सन्दर्भमा हाम्रो सहर

- किशोर नेपाल

वैशाख २७, २०७५

केतक र केतकी विगत केही वर्षदेखि राजधानीबाहिर बसेका छन् । हुम्लामा उनीहरूको घर छ । त्यहीं बसेर केतक–केतकी हुम्ला घुम्न आउने पर्यटकहरूको आइटनरी बनाउने काम गर्छन् । अधिकांश पर्यटक मानसरोवर जान चाहन्छन् । मानसरोवर यात्राको उद्देश्य धर्म मात्र नभएर प्राकृतिक रहस्यको खोजी पनि हुन्थ्यो । 

उहिले नेपालका पहाड–मधेस कुना–कन्दरामा बस्ने मानिसहरू शरद् ऋतुको पूर्णिमापछि काठमाडौं आउँथे । जान्ने–सुन्नेहरू यसै भन्छन् । यसपटक केतक र केतकीले पनि काठमाडौं भ्रमणको कार्यक्रम बनाएका थिए । 

काठमाडौ भ्रमणमा जान चाहनेहरूले निकै तयारी गर्नुपथ्र्यो, किनभने काठमाडौंमा त्यतिबेला होटल त थिए, तर पर्याप्त र राम्रा होटल थिएनन् । काठमाडौंमा पाटीपौवाको संख्या धेरै भएकाले सामान्य बसोबासका लागि चिन्ता थिएन । उति बेला काठमाडौंको यात्रामा आएका केतक र केतकी निकै खुसी थिए । उनीहरू यसपटक झन् खुसी थिए । एक हिसाबले यो देवताको वैज्ञानिकीकरणको कार्यक्रम थियो, जसलाई दुवैले ठूलो सोच–विचारका साथ तय गरेका थिए । 

शरद् पूर्णिमापछि काठमाडौंमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मेलाहरूको आयोजना गरिँदै थियो । मेलामा हिन्दू, बौद्ध, इस्लाम र ख्रिस्तान सबै धर्मावलम्बी देशका महामहिम राष्ट्राध्यक्ष एवं प्रदेश प्रमुखहरू सपरिवार उपस्थिति हुनेवाला थिए । केतक दम्पती यो अवसर छुटाउन चाहँदैनथ्यो । ट्रिप एडभाइजरले उनीहरूको ट्राभल आइटनरी तयार पारिसकेको थियो । भर्खर खोलिएका होटल लाँकुरीको हिमाल अन दि रिजमा सुपर डिलक्स रुम बुक गरिएको थियो । 

यहाँका रोचक र मनोरन्जक स्थलहरू, सुन्दर धार्मिक मन्दिर, गुम्बा, मस्जिद र चर्चहरू, नेसनल पार्कहरू, र्‍याफ्टिङ र रकिङका लागि नदीहरू, सेन्टर र मलका नाममा खुलेका आधुनिक बजारहरू— घुमघामका लागि धेरै स्थान र क्षेत्र समेटिएको थियो । इन्टरनेटको सहयोगले आधुनिक मानव जीवनका सुख र विलासका बारेमा जानकारी पाउनु सजिलो थियो । डब्लिनमा बसेर डिल्लीबजारका गोपाल दाइको चटामरी पसलमा के–के पाइन्छ, पत्ता लाउन सहज थियो ।

पर्यटकहरू ती सबै सुख र विलास भोग्न चाहन्थे । हरेक मानिसमा सुख र विलासको भोग गर्ने ज्यूँदो कामना थियो । काठमाडौंको रस–तरंगमा खासै अनुराग नभए पनि पर्यटकहरू आदिकल्पदेखि उत्तरकल्प, मध्यकल्प हुँदै अहिले नवकल्पमा आइपुग्दासम्म काठमाडौंको चित्र आफ्नो आँखामा उतार्न चाहन्थे । 

पहाड, मधेस, हिमाल, तराई, खोच र खण्डहरमा पर्यटकहरूको रुचि ज्यादै थियो । उनीहरू काठमाडौंमा बुनेको पस्मिनाको पछ्यौरी ओढेर–गाँजा पिउँथे । चरस खाएर काठमाडौंमा समय बिताउन चाहन्थे । धेरैको भ्रमण कार्यक्रम देखेर पर्यटन व्यवसायी नै अलमलमा परेका थिए । उनीहरूको सिन्डिकेट तोडिएको थियो । भाग्ने उपाय थिएन । मन्त्री लालबाबु पण्डित जोसका साथ देशघातीहरूलाई पक्रिन तयार बसेका थिए ।

