समानान्तर जिन्दगीहरू

- अधिकारी रवीन्द्र

वैशाख २८, २०७५

 

जीवन एउटा सरल रेखा हो । समग्र जिन्दगीहरू जन्मदेखि मृत्युसम्मको चलायमान ज्यामिति हो । हरेक प्राणीको जीवन प्रणाली कति सरल छ ? जन्म, जीवनयात्रा र मरण । जीवनयात्राका क्रममा प्रकृतिप्रदत्त जिम्मेवारीहरू पनि निर्वाह गरिन्छन् । त्यसमा गाँस, बास, कपास, मनोरञ्जन तथा सन्तानोत्पादनका प्रक्रियाहरू आउँछन्, तर अरू जीवको भन्दा मानवीय जीवन निकै फरक छ । मानिस आफंैले आफ्नो जीवनलाई जटिल बनाएका छन् । 

एउटा जिन्दगी एकपटक जन्मिन्छ, एकपटक जिउँछ र मर्छ पनि एकपटक मात्र । कुनै एक कालखण्डमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयात्री बनेर जिन्दगीहरू कहिले एउटै गोरेटोमा, कहिले रात्रीकालीन गाडीको सँगैको सिटमा, कहिले पानी भर्ने पँधेरीमा, कहिले सपिङ मलमा त कहिले कलेजको लास्ट बेन्चमा भेटिन्छन् । ती जिन्दगीहरू फगत आमुन्ने–सामुन्ने वा दायाँ–बायाँ भएका हुन् । एउटा जीवनपथ अर्को जीवनपथसँग कहिल्यै काटिएको हुँदैन अर्थात् एउटा जीवनको डोरोले अर्को जीवनको डोरोलाई कहिल्यै चुँडाल्न सक्दैन । कुनै जिन्दगीको उद्गमस्थल र समाधिस्थल कुनै अर्को जिन्दगीभन्दा नितान्त फरक हुन्छ । 

आफ्नो वरिपरि बाँच्ने विभिन्न जिन्दगीहरू अभिन्न भएर पनि भिन्न हुन्छन् र ती समानान्तर भएर मृत्युसम्म स्वतन्त्र बगिरहन्छन् तसर्थ सबै जिन्दगी निहित समयसम्म समानान्तरबाहेक केही होइनन् । प्रेमजोडीका जीवनरेखाहरू क्रस भएका होइनन्, ती रेखाहरू अलिक नजिक भएका हुन् । वैवाहिक जोडीका जीवनरेखाहरू अझ नजिक हुन सक्लान् तर सधैं समानान्तर नै रहन्छन् । एउटा जीवनरेखाबाट अरू जीवनरेखाहरू सम्बन्ध र परिस्थितिअनुसार भिन्न–भिन्न दूरीमा चलिरहेका हुन्छन् । जीवनरेखा जन्मदेखि मृत्युसम्मको सबैभन्दा छोटो रेखा भएकाले सधैं सरल छ । ८० वर्ष आयु भएको एउटा व्यक्तिले आफ्नो जीवनयात्रामा ज–जसलाई भेट्छ, देख्छ वा सुन्छ ती सबैको जीवन उसको जीवनसँग समानान्तर छन् । 

जङ्गलको बाटो राति एक्लै हिँड्दा बाघको आकृतिमा पुच्छरसमेत बनेर बसेको रूखको ठुटो देखेर डरले तपाईं हस्याङ–फस्याङ गर्दै भाग्ने क्रममा डोकोभरि सेउला बोकी एउटा घाँसेको समानान्तर जिन्दगी टुप्लुक्क अगाडि आइपुग्दा तपाईंभित्र बेग्लै साहस उम्लिएको थिएन ? कुनै बेला पब्लिक गाडीमा कत्ति न पढ्छु जस्तो गरी फिजिक्सको मोटो पुस्तक काखमा फिँजाएर बसेकी कलेजकी ठिटीले चस्माको कुनाबाट तपाईंले अघिदेखि घुरेर हेरेको चाल पाएर लजाउँदै पुस्तक झोलामा राखेको सम्झनुस् अनि सम्झनुस्— साइडमा तपाईंसँगै डन्डीमा हात समाउँदै तिनै छात्रालाई एकटक हेरिरहेको पठ्ठोको समानान्तर जिन्दगी । उक्त गाडीको खलासी, चालक र सम्पूर्ण यात्रीहरू तपाईंकै छेउमा आ–आफ्ना जिन्दगीहरू समानान्तर रूपले अघि बढाइरहेका थिए । त्यस्तै एकपटक फिलिम हेर्न जाँदा हाउसफुल भएको हलमा समानान्तर जिन्दगी बोकेर स्टोरी प्लटमा निमग्न भएका टाउकाहरू याद गर्नुहोस् ।

सधैं एउटै बाटो हिँड्दा उनी उताबाट र तपाईं यताबाट आउने क्रममा पक्कै पनि धेरै पटक तपाईंहरूको नजर जँुधेको होला । सदाझँै देखे पनि अनुहार, आउने समय र बाटोबाहेक तपाईंका बारेमा उनलाई वा उनका बारेमा तपाईंलाई अरू केही थाहा नहुन सक्छ, तर तिनै समानान्तर जीवनहरू जम्काभेट हुँदै एक मीठो मुस्कानसम्म पुगेर अड्किएका पनि हुन सक्छन् । देख्दै नदेखेको मान्छेको त्यो जिन्दगी पनि समानन्तर हो, जोसँग एयरपोर्टमा लगेज साटियो । 

एकान्तमा पिसाबले च्याप्दा खुला ठाउँमा पिसाब गर्दागर्दै तपाईंलाई देखेको त्यो जिन्दगी तपाईंसँग समानान्तर छ । वर्षायाममा हिलो छ्याप्ने ट्रक ड्राइभरको जिन्दगी अनि सडकपेटीमा जुन केराको बोक्रामा चिप्लेर तपाईं कुनै दिन लड्नुभयो त्यो केराको बोक्रा फ्याल्ने रुन्चे नानीको जिन्दगी पनि तपाईंसँग समानान्तर छ । मात्र कुनैका रेखा वर त कुनै अलि पर छन् ।

वास्तवमै यी जिन्दगीहरू कहिले अभिनेता वा दर्शक बनेर, कहिले कलाकार र कलापारखी बनेर, कहिले लेखक र पाठक बनेर, कहिले पीडित र पिडक बनेर त कहिले चोर र पुलिस बनेर समानान्तर अघि बढिरहेका हुन्छन् । कहिल्यै केही नबोले पनि समानान्तर जिन्दगीहरू एक–अर्काको अस्तित्व हेक्का राख्दै हिँड्छन् ।

ravinems@iom.edu.np

Twitter: @ravinems

प्रकाशित :वैशाख २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्