कलमको जगमा उभिएको एउटा कलाकार

- कृष्ण भट्टराई

वैशाख २७, २०७५

चलचित्र ‘बधशाला’ मार्फत रजतपटमा पदार्पण गर्ने अभिनेता खगेन्द्र लामिछाने कुशल लेखक पनि हुन् । लेखकका रूपमा विभिन्न तीनवटा कृति सार्वजनिक गरिसकेका लामिछानेले यो अवधिमा टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद, धनपतिजस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । सरल स्वभावका यी अभिनेता फिक्सनभन्दा वास्तविक कथामा आधारित चलचित्रमा अभिनय गर्न रुचाउँछन् । 

गत साता प्रदर्शन भएको चलचित्र डमरुको डन्डीबियोमा नेपालको पुरानो खेल डन्डीबियो खेलाडीको भूमिकामा प्रस्तुत भएका खगेन्द्र आगामी दसैंमा प्रदर्शनमा आउने अशोक शर्माको चलचित्र जय भोलेमा पनि पृथक् भूमिकामा प्रस्तुत भएका छन् । प्रतिभाशाली कलाकार लामिछानेका बारेमा उनका सहकर्मीहरूको टिप्पणी । 

खगेन्द्र लामिछानेको अभिनय राम्रो छ, तर उहाँको अभिनय कलाभन्दा कलम कला उत्तम लाग्छ । कलमको जगमा उभिएको कलाकारिता दिगो हुन्छ । 

दीपकराज गिरी, अभिनेता/निर्देशक

खगेन्द्र लामिछाने मौलिकता भएका कलाकार हुन् । थिएटरमा सिकेको अभिनय कला अहिले चलचित्रमार्फत प्रस्तुत गरिरहेका छन् । धेरै नेपाली अभिनेताको हाउभाउ, बडी ल्याङवेज र डाइलग डेलिभरीमा समस्या छ । अधिकांश कलाकार अन्य कलाकारबाट प्रभावित छन्, तर खगेन्द्रले अन्य नेपाली कलाकारलाई मौलिक अभिनय सिकाइरहेका छन् । उनी साहित्य सर्जक हुनु र आफ्नै चलचित्रको लेखक, पटकथाकार पनि भएकाले सबैमा उनको आफ्नोपन छ ।

भूपेन्द्र खड्का, गीतकार/रेडियोकर्मी

खगेन्द्र लामिछाने असाध्यै राम्रो नेचुरल एक्टर हुनुहुन्छ । लामिछाने रियालिस्टिक चलचित्र बनाउने मेकरहरूको पहिलो रोजाइ हो । छानेर चलचित्र गर्ने र क्यारेक्टर रिसर्च एकदमै गर्ने भएकाले होला, उहाँले निर्वाह गरेको चरित्रमा एकरत्ति बनावटीपन झल्कँदैन । 

प्रदीप भट्टराई, निर्देशक

खगेन्द्र लामिछानेको सबैभन्दा प्रभावकारी पक्ष भनेकै अभिनय गर्ने शैली हो । उहाँले जति पनि चलचित्रमा काम गर्नुभएको छ, अब्बल अभिनय गर्नुभएको छ । उहाँलाई हरेक चलचित्रमा भिन्न–भिन्न भूमिकामा देख्न पाइन्छ । उहाँले अभिनय गरेका चलचित्रमध्ये मलाई पशुपतिप्रसादको भूमिका मन परेको छ भने डमरुको डन्डीबियोमा उहाँ अझ पृथक देखिनु भएको छ । 

दिनेश सिटौला, सञ्चारकर्मी 

खगेन्द्र एक गम्भीर र सेन्सिवल एक्टर हुन् । उनले सिनेमा र रंगमञ्चमा अभिनेताको रूपमा जुन  अवतार  खेलेका छन्, ती एक हिसाबले अब्बल देखिएका छन् । त्यसो त हरेक भूमिकामा सबै अभिनेता छिर्न सक्दैनन् । हरेकको आ–आफ्नै सीमा हुन्छ । यद्यपि साँचो कलाकारले ती सीमालाई चिरेर आफ्नो शिल्पको दायरालाई फराकिलो बनाउँछ । नि:सन्देह खगेन्द्र आफ्नो शिल्पको बाटोलाई फराकिलो बनाउन खोज्ने अभिनेताहरु भित्र पर्छन् । 

अनुप बराल, रंगकर्मी/निर्देशक

 

प्रकाशित :वैशाख २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्