केतक र केतकी काठमाडौं भ्रमणमा निस्किए । उनीहरू भोकाएका थिए । केतकले सडकपेटीमा कुनै गीतको धुनमा पुट्ठो हल्लाइरहेको एक युवकसँग सोध्यो— काठमाडौंमा भोक लागेका बेला के खाजा खान्छन् ? जवाफमा उसले भन्यो— म:म । यो सहरमा खान नपाइने त केही छैन, तर म:मचाहिँ मदमस्त हुन्छ । केतकले केटालाई धन्यवाद दियो । त्यसपछि उनीहरू लागे ज्याठातिर । ज्याठाको प्रकृति स्थानमै रहेछ एउटा म:म पसल । उनीहरूले त्यही गएर एकएक प्लेट म:म बजाए ।

म:मको स्वाद डकारिसकेपछि उनीहरू चारुमतीको स्तूप हेर्न चाबहिलतिर हिंडे । काठमाडौंमा मेलम्चीबाट पानी ल्याएर जनताको तिर्खा मेट्न सन् १९९० देखि नै सरकारहरूले मेलम्ची आयोजनाको तयारी र चटपट गरेका थिए । पहिले त मानिसहरूले मेलम्ची खोलाको पानी काठमाडौं ल्याउने सरकारको कुरै पत्याएनन् । अहिले पनि पत्याएका छैनन । यसको अर्थ हो— काठमाडौंको सडकमा मेलम्चीको पानी छ्यालब्याल भएर बाग्मतीमा बाढी नआएसम्म सरकारको कुरो पत्याउने मानिस कमै छन् । केतक यस्तै के–के सोचिरहेको थियो, केतकी पाहा पछारिएजस्तो पछारिई । सडक चिप्लो थियो । उनीहरू ट्याक्सी चढेर हतार–हतार होटलतिर लागे ।

नेपालबाट राजतन्त्र मासिएको एक दशक भैसकेको थियो । राजदरबारबाट महाराज–महारानीले आफ्नो डेरा–डन्डा सारिसकेका थिए । युवराज, राजकुमार, अधिराजकुमारी सबै भूतपूर्व भएका थिए । राजा पनि भूतपूर्व हुने रहेछन् भन्ने कल्पना केतकले गरेको थिएन । केतकी भूतपूर्व राजाकी छोरी भूतपूर्व अधिराजकुमारी कल्पतरुसँग भेट्न चाहन्थी । कल्पतरु उसको पुरानी साथी थिई जोसँग ऊ बेलाबेलामा वाइन पिउँथी । अधिराजकुमारी छउन्जेल सुन्दरीहरूको सुकोमल हातबाट शरीरमा तेल मालिस गराउँथी कल्पतरु । पैसावालहरू काठमाडौंमा देह सुखभोग गर्नुअघि आफूलाई मद र मदनोन्मत्त तुल्याउँथे । केतकीले त्यसै दिन भेट गरी कल्पतरुसँग । 

गणतन्त्र नेपालको राजधानीमा सञ्चारका अनेकौं सुविधा थिए । टेलिफोन, मोबाइल, इन्टरनेट, वाकीटकी कुनै कुराको अभाव थिएन, तर सरकारका अधिकारीहरूलाई ‘नागरिक’ बन्न लागेका प्रजालाई कार्यकक्षमै बोलाएर प्रत्यक्ष संवाद गर्ने आदेश दिएका थिए धर्माधिकारीले । केतकलाई साथीहरूले फर्कंदा महँगा विदेशी मदिरा र सुगन्धित पदार्थहरू ल्याउन आदेशपूर्ण अनुरोध गरेका थिए । यो संसारको कुनै पनि भागमा भोगको, अधिकारको र विलासको इच्छा नराख्ने कोही छैन । सबैलाई त्यही चाहिएको छ । 

प्रकाशित :वैशाख २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्