर्षौं लामो राजनैतिक संक्रमणबाट गुज्रिएर बल्लतल्ल स्थिर सरकार पाएका छौं । हामीमध्ये धेरैको रोजाइबाट झन्डै दुईतिहाइको बलियो सरकार यतिबेला हामी सामुन्ने छ । हाम्रा व्यक्तिगत चाहना र स्वार्थहरू एकातिर होलान् । हामीलाई कुनै नेताको बोली मन पर्दैन होला, कसैको अनुहार मन पर्दैन होला तर चाहेर वा नचाहेर अबको पाँच वर्ष यिनैबाट काम निकाल्नुको विकल्प पनि हामीसामु छैन । हामीजस्ता लाखौं युवा साथी काम वा अध्ययनको सिलसिलामा संसारका विभिन्न मुलुकमा हुनुहुन्छ र सकेको कमाएर देशलाई योगदान नै पुर्‍याइरहनुभएको छ । देशको माया र अपनत्व आफ्नो माटोमै बस्दा मात्र लाग्ने होइन, टाढा हुँदा अझ बढ्छ । 

हामी एउटै देशका हौं तर हाम्रो जन्म र हुर्काई फरक–फरक तरिकाले भएको छ । कोही कुनै धर्म मान्ने परिवारमा जन्मियो होला, कोही कुनै जातमा, कोही हुनेखाने परिवारमा त कोही विपन्न परिवारमा । हामी सबैका आ–आफ्नै खालका कथा–व्यथाहरू छन् । कसैको नाक चुच्चो होला, कसैको थेप्चो होला, कसैको रंग कालो होला । हाम्रो राष्ट्रिय भाषा नेपाली भए पनि हाम्रा जात विशेषका मौलिक लवज अनि अनेक भाषा पनि छन् । कसैलाई बोल्न आउँछ, कसैलाई आउँदैन ।

आफ्नै देश घुम्दै जाँदा पनि अनेक स्वादका विविध परिकार अनि अनेक भाषा बोल्ने मानिसहरू भेट्दा बेग्लै भूगोलमा पुगेको अनुभूति हुन्छ । हामी फरक अवश्य छौं तर यो देशमा हामी सबैको हैसियत र अधिकार उत्तिकै छ, तर शिक्षाको पहुँच अनि स्रोत र साधनको असमान वितरण तथा विकासको असमानताले कोही पछि परेका छौं, कोही अघि बढेका छौं । समतामूलक समाजको निर्माण गर्नु र राज्यले प्रदान गरेका हरेक सुविधा र अवसरको सबैले एकनास उपभोग गर्न पाउनु हामी सबैको अधिकार हो । 

विगतमा हामीसँग धेरै कुराको चेतना भएन होला । हामीलाई मीठो सपना र उज्यालो भविष्यको आशा देखाएर धेरै दल र नेताले उकासे, उचाले पनि होलान् र हामीलाई नै सिंढी बनाएर सत्तामा धेरै पटक पुगे पनि होलान् । 

हामीले आफ्नो भाषा मात्र हेर्‍यौं कि, आफ्नो जात मात्र हेर्‍यौं कि, आफ्नो धर्म मात्र हेर्‍यौं कि, आफ्नो पार्टी मात्र हेर्‍यौ कि ? विपक्षी दलको उक्साहटमा लागेर सरकारको विरोध गर्दा हामीले कति रेलिङ भाँच्यौं, कति सिसा फुटायौं, कति आगो लगायौं । पुरानो सत्ता र क्रान्तिको नाममा हत्या र विध्वंससम्म गर्न पछि परेनौं । सम्भवत: यतिबेला हामी धेरैका आँखा र चेत खुलिसके होला ।

विगतमा गरेका विरोध, क्रान्ति र संघर्षबाट हामीले के पायौं र के गुमायौं । हामी कति सही थियौं र कति गलत थियौं । हाम्रा अगुवा कति दुरदृष्टि भएका रै’छन् र हामीले उनीहरूको पछि लागेको के फल पायौं ? हाम्रो जीवनस्तर कति सुध्रियो, उक्सियो र हामीले विश्वास गरेका नेताको जीवनशैली कति उक्सियो ? । 

यो देश बन्नुपर्छ र हामी सबैले सुखी र समुन्नत जीवन जिउन पाउनुपर्छ भन्ने कुरामा कसैको दुईमत हुन सक्ला र ? के देशका लागि परिआयो भने रगत–पसिना बगाउन सक्छु भन्ने जोस र शक्ति हामीसँग छैन र ? कि आफ्नो पार्टी, आफ्नो जातको मान्छे, धर्मको मान्छे, भूगोलको मान्छे मात्र बने हुन्छ, अरूको जेसुकै होस् भन्ने हामी कोही छौं र ? तर हामीले चनाखो हुनुपरेको छ । समाजमा विग्रहको विष घोलेर हामीलाई टुटाउन, फुटाउन, लडाउन मार्न–मर्न उक्साउन अनेक बहाना र विषय उछालेर झगडाको बीउ रोप्ने तत्वहरू सलबलाइरहेका छन् ।

हामी केही छाक मिठो खान दिएको भरमा केही हजार वा लाख गोजीमा हालिदिएको भरमा एक–अर्कालाई सिध्याउने षड्यन्त्र र प्रपञ्चमा फस्यौं भने हामी, हामी रहनेछैनौं । आफ्नो विवेक र चेतनाको बिर्को सदैव खुला राखेर संयम, धैर्य एवं होसपूर्वक कदम चाल्नु हामी सबैको हितमा हुनेछ । 

संकुचित सोचबाट आफूलाई माथि उठाउँदै अब हामीले स–साना कुरामा अल्झेर होइन, हातेमालो गरेर समाज र देशको उत्थान, चेतना वृद्धि एवं विकासमा लाग्नुपर्छ । हामीलाई फुटाउन–लडाउन खोज्नेहरूका दु:स्वप्नलाई चकनाचुर पारेर विकसित देश बनाउन हामी सबै एक हुनैपर्छ । 

 

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

 

प्रकाशित :वैशाख २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्